कृष्णचन्द्रसिंह प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णचन्द्रसिंह प्रधान (वि.सं. १९८२ - वि.सं. २०६७) नेपाली साहित्यका प्राज्ञ, समालोचक हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

कृष्णचन्द्रसिंहको जन्म नुंछेँगल्ली, काठमाडौंमा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन भएको हो । उनका बुबा सूर्यप्रसादसिंह प्रधान र आमा मायादेवी हुन्। उनको घरमा बोलाउने नाम गोविन्दप्रसाद हो र साहित्यिक चिनारी कृष्णचन्द्रसिंह प्रधान हो।

कृतिहरू[सम्पादन गर्नुहोस्]

वि.सं. २००८ सालमा भन्ज्याङनिर कवितासङ्ग्रह छपाएर देखापर्ने उनले पछिल्ला दिन आफूलाई निबन्ध र समालोचनामा केन्द्रित गरे । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ, लामो समय साझा प्रकाशनको महाप्रबन्धक रहेका प्रधानका कवि व्यथित र काव्य साधना वि.सं. २०१५ सालमा प्रकाशित कृति थियो । त्यसपछि वि.सं. २०२६ सालमा उनको सालिक निबन्धसंग्रह प्रकाशित भयो भने वि.सं. २०३६ सालमा नेपाली उपन्यास र उपन्यासकार नामक समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । २०४० सालमा प्रधानको अर्को समीक्षात्मक कृति सिर्जनाको सेरोफेरो प्रकाशित भएको थियो । अनाम सत्य प्रधानको दोस्रो निबन्धसङ्ग्रह हो र यो वि.सं. ०४४ सालमा प्रकाशित भयो । वि.सं. २०४७ सालमा पाइलाः आगतमा टेकेर उनको अर्को निबन्ध-सङ्ग्रह प्रकाशित भयो । साथै उनका पछिल्ला निबन्धसङ्ग्रह वाग्मतीको हरक (वि.सं. २०५७), नफर्कने ती दिनहरू (वि.सं. २०५९), जीन्दगी टिपोटहरू (वि.सं. २०६३) र समय सुनामी (वि.सं. २०६३) हुन् ।

प्रधानले नेवारी भाषामा पनि समीक्षात्मक ग्रन्थ प्रकाशित गरे । झीगु साहित्ये बाखँ नामक उक्त कृति वि.सं. २०३३ सालमा प्रकाशित थियो । उनको नेपाली भाषाको एउटा अर्को उच्चस्तरीय समालोचनात्मक ग्रन्थ साझा समालोचना वि.सं. २०२५ सालमा प्रकाशित भएको थियो ।

उनले तीनवटा साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेः आँखा (वि.सं. २००५), जनसाहित्य (वि.सं. २०११) र हिमानी (वि.सं. २०२०) ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

कवि व्यथित र काव्य साधना नामक ग्रन्थका लागि उनले गद्य विधामा मदन पुरस्कार वि.सं. २०१५ सालमा प्राप्त गरेका हुन्। उनले नेपाली उपन्यास र उपन्यासकारका लागि वि.सं. २०३७ सालको साझा पुरस्कार र वि.सं. २०४७ सालमा पाइला: आगतमा टेकेर निबन्धसंग्रहका लागि साझा पुरस्कारउत्तमशान्ति पुरस्कार पाए । उनले वि.सं. २०६० सालको त्रिभुवन प्रज्ञा पुरस्कार, वि.सं. २०४७ को धरणीधर पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्णपदक २०२२ पाएका थिए ।

निधन[सम्पादन गर्नुहोस्]

प्रधानको वि.सं. २०६७ सालको असार १७ गते निधन भयो ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]