आँक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आँक (कैलोट्रिपोस जाइगैन्टिया)
आँक
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
वर्ग: मेग्नोलिओप्सिडा
गण: जेन्टियानेल्स
कुल: एपोसिनासिया
उपकुल: एस्कल्पियाडोडिया
वंश: सी. जिजान्टिया
प्रजाति: C. gigantea
द्विपद नाम
Calotropis gigantea(क्यालोट्रोफिस् जिजान्टिया)
(Carl Linnaeus (L.)) डब्ल्यू. टी. एटन


आँक खासगरी नेपालको तराई र भित्री मधेश अर्थात उष्ण क्षेत्रको १००० मिटर सम्मको खुल्ला ठाउँमा प्राकृतिक रूपले हुर्केको पाइन्छ। यो वनस्पति नेपालभरी पाईएतापनि खासगरी यो पूर्वाञ्चल मध्यमान्चल र पश्चिमान्चल क्षेत्रका प्रशस्त घामलाग्ने ठाउँहरू राजमार्ग, बगर तथा बाटो छेउछाउका ठाउँहरू बगर र बाँझो, पर्ती जग्गा एवं सुक्खा बारीहरूमा हुर्केको पाइन्छ। संस्कृत भाषामा अर्क, रुद्र तथा मंदारको रूपमा चिनिने आँकलाई धिमालहरूले आपाङ्गी, नेवारहरूले मांदार, जापानीहरूले आकोन नामले चिन्दछन्। त्यस्तै हिन्दी र मैथिली भाषामा पनि यसलाई आँक नै भनिन्छ। आँकलाई अङ्ग्रेजीमा जायन्ट मिल्क विड (Giant Milkweed) तथा क्राउन प्लान्ट (Crown Plant) आदि नामले चिनिन्छ।

वनस्पति परिचय[सम्पादन गर्ने]

फल र फूलसहितको आँकको हाँगा

यो वनस्पति गर्मी ठाउँहरूमा हुर्कने १ देखि ३ मिटर सम्म अग्लो हुने हाँगाबिगायुक्त सदाबहार बुट्यान (Small to medium-sized shrub) हो। यसको पात तथा काण्डलाई चुडाउँदा दुध जस्तो सेतो चोप निस्कन्छ। यस वनस्पतिको काण्डको बोक्रा र पातहरू टाढैबाट खरानी जस्तो सेतो फुस्रो देखिन्छ। वोट परिपक्व हुनु भन्दा अघिको उमेरमा सेतो भुवादार झुसहरूले यसको काण्डलाई ढाकेको हुन्छ। आँकका पातहरू ठूला, नरम तथा बाक्ला र एकअर्काको आमुन्ने सामुन्ने आएका हुन्छ्न्। पातको फेदपट्टिको भाग टुप्पोतिरको भन्दा बढी फराकिलो लगभग अण्डाकार र चौडाई भन्दा लम्बाईपट्टिको भाग बढी लामो हुन्छ। माथिल्लो भागको तुलनामा पातको तल्लो भाग अपेक्षाकृत बढी सेतो र भुवादार झुसहरूले ढाकिएका हुन्छन्। आँकको फूल घण्टी आकारको १.२ देखि २.५ सेमि लामो हुन्छ। यस्ता फूलहरू सेता र फिका प्याजी वा बैजनी रंगका धब्बायुक्त गुच्छाका रूपमा फुल्छन्। परागसेचन पश्चात ८ देखि १० सेमि लामो र करिब २ सेमि लामो घुम्रिएको जोडीरूपमा फल लाग्दछन्। फल भित्र सेता भुवा तथा थुप्रै बीउहरू हुन्छन्। आँकको बीउ चेप्टा करिब अण्डाकार र टुप्पातिर भन्दा फेदतिरको भाग बढी चौडा कालो एवं सेतो भुवाले ढाकिएको हुन्छ।

उपयोगिता[सम्पादन गर्ने]

