गोत्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन्। उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन्। त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन्। गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो। एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन। नेपालमा जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको परवाह गरेको पाइँदैन। हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर-बाजेका सन्तान र उनिहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर-बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । [१] हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ । एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो ।[१] अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ । [१]

गोत्रको परिभाषाबारे भेटिएका केही तथ्यहरू[सम्पादन गर्ने]

"नेपाली थर गोत्र प्रवर कोष" नामक पूस्तकका लेखक श्रीहरी रुपाखेतीले गोत्र के हो भन्ने विषयमा यस्तो लेखेका छन् । उहिलेदेखि अहिलेसम्म वेद, वेदाङ्ग, पुराण इतिहासदेखि लगेर अन्य शास्त्र तथा शास्त्रकारहरूले हाम्रा आदिकालका स्वनामधन्य ऋषिहरूका उल्लेख गरेका छन् र हामीहरू तिनैका सन्तान हौं र तिनै ऋषिहरूको नामबाट गोत्र आरम्भ गरिएको हो । उनले आफ्नो पूस्तकमा विभिन्न ग्रन्थहरूले गोत्र बारे गरेको व्याख्याको सान्दर्भिक उल्लेख गरेका छन् । सोही पूस्तकबाट उदृत गरिएका पंक्तिहरू यस प्रकार छन् [१]:-

विश्वामित्रो जमदग्निर्भारद्धाजाऽथ गौतमः , अत्रिर्वशिष्ठः कस्यप इत्येते सप्तर्षयाः ।, सप्तानामृषिणामगत्याष्टमानां यदपत्यं तदगोत्रम् ।
अर्थात विश्वामित्र, जमदग्नी, भारद्वाज, गौतम, अत्री, वशिष्ठ, कस्यप यी सात सप्तर्षि र आठौं अगस्त्य ऋषिका जती सन्तान हुन् ती गोत्र भन्नु नै खलक हो ।
- प्रवरमञ्जरीकार वौद्यायन
सन्ततिर्गोत्रजननकलान्यभिजनान्वयौ । वंशोऽन्ववायः सन्तानः ।
अर्थात सन्तती, गोत्र, जनन, कुल, अभिजन, अन्वय, वंश र अन्ववाय एवं सन्तान यी सबै शब्दको अर्थ सन्तान हो ।
-अमर कोष २ ।७। १

गोत्रको सम्वन्धमा विभिन्न नेपाली ग्रन्थहरूले पनि प्रसस्त व्याख्य गरेका छन् । ति मध्य केही ग्रन्थहरूले गोत्रको परिभाषा यसरी गरेको देखिन्छ । [१]

  • वंशविस्तार गर्ने महर्षिहरू गौतम, विश्वामित्र, जमदग्नी, भारद्धाज, अत्री, वशिष्ठ र कस्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन् तिनलाई गोत्र भनिन्छ ।
    • -संस्कृत नेपाली शब्दकोष
  • वंश प्रवर्तक ऋषिमुनिका नामबाट चलि आएको पुर्ख्यौली चिनाउने उपनाम गोत्र हो ।
    • -वृहत नेपाली शब्दकोश
  • आफ्ना नामबाट सन्तान व खलकैको उपनाम बनेको गोत्र प्रवर्तक मुल पुरुष गोत्र हो ।
    • - नेपाली शब्दसागर
  • गोत्र प्रवर्तक ऋषिमुनी आदिको नामबाट चलिआएको पुर्ख्यौली वंश गोत्र हो ।
    • -प्रयोगात्मक नेपाली शब्दकोष

हिन्दूहरूका महान धर्मग्रन्थ निर्णयसिन्धु र धर्मसिन्धुले गोत्रको परिभाषा यसरी गरेका छन् । [१]

