गुर्जो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुर्जो
गुर्जोको पात
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
युडिकट्स
गण:
रानुन्कुलालस
कुल:
मेनिस्परमासिया
वंश:
टिनोस्पोरा
प्रजाति:
टी कोर्डिफोलिया
वैज्ञानिक नाम
टिनोस्पोरा कोर्डिफोलिया

गुर्जो (Tinospora cordifolia) नेपालमा पाइने एक किसिमको जडीबुटी हो।

परिचयः[सम्पादन गर्नुहोस्]

यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।

फैलावट[सम्पादन गर्नुहोस्]

यो उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।

उपयोगः[सम्पादन गर्नुहोस्]

यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ।

खेती विधिः[सम्पादन गर्नुहोस्]

यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ। खासगरी गर्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ।

वेर्ना तयार गर्नेः[सम्पादन गर्नुहोस्]

    • हाँगाको कलमीबाटः डाँठका कलमीबाट नै यसका विरुवाहरू तयार गरिन्छन्। यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ। फागुन / चैत्रतिर यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ। पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ। यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन्। यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार / श्रावण उचित समय मानिन्छ।
    • वीउबाटः यसको फलहरू असोज मंसीरमा पाक्दछन्। पाकेका राता फलहरू टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरू नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ। सङ्कलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ। अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन / चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ।

वेर्ना सार्नेः[सम्पादन गर्नुहोस्]

नर्सरीमा तयार गरिएका वेर्नाहरू खासगरि कुनै रुखहरूको फेदमा लगाइन्छ। किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो।

हेर विचारः[सम्पादन गर्नुहोस्]

लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ भने पछिल्ला वर्षहरूमा त्यति हेर विचारको खाँचो पर्दैन।

वाली सङ्कलनः[सम्पादन गर्नुहोस्]

यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ। लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हने गरी काटेर सुकाइन्छ। अथवा मुग्रोले थिचेर चेप्टो पारिन्छ। अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ। भण्डार गर्दा ओस आउन दिन हुँदैन। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]