गङ्गालाल श्रेष्ठ
गङ्गालाल श्रेष्ठ(वि.सं. १९७५-१९९७) नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए।
स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २-३ वर्ष पढेपछि उहाँ काठमाडौँ र्फकनुभयो। वि.सं. १९९४मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गर्नुभयो र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै हुनुहुन्थ्यो। गङ्गालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो। महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गङ्गालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा) राणा शासन विरुद्ध बोले बापत पक्राउ परि छुट्नुभयो। दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणा शासन विरोधी गतिविधिमा सक्रिय हुनुभयो। प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्यो। उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उहाँ विवाहित हुनुहुन्थ्यो। पत्नीको नाम हसिनादेवी हो।