खस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

खस (KHAS) आर्य समुहको एक जातीय समुदाय हो, जसले नेपालको पहाडी भूभागको सबैभन्दा बढी जनसंख्या ओगटेको छ। यो जातीका अन्य नामहरू पर्वते, गोर्खालीनेपाली हुन्। यो जाती तत्कालिन विशाल नेपाल --- हाल भारतमा पर्ने हिमाचल प्रदेश तथा उतराखण्ड का साथै सुदुर तथा मध्य पश्चिम नेपालको कर्णाली क्षेत्रमा प्राग एतिहासिक कालखण्ड देखि बसोबास गरेको हो। त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन्। अहिले खस जातीहरूको मुख्य स्थान भनेको तत्कालिन विशाल नेपालमामा पर्ने भू-भाग -- पूर्वमा आसम देखि पश्चिममा काश्मिर् सम्म ----हिमाञचल प्रदेश तथा उतराखण्ड, नेपाल, सिक्किम, दार्जीलिङ, भुटान, आसाम र बर्माको पहाडी क्षेत्र आदि पर्दछन्।

आज 'खस' भनेर चिनिने समुदायको प्राचीनता र नेपालको सरहद प्रवेश, भाषिक व्युत्पत्ति र ऐतिहासिकताप्रति व्यापक कौतुहल छ। ऐतिहासिक स्रोतहरूबाट खसहरू लडाकू इतिहास बोकेको हजारौं वर्ष पुरानो घुमन्ते समुदाय हो भन्ने बुझ्िन्छ। यो समुदायको प्राचीनता केलाउँदा मध्यपूर्व एशियाको इरान र वेविलोनियाका 'कश' शासक र जातिको लगभग ३८०० वर्ष पुरानो इतिहाससम्म पुग्नुपर्छ।[स्रोत नखुलेको] इरानको खसिस्तान, ककेसस पर्वत, कश्यप वा कश्पियन सागर, पश्चिम अफगानिस्तानको खस मरुभूमि र खस नदी, वाल्हीक प्रदेशको वडा खसान, काश्मिर (कश/खसमिर), काश्गर (कश/खसगृह) आदि नामलाई 'कश' वा 'खस' जातिको इतिहाससँग सम्बन्धित मानिन्छ। यो मान्यतालाई नेपालका खस शासकका वंशपरम्परा सम्बन्धी पुराना लेखोट र अभिलेखले पनि धेरथोर पुष्टि गरेका छन्।[स्रोत नखुलेको]

खस शासकका पुर्खाले जालन्धरको कुण्डली वनमा शासन गरेको र पछि खस साम्राज्यका संस्थापक नागराज (तिब्बती वंशावलीमा नागदेका छोरा चाप वा चप्पिल्ल वा चेन–छ्युग्दे)को राज्य विस्तार वाल्हीक र गान्धार इलाकासम्म पुगेको चर्चा श्रीपालीबम ठकुरीको लेखोटमा छ। खस शासकहरू 'जाव', 'जावेश्वर' जस्ता नाम र विशेषणले जालन्धरबाट पूर्व बढ्दै आएको संकेत गर्छ। अभय मल्लको अभिलेख वि.सं. १४३३ (शाके सम्वत् १२९८)मा पनि वाल्हीक खसिस्तान वा पर्सिया (फारस) सम्म खस प्रभावको चर्चा छ।[स्रोत नखुलेको]

खसहरूले तुर्क–मंगोल इलाकाका क्वार्लोक र टारटार लडाकूहरूसँग लड्दैभिड्दै मध्यपूर्व एशियातर्फबाट कश्मिर, लद्दाख पश्चिम तिब्बतको ङरी प्रदेशको गुँगे–पुराङ् इलाकामा स्थानीय बौद्ध र वोन अनुयायीहरूसँग संलग्न हुँदै प्रवेश गरेर आफ्नै बलियो राज्य स्थापना गरेको देखिन्छ।[स्रोत नखुलेको] खस समुदाय दशौं–एघारौं शताब्दीसम्ममा उक्त इलाकामा प्रवेश गर्दा मूल झुण्डबाट छुट्टिएका क्वार्लोक वा टारटार तुर्क (मंगोल) हरूले कर्णाली प्रदेशमा शक्ति फैलाइसकेका थिए। खसहरूले उनीहरूमाथि आफ्नो प्रभाव विस्तार गरेको तिब्बती, काश्मिरी तथा अन्य स्रोतहरूमा उल्लेख छ।[स्रोत नखुलेको] कश्मिरको राज इतिहास राजतरङ्गिणीको कालीगण्डकी क्षेत्रका राजा अरमुडी र कश्मिरका राजा जयपीडका सैनिकको युद्ध वर्णन, तिब्बतको गुँगेतिर भएको क्वार्लोक तुर्क–मंगोल (सोग्पो) आक्रमण, विक्रमशील महाविहारका बौद्ध तान्त्रिक आचार्य दीपंकर अतीशको जीवनी, अन्य तिब्बती स्रोत, तल्लो मुस्ताङमा तुर्क सरदार भाराडनडुरसँगको युद्धमा स्थानीय बौद्धहरूलाई खस सैन्य सहयोगको प्रसंग र मानव भूगोलको अवस्थितिले खसहरू तुर्क–मंगोललाई परास्त गर्दै नेपाल पसेको देखाउँछ।[स्रोत नखुलेको]

