ओसामा बिन लादेन को अन्त्य
| ओसामा बिन लादेन को अन्त्य | |
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
मे २, २०११मा ओसामा बिन लादेन अन्ततः डेभग्रु (नेभल स्पेसल वारफेयर डेभलपमेन्ट ग्रूप)को सिल (सि, एयर एन्ड ल्याण्ड) टिम नं ६ का हातबाट दुई गोली खाएर मारिए। २००१ सेप्टेम्बर ११को हमलालगत्तै अमेरिकी कंग्रेसले आतंककारी देश, संगठन तथा व्यक्तिविरुद्ध सैनिक शक्ति प्रयोग गर्ने अधिकार राष्ट्रपतिलाई दिएदेखि 'ओसामा हन्ट' सुरु भएको थियो।
९/११को घटनाअघि ओसामामाथि तीन असफल आक्रमण गरिएको थियो। १९९४ फेब्रुअरीमा साउदीतर्फबाट केही लिबियनहरूले सुडानमा ओसामाका घरमै आक्रमण गरेका थिए। १९९८ अगस्ट २० का दिन 'अप्रेसन इनफिनिट रिच'का रूपमा युएस नेभीले अफ्गानिस्तानको खोस्तस्थित अलकायदाको तालीम केन्द्रमा ६६ वटा क्रुज मिसाइल हान्दा ३० जनाको मृत्यु भए पनि ओसामा बचेका थिए। त्यस्तै सन् २०००मा अफ्गानिस्तानकै पहाडमा गाडीहरूको एक लस्करमा रकेट उर्जित गि्रनेडहरू हान्दा शंकास्पद एक गाडी ध्वस्त भयो, ओसामा चलाखीपूर्वक अर्कै गाडीमा चढेकाले बचे। ट्विन टावर ध्वस्त पारिएको अढाई महिनाभित्रै लादेनको मूल क्याम्प तोराबोरा पहाडमा भयानक आक्रमणसहित कब्जा गर्दा युएस फौज पुग्नु दुई घन्टाअघि नै उनी भाग्नुमा आईएसआईको हात रहेको आशंका गरिएको थियो।
उता लादेनचाहिँ 'दुश्मन'लाई पाकिस्तानको उत्तरपूर्वी आदिवासी क्षेत्रमा अल्मलाएर २००३ देखि अढाईर् वर्ष अब्बोतावाद नजीकको हरिपुर जिल्लाको चक शाह महम्मद भन्ने गाउँमा बसेका थिए। २००५ देखि हालको स्थान अर्थात् अब्बोतावादको विलाल सहरको एक घरमा ओसामाको परिवार बस्दै आएको रहेछ। अफ्गानिस्तानबाट १६० किमि टाढा सुदूर पूर्वी पाकिस्तानको उक्त विलाल सहर राजधानी इस्लामावादबाट ५६ किमिको दूरी तथा भारतीय सीमाबाट ३२ किमि दूरीमा पर्छ। पाकिस्तान सैनिक एकेडेमीभन्दा १३ सय मिटर दक्षिण-पश्चिम भागमा रहेको उक्त घरको कम्पाउन्ड वरिपरि १२ फिटदेखि १८ फिटसम्मका अग्ला कंक्रिट पर्खालमाथि काँडेतारसमेत लगाइएका थिए। दुई सुरक्षा ढोका रहेको उक्त 'किल्ला' ओसामा तेस्रो तलामा बस्थे, जहाँ उनी बस्ने ठाउँ छेकिनेगरी ७ फिटे पर्खालसमेत लगाइएको थियो।
लादेनले आफ्नै उच्च कमान्डरबाट आफ्नो बसाइ गोप्य राख्ने र सन्देशवाहकको मात्र उपयोग गरी आदेश र सूचना लिनेदिने गर्थे। उनको खोजीको सूत्राधार सन्देशवाहकमात्रै हुनसक्थे। २००२ मै क्वान्टम बेमा एक कैदीमार्फत थाहा पाइएका कोड नेम शेख भनिने अबु अहम्मद अल क्वेटीको २०१०को अगस्टमा टेलिफोन ट्यापिङमार्फत पिछा गरी उक्त घरमा गत अगस्टमै सीआईए पुगेको थियो। त्यसैबेलादेखि नजीकको घर भाडामा लिई सीआईएले लगातार 'सर्भिलेन्स' गर्नथालेको थियो। सेफ हाउसका झ्यालमा विशेष कभरहरूको प्रयोग गरी पछाडिबाट क्यामेराहरू, इन्प|mारेड उपकरणहरू तथा टाढाको आवाज सुन्ने लिसनिङ सिस्टम लगायत