नुवाकोट गाविस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नुवाकोट गाविस
Nuwakot
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लारुकुम जिल्ला
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा५७०९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८८
वेबसाइटwww.ddcrukum.gov.np


नुवाकोट नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस सदरमुकाम मुसिकोट खलङ्गाबाट ८ कोष टाढा दक्षिणमा रहेको छ । यो गाविस रुकुम जिल्लाको राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं. २ र इलाका नं. ८मा पर्दछ। पहाडी भूगोलमा रहेको नुवाकोट गाविस आफ्नै खालको भौगोलिक स्वरूप ऐतिहासिक धार्मिक साँस्कृतिक सामाजिक र राजनीतिक महत्त्व र विशेषता बोकेर रहेको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

यो गाविसको पूर्वमा पेउघा गाविस पश्चिममा खोलागाउँ गाविस उत्तरमा अर्मा र सिम्ली गाविस र दक्षिणमा सल्यान जिल्लाको दार्माकोट गाविसको बीचमा रहेको छ। नुवाकोट गाविसको भौगोलिक अवस्थितिलाई हेर्दा २८ डिग्री३८ मिनेट देखि २८ डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री १७ मिनेट देखि ८२ डिग्री २४ मिनेट पूर्वी देशान्तर भित्र पर्दछ। नुवाकोट गाविसको अधिकांश भू-भाग पहाडी भागमा पर्दछ भने थोरै भाग स-साना बेसी फाँट तथा ज्युलामा पर्दछ। भौगोलिक बनावट अनुसार यस गाविसलाई लेक मध्ये भूमी र ज्युला गरी तीन भागमा विभाजन गरिएको पाइन्छ। नुवाकोट गाविसको एक हजार चार हेक्टर वन क्षेत्र र नौ सय ७६ हेक्टर चरण क्षेत्रले ओगटेको एक तथ्याङ्कमा उल्लेख गरेको पाइन्छ।[२]

नामांकन[सम्पादन गर्नुहोस्]

यस गाविसको ऐतिहासिक पृष्ठभूमिको तथ्य कारण खुल्न नसके पनि नुवाकोट गाविसको नामले यो गाविस परिचित हुनुभन्दा अगाडि हालको वडा नं. ३मा रहेको नुवाकोट डाँडा थियो रे। त्यही डाँडाको नामबाट पछाडी नुवाकोट गाविसको नाम रहन गएको भन्ने भनाई त्यहाँका बुढापाकाको भनाई रहेको छ।[२]

वन सम्पदा[सम्पादन गर्नुहोस्]

यस गाविसको वन जङ्गलमा बाघ, भालु, स्याल, दुम्सी, चितुवा, सर्प, हरिण, रातो वाँदर, गुनु, खरायो, जस्ता वन्यजन्तुहरू पाइन्छन् भने कालिज, तित्रा, चाखुरा, ढुकर, जुरेली, काग र सारौँ जस्ता पन्छिहरू पाइने गर्दछन्। यस गाविसलाई धेरै जसो वन क्षेत्रले आगटेका कारण साज चिलाउने साल चिउरी रइँज काफल सल्लो उत्तिस बाँस निगालो जामुनो मौवा कोइराल खस्रो टुनी गुराँस आदि प्रजातिका वोटविरुवाहरू पाइने गर्दछन्। समशितोष्ण हावापानी भएका कारण यस गाविसमा समायो पाँचऔँले कुरिलो टिमुर भलायो रिठा खोटो चोथ्रा अमला बाँदर केरा बावियो अलैँचि निम बोझो बेल असुरो दालचिनी आदि प्रजातिका जडिबुटीहरू पनि पाइने गर्दछन्।[२]

धार्मिक तथा पर्यटकिय स्थलहरू[सम्पादन गर्नुहोस्]

यस गाविसमा रहेको माईको मन्दिर मठेला थान कालिका मन्दिर लाटीको छहरा कुमकी देउता प्रमुख धार्मिक स्थलको रूपमा परिचित रहेका छन्। नुवाकोट गाविस वडा नं. २ मा रहेको सिद्ध गुफामा चार सय देखि पाँच सय सम्म मानिसहरू अटाउन सक्ने क्षमता रहेको रुकुमकै सबै भन्दा ठूलो गुफा हो।[२]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

२०५८ सालको जनगनणा अनुसार पाँच हजार तीन सय १३ जना जनसङ्ख्या रहेको यस गाविसमा क्षेत्री जातिको सबै भन्दा बढी वसोवास रहेको पाइन्छ। यसरी नै कामी दमाई ब्रम्हन ठकुरी सार्की मगर लगायत विभिन्न जात जातिको बसोवास रहेको पाइन्छ। अनेक जात जातिका वसोवास रहेको भएता पनि चाडपर्व धर्म भेष भुषा रहन सहनमा भने एकरूपता भएको पाइन्छ।[२]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

धान मकै जौँ गौँहु कोदो फापर नुवाकोट गाविसमा लगाइने प्रमुख खाद्य वालिहरू हुन् भने खुर्सानी तोरी अदुवा वेसार आदि नगदेवाली उत्पादन हुने गर्दछन्। कुल साक्षरता ५५ दशमलव ९७ प्रतिशत रहेको यस गाविसका अधिकांश मानिसहरू कृषि पेशामा नै निर्भर रहेका छन् भने साक्षरता प्रतिशतको अनुपातमा थोरै मानिसहरू सरकारी सेवामा जोडिएका छन्। कृषि पेशाका अलावा यहाँका मानिसहरू रोजगारी खोज्दै बाहिरी मुलुकमा गएको प्रशस्त मात्रामा भेट्न सकिन्छ।[२]

विकासका गतिविधीहरू[सम्पादन गर्नुहोस्]

कुनै पनि ठाउँ र मानिसको जीवन परिवर्तनका लागि नभई नहुने विकासका पूर्वाधारहरूबाट नुवाकोट गाविस अझै पनि पछाडी परेको छ। जुन ठाउँमा शिक्षा स्वास्थ्य साचार यातायात विद्युतका विकास हुँदैन तवसम्म कुनै पनि स्थानको विकास हुने सम्भावना नै देखिदैन। सडकले छोएको भए पनि त्यसलाई मात्रै विकास भन्न नहुने आम मानिसको भनाई रहेको छ। किन भने गाडी आयो भने फलफुल तरकारी जडिबुटी राखेर यहाँ देखि बाहिर सम्म पठाई केही आम्दानीको श्रोत बढाई मानिसको जीवन स्तर परिवर्तन भयो भने मात्रै विकास भन्ने तर्क गर्दै आइरहेका छन्। रुकुमको विकासका लागि प्रकृतिले रुकुमलाई प्राकृतिक सुन्दरताका उपहारै उपहार दिएको छ। तर दुखका साथ भन्नुपर्छ त्यस्ता चिजलाई चिन्न नसक्दा रुकुम जिल्ला पछाडी परेको छ। नुवाकोट गाविसमा पनि प्रकृतिले एउटा सुन्दर उपहार दिएको छ । यस गाविसमा रहेका विभिन्न खालका खोला नालाको सिंचाईमा उचित प्रयोग र लघु जलविद्युत निकालेर प्रयोगमा ल्याएमा आर्थिक आम्दानीको यो एउटा महत्त्वपूर्ण श्रोत हो तथापि यसलाई प्रयोग गर्नतिर भने कसैको पनि ध्यान गएको देखिदैन किन कि ती खोला नालाहरू जस्ता थिए त्यस्तै छन्।[२]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]