चेपाङ जाति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मकवानपुर जिल्लामा रहेको एक चेपाङ घर
चेपाङहरूले चिउरीको बिऊबाट तेल निकाल्न प्रयोग गर्ने उपकरण

चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडी भेगमा बसोबास गर्ने करिब ३० हजार जनसंख्या रहेको प्रजा जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि परेको छ। जङ्गलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो। खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको चार महिना पनि खान पुग्दैन। सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ। अत्यन्त गरीबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ।

शिक्षामा निकै पछाडि परेको यो समुदायबाट हालसम्म प्रवेशिका उत्तीर्ण गर्नेको संख्या आठ दस/जनाभन्दा बढी छैन। प्रजा बालबालिकालाई स्कूल भर्ना गराउन निकै कठिन हुन्छ। अभिभावकमा चेतनाको अभाव, टाढाको विद्यालय, लगाउने लुगा र पाठ्यसामग्रीको अभावका कारण उनीहरू विद्यालय आउन नसकेका हुन्। प्रजा समुदायको विकासका लागि २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागु गरे पनि उनीहरूको जीवनस्तरमा खासै सुधार आएको पाइँदैन। स्थानीय विकास मन्त्रालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम विगत दुई वर्षदेखि जनजाति विकास प्रतिष्ठानले सञ्चालन गरेको छ। बाहृय सस्थाको प्रयासले आफ्नो विकास हुने नदेखेपछि २०५७ सालमा प्रजा एकीकृत समाजको स्थापना गरिएको छ। जङ्गल फँडानी गरेर बसोवास गर्ने यो जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति छैन। अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनु पर्छ। पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङहरूले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपूर्जा छैन।

परम्परागत रूपमा हिन्दू र बौद्ध धर्म मान्ने भएता पनि यो जातीमा गरीबीको कारण अहिले चेपाङ वस्तीमा क्रिश्चियन धर्मको व्यापक प्रचार भएको पाइन्छ। आफ्नै मौलिक संस्कृति, भेषभुषा र सामाजिक रहनसहन भएको यस जातिलाई बाहिरी दुनियाँसँग परिचित गराई उनीहरूको जीवनस्तरमा सुधार ल्याउनेतर्फ ध्यान दिनु जरुरी देखिन्छ। प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस[सम्पादन गर्ने]