कीटनाशकको रूपमा उपयोग

यसको पात,काण्ड र जरामा कीटनाशक, आन्तरिक बिष र प्रतिकारक पदार्थहरू पाइन्छन्। आँकको बोटको सम्पूर्ण भागलाई धूलो पारी एसिटोनसँग मिसाई त्यसबाट निस्केको रसले उपचार गरेको अनाजलाई धानमा लाग्ने घुनको आक्रमणबाट बचाउँछ। यसको काण्डलाई ५ प्रतिशतको अल्कोहलको उपचारबाट निस्केको रसले पिठ्यूँमा ईंटाको आकार भएको पुतली (Plutella xylostella) का लाभ्रेहरूलाई नियन्त्रण गर्न सकिन्छ। आँकको पातको धूलो वा झोलले घरको झिंगा, लामखुट्टेका लार्भा र वनस्पतिका पात खाने धेरै थरीका लाभ्रेहरूको पनि नियन्त्रण हुने बताईएको छ। भारतमा पनि यो वनस्पतिलाई विभिन्न थरीका कीराहरूको नियन्त्रण गर्न प्रयोग गरिन्छ। आँकले सलह (Schistocerca gregaria) र धमिराहरूलाई पनि नियन्त्रण गर्न सक्छ। ५० ग्राम सुकाईएको आँकको पातको धूलो प्रति किलोग्राम मुसुरो र गहुँमा अलग अलग मिसाएर राख्दा तिनमा लाग्ने क्रमशः बोडीको घुन (Callosobruchus chinensis) र धानको घुन (Sitophilus oryzae) नियन्त्रण भएको पाईएको छ। त्यस्तै आँकको २०० ग्राम हरियो पातलाई दगल्च्याएर १ लिटर पानीमा १२ देखि १५ घण्टा सम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको प्रत्येक हप्तामा १ पटकको दरले ४ देखि ५ पटक सम्म बन्दाकोपीमा लाग्ने कीराहरूलाई केही मात्रामा नियन्त्रण गर्न सकेको अनुसन्धानबाट प्रमाणित भएकॊ छ।

आर्थिक महत्व[सम्पादन गर्ने]

आँकको काण्डको बोक्राबाट बलियो सेतो र रेशमी रेशा प्राप्त गर्न सकिन्छ। प्राप्त रेशा उच्च गुणस्तरको हुने र त्यसबाट धागो डोरी र माछ मार्ने जाल बनाईन्छ। यसको काण्डलाई पानीमा ढड्याइन्छ पिटेर रेशा निकालिन्छ। त्यस्तै यसको फलबाट प्राप्त रुवामा केही अनुपातमा सिमल वा कपासको रुवा मिसाई सिरक, डसना, तकिया आदि बनाईन्छ। आँकको कलिलो तथा हरियो काण्ड र पातलाई हरियो मल (Green manure)को रूपमा प्रयोग गरिन्छ। परम्परागत तरिकाले बारुद बनाउँदा यसको काण्डको कडा भागलाई डढाई प्राप्त खरानीको केही प्रतिशत प्रयोग गरिन्छ। नेपालका बिभिन्न आयुर्बेद औषधि निर्माता कम्पनी र जडिबुटी व्यापारीहरूले यसको चोप खरीद गर्ने गर्दछन्।

आयुर्वेदिक तथा परम्परागत प्रयोग[सम्पादन गर्ने]

