मंगलादेवी सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौँको न्हैकन्तलामा भएको हो। वि.सं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भयो।

वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुनुभयो। २००४ सालमा काठमाडौँ म्हैमीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहनुभयो।

२००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुग्नुभएको थियो। २००७ सालको क्रान्तिमा ठूलो भूमिका निर्वाह गर्नुभयो।

श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो। २०२५ सालपछि ८ वर्ष प्रवासमा रहनुभयो।

२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उहाँ सक्रिय रहनुभयो। २०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो।

'नारी संघर्षका पाइलाहरू' नामक संस्मरणात्मक पुस्तक लेख्नुभयो। २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भयो।