कुरिलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुरिलो
A bundle of cultivated Asparagus
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: एकदलीय वनस्पति
गण: एस्पारागेल्स
परिवार: Asparagaceae
उपपरिवार: Asparagoideae
वंश: Asparagus
L.
प्रजाति:
A. officinalis
वैज्ञानिक नाम
Asparagus officinalis
L.

कुरिलो (अङ्ग्रेजी: Asparagus) हरियो पहेँलो मसिना पात हुने, ससानो सेतो फूल फुल्ने र रातो गोलो फल फल्ने एक जातको काँडादार औषधिजन्य वनस्पति हो। यो सानो र ठूलो दुई किसिमको हुन्छ। यसका टुसा तरकारीका निम्ति खास गरी बिरामीलाई खुवाउनमा प्रसिद्ध छ। कुरिलोको वानस्पतिक नाम Asparagus racemosus Wild., A.sarmentosus, Willed, A. gonoclados, BakerA. adscendens, Roxb. हो। कुरिलोलाई Asparagus recemosus Willed. र ठूलो जातको कुरिलोलाई A. sarmentosus Linn. भनिन्छ। यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ। यो नेपालका सबै जसो भू-भागमा पाइने बहुवर्षीय लहरायुक्त वनस्पति हो। काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरू हुन्छन्। फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन। यो पाकेपछि यसको फल राता वा नीला रङ्गका हुन्छन्। यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै सङ्ख्यामा हुन्छन्। आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ। खास गरि यसको जरालाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ। स्त्रीहरूको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुवैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसँग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ। यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ।[१]

संस्कृत पर्यायवाची नामहरू[सम्पादन गर्नुहोस्]

  • कुरिलो : अभीरु, अभीरुपत्री, अहेरु, इन्दीवरी, ऋष्यप्रोक्ता, जटामूला, नारायणी, पीवरी, बहुमूला, बहुसुता, भीरु, वरी, शतमूली, शतावरी र सूक्ष्मपत्रा।[२]
  • सानो कुरिलो : अमरकण्टिका, आत्मशल्या, इन्दीवरी, ऋष्यप्रोक्ता, काष्र्णी, केशिका, जटामूला, तेजवल्ली, दीपिका,  दीप्या, दुर्मरा, द्वीपिका, द्वीपशत्रु, धरकण्ठकी, नारायणी, पीवरी, बहुपत्रिका, बहुमूला, बहुसुता, भीरु, मधुरा, महौदनी, लघुपर्णिका, वरी, वरीयसी, वासुदेवी, विश्वाख्या, वैष्णवी, शतनेत्रिका, शतपदी, शतपाद्, शतमूला, शतवीर्या, शतावरी, शताह्वया, शताह्वा, सुपत्रा, सूक्ष्मपत्रा र स्वादुरसा ।[३]
  • ठूलो कुरिलो : अभीरु, इन्दीवरी, ऊध्र्वकण्टा, ऊध्र्वकण्टिका, ऊध्र्वकण्ठा, ऋष्यप्रोक्ता, केशी, तुङ्गिनी, पीवरी, फणिजिह्वा, बहुप(पु)त्रा, बहुपत्रिका, महापुरुषदन्तिका, महावीर्या, महाशतावरी, महाशना, महोदरी,  वरी, वीरा, शतमूली, शतवीर्या, शतावरी, सहस्रवीर्या, सुरसा, सुवीर्या, सूक्ष्मपत्रिका र हेतु ।[४]

स्वाद[सम्पादन गर्नुहोस्]

कुरिलो स्वादिलो, गुलियो र तीतो हुन्छ।

कुरिलोका फाइदा[सम्पादन गर्नुहोस्]

  • यो रसायनी (जुन औषधीले शरीरको बुढ्यौलीमा हुने रोग र सबै उमेरका जरो आदि रोगलाई निको पार्दछ त्यसलाई वा त्यस्तो गुणलाई रसायन भनिन्छ।), चिल्लो, शीतल अर्थात् शीतवीर्यको र पचाउन हलुका हुन्छ।
  • यसले दिमागको ग्रहणगर्ने शक्ति (मेधा), पाचकाग्नि (पाचनशक्ति), वीर्य र स्त्रीको दूध बढाउँदछ।
  • पुष्टि र बल दिन्छ।
  • आँखा र मुटुका रोगमा लाभदायक हुन्छ।
  • गुल्म (वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग, वायुरोग, गानुगोला।), अल्काई, ग्रहणी (खाएपिएको कुरा नपची वा पचेपनि पटकपटक गरेर मलमूत्र मार्फत बाहिर निस्कने रोग), क्षयरोग, अतिसार, वातविकार, कफविकार, पित्तविकार, रक्तविकार र सुजन नाश गर्दछ।
  • कुरिलोको स्वरस महसँग मिलाएर पिउने गरे पित्तविकारले हुने शूलरोग निको हुन्छ।

बेफाइदा[सम्पादन गर्नुहोस्]

कुरिलोका टुसा बाहेकका अन्य भाग वा अङ्ग पचाउन कठिन हुन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. आचार्य बालकृष्ण (२००८), आयुर्वेद जडिबुटी रहस्य, दिव्य प्रकाशन , पतंजली योगपिठ , हरिद्वार इन्डिया
  2. महेन्द्र संस्कृत विश्वविद्यालयबाट प्रकाशित सौश्रुत निघण्टुको परिशिष्ट ।
  3. द आयुर्वेद इन्साइक्लोपेडिया, स्वामी सदाशिव तिर्थ।
  4. राज निघण्टु, डा.सतिश चन्द्र सांख्यधर।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]