खस राजाहरूले पुराङ् वा खार–री (ताग्ला खार समेत), गो–हा झुमकार आदि ठाउँका पाल शासकमार्फत चिनियाँ शोग्पोहरूलाई करद गरी तुर्की घोडा उठ्ती गरेको उल्लेख पाइन्छ। खस सम्राट अशोक चल्लका छोरा आनन्द मल्ल जालन्धर प्रदेश हेर्न खटिएकाले उनलाई कतिपय स्रोतमा जालन्धरी मल्ल र त्यसपछिका खस राजाहरूलाई जालन्धरी समूहवंशी सिंजापति भनिएको देखिन्छ। यसबाट गण्डकी–कर्णाली भेकका मगर (पुराना सामग्रीमा मंग्वर वा मंगर) समुदाय क्वार्लोक र टारटार तुर्कका मूल झुण्डबाट छुट्टिएका स–साना सरदार अन्तर्गतका समूह भएको अनुमान हुन्छ। मंगोल वा तुर्क आक्रमणकारीको पछिपछि खसहरूको अर्को लडाकू शक्ति पूर्वतर्फ पसेको बुझन जरुरी छ।[स्रोत नखुलेको]

नेपालका खस क्षत्री हुन् वा ब्राह्मण, उद्भवका हिसाबले गंगाको मैदानतर्फका वैदिक ब्राह्मण र क्षेत्रीय कुलसँग तिनको कुलीय प्राचीनता फरक तथा वैवाहिक सम्बन्ध पनि निषेध थियो। धार्मिक समन्वयको संस्कार बोकेका खसहरू मष्टो मान्थे।[स्रोत नखुलेको] खस राजाहरू बुद्ध धर्मको अनुयायी र रक्षकको रूपमा तिब्बतको शक्य गोन्पा लगायतका हिमाली कन्दरादेखि लुम्बिनी, कपिलवस्तु, बुद्धगया र स्थानसम्म पुगेका उदाहरणहरू पनि छन्। नेपालमण्डलमा आक्रमणको क्रममा खसहरूले बुङ्मती, स्वयम्भू आदि क्षेत्रमा दानदातव्य र पूजाप्रार्थना गरेका प्रमाणहरू छन्।[स्रोत नखुलेको] क्राचल्ल, अशोक चल्ल लगायतका राजाहरूले बुद्ध धर्मको उत्थानमा गरेका कामको लामै ऐतिहासिक सूची बन्न सक्छ। मगध सम्राट अशोकले बोधगयालाई चढाएका तर पछि शोग्पोहरूले खोसेका वस्तीयुक्त ४४ इलाका अशोक चल्लले किनेरै बोधगया (बज्राशन) लाई चढाएको चर्चा तिब्बती स्रोतमा पाइन्छ। तिब्बती वंशावलीहरूले रिपु मल्ललाई 'धेरै भारतीय राज्य रजौटा जित्ने अधिपति' भनेको छ।[स्रोत नखुलेको]

नवलपरासीको दाउन्ने गढीमा पृथ्वी मल्लका सहयोगी सामन्त शासक देव वर्माले शैल दुर्ग बनाएका र बुटवलको सैनामैनामा खस शासनकालको बौद्ध मन्त्र 'ओम मणि पद्मे हुँ' कुँदिएको अभिलेख पाइएको छ। यसरी खसको अधीनस्त इलाका भएकोले नेपाली इतिहासमा तराई अभिन्न देखिएको हो।[स्रोत नखुलेको] कुमाउँ गढवालतर्फ खस ब्राह्मणक्षत्री भनेर चिनिने २५० र २८० थर कुल भेटिएका र त्यताका कत्युरी आदि राजवंश समेत खस नै भए पनि मष्टो परम्परा त्यति प्रचलित नभएको कुरा उल्लेखनीय छ। कारण गुँगे, पुराङ्तर्फ श्याङशुङको प्राकृतिक वोन धर्मको प्रभाव हटिनसकेकोले त्यता पसेका खसहरूले तिब्बती सभ्यतासँग घुलमिल हुनु अनिवार्य थियो। उनीहरू मंगोल समूहहरूका विरुद्ध स्थानीय वोन र बौद्धहरूलाई सहयोग गर्न भनेरै त्यता पसेका थिए।[स्रोत नखुलेको]

