उपमन्यु गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(उपमन्युबाट अनुप्रेषित)

उपमन्यु नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। वर्तमान समयमा गोत्र परम्परा वंशको निरन्तरताबाट भएको मानिन्छ । गोत्रप्रवर्तक ऋषि,महात्माहरु अत्यन्तै पराक्रमी र यशस्वी रहेका छन् । ब्रह्माबाट भएका सबै सृष्टिहरु फरक फरक गोत्रका रहेका छन् । एकै गोत्रका सम्पूर्ण मानवहरु एउटै वंशवृक्षका हुन् भनेर निश्चितता गर्न प्रामाणिक हँदैन । गोत्र निर्धारण वंश परम्परा ,गुरु परम्परा ,गोत्र स्थानान्तरण गरी तीन प्रकारबाट हुने गर्दछन् । ।(पृ.८८, स्मारिका ,पश्चिमाञ्चल विकाश मञ्च, उपमन्यु गोत्रीय ढकालहरुको मष्टो पूजा: डा.प्रकाश ढकाल ) संसारको सृष्टिसँगै मानिसहरु आ–आफ्नो समूहमा रहन थाले ।  सोही परम्पराबाट नै समाज, राष्ट्रको निर्माण भएको हो । यसै परम्पराको शैक्षिक ,धार्मिक उन्नयनसँगै  गोत्र परम्पराको विकाश भएको हो । मूलतः संसारका आदिम गोत्रहरु चार प्रकारका रहेका छन् । अङ्गिरा,कश्यप,वशिष्ठ र भृगु आदि गोत्र हुन् । (२९६।१७ शान्ति,महाभारत ) यीनै गोत्रको सेरोफेरोमा रहेर अन्य गोत्र परम्परा निर्धारण गरिएको विश्वास गरिएको छ । ढकालहरु कतिपयले तीन, पाँच प्रवर पनि भन्ने गर्दछन् । प्रवर भनेको गोत्रका विशिष्ट साधक,प्रचारक सिद्ध मुनिहरु हुन् ।  एवमेव प्रकारेण उपमन्यु,कपिल र विरुज उपमन्यु गोत्रका त्रिप्रवर  हुन् ।

उपमन्यु   

           वैदिक धर्मको समृद्धि एवं निरन्तरताको इतिहासमा ऋषि मुनिहरूको विशेष योगदान रहेको छ । वेदको अर्को नाम श्रुति हो । (१०।२ मनुस्मृति) सृष्टिको प्रारम्भिक कालमा ऋषिहरूले आफ्नो तपोबलद्वारा ईश्वरबाट दैवीवाक् सुने । त्यहीँ श्रुति परम्पराबाट नै वेद प्रारम्भ भयो । त्यसैले पनि वेद अपौरुषेय हो ।  सोही वेदलाई श्रुति परम्परामार्फत् जीवन्त राख्ने काम ऋषिमुनिहरूबाट भएको छ । वैदिक परम्परामा सप्तर्षिको स्थान उच्च रहेको छ । सप्तर्षिको धारणा सातवटा ऋषि भन्ने रहेतापनि विभिन्न कालखण्डमा यसको परिवर्तन भएको पाईन्छ । शतपथ ब्राह्मणमा भारद्वाज, कश्यप, मारीच, गौतम,अत्रि, विश्वामित्र, जमदग्नि र वशिष्ठलाई सप्तर्षि मानिएको  छ । महाभारतमा भने मारिच, अत्रि, अङ्गिरा, पुलह, क्रतु, पुलस्त्य, वशिष्ठ ऋषिहरूलाई सप्तर्षिका रूपमा मानिएको छ ।

       वैदिक ऋषिहरुमध्ये उपमन्यु पनि एक हुन् ।  ब्रह्माका छोरा वशिष्ठ थिए । ब्रह्मर्षि वशिष्ठका छोरा ब्याघ्रपाद हुन् । अदितिका छोराको नाम  आदित्य भएझैं वशिष्ठ ऋषिकी पत्नि ब्याघ्रयोनीबाट जन्मेका  छोराको नाम ब्याघ्रपाद रहेको हो ।  ब्याघ्रपादका छोरा उपमन्यु हुन् । महाभारतमा आफ्नो परिचय दिने क्रममा ब्याघ्रपादको छोरा र धौम्यको दाजु हुँ भनी परिचय दिनुभएको छ ।

ब्याघ्रपाद इति ख्यातो वेदवेदाङ्गपारगः ।

तस्याहमभवं पुत्रो धौम्यश्चापि ममानुजः ।।११२।१४।अनुशासनपर्व, महाभारत

        उपमन्युका छोरा सिन्धुप्रद हुन् । वशिष्ठलाई ब्रह्माका छोरा भनिए तापनि कतिपय ग्रन्थमा उनको जन्म मित्रावरुण देवता र उर्वशी नामक अप्सराको कोखबाट भएको भन्ने भनाई पनि छ । (शक्राख्यातो..... वेश्यापुत्रो वशिष्ठ.....)   समग्रमा भन्नुपर्दा वशिष्ठबारे पूर्णरुपेण सत्यतथ्य भेटिदैन ।    महाभारतका  एक सशक्त न्यायवादी ऋषि पात्र धौम्यका यिनी दाजु हुन् । हिन्दु वैदिक तथा पौराणिक आख्यानहरूमा उपमन्युको प्रसङ्ग पाईन्छ । तपवाद,ब्रह्मवाद एवं गुरुभक्तिका  आदर्श उपमन्यु हुन् । उपमन्यु शिवभक्त थिए । उनले नित्य शिवार्चना गर्दथे । उपमन्यु ऋषिकै पारिवारिक तथा भक्तिमार्गी परम्पराबाट नै उपमन्यु गोत्र समुदाय प्रादुर्भाव भएको हो ।