तत्र गोत्रलक्षणमाह प्रवरमञ्जर्या वौद्यायनः विश्वामित्र जमदग्निर्भारद्धाजऽथ गौतमः । अत्रिर्वशिष्ठः कश्यप इत्यते सप्तर्षयाः । सप्तानामृषीणामगस्त्याष्टमानां यदपत्यं तद्गोत्रम ।
- निर्णयसिन्धु (समय सं. १६६८)
तत्र गोत्र लक्षणम् । विश्वामित्रो जमदग्निर्भारद्धाजोऽथ गौतमः । अत्रिर्वशिष्ठः कश्यप इत्येते सप्त ऋषयः । सप्तानामृषीणां यदपत्यं तद्गोत्रमित्याचक्ष्यते ।
-धर्मसिन्धु (समय सं. १८४०)

यी दुबै धर्मग्रन्थले सम्पूर्ण रुपमा प्रवर मन्जरीका लेखक वौद्ययान मत अघि सारेको पाइन्छ । त्यस्तै यही मतलाई सतकर्म रत्नावलीमा पनि व्याख्या गरेको पाइन्छ । यसरी विभिन्न विद्वानहरू तथा ग्रन्थहरूमा गोत्रको बारेमा प्रसस्त व्याख्या गरेको पाइन्छ । समग्रमा भन्नु पर्दा गोत्र भन्नाले हिन्दू संस्कृती अन्तर्गतका केही समाजहरू आफूलाई आफ्नो उत्पत्तिको पुर्खालाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी आफूलाई आफ्नो प्रथम पुर्खाको नामबाट परिचित र वर्गिकृत गर्न त्यही प्राचिन पुर्खाको नामलाई आफ्नो गोत्र मान्दै हजारौं हजार वर्षदेखि निन्तर रुपमा यो सामाजिक परम्परा चल्दै आएको छ र अहिले हामी यसैको एक हिस्साको रुपमा रहेका छौं ।[१]

गोत्र शब्दको उत्पत्ति[सम्पादन गर्ने]

जर्मन मानवशास्त्री म्याक्स मुलरले हिन्दू समाजमा गोत्र प्रणालीबारे गरेको खोज अनुसार गोत्र शब्दको उत्पत्ती बारेमा यस्तो भनेका छन् - " गोत्र पद्धति भनेको प्राचिनकालमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र परिवारहरूको वर्गिकरण र पहिचानकालागि बनाइएको प्रणाली भित्रको एक भाग हो । र यसरी प्रचलनमा ल्याइएको गोत्र मुलतः गोत्र पर्वर्तक ऋषिको नामबाट राखियो ।" [१] मानवशास्त्री मुलरले गोत्र उत्पत्तिको बारेमा यसो लेखेका छन् - " गोत्र विभाजन प्रक्रियाको आरम्भ ऋग्वेद कालिन समय भन्दा पछी, यजुर्वेद कालिन समयमा भएको हो ।" यस भनाइ अनुसार हिन्दू समाजमा गोत्र प्रणालीको विकास ऋगवेदकालिन समय भन्दा पछि भएको देखिन्छ । खासगरी यजुर्वेदिक कालबाट ऋषिमुनीहरूले गोत्रको सुरूवात गरेको देखिन्छ । [१] मानवशास्त्री मुलरले आफ्नो खोजमा लेखेका छन् - " गोत्रहरू प्राचिन कालका सातवटा ऋषिहरूका नामबाट राखिएको हो । ति सातवटा ऋषिहरू हिन्दू धर्मशास्त्रका मुख्या सप्तऋषि हुन् ।" ति सप्तर्षिहरू १) गौतम, २) भारद्धाज, ३) विश्वामित्र, ४) जमदग्नी, ५) वशिष्ठ, ६) कस्यप, ७) अत्री, ८) सुर्य हुन् । यि सप्तऋषिसँगै अगस्त्य मुनिले पनि सप्तऋषिको सिखो गरी आफ्नो नामबाट अगस्त्य गोत्रको सुरूवात गरे । यसरी अगस्त्य पनि गोत्र प्रवर्तक ऋषिहरू अन्तर्गत नै गणना गरिएकाले यजुर्वेद कालिन समय देखि नै गोत्र आठवटा प्रचलनमा आएको र यिनी आठ ऋषिहरूका नामबाट गोत्रको आरम्भ भएको हो । [१] तर, अहिले गोत्रहरू आठबाट वृद्धि भई मुल हाँगा ४९ वटा पुगेका छन् । यसरी आठ गोत्र बाहेकका गोत्रका बारेमा विद्वान म्याक्स मुलरले यस्तो भनेका छन् - "आठ गोत्रका मुख्य ऋषिहरूका लामो समय पछीका सन्ततीहरू विभिन्न समूहमा विभाजित हुँदै गए जसलाई गण भनियो र ति गण पनि विभिन्न परिवारमा विभक्त हुँदै गए । गोत्र पनि लागु हुँदै गयो तर कतिपए अवस्थामा ति आठ ऋषिहरूका सन्तानले आफ्नो परिवार बढ्दै जाँदा आफ्नै नामबाट नयाँ गोत्र सुरु गरे । जस्तै:- वशिष्ठ ऋषि कै कुलमा जन्मेका कौडिण्य [१] ऋषिले आफ्नै नामबाट कौडिण्य गोत्रको आरम्भ गरे । वास्तवमा अहिले आफूलाई कौडिण्य गोत्री भन्नेहरू खासमा वशिष्ठ गोत्रीहरू हुन् । त्यस्तै सप्तर्षि मध्यका एक विश्वामित्रका कुलमा जन्मेका कौशिक ऋषिले आफ्नो विश्वामित्र गोत्र छोडी आफ्नै नामबाट कौशिक गोत्र राखे र पछिका सन्तानहरूलाई आफ्नो नाम कौशिकलाई गोत्र भन्न लगाए । त्यस्तै सप्तर्षि मध्यका एक जना जमगदग्नीको कुलमा जन्मेका भास्टा नामका ऋषिले आफ्ना सन्ततीहरूलाई जमदग्नी गोत्र छोडेर आफ्नै नामबाट भास्टा गोत्र भन्न लगाए । यसरी गोत्र प्रणालीको सुरुवात यजुर्वेद कालमा भएको हो र विभिन्न कालखण्डमा विभिन्न प्रकारले विकसित र विभाजित हुँदै आजसम्म गोत्र परम्परा चल्दै आएको छ । [१]

