कोदो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Finger millet
Finger Millet grains of mixed color.
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Monocots
(श्रेणीविहीन): Commelinids
गण: Poales
कुल: Poaceae
उपकुल: Chloridoideae
वंश: Eleusine
प्रजाति: E. coracana
द्विपद नाम
Eleusine coracana
Gaertn.

कोदो Finger millet (मराठी भाषा: नाचणी, कन्नड भाषा: ರಾಗಿ, उडीया भाषा: ମାଣ୍ଡିଆ, पंजावी भाषा: ਬਾਜਰਾ, गुजराँती भाषा: બાજરી, तमिल भाषा: கேழ்வரகு,तेलुगु भाषा: రాగి ,अम्हारिक भाषा: ዳጉሳ Dagusa or ቶኩሶ tōkūsō), विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । ग्रीक खाद्यान्न देवी ‘एल्युजिन’-को नामबाट यसको उत्पत्ति नाम इल्युजिन भएको हो। यसको साझा अङ्ग्रेजी नाम ‘फिंगर मिलेट’ फूलडाँठमा औंलाजस्तै बालाको झुप्पा आउने भएकोले त्यसैबाट आएको हो। कोदो वा रगी भारतमा उत्पादन गरिने एउटा महत्त्वपूर्ण खाद्यान्न हो। यो कर्णाटका र देशका केही पहाडी भेकको एक प्रमुख खाद्य हो। यो कडा मेहनत गर्ने श्रमजीवी मानिसहरूको रुचिकर खाद्य हो भने मधुमेह (डायबेटिज)-को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी हुन्छ। समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्ममा यसको खेती गर्न सकिन्छ। यसमा क्यालसियम, फस्फोरस र फलामको मात्रा प्रचुर हुन्छ। केही पहाडी क्षेत्रमा यो सानो खाद्यान्नको रूपमा उब्जाउ गरिन्छ, जसलाई अन्न र गाईवस्तुको आहार दुवै हिसाबले उत्पादन गरिन्छ। देशका उत्तरी पहाडी भेकमा कोदो प्राय: रोटी बनाएर खाइन्छ भने दक्षिण भारतमा केक, मिष्टान्न वा मिठाइहरू बनाउन कोदोको प्रयोग गरिन्छ। उम्रिएको वा टुसा पलाएको कोदोबाट पेय पदार्थ बनाइन्छ अनि नानीहरूलाई खुवाइन्छ। यो गर्भवती महिलाको निम्ति उत्तम हुन्छ अनि विभिन्न उमेरका वयस्क मानिसका लागि परिवर्तित खाद्यको रूपमा पनि यसलाई लिइन्छ।

सिक्किममा नेपालीको ‘कोदो’ शब्द नै लोकप्रिय रहेको छ। सिक्किमको सामाजिक तथा आर्थिक परिवेशले यो बालीलाई विशेष महत्त्व दिएको छ। यहाँ कोदो मुख्य रूपले छाङ वा जाँड जस्ता पेय पदार्थ बनाउन प्रयोग गरिन्छ। यसको पीठोले रोटी वा ढिंडो बनाइन्छ। यसको नल पशुको राम्रो आहार मानिन्छ। यो एक बर्खे बाली हो अनि राज्यको सबै उच्च पहाडी क्षेत्रमा ५००० हेक्टर इलाकामा यसको खेती गरिन्छ। यो अन्नको उत्पादन १९९८-९९मा ४७१३ टन भएको थियो। मोठ उत्पादित क्षेत्रको ४.११ प्रतिशत यो बालीले ओगटेको छ।

उत्पत्ति तथा इतिहास[सम्पादन गर्ने]

डे क्याण्डोल (१८८६)-का अनुसार, कोदोको अनेकौं रूप हाम्रो देशमा पाइएकोले कोदो सम्भवत: भारतबाटै उत्पत्ति भएको हो। उत्तर भारतको विभिन्न भागमा पाइने एल्युजिन इण्डिका नामक घाँसजातीय वनस्पतिबाट यसको उत्पत्ति भएको हुनसक्छ। यो भारतबाट एबिसिनिया र बाँकी अफ्रिकी देशहरूमा फैलिएको हुनसक्छ। तर भेभिलो (१९५१) र मेहरा (१९६२) एल्युजिन कोराकाना अफ्रिकी मूलको भएको ठान्छन् अनि यो बाली शुरुमा सोबोइन मार्ग भएर अफ्रिकाबाट भारतमा आएको बताउँछन्।

क्षेत्र तथा वितरण[सम्पादन गर्ने]

भारत, अफ्रिका, सिलोन, मलेसिया, चीन र जापानमा कोदो व्यापकमात्रामा उत्पादन गरिन्छ। भारतमा २.६५ बिलियन हेक्टर क्षेत्रमा कोदोको खेती गरिन्छ जसको कुल उत्पादन लगभग २.९ मिलियन टन रहेको छ। कर्णाटका, तामिलनाडु, आन्ध्र प्रदेश, उडिस्सा, बिहार, गुजरात, महाराष्ट्र अनि उत्तर प्रदेश र हिमाचल प्रदेशको पहाडी क्षेत्रको विस्तृत भागमा कोदो उब्जाउ गरिन्छ।

अन्नपूर्ण क्षेत्रमा गरिएको कोदो खेती

वनस्पति विज्ञान[सम्पादन गर्ने]

कोदो एक ठाडो घाँसजातीय एकवर्षे बाली हो । यो ६० देखि १२२ सेन्टीमिटरसम्म अग्लो हुन्छ, बोटको जरा व्यवस्थामा ठूलो संख्यामा स्थायी र रेसादार जरा रहेको हुन्छ, जसले माटोबाट क्रमिक रूपमा अनि राम्रोसँग ओस चुस्न सक्छ। बोटको भुइँडाँठ फिँजिएको हुन्छ। काण्ड खदिलो हुन्छ, तर डाँठ गोलाकार हुन्छ। पातहरू पंक्तिमय पाराले मिलेको र छुट्टै प्रकारको पातको बीचमा करङजस्तो डाँठ, लिगुल (पातको दापको भित्री भागमा रहेको झिल्लीदार त्वचा) र रेसायुक्त किनार हुन्छ। आँख्लाको अन्तमा रहेको डाँठले औंलाजस्तो बालाको गुबो (चारदेखि आठवटा) बनाउँछ, जसमा फूलडाँठको बाहिरी भागमा खापमाथि खाप परेर पत्रदल वा फुलगुच्छहरू निस्कन्छन्। प्रत्येक फूलगुच्छले चारदेखि पाँचवटा फूल बोकेको हुन्छ। पूर्ण रूपले फूल फुल्नको निम्ति फूलडाँठले छ: देखि आठ दिन लिन सक्छ। सबै औंलाजस्तो गुबोमा सँगसँगै फूल फुल्छ। सामान्यतया यो बालीले आफै पराग हाल्छ। फूलगुच्छले तीनदेखि आठवटा दाना बोकेको हुन्छ, जुन आकारमा धेरै सानो र सामान्यतया रातो-खैरो रंगको हुन्छ। कोदोलाई लगभग चारवटा समूहमा विभाजित गरिएको छ:

क. दोब्रिएको

ख. खुला (नङकटुवा वा फुर्के)

ग. फिष्टी

घ. टुप्पोमा दोब्रिएको

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]