मातृ दिवस

नेपाली विकिपीडियाबाट
(आमा दिवस बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आमा दिवस
आमा दिवस
आमा दिवसका लागि तयार पारिएको केक।
समुदाय: विभिन्न देशहरूमा
प्रकार: ऐतिहासिक
सम्बन्ध: पिता दिवस, मातापिता दिवस, बाल दिवस

आमा दिवस, आमाको मुख हेर्ने दिन अथवा मातातीर्थ औंसी आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो।

वैशाख कृष्ण औंसी हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा परिचित छ। यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन्। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो। आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो। त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आपना आमालाई मुक्त गराउन सक्छन्। स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।

नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको महत्त्व कति छ हामीले व्यक्त गरिरहनुपर्दैन। आमा जन्म लिने बालकका लागि जगद्धात्री जगज्जननीको साकार स्वरूप हुन्। आमाको महिमा अपार छ, जति गाए पनि सकिँदैन। आमाको त्याग, तपस्या, समर्पण र उपकारबाट नै आज हामी यो रूपमा खडा भएका छौं। एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन। जीवनभर जति सेवा गरे पनि आमाको अभिभारा चुक्ता गर्न सकिँदैन। आमा धरती हुन्, हामी उनका साना सन्तान मात्र हौं। त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वक हेर्छौं, कर्तव्यले पाउ ढोग्छौं र श्रद्धाले खाना ख्वाउँछौं।

मातातीर्थ कुण्डको उत्पत्तिबारे धेरै प्रकारका जनश्रुतिहरू प्रचलित छन् ।

मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो। भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादापुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गंगामाताको स्तुति गर्न थाल्नुभयो। 'माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः' भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो।

त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ,, उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर र्फकने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो। यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्रीस्वस्थानी व्रतकथामा पाइन्छ। पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।

आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ। हामी कुनै दुःख-कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं। आफ्नै अङ्गको कुनै ठाउँमा चोट लाग्यो वा ठेस लाग्यो भने पनि 'ऐया आमा' शब्द निकाल्न पुग्छौं। यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता र संरक्षण पाइरहेका छौं। जननी जन्मभूमि हुन्, स्वर्गभन्दा पनि बढी, यो पंक्ति श्रीरामचन्द्रले लंका जितेपछि लक्ष्मणलाई सम्झाउँदै भनेका हुन्। हुन पनि हो, आमा र जन्मिएको धरती स्वर्गभन्दा पनि प्यारो हुन्छ। आमाको मन र ममताका विषयमा एउटा रोचक कथा :-

कुनै एउटी आमा आफ्नो छोरालाई असाध्यै माया गर्थिन्। रहँदा बस्दा छोरो ठूलो हुँदै गएछ र घरमा बुहारी पनि आइछ। बुहारीले उसलाई भिन्न बस्न बाध्य पारिछ। तैपनि छोरो बारम्बार आफ्नो आमालाई भेट्न गैरहन्थ्यो। ऊ आमालाई भेट्न गएको बुहारीलाई पटक्कै मन परेनछ। एक दिन उसकी स्वास्नीले उसलाई आमाको मुटु-कलेजो हातमा लिएर आउन जोड गरी। छोराले दुलहीको ढिपी टार्न सकेन। उसले त्यसै गर्‍यो। बाटो अँध्यारो थियो, जहाँबाट एउटा सानो वन छिचोलेर आउनुपर्थ्यो। त्यो मुटु कलेजोले भन्नथाल्यो- बाबु तँलाई चोट त लागेन ? त्यसपछि छोरो केही पनि बोल्न सकेन। यस्तो हुन्छ आमाको स्नेह। त्यसैले शास्त्रमा आमालाई पनि देवतासरह मानिएको छ-

'मातृदेवो भवः।' आमालाई तीर्थका रूप पनि मानिएको छ। यसैले आमा हाम्री जननी हुन्, देवी हुन्। आमालाई कुनै पनि हालतमा श्रद्धा र सम्मान गर्न चुक्नुहुँदैन। आमाको अपमान गर्दा वा अपशब्द बोल्दा जो-कसैलाई घोर पाप लाग्छ भनेर पौराणिक ग्रन्थहरूमा प्रष्ट उल्लेख गरिएको छ। आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिनसक्दैन। भनिएको पनि छ :- 'कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति'। आधुनिक मातृ दिवसको अवधारणा ग्राफटन वेस्ट भर्जिनियामा एना जार्भिसका द्वारा समस्त माताहरू तथा मातृत्वका लागि खास तवरमा पारिवारिक एवं तिनको आपसी सम्बन्धहरू लाई सम्मान दिनका लागि आरम्भ गरिएको थियो ।[१] यो दिवस अब संसारका प्रत्येक कुनामा अलग-अलग दिनहरूमा मनाइन्छन्। जस्तो कि पिताहरूलाई सम्मान दिनका लागि पितृ दिवस मनाइन्छ ।

यो दिन अन्ततः यति व्यावसायिक बन्यो कि यसकी संस्थापक, एना जर्भिस, तथा धेरै मानिसहरूले यसलाई एक "हलमार्क होलिडे", अर्थात् एक अति वाणिज्यिक प्रयोजनका रूपमा समझने लागे। एनाले ज-जसले यो बिदाको व्यावसायिकीकरणमा सहयोग गरे त्यसैको विरोध गर्दै यसलाई समाप्त गर्न चाहिन् ।[१][२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Cite error: Invalid <ref> tag; no text was provided for refs named vancouversun
  2. Cite error: Invalid <ref> tag; no text was provided for refs named msnbc