खस क्षत्रीबाहुन न मुगल आक्रमणबाट जोगिन नेपाल पसेका हुन्, न त यिनको मूलथलो नै बनारस वा गंगाको मैदान हो। भारतमा मुगल आक्रमणको असरले खास वर्णाश्रमी वैदिक तिरहुते ब्राह्मण, क्षत्री आदि नेपालमण्डलतर्फ शरण लिने क्रममा नेवार समुदायभित्र घुलमिल भएको[स्रोत नखुलेको] चाहिं प्रष्टै देखिन्छ। खस समुदाय गान्धार, वाल्हीक, काश्मिर, काश्गर, पश्चिम तिब्बतको गुँगे–पुराङ वा कैलाश मानसरोवर इलाका हुँदै पश्चिम–उत्तर कुनाबाट टारटार वा क्वार्लोक तुर्क–मंगोलसँग लड्दैभिड्दै र आवश्यकता अनुरूप सम्झौता समेत गर्दै भोट जातिसँग मिल्दै नेपाल पसेका हुन्।[स्रोत नखुलेको] यो भूखण्डमा खस समुदायको प्रवेश एक युगान्तकारी घटना थियो।

खसहरूको मातृभाषा खस कुरा हो जुन हजारौ वर्षको अन्तरालमा विकशित, विस्तारित र परिमार्जित हुँदै हालको नेपाली भाषा बनेको हो।

खस जातिका मुख्य हाँगा[सम्पादन गर्ने]


को हुन् खस ?[सम्पादन गर्ने]

मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ। इतिहासविदहरूको अथक मेहनत, खोज र अनुसन्धानले केही तथ्यहरूलाई हाम्रा अगाडि ल्याएको छ। ती तथ्यहरू नै आज हाम्रो अतितलाई हेर्न, बुझ्ने र विश्लेषण गर्ने ऐना जस्ता भएका छन्। प्राज्ञिक मानव समुदायको चिया गफमा प्रायः यो भनाई एउटा कहावतका रूपमा लिने गरिन्छ। “जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन। जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन।” यसले मानव जातिको व्यवहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाई वा आँकलन भन्दा कठिन छ।

मानव जातिको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ। इतिहासविद्हरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन्। [१] आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन। राज्य र त्यसका सीमाहरू पनि थिएनन्। मानव जाति छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे। [२] मानव जातिको विकास असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ। [३] पुरात्वविद्हरूले मानव जातिले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन्। ती हुन्– पाषण युग, कास्य युग र लोह युग। यो विभाजनलाई पर्याप्त मानिदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो। [४] पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन्। जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रीक, टाइग्रिस र युफ्रेटिक सभ्यता आदि पर्दछन्। ग्रीकबाट त आजको विश्वनै ऋणी छ। मिस्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ। [५] यिनै मानव सभ्यताको विकासक्रमसँगै राज्य, साम्राज्य र जातिहरूको अस्तित्व तथा विकास भएको पाइन्छ। यही राज्य, साम्राज्य र जातिहरूको विकास क्रममा प्राचीन बेबिलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ। कस वा कक्साइट खस जातिकै प्राचीन नाम हुन्। [६] पश्चिम एसियाको मानव समाजको विकासमा यो जाति लडाकु, बुद्धिमान, चतुर र बिजेता जातिको रूपमा परिचित भइसकेको थियो। लगभग २९०० ई.पू.मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला जातिको स्थापित गरेको सभ्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए। यो १००० वर्ष ई.पू.को कुरा हो। त्यतिबेलाको प्रचलित हम्बुरावी कानूनमा “जस्तालाई त्यस्तै खुनको बदला खुन” [७] भन्ने विधानमा आधारित न्यायप्रणाली थियो। यिनै हम्बुरानीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए। खसहरूको आक्रमण जारी रह्यो। सन् १७०० ई.पू.देखि ११५५ सम्म कसहरूले त्यही बेबिलोनियामा विजय प्राप्त गरेका थिए। ई.पू. १७०० देखि ११५५ सम्म कसहरूले त्यही बेविलोनियामा शासन गरे भन्ने ऐतिहासिक तथ्यहरू पाइन्छन्। यो जाति राज्य सञ्चालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो जाति मानिन्छ। खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान आदि। भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्ह दर्शाउँछन्।

