झलनाथ खनाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
झलनाथ खनाल
J.n (2).jpg
झलनाथ खनाल

प्रधानमन्त्री
राष्ट्रपति : रामवरण यादव
अग्रज : माधवकुमार नेपाल
उतराधिकारी : बाबुराम भट्टराई

जन्म : २००६ साल चैत ६ गते
इलाम जिल्ला साँखेजुङ
राजनीतिक दल : नेकपा (एमाले)
अध्ययन संस्था : त्रिभुवन विश्वविद्यालय
धर्म : हिन्दू
प्रधानमन्त्री निर्वाचित भएपछि झलनाथ खनाल

झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन्। २०६७ माघ २०मा प्रधानमन्त्री निर्वाचित भएका खनाल नेकपा (एमाले)का वरिष्ठ नेता पनि हुन्। विसं २००६ साल चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मेका खनाल हाल इलाम जिल्ला क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका हुन्। [१]। खनाल पटक पटक मन्त्री पनि भएका थिए। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव सम्म भएका थिए। २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका यिनी २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक उनले वि.सं. २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनैतिक यात्राको सुरूवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गरे। राजनैतिक जीवनको सुरूवातसंगै विज्ञान विषयको शिक्षकका रूपमा जागीरे जीवन बिताए। उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भएका थिए। राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा सकि्रय भएका थिए। २०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म लगातार नेकपा मालेको महासचिव रहे। २०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि पनि खनालको नेतृत्वदायी भूमिका थियो। त्यसयता नेकपा एमालेको पाचौं छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर काम गरेका खनाल २०६४ सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेले लज्जास्पद पराजय ब्यहोरे लगत्तै तत्कालिन महासचिव माधव नेपालले राजीनामा दिएपछि खनालले एमाले महासचिवको जिम्मेवारी सम्हाले। पछिल्लो पटक बुटवलमा सम्पन्न नेकपा एमालेको आठौ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्। [२]

राजनैतिक जीवन[सम्पादन गर्ने]

झलनाथ खनालको जन्म इलाम जिल्लाको साँखेजुङ गाविस-४को पण्डितगाउँमा २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घरपरिवारले 'जन्तरे' भनेर बोलाउने गर्थे। १५ वर्षकै किशोर अवस्थामा राजनैतिक चेतना आयो उनको राजनैतिक चेतना नेपाली कम्युनिष्ट आन्दोलनप्रति भयो। खनालले राजनैतिक जीवन २०२१ सालदेखि शुरू गरे। मेची विद्यार्थी संगठनको अध्यक्षबाट उनको राजनैतिक यात्रा सुरू भयो।[३] २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए। २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तिपछि सक्रिय राजनीति थालेका खनालले विज्ञान विषयमा स्नातकको अध्ययन पूरा गरेपछि २०२७/२८ सालतिर बागलुङ जिल्ला स्थित गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा काम गरे। त्यही बेला हालका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि त्यही विद्यालयमा पढाउँथे। राजद्रोहका आरोपमा केही महिना जेलपछि उनीलाई धौलागिरी अञ्चाधीशले निलम्बन गरेका थिए।[२][३] त्यसपछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगे पनि राजनैतिक संलग्नताको अभियोगमा पक्राउ भई खनाल जेल परेका थिए।

शिक्षण पेशा छोडेपछि उनले राजनैतिक शास्त्र र इतिहास लिएर त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गरे। उनी २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना जेल परे भनें राजा बीरेन्द्रको राज्याभिषेकको समयमा पनि ६ महिना जेल परे। जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका यिनी २०३३ सालमा झापामा पक्राउ परे। खनाल २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए। पार्टीले जनमतसंग्रह बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए। झापा विद्रोहपछि उनी २०३१ सालमा गठित 'क्रान्तिकारीहरूको संगठन' को-ओर्डिनेशन कमिटिको संस्थापक सदस्य भए। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भए।[३]

झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१/३२मा को-अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहेका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गरेका थिए। तत्कालीन नेकपा (माले)को शक्तिसङ्घर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो। २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए। उनी २०४६ सालको आन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भएका थिए। २०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेको थियो। २०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमाण्डमा मालेका प्रतिनिधिको रूपमा रहे। जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री थिए। २०४७ सालको संसदीय निर्वाचनमा खनाल इलामबाट निर्वार्चित भए। २०४९ सालको एमालेमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित गर्‍योा। त्यस समयमा सि.पी. मैनालीसँग मिलेर ल्याएको कार्यानीति 'परिमार्जित नौलो जनवाद' अल्पमतमा पर्‍यो, जसलाई उनले सहयोग गरे। अधिवेशनले मदन भण्डारीको बहुदलीय जनवादको कार्यनीति पारित गर्‍योक। उनी केन्द्रीय कमिटीमा त चुनिए तर उनलाई मदन भण्डारीले पोलिटब्युरो सदस्य समेत बनाएनन्। भण्डारीको दासढुंगा दुर्घटना निधनपछि मात्रै खनाल पोलिटब्युरो सदस्य बने। भण्डारीको 'जबज'लाई खनालले 'दक्ष प्रजापतिको टाउको' जस्तो भनेर टिप्पणी गरेका थिए। २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट निर्वार्चित भए। ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए। २०५४को छौटौ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित भए। २०५९मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उहा केही समय भूमिगत थिए। सोही समय उनी कार्यवाहक महासचिव भएर भूमिगत रूपमा पार्टी सञ्चालन गरेका थिए। उनीले दोस्रो जनआन्दोलनको बेला महत्वपूर्ण भूमिका खेलेका थिए।

२०६४ चैतमा भएको संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजय पछि तत्कालिन महासचिव माधवकुमार नेपालले पद छाडे र उनी महासचिव भए। संविधानसभाका निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भए। २०६५ साल फागुन बुटवलमा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वार्चित भएका हुन्। पार्टी भित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न सवल खनाल अध्ययनशील मानिन्छन्। तर जनसम्पर्कको पक्षमा भने उनी कमजोर रहेको उनी निटक रहेकाहरू बताउँछन्। २०७१ साल असार काठमाण्डौ मा भएको नवौ महाधिवेशनबाट अध्यक्ष पद केपी ओली लाई हस्तान्तरण गरि पार्टीका वरिष्ठ नेता भएका छन् |

खनालको राजनैतिक जीवनीका बारेमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका भिष्मराज काफ्लेले स्नातकोत्तर तहको शोधपत्र गरेका छन्। रवी लक्ष्मी चित्रकारसँग अन्तर जातीय विवाह गरेको झलनाथको एक छोरा छन्।

प्रधानमन्त्री चयन[सम्पादन गर्ने]

राष्ट्रपति रामवरण यादवको सामु पद तथा गोपनीयताको सपथ खाँदै झलनाथ खनाल

हाल नेकपा (एमाले)को अध्यक्ष सहित संसदीय दलका समेत नेता रहेका खनाल प्रधानमन्त्री चयनका लागि सम्पन्न अघिल्लो चरणको प्रक्रियामा पनि उम्मेदवार बनेका थिए। यद्यपी आफैले भनेअनुसारको २ तिहाई बहुमत प्राप्त गर्न नसकेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। राजनैतिक यात्राका क्रममा धेरै उतारचढाव बेहोर्दै र आफ्नै पार्टीभित्रबाट धेरै असहयोगको प्रयास हुदा पनि उनले आफूलाई एक सफल राजनैतिक नेताका रूपमा उभ्याएका छन्। खनाल नेपाली राजनीतिमा प्रष्टवक्ता वामपन्थी चेतनाका धनी व्यक्तित्व अनि चतुर राजनीतिज्ञका रूपमा परिचित छन्। खनालले २०६७ माघ २३ गते राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे।

यो पनि हेर्नुहोस्।[सम्पादन गर्ने]

झलनाथ खनालको ब्यक्तिगत वेबसाइट


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. संविधान सभा निर्वाचन पोर्टल
  2. २.० २.१ झलनाथ खनालको जीवनी, हिमालय टेलिभिजन, २०६७ माघ २०
  3. ३.० ३.१ ३.२ नागरिक न्यूज डट कम
नेपाल
125px

यो लेख यस शृङ्खलाको अंश हो:
नेपालको राजनीति र सरकार