मुख्य गोत्रहरू[सम्पादन गर्ने]

यसरी शुरु भएको गोत्र शब्दको प्रयोग वैद्धिक कालबाट शुरु भयो । यो गोत्र वैद्धिक कालका मुख्य सात ऋषिहरूका नामबाट शुरु भएको हो । ति मुल सात ऋषिहरू यस प्रकार छन् :-[१]

  1. अत्री
  2. कस्यप
  3. गौतम
  4. जमदग्नी
  5. भारद्धाज
  6. वशिष्ठ
  7. विश्वामित्र
  8. सुर्य

सप्तर्षिहरूलाई पछ्याउँदै आफ्नो नामबाट गोत्रको सुरुवात गर्ने अर्का आठौं ऋषिले सुरु गरेको अर्को गोत्र अगस्त्य । यसरी आठ ऋषिका नामबाट आठ गोत्र आरम्भ भए । यसरी शुरु भएका आठ गोत्र भित्र हिन्दू धर्मका ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रलाई समाहित गरियो । माथि उल्लेख गरिएका आठ गोत्र भित्र सबै ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र पर्दछन् तर समयको क्रमसँगै मुल आठ ऋषिका सन्ततिहरूले विभिन्न कालखण्डमा आफ्नै नामबाट गोत्रको सुवात गर्ने गरेकाले हाल आएर करिब ४९ मुल शाखा गोत्र र तमाम अन्य उपशाखाहरू प्रचलनमा रहेको पाइन्छ । सुरुवाती समयका आठ गोत्रहरू बढ्दै बढ्दै ४९ शाखा गोत्र र अन्य उपशाखा गोत्रहरू हुनुका धेरै कारणहरू छन् । यसरी गोत्र बढ्नुका कारणहरूलाई विद्वानहरूले यसरी व्याख्या गरेका छन् :- [१]