खसहरू आर्य भए पनि वैदिक आर्य होइनन्। [८] यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा--बिशाल नेपाल-- प्रवेश गरेका थिए र इसाको पाँचौं शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए। [९] यो तथ्यले नेपालमा अहिले बाक्ला बाक्ला तथा अन्य जातिहरूसित घुलमिल भई बाक्लै बस्तीमा रहेका आर्य खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) बाह्रौ शताब्दीमा मात्र नेपाल आएका जाति हुन्। यहाँका रैथाने जाति होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तथ्य प्रमाणहरूसित मेल खाँदैनन्। बाह्रौं शताब्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए।[१०] पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौं शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ। नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए।

पृथ्वी मल्लको राज्यकाल (वि.सं. १३९५–१४४५) खस साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाध मानिएको छ।[११] पृथ्वी मल्लको अन्तिम समयतिर विखण्डित हुन थालेको खस साम्राज्य मलाय वर्माको राज्यकाल (वि.सं. १४३५–४६) पछि बिलायो।[१२] यसरी ई.पू. प्रथम शताब्दीतिर बेविलोनिया हुँदै पश्चिम एसियामा विस्तार हँदाहुदै भारत वर्ष छिरेका र इसाको पाँचौं शताब्दीतिर कास्मिरबाट पहाडको कछाडै–कछाडै कुमाउँ,गढवाल हुंदै पश्चिम नेपाल छिरेका खसहरूको साम्राज्य विलाए तापनि नेपालमा हजारौं वर्ष पुरानो रैथाने अस्तित्व खस जातिको पनि छ। खस साम्राज्यका सरकारी दर्जा तथा कर्णाली प्रदेशका गाउँहरूबाट खस जातिका थरहरू उत्पत्ति भएका छन्।

सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू[सम्पादन गर्ने]

जस्तैः

कर्णाली प्रदेशका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू[सम्पादन गर्ने]

धिता- धिताल, पाण्डुसेरा- पाण्डे, सिञ्जा- सिंजापति, चैडिलागाउँ -चौलागाई, प्याकुरी- प्याकुरेल, सिम्खाडा- सिम्खडा,

तिमिल्सैन- तिमिल्सिना, तिम्सिना,घमिराउँ- घिमिरे, देवकोट- देवकोटा, ढुङ्ग्रानी- ढुङ्गाना, ढाँकु- ढकाल, बजगाउँ- बजगाई, रिमा- रिमाल, रसाईली, स्वाँरा- स्वार, घोडासैन- घोडासैनी, पुरासैन- पुडासैनी, धमाली- धमला, दर्ना- दर्नाल, कुइका- कुइकेल, चाल्सा- चालिसे, बारला- बराल, लामिसाल (लम्साल)

रेगम- रेग्मी, सोत- सोती, खार- खरेल, खराल, सुवाडा- सुबेडा, सुवेदी, बयाना- बनियाँ, बानियाँ

जमकट्टी- जमरकट्टेल, छाती- छन्त्याल, कुँडी- कुड्याल, बेलकाटे- केलकाटिया, खातिवाडा- खाती

गाजरी- गजुरेल

डोटेखेला- डोटेल, निरौली- निरौला, ओझाना- ओझा, बोगटान- बोगटी, मुडभरा- मुडभरी

खनाया- खनाल, कालैगाउँ- कल्यान, खत्याड- खतिवडा

लामाछान्नी- लामिछाने, बाँस्कोट- बास्कोटा, बाँस्तोली- बास्तोला, सातला- सत्याल, लुयाटी- लुईटेल, चापागाउँ- चापागाईं, नेपा- नेपाल, रिजु- रिजाल, पोखर- पोखरेल, लम्सु- लम्साल, लम्जी- लम्जेल, दह- दाहाल, दहाल, गैह्रा- गैह्रे, गैरे भूर्ति- भूर्तेल, पराजुल- पराजुली, कोइराली- कोइराला, दवाडा- दवाडी, कट्टील- कट्टेल, भुषाकोट- भुषाल, सुइय- सुञेल, वड- वडाल, मोडासैन- मरासैनी, मरासिनी, गुरगाउँ- गुरागाईं

खिटि्कसैन- खिर्सिने, भुतौ- भुर्तेल, राँचु- रुचाल, गेला- गेलाल, वञ्जाडा- वञ्जाडे, बाँझकोट- बाझकोटा

