गोरखापत्र
गोरखापत्र (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य विभिन्न सम्पादकद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल सरकार हो। यसको प्रकाशन काठमाडौँमा सा.अ.दै. अवधिमा हुन्छ। यसको पहिलो प्रति २४ वैशाख १९५८मा प्रकाशित भएको थियो।
वि.सं. १९५८ साल वैशाख २४ गते सोमबारदेखि प्रकाशन थालिएको गोरखापत्र पहिले साप्ताहिक रूपमा प्रकाशन हुने गर्थो। वि.सं. १९५८मा उच्च शासकको रेखदेखमा प्रकाशित हुने गोरखापत्र गैरसरकारी स्तरमा स्थापना भएको पाशुपत छापाखानामा छापिन्थ्यो। पण्डित नरदेव पाण्डे यसका मुद्रक र प्रथम व्यवस्थापक थिए। तर वि.सं. १९९१ अर्थात् गोरखापत्र प्रकाशित हुन थालेको ३३ वर्षछि मात्र यसका सम्पादकको नाम छापिन थाल्यो। यसरी नाम प्रकाशित हुने प्रथम सम्पादक प्रेमराज हुनुहुन्थ्यो। सम्पादकीय लेख्न पनि थालियो। हप्ताको एकपटक प्रकाशित हुने गोरखापत्र २००० साल असोज २९ गतेदेखि हप्ताको दुइ पटक, २००३ साल पुस ८ गतेदेखि हप्ताको तीनपटक र २०१७ साल फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुन थाल्यो। २०१९ साल असार ९ गतेदेखि शनिबार विशेष परिशिष्टांक निस्कन शुरु गर्यो।
२०२२ साल पुस १ अर्थात् सन् १९६५ डिसेम्बर १६ देखि वरुण शमशेर जबराको सम्पादकत्वमा अङ्ग्रेजी दैनिक 'द राइजिङ नेपाल', २०२५ साल जेठदेखि साहित्यिक मासिक मधुपर्क, २०४५ साल असारदेखि युवामञ्च (मासिक), २०४७ वैशाखदेखि अङ्ग्रेजी साप्ताहिक 'सन्डे डिस्प्याच', २०४७ सालदेखि बालपत्रिका 'मुना' र २०५५ वैशाखदेखि मनोरञ्जन प्रधान मासिक मनोरम अप्सराको प्रकाशन सुरू भएको हो। गोरखापत्र संस्थानको पारिवारिक पत्रिका 'मनोरम अप्सरा' (मासिक) सातौ प्रकाशन हो भने यस संस्थानबाट नेपाली भाषामा प्रकाशित हुने पाँचौं पत्रिका हो। २०४६ भदौ २ गते शुक्रबारदेखि प्रत्येक शुक्रबार विशेषांक निस्कन्थ्यो, तर पछि बन्द भयो। २०१९ सालमा १ महिनाजति गोरखापत्रको 'मूल प्रति हेरेर मिलाउने संस्करण' र २०२१ साल (सन् १९६४)मा मासिक अङ्ग्रेजी 'द नेपाल पर्सपेक्टिभ' प्रकाशन भएर बन्द भयो।
हप्ताको एक दिन प्रकाशित हुने गोरखापत्रको परिवारमा गोरखापत्र ऐन, २०१९ जारी भएपछि वृद्धि भएको देखिन्छ। २०२० साल असार २५ गतेदेखि यो संस्थानका रूपमा परिणत भएको हो।
हेर्नुहोस् [सम्पादन गर्ने]
|
|||||||||||