  1. सप्तऋषिका सन्ततीहरूले आफ्नै नामले नयाँ गोत्र राख्न थाले । विश्वामित्रका सन्तति कौडिण्यले आफ्नै नामबाट कौडिण्य गोत्र राखे । त्यस्तै जमदग्निका सन्तती भाष्टाले आफ्नै नामबाट भाष्टा गोत्र राखे ।
  2. ब्राह्मणबीच आन्तरिक विहेबारीका कारणले नयाँ गोत्रको सुरुवात भयो ।
  3. आफ्नो कुनै आदर्श गुरू वा महात्माको नामबाट मान्छेहरूले आफ्नो नयाँ गोत्र निर्माण गरेकाले पनि गोत्रको सङ्ख्या बढ्यो ।
  4. गोत्र थाह नभएका केही समूहलाई ऋषिहरूले पुरानो गोत्रसँग अलिकति फरकपारी उस्तै अर्को नयाँ गोत्र दिएर गोत्रिय बनाउने गरेकाले गोत्रको सङ्ख्या बढ्यो ।

यसरी मुख्य चार कारणले गर्दा गोत्रको सङ्ख्या ८ बाट बढेर ४९ पुगेको हो भनि पूर्विय तथा पाश्चत्य मानवशास्त्रीहरूले निर्क्यौल गरेका छन् । उनिहरूको यो निर्क्यौलमा हिन्दू दर्शनका विद्वानहरूले पनि धेरै हदसम्म सहमती जनाएको पाइन्छ । [१]

पछि वृद्धी भएका मुख्य गोत्रहरू[सम्पादन गर्ने]

  1. कौशिक
  2. बालिसेट्ला
  3. मिथुनाकुल
  4. इनाकला
  5. मरिची
  6. अक्षितला
  7. अङ्गिरस
  8. धनञ्जय
  9. नागेश्वर
  10. पराशर
  11. वशिष्ठ
  12. हरिनामा
  13. शिवाल
  14. विष्णु
  15. गौतमश्य
  16. मिना
  17. भार्गव
  18. हरितष्य
  19. कौडिण्य
  20. कुत्सास
  21. उप्रेती
  22. गर्ग
  23. गंगाहर
  24. गंगाघर
  25. उपमन्यु
  26. विल्भांगा
  27. मुडिनोला
  28. रोहिल्लास
  29. कामास
  30. पद्माशाली
  31. कुरिया
  32. नइर
  33. विश्वाम्बराहमिन
  34. मुदालिहार
  35. भिर्गु
  36. मौद्गल्य
  37. वत्स
  38. साण्डिल्य

यि बाहेक केही गोत्रहरूका नाम पत्तालाग्न नसक्दा यहाँ समावेस गर्न सकिएन । [१]

जातका आधारमा उत्पन्न गोत्रहरू[सम्पादन गर्ने]

कतिपय जातिले आफ्नै जातलाई गोत्र मान्ने गरेको पाइन्छ । यसरी जातलाई नै गोत्र मान्ने कतिपय जात तथा गोत्रहरू यस प्रकार छन् । [१]

क्र.सं. जात गोत्र स्थान
भुइयार भुइयार
जाट जाट
ब्राहमिन ब्राहमिन
गौमती वैस्य
भेलामा भेलामास
धागर धांगर
गुज्जर गुरजार
केङ्ग भेल्लार कुतमा कोङ्ग भेल्लार
खत्री खत्री
१० काटुले लेंगा, बालिजा, पेरिका नायडु
११ राजपुत राजपुत
१२ मलेसियाका आदीवासी हिन्दू तुलुमा
१३ बोयर बोयर
१४ पुरागिरीका क्षेत्रीय राजा पुरागिरी

वैवाहिक पद्धतिमा गोत्र रुपान्त्रण प्रक्रियालाई विद्वानहरूले मुख्य दुइ प्रकारमा विभाजन गरेका छन् ।

