चाँगुनारायण मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाँगुनारायण मन्दिर
चाँगुनारायण मन्दिर
प्राथमिक विवरण
स्थान:चाँगुनारायण गाउँ विकास समिति
सम्बन्धनहिन्दुत्व
जिल्लाभक्तपुर
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारप्यागोडा
निर्मातामानदेव

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।[१]

नामाकरण[सम्पादन गर्नुहोस्]

चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ । परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन । लिच्छवि कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो । चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो । मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो । नेपाल भाषामा 'चाँप'लाई 'च' र 'वन'लाई 'गुँ' भनिन्छ । त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो । सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए । सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अङ्कित छ । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मूर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए ।

यो मन्दिरको निर्माण कहिले र कसले गराएको हो भन्ने बारेमा स्पष्ट जानकारी नभए पनि हरिदत्त वर्मा नामका व्यक्तिले सन् ३८६ ताका सम्बत (वि.सं. ५२१) मा उपत्यकाका चार नारायणहरू (चाँगुनारायण, शेषनारायण, विशङ्खुनारायण र इचङ्गुनारायण) को स्थापना गर्ने क्रममा चाँगुनारायण स्थापना गरेको भन्ने आख्यान छ । सक् संवत् ३८६ (वि.सं. ५२१) मा राजा मानदेवले पूर्व र पश्चिमका सामन्तहरूलाई नियन्त्रण गरी चाँगुनारायणको पूजा अर्चना गरी गरुडसहितको स्तम्भ खडा गराएको कुरा उल्लेख भएको पाइन्छ । [२]

वास्तुकला[सम्पादन गर्नुहोस्]

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो । यो लिच्छविकालीन वास्तुकलाको नमुना हो । समय समयमा यसको जीर्णोद्धार हुँदै आएको छ । मध्यकालमा राजा शिव सिंहकी रानी गङ्गारानी र १८ औँ शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो । पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो ।[३]

यो मन्दिर चातुष्कोण आकारको छ । यसको पेटी एक तल्लाको मात्र छ । मन्दिर दुई तल्लाको रहेको छ । मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् । दुवै तलामा मझौला आकारका झ्यालहरू रहेका छन् । दुवै तल्लामा चालिस टॅुडालहरू रहेका छन् । प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् । माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरू), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् ।[३] 

तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ । यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरू रहेका छन् । प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने ढोकाहरू बनाइएका छन् । पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ । बेला बेलामा अन्य ढोकाहरू पनि खुला गरिन्छ । ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरू राखिएका छन् । ढोकाहरूको माथि धातुवाट बनेका तोरणहरूमा विभिन्न कलाकृतिहरू कुँदिएका छन् ।[३]

यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ । धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ । 

वि.सं. २०७२ साल वैशाख १२ गतेको महाभूकम्प पछिका तस्वीरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "भक्तपुर जिल्लामा रहेका ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलहरू", ddcbhaktapur.gov.np 
  2. सूचना तथा प्रसारण विभाग्, नेपाल (२०७९ Asar), "नेपालका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानहरू", नेपाल परिचय: 359। 
  3. ३.० ३.१ ३.२ प्रेम खत्री, पेशल दाहाल । नेपालको कला र पुरातत्व । २०५१, एम. के. पब्लिशर्स एण्ड डिष्ट्ब्यूटर, भोटाहिटी, काठमाडौँ ।