कान्यकुब्ज

ब्रह्माको सृष्टि परम्परासँगै पृथ्वीमा मानवीय कर्तव्य एवं चेतनाको क्रमशः विकाश हुँदै आयो । ब्रह्माका पाँचवटा मानस पुरत्रहरू बसेको स्थानका आधारमा गौडी परम्परा मानिएको छ । पञ्चगौड ब्राह्मणहरूमा सारस्वत, कान्यकुब्ज, गौड, मैथिल,उत्कला जस्ता विभाजन रहेका छन् । उपमन्यु गोत्रीय ब्राह्मणहरूलाई कान्यकुब्जीय ब्राह्मण पनि भन्ने गरिएको छ । कान्यकुब्ज भनेको क्षेत्र स्थान विशेष शब्द हो । भारतको कन्नौजलाई कान्यकुब्ज पनि भनिन्छ ।कान्यकुब्ज ब्राह्मणका गोत्रहरुबारे विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

कश्यपश्च भरद्वाजो शाण्डिल्यः सांकृतस्तथा ।

कात्यायनोपमन्युश्च काश्यपश्च धनञ्जयः ।।

कविस्तो गौतमो गर्गो भारद्वाजस्तथैव च ।

कौशिकश्च वशिष्ठश्च वत्सः पाराशरस्तथा ।।

इत्येते कान्यकुब्जानां गोत्रान्याहुश्च षोडश । (ज्वालाप्रसाद मिश्र,जातिभाष्कर,पृ.५६)

        अर्थात् कश्यप, भरद्वाज, शाण्डिल्य, सांकृत, कात्यायन,उपमन्यु, काश्यप, धनञ्जय, कविस्त, गौतम, गर्ग, भारद्वाज, कौशिक, वशिष्ठ, वत्स, पराशर नामक सोह्र गोत्रहरु कान्यकुब्जमा प्रसिद्ध छन् । अझ त्यसैमा  कात्यायन,उपमन्यु,भारद्वाज, कश्यप,शाण्डिल्य  र सांकृत गरी छ गोत्रहरु कुलीन  मानिएका छन् । उपमन्यु गोत्रीय वंशजहरु सबै उत्तम कुलका हुन् । पूर्वीय शास्त्रहरूले पनि उपमन्यु ऋषि एवं उपमन्यु गोत्रीय वंशजको स्तुति गरेका छन् । श्रीमद्देवीभागवतमा उपमन्यु ऋषिले श्रीकृष्णलाई वरदान दिएको प्रसङ्ग पनि छ ।

उपमन्यु गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्नुहोस्]

उपमन्यु गोत्रका सगोत्रीहरूमा ढकाल,मैनाली,दुवाल,भट्ट र दैनी पर्दछन् । यद्यपि पन्त,उप्रेती,ओली,कर्माचार्य,जोशी,पाठक,पाँडे,फुल्लेल,बर्तौला,मिश्र,वैद्यहरूको पनि उपमन्यु गोत्र हुन्छ भनी बताईएको छ । ( (पृ.८९ उपमन्यु गोत्रीय ढकालहरुको मष्टो पूजा: डा.प्रकाश ढकाल )

=== 1. ढकाल ===2 मैनालि

ढकालहरु उपमन्यु गोत्रीय ब्राह्मण हुन् । उपमन्यु ऋषिका शिष्य वा सन्ततिहरु नै उपमन्यु कहलाएका हुन् । उपमन्यु गोत्रिय ब्राह्मण एवं उपमन्यु ऋषिका चेला उत्तराधिकारीहरु मुस्लिम दङ्गा पश्चात् कान्यकुब्जबाट वर्तमान नेपालको अछाम जिल्लाको ढाकु भन्ने स्थानमा बस्न थालेका हुन् । ढाकुमा बस्न थालेबाट नै उनीहरूको परिचय ढाक्कालयबाट हुन थाल्यो । उपमन्यु शिवभक्त हुनाले बसाई सरेर आउनेले कुल पूजा परम्परा अनुरुप शिव प्रतिक डमरु लिएर आएको विश्वास गरिन्छ । डमरुलाई संस्कृतमा ढक्का पनि भनिन्छ । त्यस स्थानमा उनीहरू आएर बस्दा शिव प्रतिक डमरुलाई ल्याएर  राखी पूजा गर्न थाले  । डमरुलाई ढक्का र राख्ने ठाँउलाई आलय भन्दा ढक्कालय भएको विश्वास छ । ढक्का राखेको ठाँउ ढाकु भन्ने नामले प्रचलित भयो । त्यसै गरी ढक्का+आलय मिलेर ढक्कालय बन्यो । ढक्कालय नै त्यहाँ रहने र बाहिरिनेको स्पष्ट परिचय बन्यो । पञ्जावको हरियाणा क्षेत्रमा ढकाल नामक प्राचीन स्थान प्रसिद्ध छ । नेपालमा रहेका ढकालहरूको पनि सोही स्थानसँग केही सम्बन्ध रहेको हुनसक्छ । यसको अध्ययन अनुसन्धान हुनु  अत्यन्त जरुरी छ । नेपालमा शाहवंशभन्दा अगाडि देखि नै ढकालहरु नेपालका विभिन्न  स्थानमा छरिएर रहेका छन् ।