सर्पुकोट- सापकोटा

रजौरा- रजौरिया

मजगैयाँ आदि खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरूको नाउँबाट नेपालका खसहरूको थर निर्धारण भएको परिदृष्यमा खसहरू यहाँका आदिबासी र पुराना रैथाने हुन् भन्ने कुरामा कुनै विवाद गर्ने आधार देखिंदैन। पुराणहरूमा नेपालाई जम्मुद्दिप भनिएको छ। नेपाल प्राचिनकालबाटै भारतीय आर्य ऋषिमुनिहरूको तपोभूमि तथा खस राजाहरूको विहार गर्ने स्थानका रूपमा प्रचलित छ यो आधारबाट हेर्दा त खस जाति यहाँको अनादीवासी जस्तो देखिन्छ। तर खोजकै विषय छ किराँत राजाले कुरूक्षेत्रको लडाईमा भाग लिएको भन्ने श्रुतीले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैनन्। खस जाति भनेका बाहुन, क्षेत्री, ठकुरी हुन् जस्तै पाण्डे, शाही, थापा, बस्नेत, विष्ट, कुँवर, महत[१३] आदि सम्पूर्ण त्यसमा पर्दछन्। वर्तमान कुमाउँ मण्डल खसमा (कस्साइट) बताइने पश्चिम इसियाई पर्वतीय जातिको विशाल लिला क्षेत्रको पूर्वी भाग थियो।[१४] अरबीमा कस्मियन सागरलाई बहरै कस्सर भनिन्छ। जसको अर्थ कस्सहरूको सागर भन्ने हुन्छ। यस्तै कस्स जातिको उपनिवेश कस्सीर कलान्तरमा काश्मिर बन्न गयो। बैदिक साहित्यमा यो जातिलाई कास भनिन्थ्यो। असुरहरूसित रक्तमिश्रण भएपछि यो जातिलाई ब्राम्य भन्न थालियो। रामायण महाभारत लगायतका हिन्दू पुराणहरूमा यो जातिलाई खस या खश भनिएको छ। मनुस्मृतिमा खस जातिलाई धर्मच्यूत मानिएको छ। कुमाउँमा राजपुत कालमा आप्रवासी जातिहरूले खसहरूको संसार र भाषा खस कुरालाई आत्मसाथ गरे। उन्नाइसौं शताब्दीको आरम्भमा ब्रिटिस शासकहरूले कुमाउँ, गढवालको आधा भन्दा धेरै जनसंख्यालाई खस या खसिया मुलुक नामाङ्कन गरे।[१५]

इतिहासमा एउटा प्रभावशाली जातिका रूपमा रहेका खसजातिको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख पाईदैन। यहाँसम्म कि खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुंदै गएको थियो।[१६] यसबाट के देखिन्छ भने यो जति आफ्नो भाषा, संस्कृति, संस्कार र जातीयतामा त्यति कट्टर भएको पाईंदैन। यो जतिले हिन्दूकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो तर त्यसलाई पनि अहिले क्रमशः छोड्दै गएको पाइन्छ। यसको निवास्थान कहाँ हो? यी आज कहाँका रैथाने मानिन्छन् त? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्या अनुसार यो गढवालको उत्तरको प्रदेशको निवासी नेपाल आदि देशमा रहने वाला ब्राम्य जाति[१७] भन्ने उल्लेख छ। यसबाट कुमाउँ गढवाल र नेपालको विशेषत: पहाडी भाग, पर्वतहरूको काख खस जातिको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ। धर्म, साम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो जाति नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनजातिहरूको सस्कृतिसँग घुलमिल भई जनजातिका कैयौं संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन। अहिले इतिहासको एउटा परिवेशमा खस जातिले अबलम्बन गरेको वर्णाश्रम धर्मलाई समयको गतिसँगै तिब्र गतिमा परित्याग गर्दै गएको पनि देखिन्छ। नेपाली खस भारतवर्षमा प्रवेश गरेपछि बैदिक आर्यहरूसँग सम्पर्क हुन जाँदा खस आर्यहरू पनि वर्ण व्यवस्थातर्फ आकर्षित भए। प्राचीन खसहरू ब्राम्हण बन्ने प्रक्रिया प्राचिन पौराणिक कालमा मात्र सीमित भयो। मध्यकालमा सत्तामा पुगेका खसहरू ठकुरी बने। खसहरू तागाधारी क्षेत्री बन्ने चलन कायमै छ। तागाधारीमा परिवर्तित नभएका मतवाली क्षेत्री वा पावइ खस भन्निछन्।[१८]