  1. पितृ सत्तात्मक
  2. मातृ सत्तात्मक

यी दुबै प्रकारका समाज अर्थात पिताको वंशलाई अघि बढाउने पारिवारीक प्रक्रिया र माताको वंशलाई अघी बढाउने प्रक्रिया दक्षिण एसियाको हिन्दू समाजमा विद्यमान छन् । चाहे जसको सत्तात्मकता वा प्रधानतालाई अपनाए पनि दुवैमा गोत्र अहंरुपमा रहेको पाइन्छ तै पनि बहुसंख्यक हिन्दूहरू पितृसत्तात्कम समाजमा विश्वास गर्दछन् । [१] यसप्रकारको पितृसत्तात्मक पद्धतिमा विवाह गरेर ससुराल आउने भिन्न गोत्री महिलाको गोत्र स्वतः परिवर्तन भइ पतिको गोत्र धारण गर्दछन् भने पिताको गोत्र परित्याग गर्दछन् । त्यस्तै मातृसत्तात्मक पद्धतिमा विवाह गरेर ससुराल आउने भिन्न गोत्री पुरुषहरूको गोत्र स्वतः परिवर्तन भइ पत्नीको गोत्र धारण गर्छन् र पिताको गोत्र परित्याग गर्छन् । गोत्र परिवर्तनको प्रणाली जो भए पनि गोत्रले विवाहमा ठुलो अर्थ राख्दछ । [१] हिन्दू मान्यता अनुसार एकै गोत्रबाट उत्पन्न भएका केटा र केटीबीच वैवाहिक सम्बन्ध गर्नहुन्न भनिएको छ । शास्त्रमा स-गोत्री शब्दको प्रयोग गरिएको छ । यस शब्दको वर्ण विन्यास गर्दा स+गोत्री हुन्छ । त्यसैले एकै गोत्रीहरूबीच विवाह गर्नु भनेको एउटै बाजेका नाति र नातिनीबीच विवाह गर्नु जस्तै हो । [१]

गोत्र प्रणालीको वैज्ञानिक आधार[सम्पादन गर्ने]

गोत्र हिन्दू समाजमा व्याक्ति तथा थर पहिचानको मुख्य आधार अथवा सिद्धान्त हो । गोत्र, शाखा, सूत्रप्रवर विना हिन्दू समाजका ब्राह्मण, क्षेत्रीय, वैश्य तथा शुद्रहरूको पहिचान गर्न असम्भव छ । यि थरहरूवीच विवाह, व्रतवन्ध, जन्मकर्म देखी मृत्युकर्मसम्म गोत्रकै आधारमा गरिने हुँदा गोत्र विनाको ब्राह्मण, क्षेत्रिय, वैश्य तथा शुद्र थरहरू फेद विनाको टुप्पोजस्तो हुन जान्छन् । गोत्र माथी उल्लेखित थरहरूको आधारभुत पहिचान हो । [१] तर वर्तमान समयमा थर, गोत्र, शाखा, प्रवर, सूत्र आदीलाई यसको कुनै आवस्यकता छैन मानिसको जात पुरुषमहिला मात्र हो बाँकी सबै मिथ्या हुन् भन्ने सोचको विकास भएको पनि पाइन्छ । तर आधुनिक गर्भ विज्ञानले गोत्र प्रणाली र यसको आवस्यकतालाई प्रमाणित गरिदिएको छ । किनकी गोत्र, प्रवर प्रणाली विकास गर्नुमा अत्यन्त वैज्ञानिक आधार रहेको देखिन्छ । मानव जन्म प्रकृयाको वैज्ञानिक आधार क्रोमोजोम र जिनमा आधारित रहेर यो प्रणालीको विकास गरेको देखिन्छ । वास्तवमा गोत्र मात्र हैन कुनै दुई थरवीच प्रवर मात्र मिलेमा पनि विवाह निष्तेज गरिएको छ । किनकी हरेक प्रवर र गोत्र एक आपसमा अन्तर सम्वन्धित छन् । [१] तसर्थ तिनका सन्ततिवीच विवाह गर्नु एउटै कुलका कन्या र पुरुष विचको विवाह जस्तै हुन्छ । यही कारणले गर्दा सगोत्री भित्र वा एकै प्रवर भएका गोत्रीविचको विवाह वर्जित गरिएको हो । सगोत्री विवाह वर्जित गरिनुमा अत्यन्त वैज्ञानिक कारण छ । हजारौं वर्ष पहिले ऋषिमुनीहरूले यस कारणलाई सही ढङ्गले बुझेका रहेछन् भन्ने कुरालाई वर्तमानको आधुनिक गर्भ विज्ञानले प्रमाणित गरिदिएको छ । त्यस प्रकारको वैज्ञानिक प्रमाणलाई यसरी प्रस्तुत गरिएको छ ।[१]

