कृष्ण धरावासी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कृष्ण धरावासी (जन्म वि.सं. २०१७ - ) नेपाली भाषाका साहित्यकार हुन्। यिनी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि.सं. २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाए।

जीवनी[सम्पादन गर्ने]

धरावासीको जन्म वि.सं. २०१७ साउन २ मा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो। उनको खास नाम कृष्णप्रसाद भट्टराई हो। धरावासीका पिताको नाम टीकाराम र माताको नाम अम्बिका हो। उनका घरमा चार दिदी-बहिनी र दुई दाजुभाई जन्मे। उनी जेठो छोरा हुन्। उनका बुबा ज्योतिष र अमरपुरको धुले-स्कुलको शिक्षक थिए। बुबा अपांग थिए। उनका कुर्कुच्चा टेकिन्नथे। उनी बुबासँग त्यहि स्कुल जान्थे। अमरपुर गाउँमा तामाङको ठूलै बस्ती थियो। बेलुका बुबाले घरमा पढाउँथे। उनी उत्तिको पढ्न मन गर्दैनथे । उनका बुबाले हजुरबुबासँग अंश मागे। त्यसबेला सरकारले जग्गाका लागि कागज दिंदैनथ्यो। हजुरबुबाले पाखा गरेर कमाइ खानु भने। तर पाखामा धान हुँदैनथ्यो। कोदो, मकै, फापर हुन्थ्यो। धानको भात खान मुस्किल थियो। धान भनेको रहरको अन्न मानिन्थ्यो। कोदोलाई अपवित्र अन्न मानिन्थ्यो तर धानलाई पवित्र अन्न मानिन्थ्यो।

भट्टराई परिवार वि.सं. २०२४ सालमा मधेशतिर लाग्यो। हिड्नुअघि अरूको ऋण तिर्न घरमा भएका खड्कुला, गाग्रा, भाडा आदि अरुलाई दिए। दिदी ११ वर्ष, उनी ७ वर्ष, दुईटी बहिनी क्रमशः ५ र ३ वर्षका थिए। उनीहरूको सम्पत्तिका नाममा दुईटा भरियालाई हुने सामानमात्र भए। दिदी, उनी र ५ वर्षकी बहिनी हिड्न सक्थे। ३ वर्षकी बहिनीलाई आमाले बोकिन्। हिंडेको साँझ हिवाँखोलाको बगरमा पुगे। पुसको बेला थियो। स्याँठ चलेको थियो। त्यहि बास बसे। भोलीपल्ट खोला तरे। तर कुकुर खोलो तरेन। घर छाड्दा नरोएको भट्टराई परिवार कुकुरले खोला नतर्दा रोए। भट्टराई परिवार इलामको फिदिम पुगे। घर छाडेको पाँच दिनमा साङ्रुम्बा पुग्यो। त्यहाँ मामाघर थियो । मामाहरूको आर्थिक अवस्था खासै राम्रो थिएन। पछि बुबाले कृष्णलाई लिएर मधेश झरे। झापा गए। काम के गर्ने ? बालबच्चा कसरी पाल्ने भनेर खोजेर उनका बुबा थाक्नुभयो। खेती गर्नबाहेक केही काम भएन। बुबा अपांग भएकाले निराश भए। अब पहाड फर्कने भने र बाबु-छोरा फिरे। उताबाट आमाहरू भाई-बहिनी लिएर आउँदै रहिछन्। उनीहरूको बाटामा भेट भयो। उनका बुबा र आमाबीच भनाभन भयो। उनकी आमाकै करले भट्टराई परिवार मधेश नै गयो।

उनी ९ वर्षको भएपछि शनिश्चरेको प्राथमिक स्कुल पढ्न थाले। उनी कक्षा ३मा पढ्दा उनका नयाँ साथी आए। उनी राम्रा र गोरा थिए। उनी सञ्जीव उप्रेती थिए। राम्रो परिवारका थिए। राम्रा किताब पढ्थे। उनकै सँगतले कृष्ण पढ्न र लेख्न थालें। वि.सं. २०३३ सालमा उनका पिताजी बिते। त्यसपछि उनीहरूको झुप्रो जल्यो। परिवारका सबै बाँच्न सके। जेथा सखाप भयो। उनले सञ्जीवलाई चिठी लेखेर पठाए। सञ्जीवका पिता डा. शंकर उप्रेतीले पाँच सय रूपैयाँ दिए। भट्टराई परिवार सबैथोक किन्न भ्याए। कृष्णले वि.सं. २०३४ सालमा एस.एल.सी. दिए। दोस्रो श्रेणीमा पास गरे। उनले स्नातकसम्मको शिक्षा हासिल गरेका छन्।

पारिवारिक जीवन[सम्पादन गर्ने]

उनकी पत्नी सिता पोख्रेरलको वि.सं. २०६८ सालमा निधन भयो। उनले सुदूरपूर्वी तेह्रथुम जिल्लाको आठराईस्थित ह्वाकुकी मञ्जु विमलीसँग वि.सं. २०६९ सालमा दोस्रो विवाह गरे।

कृतिहरू[सम्पादन गर्ने]

उनको पहिलो रचना वि.सं. २०३३ सालमा सूर्योदय साप्ताहिकमा कविता प्रकाशित भएको थियो। उनका पुस्तकहरूः
१. बालक हराएको सूचना (निबन्धसँग्रह, वि.सं. २०४८)
२. विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू (समालोचना, वि.सं. २०४८)
३. उन्मुक्तिका आवाजहरू (कवितासँग्रह, वि.सं. २०५०)
४. लीला लेखन (समालोचना, वि.सं. २०५३)
५. नारीभित्र त्यस्ता के छ हजुर (निबन्धसँग्रह, वि.सं. २०५३)
६. उत्तमजंग सिजापतिको आलु (निबन्धसँग्रह, वि.सं. २०५५)
७. शरणार्थी (उपन्यास, वि.सं. २०५६)
८. आधा बाटो (उपन्यास, वि.सं. २०५९)
९. झोला सती प्रथामा आधारित (कथासँग्रह, वि.सं. २०६०)
१०. पाठकको अदालतमा मुद्दा मिसिल नं.१ (समालोचना, वि.सं. २०६२)
११. आँधी नआउने घर
१२. कान्छी राधा (कवितासँग्रह, वि.सं. २०६२)
१३. राधा (उपन्यास, वि.सं. २०६२)
१४. तेस्रो आयाम र बैरागी काइँला (समालोचना, वि.सं. २०६३)
१५. तपाईँ (उपन्यास, वि.सं. २०६४)
१६. मेरो साहित्यिक यात्रा र मदन पुरस्कार (संस्मरण, वि.सं. २०६४)
१७. पाण्डुलिपी (उपन्यास)
१८. टुँडाल (उपन्यास, वि.सं. २०६५)
१९. आमा (कथा सँग्रह)
२०. गेष्टापो (२०७०)

सेवा[सम्पादन गर्ने]

पहिले उनी बैंक-कर्मचारी थिए कृषि विकास बैंकमा काम गर्दथे।

पुरस्कार[सम्पादन गर्ने]

उनले वि.सं. २०६२ सालमा राधा उपन्यासका लागि मदन पुरस्कार पाएका हुन्। उनले वि.सं. २०४६को महानन्द पुरस्कार तथा राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम-शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार आदि पाएका छन्। झापाका विभिन्न संघ-संस्थासँग आबद्ध धरावासीले धेरै सम्मान एवं पुरस्कार पाएका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]