खस आगमन पहिले पश्चिम नेपाल टुक्रा–टुक्रामा विभाजित थियो। अहिलको सेती–महाकाली अञ्चल कुमाउँका शासकका अधिनमा थिए। मगरातमा मगर मुखियाको शासन थियो। गण्डकी प्रदेशको उत्तरी भागमा गुरुङ जातिका कविला राज्यहरू थिए। कुमाउँ, गढवाल र नेपालको पश्चिम भागमा जुम्लामा रहेका खसहरूको मध्य तथा पूर्वी पहाडी नेपालतिरको प्रवेशले खस भाषा, खस सभ्यता खस साम्राज्यलाई नै नेपालभरी विस्तार गर्‍यो। जुम्लाको सिञ्जालाई राजधानी बनाइ त्यहाँबाट फैलिएका खसहरू (बाहुन, ठकुरी, क्षेत्री र शुद्र) लाई जुम्ली तथा कुमाउँलाई राज्य बनाएर बसेका र त्यहाँबाट पश्चिम नेपाल हुंदै मध्य तथा पूर्वतिर छिरेका खसहरूलाई कुमाई खस भन्ने प्रचलन अहिले पनि छ। जस्तै उदाहरणका लागि पर्साइ, सिटौला, ओली, कुमाई हुन्। भने रिजाल, भण्डारी, पण्डित, थापा, खड्का आदि जुम्ली हुन्। खसहरूको आगमनले नेपालमा रहेको कविला जनजातीय राज्य कब्जासँगै खस भाषा र खस संस्कृतिलाई विस्तारै स्थापित गराएको देखिन्छ।

खस र किराँत[सम्पादन गर्ने]

किराँतहरूभित्र लासा गोत्रका लुम्मु (लेय आझ अर्थात् सौहिक मूलका लिम्बुका पूर्वज)ले प्रवेश गर्नुभन्दा पहिलो किराँतको काशी गोत्र थियो। मध्ये एसियाको किङिगज किर (किराँत) र गिज (काशी)को साभा विभेद विन्दू हो। त्यहाँबाट विभक्त हुनुपूर्व ति दुवै एक थिए।[स्रोत नखुलेको]

खस र लाङ्घालीहरू[सम्पादन गर्ने]

खस जातिको प्राचिन इतिहासलाई हेर्दा खस र लाङ्घालीहरू (मगर आदि)को सम्बन्ध पनि अनादिकालिन बन्धकका रूपमा देखिन्छ। अहिले हस्तिहरूको उत्थानको युगमा अनेकौं काशी (खस) हरू गज (नाग अथवा ला149ा)मा परिणत भएका थिए। आदित्य मित्तानी युगमा खस (गज) हरू पृथ्वीका सबै दिशामा दिग्गजका रूपमा तैनाथ भएका थिए पछि नेपालका कैयौं लाङ्घाली जाति खस जातिमा प्रवेश गरेका थिए।[स्रोत नखुलेको] नेपालका खसको विहेमा मगर नास्ती र मगरको विहेमा खस नास्ती भन्ने प्रचलन छ। यो प्रचलन असाध्यै पुरानो प्रचलन हो। तर यसले खस र लाङ्घाली (मगर आदि) का बीचमा असाध्यै लामो सामाजिक सम्बन्ध भएको देखाउँछ। पराक्रमको आधारमा कतिपय लाङघालीहरू खसमा रूपान्तरण भएको र कतिपय खसहरू लाङघालीमा रूपान्तरण भएका प्रशस्त ऐतिहासिक तथ्यहरू र जनश्रुति पाइन्छ।[स्रोत नखुलेको] अहिले हामीले नेपाली समाजमा खस बाहुन र लाङघालीहरूका थरमा पनि समानता पाउँछौं। जस्तै बराल, थापा, खड्का, लामिछाने, बुढाथोकी, भण्डारी आदि लाङघाली र खस दुवै जातिका थर हुन्। जनश्रुतिलाई मान्ने हो भने त बुढाथोकी मगरहरूले अझै पनि कहीं कहीं आफूलाई खसको सन्तान भन्न हिच्किचाउँदैनन्। बालकृष्ण पोखरेलका अनुसार मगर र खसको नाता धेरै सन्निकट छ। आज कोही खसहरूलाई पावई अर्थात् मलवाली क्षेत्रका रूपमा पाउँदा र उहिले केही मगरहरूलाई राजसि (ब्रामण, नरेस) का रूपमा पाउँदा सन्निकटताको यो पक्ष प्रष्टिएर आउँछ।

खस र तामागण[सम्पादन गर्ने]

स्थुलरूपमा तामाङ (त149ण) अथवा अस्वगण भित्र नेवार, तामाङ, थारू, गुरुङ र थकालीलाई पाउँछौं।[स्रोत नखुलेको] उहिले केही काशी खसहरूले पनि अस्वगण भित्र प्रवेश गरेका थिए भन्ने कुरा घोडावाजी फ्रान्सेली शब्द गाजी (तुलनीय संस्कृत बाजी)ले पनि प्रदान गर्दछ। यसबारे पहिलो भागको सातौं अध्यायमा विशेष रूपले भनिएको छ। केही खसहरू (चन, थकाली, अधिकांश नेवार देउभाजु आदि)ले त149ण समाजमा प्रवेश गरेका छन्। भन्नाले तङगण समूहका नेपाली र खसहरूका बीचमा पनि रगतको दोहोरो आदान प्रदान भएको छ।[१९] यसबाट के देखिन्छ भने आर्यरूपी खस जाति र मंगोलियनका बीचमा रक्त सम्बन्ध मात्र होइन जातीय समागम भएको पनि देखिन्छ। केही किराँतहरूले अहिले पनि आफूहरूलाई तागाधारी वा जनै लगाउने जातिका रूपमा दावी गर्दैछन्। जनै लगाउन पनि थालेका छन्। बरू संस्कृति र परम्परामा त्यति कट्टर नभएको खसले जनै लगाउने परम्परालाई विस्तारै छोड्दै गएको देखिन्छ।