क्रोमोजोम[सम्पादन गर्ने]

वर्तमान जीव विज्ञान तथा गर्भ विज्ञानले वताए अनुसार स्त्री गर्भमा मानव शरिरको विकास दुइटा सेलबाट सुरू हुन्छ । एक सेलमा २३ जोडी क्रोमोजोम हुन्छन् ति मध्य एक सेल आमाबाट र एक सेल बुवाबाट आएका हुन्छन् अर्थात हाम्रो शरिरमा जम्मा ४६ वटा क्रोमोजोम हुन्छन् । ति ४६ वटा क्रोमोजोम अर्थात २३ जोडी क्रोमोजोम मध्य एक जोडी क्रोमोजोमलाई लैङ्गिक क्रोमोजोम भनिन्छ । त्यही एक जोडी क्रोमोजोमले व्याक्तिको लिङ्ग निर्धारण गर्दछ । यो वैज्ञानिक आधार अनुसार Y क्रोमोजोम केवल पुरुषमा मात्र हुन्छ । सन्तान उत्पादनमा Y क्रोमोजोमबाट छोराको जन्म हुन्छ । अर्थात छोरा जन्मनुमा उसको पिताको मुख्य भूमिका हुन्छ । छोरा जन्मनुमा पिता नै निर्णायक हुन्छ । पिताको Y क्रोमोजोम विना छोराको जन्म असम्भव छ । छोरी जन्मनुको निमित्त पिताको X क्रोमोजोम र आमाको X क्रोमोजोम मिल्नुपर्ने हुन्छ । जबकी छोरा जन्मनको निमित्त पिताको Y क्रोमोजोम र माताको X क्रोमोजोम मिल्न आवस्यक हुन्छ । विज्ञानले प्रमाणित गरे अनुसार स्त्रीमा केवल X क्रोमोजोम मात्र हुन्छ Y क्रोमोजोम हुँदैन Y क्रोमोजोम पुरुषमा मात्र हुन्छ । तसर्थ छोराको जन्म उसको बाबुको Y क्रोमोजोमका कारण हुन्छ र यो Y क्रोमोजोम क्रमशः पिताबाट छोरा, नाति, पनातिमा हुँदै एवं रितले हुँदै अघी बढ्छ । जबकी महिलाको X क्रोमोजोम र पुरुषको X क्रोमोजोम मिलेर जन्मेकी छोरी अर्कै पुरूषसँग विवाह हुँदा उसको X क्रोमोजोम अन्य वंशसँग मिक्स हुँदै जान्छ र पितातिरको X क्रोमोजोमको अस्तित्व समाप्त हुँदै जान्छ । जबकी पुरूषको Y क्रोमोजोम कसैसँग मिक्स नभइ अनवरत रुपमा अघी बढ्छ । पुरुषको जन्मको कारण Y क्रोमोजोम नै हो, जुन उसको पिताबाट मात्र प्राप्त हुन्छ । अर्थात पुरूषको वंश वा जिन Y क्रोमोजोम आफ्नो पुर्खाकोमात्र हुने हुँदा नवजात पुरुषको गोत्र उसको पिताको गोत्र कायम रहन्छ भने महिलाको गोत्र विवाह पछी उसको श्रीमानको गोत्रमा परिणत हुन्छ किनभने त्यस महिलाबाट जन्मिने पुत्रको Y क्रोमोजोम उसको अथवा मुख्य जीन वा वंश उसको पतिको हुनेहँदा त्यो महिलाको गोत्र पनि उसको श्रीमानको गोत्रमा विलय भएर जान्छ । अर्थात स्त्रीले आफ्नो जन्मको वंशको जीन बोक्दैनन् जबकी पुरुषले आफ्नो हजारौं वर्ष पुरानो पुर्खाको Y