लोकल जासुसहरूको व्यापक उपयोग गरेको थियो। साथै ३६ सेटेलाइटले लगातार उक्त घरको सर्भिलेन्स गरिरहेका थिए। हालसम्म गत ८ महिनादेखि सीआईएको एयर, ग्राउन्ड तथा इलेक्ट्रोनिकल सर्भिलेन्स उक्त घर तथा निज अबुमाथि लगातार भइरहेको थियो, जसबारे पाकिस्तानलाई कुनै पनि जानकारी दिइएको थिएन। ओसामाका सम्पूर्ण कमान्ड कन्ट्रोलको माध्यम तथा घरपरिवारको व्यवस्थापन र खरीदसमेत पस्तुन र उर्दूसमेत बोल्ने निज अबु क्वेटी एक्लैले गर्ने गरेका
थिए। अर्को एकजना उर्दू बोल्न नजान्नेले पनि आफूलाई पस्तुन तथा क्रमशः अर्सद खान तथा तारिक खान भनी नक्कली परिचय दिएर बसेका थिए। उक्त घरबाट अरू कोही पनि बाहिर निक्लेको कसैले देखेन। केही स्थानीय बच्चाहरूलाई भने कम्पाउन्डमा ल्याएर घरका बच्चाहरूसँग खेल्न दिइन्थ्यो। स्थानीयहरूले उक्त घरकालाई कि पागल कित तस्कर हुन् भन्ने गर्थे।
मार्च १४ देखि अपि्रल २८ सम्म राष्ट्रपति स्वयम्ले चारपटक 'ज्वाइन्ट स्पेसल अप्स कमान्ड'का चिफ भाइस एडमिरल विलियम एच म्याकरेभनसँग विभिन्न कारबाहीहरू विषयक छलफल गरेका थिए। बी २ स्टेल्थ बम्बरले २ हजार पाउन्डको बम घरमा खसाल्नेदेखि आईएसआईसँग ज्वाइन्ट अप्रेसन गर्ने तथा ड्रोन हमलासम्मका उपायहरूमध्ये यही अप्रेसन नेप्च्युन स्पियर छानियो। मार्चमा सिल टिमले अमेरिकाको आफ्नै तालीम केन्द्रमै र अपि्रलपछि अफ्गानिस्तानको बेग्राम मिलिटरी बेसको क्याम्प अल्फामा एक एकड जमीनमा उस्तै कम्पाउन्ड र घरसमेत बनाई वजिरिस्तान हवेली नामकरण गरी सिल कमान्डोहरूको व्यापक तालीम गराइयो। तर तालीम गर्ने-गराउने कसैलाई पनि के कसो भन्ने थाहा थिएन। अपि्रल २९को बिहान साढे ८ बजेमात्र ओबामाले अप्रेसन नेप्च्युन स्पियर हेडको आदेश दिए। नाइटभिजन डिभाइसलाई केही लाइट भए लाभ हुनेहुँदा मे १ अर्थात् चतुर्दसीको रात डी डे -एक्सन दिन) तोकिए पनि मौसम खराब भएकोले भोलिपल्ट औंसीका दिन अर्थात् मे २मा सारिएको थियो।
अफ्गानिस्तानको बग्राम एयर बेसबाट सुरु गरी सबै टोली स्टेजिङ बेस जलालावादमा जम्मा भएका थिए। सबै गरी ७९ कमान्डो तथा एक कुकुरसमेतको उक्त टास्कफोर्समा घरमै मेन अप्रेसनका लागि सिलको भने १२/१२ जनाको दुई टिम खटिएको थियो। अप्रेसन बेला जमीनमा २८ जना थिए। आजसम्म कसैले नदेखेका मोडिफाइड स्टेल्थ अर्थात् रडारमा अदृश्य ब्ल्याक हक हेलिकप्टर दुइटा उक्त सिल कमान्डोका लागि उपयोग गरिएकोमा कमान्डोलाई डोरीबाट रिपेलिङ गराई खसालिसकेपछि 'हुभरिङ' गर्दा एक ब्ल्याक हकको पर्खालमा पंखा ठोकी इमर्जेन्सी ल्याण्डिङ गरिएको थियो। तर 'डेमेज' भएकोमा भोलिपल्ट मर्मत गर्न सकिने भए पनि हेलिकप्टरको यान्त्रिक गोप्यताका लागि विस्फोटक पदार्थको उपयोग गरी हिँड्नुअघि नष्ट पारियो। साथमा ब्याक अपका लागि दुई चिनोक हेलिकप्टरसमेतसँगै थिए। साथै थप मद्दतका लागि अन्य फाइटर्ज, ड्रोन तथा कम्ब्याट सर्च एन्ड रेस्कयु हेलिकप्टरका