जिल्ला अदालत
नेपाली विकिपीडियाबाट
नेपाल भएको तीन तहका अदालतहरु मध्ये जिल्ला अदालत सुरु तहको अदालत हो । प्रत्येक जिल्लामा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरुको स्थापना गरिएको छ । ति जिल्ला अदालतहरु सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ । तर श्री ५ बाट मन्त्रिपरिषद्संग परामर्श गरी कुनै जिल्ला अदालतको मुकाम जिल्ला सदरमुकाम बाहेक अन्य कुनै ठाउंमा रहने गरी तोक्न सकिबक्सनेछ भन्ने व्यबस्था छ । सोहि बमोजिम हाल संखुवासभा जिल्लाको सदरमुकाम बाहिर चैनपुरमा जिल्ला अदालतको मुकाम तोकिएको छ ।
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र जिल्ला न्यायाधीश रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी संख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरु समेत रहने व्यवस्था छ । ति न्यायाधीशहरु न्याय परिषद सिफारिशमा नियुक्ति हुने व्यबस्था छ । एक भन्दा बढी न्यायाधीश भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ । प्रचलित नेपाल कानूनमा अरु निकाय वा अदालतलाई अधिकार तोकि दिएको भए सोहि अनुसार हुन्छ, नत्र जिल्ला भित्रका सबै मुद्धामा शुरु कारवाई किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुन्छ ।