जगदीश घिमिरे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जगदीश घिमिरे
जन्म २००२ साल चैत्र २८ गते
मन्थली, रामेछाप
मृत्यु २०७० साल कार्तिक १४ गते (६८ वर्षको उमेरमा)
पेशा लेखक, सामाजिक कार्यकर्ता
राष्ट्रियता नेपाली
धर्म हिन्दू
शिक्षा एम्. ए. समाजशास्त्र
पोष्ट ग्य्राजुएट, जनसंख्या
विधा जीवनी, फिक्सन, इतिहास
उल्लेखनीय कार्यहरू अन्तर्मनको यात्रा
उल्लेखनीय सम्मानहरू मदन पुरस्कार, उत्तम शान्ति पुरस्कार
दम्पति दुर्गा घिमिरे

जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार थिए। क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमासमेत संलग्न थिए।

जीवनी[सम्पादन गर्ने]

जगदीश घिमिरेको जन्म वि.सं. २००२, चैत्र २८ गते, रामेछाप जिल्लाको मन्थली भन्ने गाउँमा भएको हो। उनले प्रारम्भिक शिक्षा नेपाल र उच्व शिक्षा भारत र बेलायतबाट प्रात्त गरे। सानैदेखि उनको अभिरुचि साहित्य र पत्रकारितामा थियो। त्यसैले उनले समाजशास्त्रमा एम्. ए. र जनसंख्यामा पोष्ट ग्य्राजुएट डिप्लोमा गरेका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूमा उनको लामो संलग्नता रहेको छ जसमार्फत उनले रामेछाप जिल्लाको सामुदायिक बिकासमा ठूलो सहयोग पुर्याएका छन्। साहित्यिक र सामाजिक कार्यमा संलग्न हुने क्रममा उनले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, केन्या, बेलायत, सिङ्गापुर, फ्रान्स, युगोस्लाभिया, थाइलेण्डजस्ता थुप्रै देश भ्रमण गरिसकेका छन्। रामेछापमा बिकासनिर्माण र सामाजिक उत्थानको कार्य गर्दा घिमिरेले धेरै बाधा-विरोधहरूको सामना गर्नुपर्‍यो। तरपनि उनी निरन्तर रूपमा समाज रूपान्तरणको काममा लागिरहे।

जगदीश घिमिरेमा निहित संवेदनशीलताले उनलाई एक मार्मिक सिहित्यसर्जक मात्र बनाएन एक सहृदयी विकासअभियन्ता पनि बनायो। सामाजिक कार्यमा घिमिरेलाई पत्नी दुर्गाले पनि उतिकै साथ दिइन्। एबीसी नेपालमा कार्यरत दुर्गा घिमिरे ती प्रथम महिला मध्येकी हुन् जसले बेचिएका नेपाली चेलीबेटीलाई मुम्बईबाट उद्धार गरेर ल्याउने साहसिक काममा अग्रणी भुमिका खेलिन्। २०४६ सालतिर घिमिरे दम्पत्तीले तामाकोशी सेवा समिति स्थापना गरेर रामेछाप जिल्लाका गरीब जनताको आर्थिक जिवनस्तर सुधार्न सक्रिय भए। यसक्रममा क्रियाशील जगदीश र दुर्गा घिमिरेमाथि राजनीतिक-सामाजिक विरोधीहरूको प्रहार पर्नु त स्वभाविक हो। तर घिमिरे दम्पत्तीमाथि अर्को आक्रमण पनि भयो जब जगदीशलाई 'माइलोमा' भन्ने रत्तक्यान्सर भयो। त्यसको उपचारको क्रममा भोग्नुपरेको दुःख-कष्टको मार्मिक वर्णन घिमिरेको पुस्तक 'अन्तर्मनको यात्रा'मा छ। तर जगदीशले रोगलाई पनि पछारे। यो भयावह रोगको आक्रमणपछि पनि उनमा वैराग्य र विगलितमनस्कता देखिएन। क्यान्सर भइसकेपछिपनि घिमिरे साहित्यिक सिर्जना र सामाजिक बिकास अभियानमानै यथावत सक्रिय रहे।[१]

घिमिरेको ६८ वर्षको उमेरमा २०७० कार्तिक १४ गते काठमाडौंको ओम अस्पतालमा निधन भयो।[२][३][४] घिमिरेको अन्त्येष्टी काठमाडौंको पशुपति आर्यघाटमा भयो। घिमिरेका श्रीमती दुर्गा घिमिरे छोरा हिमाल घिमिरे र छोरी जुन घिमिरे छन्। [५]

कृतिहरू[सम्पादन गर्ने]

उपन्यास, कथा, नाटक आदिका पुस्तक लेख्दै आएका घिमिरेका प्रकाशित कृतिहरूः[६]

  • लीलाम (उपन्यास, वि.सं. २०२७)
  • जगदीशका कथाहरू (कथासंग्रह, वि.सं. २०२७)
  • साबिती (उपन्यास, वि.सं. २०३२)
  • केही कथा कविता र संस्मरण (विविध, वि.सं. २०३४)
  • सन्तान (नाटक, वि.सं. २०३५)
  • अन्तर्मनको यात्रा (आत्मकथा, वि.सं. २०६४)
  • अग्निसूत्र (कविता, वि.सं. २०६५)
  • स्थान काल पात्र (विविध/गद्य, वि.सं. २०६६)
  • सकस (महाख्यान, वि.सं. २०६९)

प्रकाशोन्मुख कृतिहरूः

  • बर्दी (रोजा कथाहरू)
  • चेतना भया (रोजा राजनितिक टिप्पणीहरू)
  • छ्यासमिस (रोजा लेख र अन्तरवार्ताहरू)

सम्पादित, अनूदित र फुटकर कृति

  • नेपाली, कवितायें -हिन्दी-संयुक्त सम्पादन
  • विभिन्न पत्र-पत्रिकाहरूमा कथा, नाटक, लेख, निबन्ध प्रकाशित

पुरस्कार[सम्पादन गर्ने]

उनको कृति अन्तर्मनको यात्राले वि.सं. २०६४ सालको मदन पुरस्कार पाएको हो। घिमिरेले मैनाली कथा पुरस्कार पनि पाएका छन्। यस्तै उनले अन्तर्मनको यात्राकै लागि उत्तम शान्ति पुरस्कार पनि पाएका छन्।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

  1. जगदीश घिमिरेका रचनाहरू (मझेरी डट कममा)