अम्बर गुरुङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अम्बर गुरूङ

अम्बर गुरूङ गायनमा
जन्म 26 फेब्रुअरी 1938
दार्जीलिङ, भारत
राष्ट्रियता नेपाली
पेशा संगीत
वेबसाइट
www.ambergurung.com

अम्बर गुरुङ (जन्म वि.सं. १९९४) नेपाली सांगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व हुन्। उनले सयौं नेपाली गीतमा सँगीत भरेका छन् । उनी खास गरि नेपालको राष्ट्रिय गान सयौं थूंगा फूलका को संगीतकार को रुपमा परिचित छन् । [१]

जीवनी[सम्पादन गर्ने]

महासंगीतकार अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा भएको थियो । उनका बुबामात्र होइन, हजुरबुबा देवराज गुरुङ पनि सेनामा जागीर खान्थे । अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।

तीन छोरा : किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङले आई. ए. सम्म मात्र पढेका हुन्। ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सँगीत निर्देशकसमेत रहेका गुरुङ हाल काठमाडौंको महाराजगञ्ज चक्रपथ नजीकै बसोबास गर्छन्।

गायन तथा सँगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्तावाट दुई गीत इम अम्बर हुँ' र 'सम्हालेर राख'बाट गीतिलेखन प्रारम्भ गरेका हुन्। सँगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा अगमसिंह गिरीले रच्नुभएको गीत रेकर्ड गरेका थिए- 'नौ लाख तारा उदाए'। एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो। पछि यही गीत नेपालीले धेरै मन पराए।

राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे। उनी वि.सं. २०२५ सालमा नेपाल आए। वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्‍याएपछि गुरुङ नेपाल आएर बसे[२]

वि.सं. २०२६मा सँगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भए। सँगीत प्रमुख, सँगीतसंयोजक र सँगीत निर्देशक भएर वि.सं. २०५४मा अवकाश पाए। उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा सँगीतांकन गरेका छन्। उनले सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत सँगीत दिएका छन्। उनले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसँगीत र पार्श्व सँगीत दिएका छन्। त्यस्तै आदिकवि भानुभक्त वृतचित्र वृतचित्रमा पार्श्वसँगीत,स्वर दिएका छन्।

नेपालको वर्तमान राष्ट्रगान सयौं थुंगा फूलका हामी लाई अम्बर गुरुङले सँगीत दिएका हुन्।

कृतिहरू[सम्पादन गर्ने]

  • अक्षरका आवाजहरू (गीतिसँग्रह, २०६०/प्रकाशकः तलेजु धनकुमारी कोष)
  • कहाँ गए ती दिनहरू (संस्मरण, निबन्ध, २०६३/रत्न पुस्तक भण्डार, सम्पादकः देवेन्द्र भट्टराइ)
  • कहिले लहर कहिले तरंग (गीति क्यासेट)
  • सम्हालेर राख (संयुक्त गीतिसँग्रह, २०६९)

पुरस्कार[सम्पादन गर्ने]

१ जनवरी २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले आयोजना गरेको "अम्बर गुरुङ रात्री" मा आयोजकका तर्फबाट संगीतकार गुरुङलाई अभिनन्दन गर्दै "महासंगीतकार" को घोषणा गरियो । विगत पाँच दशक यता सङ्गीत-साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत वि.सं. २०५४ सालको जगदम्बाश्री पुरस्कार पाए। उनले २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, सन् १९९४मा गिरी पुरस्कार गुठी दार्जिलीङबाट रु. १ लाख नगद प्रमाणपत्र, वि.सं. २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार पाए।

सन्दर्भ सामग्रीहरू:[सम्पादन गर्ने]

  1. "Music is not entertainment: Amber Gurung", República (Nepalese newspaper) myrepublica.com. अन्तिम पहुँच मिति:14 March 2014.
  2. http://www.nayapatrika.com/newsportal/middle_page/20205.html

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]