क्रोमोजोम बोक्दै आइरहेको हुन्छ । त्यस कारण पुरुषलाई वंशको प्रतिनिधी मानिन्छ । त्यसैले गोत्र प्रणालीको विकासको मुल कारण Y क्रोमोजोमको पहिचान गर्दै युगौं युगसम्म आफ्ना भाइवन्धुहरूको पहिचान कायम राख्नु थियो तसर्थ गोत्र प्रणाली नितान्त जीव विज्ञान र गर्भ विज्ञानमा आधारित छ । [१] सगोत्री विवाह निशेध गर्नुका पछाडी पनि माथी उल्लेखित कारण मुख्य हो । यदी एउटै गोत्रका पुरुष र महिलावीच विवाह भएमा त्यही वंशको Y क्रोमोजोमबाट सन्तान जन्मदा त्यो बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ, किनकी त्यस बालकको Y क्रोमोजोम र त्यस स्त्रीको पिताको Y क्रोमोजोम एउटै हुन्छ । यस हिसाबले सगोत्रीसँग विवाह भनेको एउटै गर्भका भाइ र बहिनीवीचको विवाह सम्बन्ध जस्तो हुन जान्छ । यस्तो हुन गए गम्भिर जैविक असर उत्पन्न हुन्छ भनि जिव विज्ञानीहरूले भनेका छन् । उनिहरूका अनुसार एउटै गोत्रमा विवाह हुँदा केटी र केटाको जीन एउटै हुँदा त्यसबाट जन्मिने सन्तानमा केही जैविक कमि वा शारिरिक तथा मानसिक विचलन जस्तो समस्या उत्पन्न हुन सक्ने प्रसस्त सम्भावना रहने हुँदा पनि सगोत्री विवाह अस्विकृत गरिएको हो । सगोत्री विवाह हुँदा वंशको कुल बिग्रन्छ भन्ने प्रचलन पनि वैज्ञानिक वास्तविकतामा आधारित छ ।[१] जीवविज्ञानीहरूका मतअनुसार Y क्रोमोजोम लाखौं वर्षसम्म पनि परिवर्तन नहुने र एउटै रुपमा रहि रहने हुँदा त्यसको सहि उर्वरा शक्ति हाँसिल गर्न फरक वंशको X क्रोमोजोम आवस्यक हुन्छ । जसरी एउटा अन्नको बिउ लगातार एकै ठाउँमा लामो समयसम्म लगाउँदा बिग्रिन्छ त्यस्तै Y क्रोमोजोम पनि आफ्नै वंशको X क्रोमोजोमसँग मिल्दा त्यसको सही विकास नहुने र सन्तानमा शारिरिक तथा मानसिक विचलन उत्पन्न हुने प्रवल सम्भावना रहने हुनाले विवाह फरक वंशसँग गर्दा मात्र X र Y क्रोमोजोमको सही ढङ्गले विकास हुन पाउँछ । तसर्थ अहिले वैज्ञानिक रुपले पुष्टी भएको सगोत्री विवाह गर्न नहुने विषय हजारौं वर्ष पहिले ऋषिमुनीहरूले थाह पाइ सोही अनुरुपको सामाजिक परम्परा बसालेको देखिन्छ । यस हिसाबले सोच्दा हाम्रो परम्परा, धर्म, संस्कृति, रितिरिवाज आदी वास्तविक अर्थमा अत्यन्त वैज्ञानिक आधारमा आधारित रही प्रचलनमा ल्याइएको देखिन्छ ।[१]

नेपालका केही गोत्र अन्तरगतका थरहरू[सम्पादन गर्ने]