खस भाषा[सम्पादन गर्ने]

बेबिलोनियाको अभिलेखबाट कस वा खस भाषाका ३०० जति शब्द र कसहरूले पुज्ने गरेका ३० वटा देव देविका नाम जानकारीमा आएको बताईको छ। कस अर्थात् खसहरू[स्रोत नखुलेको] बाल्लीक प्रदेशमा आइपुग्दा उनीहरूले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध भएको बुझिएको छ। ख्याती प्राप्त भाषा शास्त्री जी.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका छन्। पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिएको छ। खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो। पछि गएर सबै बाहिसे र अधिकांश चौविसे राज्यको राज्य भाषा नेपाली हुन गयो। यो खस वा हालको नेपाली भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषा भित्र पर्दछ। यो भाषाको विकास पनि निकै द्रुत गतिमा भएको देखिन्छ। आज हामीले नेपाली भाषाका रूपमा बोलिने खस भाषा यही अवस्थामा थिएन। साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हुंदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाटै फैलिंदै आसाम र वर्मा तथा भूटानसम्म फैलिएको छ। विकास भएको र सजिलो भाषा हुनाले र नेपालमा खस राज्यको साम्राज्य कायम भएको हुनाले पनि यो भाषालाई अन्य भाषा भाषीहरूले ग्रहण गरेका र विस्तार भएको देखिन्छ। २०५८को जनजणना अनुसार ४८.६१ प्रतिशत नेपाली जनताले आफ्नो मातृभाषा नेपाली बताएका छन्। अन्य मातृभाषा बोल्ने जनजातिहरूले पनि नेपाली भाषालाई कामकाजी र दोस्रो भाषा बनाएका छन्। यसबाट नेपाली या खस भाषा देशका बहुसंख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रूपमा स्थपित भएको छ। नेपाली या खस भाषा विस्तारै स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका कारण हो। यसको लागि पंचायती साशन सम्म पंचवर्षीय योजनामा अरु भाषाहरूको प्रयोग न्युनिकरण गर्न सरकारी कोष प्रयोग हुन्थ्यो। प्रजातन्त्र स्थापना भैसक्दा पनि नेपालको कुनै पनि सरकारी कामकाजमा नेपाली बाहेक अरु भाषा प्रयोग गर्न गैह्र कानूनी हुने सर्वोच्च अदालतले फैसला गरेको थियो, जुन दिनलाई अन्य भाषीहरूले कालोदिनको रूपमा अहिलेसम्म मनाउंछन्। लोकतन्त्र स्थापना पछि पनि, अहिले सम्मको नेपाल सरकारको बजेट र नेपालको शिक्षा प्रणालीमा सरलीकरण लगायतका अन्य भाषालाइ प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको छैन।

नेपालको खस अंग[सम्पादन गर्ने]

नेपाल एउटा बहुराष्ट्रिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो। नेपाली समाजका विविध अंगहरू छन्। जस्तै मधेसी, थारु, कोचे, लिम्बु, याखा राई, हायु र सुनुवार, झै, किराँतहरू, मगर, थामी, चेपाङ, लाप्चे, कुसुण्डा र राजी, झ्र, लाङघालीहरू, नेवार, तामाङ, गुरुङ रथारू झै त149णहरू केही हिमाली, राव, तराइलीहरू। यी अनेकौं अंगहरू मध्ये खस नामक अंगले पनि नेपाली हुनुमा गौरव मान्दै आएको छ।[२०] नेपालको एकिकरण राष्ट्रिय एकता तथा अङ्ग्रेजी साम्राज्यवादका विरूद्धको संघर्षमा नेपालको इतिहासमा खस जातिले बलिदानीपूर्ण संघर्ष गर्दै आएको छ। नेपालको इतिहासमा राणा शासन स्थापना, कोत पर्व, भण्डारखाल पर्व, पंचायती व्यवस्था, साथै नेपालको वर्गीय मुक्ति र सामाजिक मुक्ति आन्दोलनमा पनि खस जातिको भूमिकामा रहेका देखिन्छ। वर्गीय समाजमा इतिहासको शासक यो जाति मात्रै हो। साथै, शासित र उत्पीडित रैतीका रूपमा, भाषिक शोसन बाहेक, अन्य उत्पीडनमा अन्य जातिहरू झैं यो जाति रहेको छ।