पूरै टिम थियो। हकबाहेक अन्य जहाजहरू पाकिस्तानी रडारबाट बच्न जमीन नजीकबाट 'न्याप अफ द अर्थ' अर्थात् धरातलको रूपअनुशार तलमाथि गरी गएकाले गोप्य रहेको थियो। तर आक्रमणपछि पाकिस्तानी फाइटर जेटलाई सक्रिय बनाइए पनि रेडमा हस्तक्षेप गरेनन्। रेडका समय विशेष ज्यामिङ उपकरणमार्फत उक्त क्षेत्रका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रोनिङ उपकरणहरू उपयोगहीन बनाइएको थियो।
टिम ए-ले माथि कौसीमा र टिम बी-ले तल कम्पाउन्डमा डोरीमार्फत हेलिकप्टरबाट रिपेलिङ गरी झरेको सञ्चारमा आए पनि सिलको टेक्निक गोप्यताका लागि मोडस अप्रेन्डिबारे मौन छन्। करिब १ बजे कम्पाउन्ड वालमा समेत विस्फोटकबाट छिद्र बनाइयो। गेस्टहाउसमा बसेका सन्देशवाहक सशस्त्र क्वेटी र टिम बी-बीच गोलीबारी हुँदा क्वेटी तथा उनकी पत्नी मारिए। मुख्य घरको पहिलो तलामा क्वेटीका नातेदार र भरेङमा ओसामाका छोरा हम्जा -खालिद) टिम बी-बाट मारिए। टिम बी-ले सुरुमै भेटेसम्मका बच्चा लगायत महिला र पुरुषहरूलाई प्लाष्टिक हतकडी लगाई नियन्त्रणमा राखेको थियो, जसलाई अप्रेसनपछि मुक्त गरियो। ओसामा पहिले तेस्रो तलामा भागेका र पछि आफ्नै कोठामा पसेका थिए। उनले सलवार-कमिज लगाई ५०० युरो तथा दुई टेलिफोन नम्बर लुगामा सिलाई भाग्नखोजे पनि तलमाथि चारैतिरबाट घेरिए। पाँचौं पत्नी यमनी अमाल अहम्मद अब्दुल फताहलाई मानवढाल बनाउन पुगेका बेला सिलले अमालको खुट्टामा गोली हानी घाइते बनाएपछि ओसामाका टाउकामा गोली हाने। हाई क्यालिवरको गोली भएकोले पहिलो गोलीले बायाँ आँखा र आधाभन्दा बढी अगाडिको खप्पर उडाई गिदी नै बाहिर निकालिसके पनि 'डबल ट्याप टेक्निक' अर्थात् ग्यारेन्टीका लागि दोस्रो गोली छातीमा हानिएको हो। वीभत्स देखिने कारण यही हाई क्यालिवर गोलीले हो। १२ वर्षीया छोरी साफियासमेत त्यसबेला उक्त कोठामा थिइन्। ओसामाका कोठाबाट एक एके- ४७ एक तथा म्याक्रोभ पिस्तोलसहित अन्तबाट समेत गरी जम्मा एके- ४७ तीन र दुई पिस्तोल फेला परेको थियो। जम्मा ३० मिनेटको योजना बनाइए पनि ३८ मिनेट लाग्न पुगेको उक्त अप्रेसनमा ओसामासँग आमने-सामने अन्तिम १० मिनेटमा मात्र भएको थियो।
अप्रेसनको नाम नेप्च्युन स्पियर थियो। स्पेसल वारफेयरको चिह्नमा युनानी नेप्च्युनको त्रिकोणात्मक भाला अर्थात् सी, एयर र ल्याण्डमा अप्रेट गर्ने क्षमताका प्रतीक हुन्। त्यसैबाट यस अप्रेसनको नाम लिइएको हो। ज्याकपट नाम ओसामालाई दिइएको र यदि ओसामा पक्रिए या मारिए भने जेरिनिमो भन्ने हो। ओसामा मारिँदा सुपि्रम कमान्डर इनचिफ ओबामालाई सिलले भनेको थियो, जेरिनिमो केआईए। -अर्थात् किल्ड इन एक्सन) ओसामाको लासबाट तत्कालै दुइटा सेम्पल झिकी अफ्गानिस्तानमा राखिएको ब्रेन क्यान्सरबाट मरेकी उनकी बैनीको डिएनएसँग विश्लेषण गरेको प्रमाण पुगेपछि मात्रै ओबामाले घोणणा गरेका हुन्।
- [१] यसरी भयो ओसामाको अन्त्य-राजेन्द्र थापा