आँकको जराको बोक्रा रगतमासी आँऊ परेको निको पार्न, शरीरमा पसिना आउने क्रियालाई बढाउन र कफ बाहिर निकाल्न प्रयोग गरिन्छ। जराको बोक्राको लेदो हातीपाईले रोग लागेको बेला सुन्निएको भागमा दलिन्छ। पातको रस (Tincture) केही समयको फरकमा बारम्बार आईरहने ज्वरोलाई निको पार्न प्रयोग गरिन्छ। यसको चोपले पोल्छ तर सिउँडी सँग मिसाएर कब्जियतलाई हटाउन प्रयोग गरिन्छ। यसको फूल गुलियो र तीतो हुन्छ र त्यसलाई धूलो बनाई रुघाखोकी दम जुका परेको र अपचको उपचार गर्न एवं घाउ निको पार्न प्रयोग गरिन्छ। आँकको वोट हर्षा, रक्तबिकार, टाउको र कान दुखेको, दुबी, बाबासीर, अल्सर, शरीरमा गाँठागुठी आएको कुष्ठरोग, भिरिङ्गी, रगतमासी, आंऊ, बान्ता, पखाला, पेटमा जुका परेको, हातखुट्टाको जोर्नी र मांसपेशी दुखेकोसुन्निएको शरीरभित्रका मुटु, कलेजो, फियो, पित्तथैली, फोक्सो आदि अंगहरू सुन्निएको अवस्थामा उपचार गर्न प्रयोग गरिन्छ। यसको वोटको सुकाईएको भागहरू दुधसँग दैनिकको रूपमा प्रयोगगर्दा कलेजोको लागि राम्रो हुन्छ। आँकको नयाँ टुसालाई पिंधेर रस निचोरी दाद र अन्य छाला सम्बन्धि रोगमा दल्दा निको हुन्छ। चोप तीतो र तातो हुन्छ एवं कब्जियत, दुबी, शरीरको गाँठागुठी, शरीर भित्र आन्तरिक श्राव जम्मा भएको (Ascites)तथा पेटको रोगहरूको उपचार गर्न र पिलोलाई पकाउन प्रयोग गरिन्छ। पातबाट पक्षघात जोर्नी दुखेको, सुन्निएको कान दुखेको तथा घाउलाई उपचार गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  • साह, रेन्जर अनिरुद्धकुमार, हाम्रो कल्पवृक्ष (२०६२)कार्तिक
  • अधिकारी, डा. श्याममणी (२०५५), स्थानीय जडिबुटी द्वारा स्वास्थ्य रक्षा महेन्द्र संस्कृत विश्वविद्यालय, बेलझुण्डी, दाङ
  • नेउपाने, प्रा.डा.फणीनन्द्र प्रसाद (२०५७) जडिबुटी द्वारा कीरा नियन्त्रण, साझा प्रकाशन, पुल्चोक, ललितपुर।
  • पौडेल, डा. खडानन्द (२०५८) जडिबुटी विज्ञान श्रीमती मीना पौडेल नवजीवन आयुर्बेद क्लिनिक योगीकुटी रूपन्देही
  • वन तथा भूसंरक्षण मन्त्रालय (२०५४) वन नियमावली (२०५१) काठमाडौं
  • विचल, जेसिका र गुरूङ; होममाया (१९९७) स्वास्थ्यको लागि सरल स्थानीय जडिबुटी औषधि गृहस्थाश्रम केन्द्र जाजरकोट सुर्खेत
  • Department of Medicinal Plants, (१९८५), Medicinal Plants of Nepal, Thapathali, Kathmandu.
  • Gupta, L.C. et.al., (२००१), Illustrated Nurses' Dictionary, AITBS Publishers & Distributors (Redg.), J-५/६, Krishan Nagar, Delhi-११००५१, India.
  • Kanjilal, U., (१९९२), Forest Flora of the Chakrata, Dehradun & Saharanpur, International Book Distributor, Dehradun, India.
  • Krishnamurty, T., (१९९३), Minor Forest Products of India, Oxford and IBH Publishing Co.Ltd., New Delhi, India.
  • Malla, Dr.S.B. et.al., (१९९७), Identification Manual for Selected NTFPs of Nepal, FRIS Project Paper No.९, HMGN/FINNIDA, Kathmandu.
  • Parajuli et.al., (१९९८), Manual of Important NTFPs in Nepal, TU/ITTO, Pokhara.
  • Shrestha, Dr. K., (१९९८), Dictionary of Nepalese Plant Names, Mandala Book Point, Kantipath, Kathmandu.