कान्ति बाल अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कान्ति बाल अस्पताल नेपालको केन्द्रीय बाल अस्पतालका रूपमा रहेको छ। आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले वि.सं २२ पुस ०१९ तदनुसार जनवरी ७ सन् १९६३ मा विधिवत् उद्घघाटन गरेर तत्कालीन सोभियत सङ्घ सरकारको सहयोगमा स्थापना भएको हो। कान्ति बाल अस्पताल काठमाडौंको महाराजगन्जमा करिब ९५ रोपनी क्षेत्रफल भित्र अवस्थित छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कान्ति बाल अस्पताल विकास समिति अन्तर्गत सञ्चालित यस अस्पतालमा नेपाल सरकारको दरबन्दीतर्फ २६४ र विकास समितितर्फ स्थायी तथा अस्थाई गरी २९६ गरी जम्मा ५६० भन्दा बढी कर्मचारीमध्ये १०४ जाना डाक्टर र १५० जना नर्सको दरबन्दी छ। कान्ति बाल अस्पतालमा एकमात्र अपरेसन थिएटर सञ्चालित छ। अस्पतालमा जम्मा ५२ वटा आइसियु बेड सघन उपचार कक्ष) छन्, जसमा नवजात शिशुसघन उपचार कक्ष २५, बाल सघन उपचार कक्ष १५, सर्जिकल सघन उपचार कक्ष १० र आइसोलेशन २ कक्ष रहेका छन्। [१]

सन् १९८४ मा तत्कालीन जापानी प्रधानमन्त्री रियोतारो हासिमोतोले भ्रमण गरेपछि प्राप्त जापानी आर्थिक सहयोगबाट अस्पतालको गुणस्तर र भौतिक संरचनामा केही सुधार भएको पाइन्छ। सोभियत सहायता अन्तर्गत स्थापना भएकाले सुरूका दुई वर्षसम्म यो अस्पताल सञ्चालनमा सोभियत चिकित्सक, नर्स तथा अन्य प्राविधिकबाट सेवा प्राप्त भएको थियो। जनरल अस्पतालको रूपमा स्थापना भएकाले सुरूका ७-८ वर्षसम्म यस अस्पतालले सबै उमेर समूहका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्‍यो। पछि देशभरका बालबालिकालाई आधारभूतदेखि विशिष्टसम्मका सबै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप ०२७ साउन तदनुसार सन १९७० को जुलाईदेखि वीर अस्पताल भित्रको बालरोग विभाग औपचारिक रूपमा यस अस्पतालमा स्थानान्तरण भएदेखि स्थापनाकालको ५० शय्याको कान्ति अस्पताल १५० शय्याको कान्ति बाल अस्पतालमा परिणत भएको थियो। हाल देशको कुल जनसङ्ख्यामध्ये करिब ४१ प्रतिशत भाग ओगट्ने १४ वर्षमुनिका बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने ३ सय पचास शय्या क्षमता भएको यो अस्पताल नेपालको एकमात्र सरकारी स्तरको केन्द्रीय प्रेसित -रेफरल) बाल अस्पताल हो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]