सामाजिक इतिहासमा खस[सम्पादन गर्ने]

माथि नै बताइसकिएको छ कि खसहरू आर्य हुन् तर बैदिक आर्य होइनन्।[स्रोत नखुलेको] एक समय खस साम्राज्यको राज धर्म बौद्ध थियो। राजा भारदार र सामान्य प्रजा समेत बौद्ध धर्ममा प्रवल आस्था राख्थे।[२१] तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिए भने कुमाउँ र गढवालका हिन्दूहरूका अगाडि खसहरूले आफूलाई संस्कारका भक्तका रूपमा उभ्याउँथे। खसहरूमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएन। त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दूकरण हुन असहज नभएको देखिन्छ। कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको र संस्काकारमा समेत उदार हुनाले कुमाउँ हुंदै नेपाल पसेको खस जातिले नेपालमा प्रचलित रहेका मंगोलियनहरूलाई दशैं पर्व मान्न सिकायो भने मंगोलियनहरूले कुनै उत्सवमा निधारभरी चामलका अक्षता लगाउने प्रचलनलाई दशैंमा टिकाका रूपमा अनुसरण गर्‍यो।[स्रोत नखुलेको] अहिले वर्णाश्रम र खानपानमा समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफूलाई समय सापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ।

प्राग एतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो। नेपालका आर्य खस, मधेसी आर्य र मंगोल सबै बाहिरबाट आएर बसेका जाति हुन्। मंगोलियन जातिको नेपाल प्रवेश मुख्यतः उत्तर र पूर्वोत्तर दिशाबाट भएको देखिन्छ। भने खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए भने मधेसी दक्षिणबाट। यी दुई जाति मध्ये पुराणलाई छोड्दा नेपालमा मंगोलियन जातिको प्रवेश पहिले भएको देखिन्छ। [२२] नेपाली संस्कृति कुनै जातिको प्रवेशले अर्को जातिको संघर्ष नेपालमा भएन।[२३] खसहरूले नेपालमा पहिले प्रवेश गरेका मंगोलियनहरूलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन्।[स्रोत नखुलेको] यहाँका आदिबासी, आर्य र मंगोलियनका बीचमा ठूलो मात्रामा जातीय संघर्ष भएन। दुवै जातिले प्रारम्भकाल देखि नै एक अर्काको अस्तित्व स्वीकारर्दै मेलमिलाप गरेर बसेको देखिन्छ।[२४] नेपालका यी जातिहरूका बचिमा र अन्य जातिहरूका बीचमा पनि सांस्कृतिक आदानप्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहंदै आएको छ। नेपालको सामाजिक इतिहासमा यो सांस्कृति व्यावहारिक तथा मनोवैज्ञानिक संगमलाई नेपाली सामाजिक सभ्यताका रूपमा अरूले पनि मूल्यांकन गर्ने गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. [ प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]
  2. [ प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]
  3. [राहुल साँकृत्यान, मानव समाज, लोक भारती प्रकाशन, इलाहावाद–१ अठवाँ संस्करण – १९९३ , पृष्ठ ११]
  4. [प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]
  5. [एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, संसारका इतिहास युरोसिया पब्लिसिङ हाउस प्रा.लि. रामनगर, नइदिल्ली, प्रथम संस्करण १९६६, पृष्ठ २६]
  6. [प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौं प्रथम संस्करण, २०६१, पृष्ठ १९५]
  7. [एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]
  8. [एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]
  9. [एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]
  10. [एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]
  11. [एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]
  12. [एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]
  13. [यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) जातिके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३]
  14. [यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) जातिके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]
  15. [यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) जातिके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]
  16. [यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) जातिके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]
  17. [यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) जातिके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]
  18. [प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौं प्रथम संस्करण, २०६१, पृष्ठ १९६]
  19. [बालकृष्ण पोखरेल, खस जातिको इतिहास, उदात्त अनुसन्धान अड्डी, बिराटनगर, २०६५ पृष्ठ ६३४]
  20. [ बालकृष्ण पोखरेल, खस जातिको इतिहास, उदात्त अनुसन्धान अड्डी, बिराटनगर, २०६५ पृष्ठ ६३४ २०]
  21. [प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौं प्रथम संस्करण, २०६१, पृष्ठ १९७]
  22. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौं २०५३ पृष्ठ १]
  23. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौं २०५३ पृष्ठ १]
  24. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौं २०५३ पृष्ठ १]

साभार : (शशिधर भण्डारी) हाक साप्ताहिक

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

"http://ne.wikipedia.org/w/index.php?title=खस&oldid=404064" बाट निकालिएको