क्र.सं. गोत्र थर प्रवर
अंगिरस जोशी, सेढाई, शौनक
अगस्ति ढुंगेल
अगस्त्य -
अत्रि चापगाईँ, चदरा , बस्ती, चित्रकार, मिश्र, खतिवडा, खाति, ओझा, अधिकारी (ठाडा राई), गोतामे(गौतम), मल्ल
अपस्थंभ -
आत्रेय दुलाल, पौडेल, देवकोटा, पोखरेल (पानी), कालिकोटे(खडका), शर्मा ,सदाशंकर, सेवा , अर्याल, सिग्देल, थापा(पुवार, खुलाल, बगाले), अर्ज्याल, गेलेल, दुवाडी, भट्ट
उपमन्यु मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे, दैनी, ओली
उषानस -
कश्यप शाह, शाही, रायमाझी, रामदाम, घिमिरे, गोदार (थापा), कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिनेकौवाली), बोगटी, बुढाथोकी (सोडारी), बडाल
१० कात्यायन -
११ कौडिन्य अचार्ज (अचेल जसलाई आचार्य पनि भन्दछन्) , खरेल, न्यौपाने, प्याकुरेल, पनेरू, पत्रियल, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का, थापा गाम्लेबगाले), जोशी
१२ कौशिक रेग्मी/गौडेल , खपतरी (खड्का, बिष्ट, बुढाथोकीबस्नेत), खड्का, बिडारी, रिमाल, रसाइली , लामिछाने, ढुङ्गाना, धिताल, फुयाल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भण्डारी, बस्ताकोटी
१३ गर्ग बास्तोला, लामिछाने, भुर्तेल, लामगाधे
१४ गौतम दङ्गाल, चन्द, त्रिपाठी, सन्याल, जैसी, चन्द, बटाला, भट्ट, सोराडी
१५ घृतकौशिक सुतार, कार्की, बराल, बराईली, पण्डित, खनाल, नेपाल, घमाल, घताने,
१६ माण्डव्य बजगाईँ, ज्ञवाली, पन्थी, बजाइ
१७ जमदग्नी -
१८ दक्ष -
१९ धनञ्जय कुँवर, हुमगाईँ, रिजाल, कार्की, थापा, पङ्गेनी, बसेल, कुकुरकोटे, धमाला, गुरागाईँ, गहतराज, खुलाल, बस्नेत, भुसाल, खुलाल (बुढाथोकी), गौरीपिल्ली, मरासिनी, भण्डारी, बस्याल, बस्नेत, वयल, बुडथापा (कुँवर), बखरेल, ढाँट, डुम्रे, घोडासैनी, कुकुरकाटे, ओखरेलपकुवाल
२० पराशर मरहठ्ठा, कार्की, कट्टेल
२१ बृहस्पति -
२२ बौद्यायन -
२३ भारद्वाज चौलागाई, सुवेदी ,थपालिया, पन्थी, उपाध्याय, वाग्ले, लोहनी, लुवागुन, पन्त, अधिकारी , दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, काराखेती, पाँडे
२४ भार्गव -
२५ मनू -
२६ मौदगल्य तिम्सिना, तिमल्सेना, कोइराला, उप्रेती, मुडुला कार्की, रुमे कार्की, कुँइकेल, सिंखडा, बेलकाँडी,
२७ यज्ञवल्क्य -
२८ लिखित -
२९ वत्स राणा, लम्साल, कुँवर, दाहाल , दियाली, रूपाखेती दाहाल ,रुचाल,
३० वशिष्ठ सेंचुरी , सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भण्डारी, खरेल, चालिसे, मुडबरी, गैह्रे
३१ विश्वामित्र भट्ट, खनिया, अलिना, दुवाडी, निरवंशी, रायल)
३२ विष्णु -
३३ व्यास -
३४ शंख -
३५ शतताप -
३६ संवर्त -
३७ हरित -

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ १.१८ १.१९ १.२० १.२१ १.२२ १.२३ १.२४ १.२५ गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पूस्तक "गौतम गोत्र वंश परिचय" पहिलो संस्करण पृष्ठ ४- १२ लेखक- राजेश कुमार बटाला

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]