टङ्कप्रसाद आचार्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

टंकप्रसाद आचार्य (वि.सं. १९६९-२०४५) प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनैतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व हुन्।

जीवनी[सम्पादन गर्ने]

आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार भएको हो। उनले वि.सं. १९९३मा (२२ वर्षको उमेरमा) नेपाल प्रजा परिषद्को स्थापना गरे। वि.सं. १९९७ सालमा राणा शासनविरुद्ध पर्चा छरेपछि पक्राउ पर्ने २ सयजना व्यक्तित्वमा उनी पनि थिए। २००३ सालमा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्दा प्रजापरिषद्को बलिदान सम्झेर उनलाई सभापति बनाइयो।

वि.सं. २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्माजीवराज शर्मा थिए।

राणाशाहीको अन्त्यपछि वि.सं. २०१० सालमा गठित मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री र वि.सं. २०१२ माघ १२ देखि वि.सं. २०१४ असार ३१ सम्म १७ महिना १८औं प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्रीत्त्व[सम्पादन गर्ने]

प्रथम पञ्चवर्षिय योजनाको थालनी, राष्ट्रबैंकको स्थापना र देशभरि नेपाली मुद्राको प्रचलन, निजामति सेवामा सुधार, निजामती सेवा नियमावली लागू, भूमिसुधार, पञ्चशीलका आधारमा परराष्ट्रसम्बन्धको विकास, शिक्षा विकासका लागि अधिराज्यलाई ७ शैक्षिक क्षेत्रमा विभाजन, राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा योगदान दिए।

नेपालको इतिहासमा खास गरेर परराष्ट्र सम्बन्धको हिसाबले उनको प्रधानमन्त्रीत्व काललाई सुनौलो समय मानिन्छ। उनको कार्यकालमा सोभियत संघ, जापान, स्विटजरल्याण्ड, इजिप्ट, चीन र फ्रान्ससँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो। संयुक्त राष्ट्रसंघको सदस्यता लिएर महासभामा नेपालको प्रतिनिधिमण्डल पठाउने काम पनि टंकप्रसादकै पालामा भएको हो। टंकप्रसादको प्रधानमन्त्रीत्वकालमै हो, नेपालले भारत र चीनसँग समदुरीको सम्बन्धमा जोड दिएको। उतिबेला कायम गर्न खोजिएको सन्तुलनमा आधारित सम्बन्ध आज झनै सान्दर्भिक भएको छ। राणा शासकहरूले भारतस्थित इष्ट इन्डिया कम्पनीसँग राम्रो सम्बन्ध बनाएका थिए। सन् १९४७मा भारतको स्वतन्त्रता र वि.सं. २००७ सालमा नेपालमा राणाशाहीको पतनपछि नेपाल-भारत सम्बन्धमा नयाँ आयामहरू आए। सन् १९५०मा नेपालले भारतसित विशेष सम्बन्ध देखाउने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि गरेको थियो। यो अवस्थामा चीनसँग पनि उत्तिकै सहज हुन प्रधानमन्त्री आचार्यले दुई छिमेकीसँग समदुरीको सम्बन्धमा जोड दिएका थिए। राजा महेन्द्र चीनसँग छुट्टै सन्धि-सम्झौता गर्दा तिब्बतले नेपाललाई दिँदै आएको वार्षिक १० हजार कालामोहर रोकिनेमा बढी संवेदनशील भए पनि टंकप्रसादले राजाको कोपभाजनको जोखिम मोलेरै पञ्चशीलको सिद्धान्तको आधारमा छुट्टै सन्धिका लागि कूटनीतिक वातावरण तयार पारे। सन् १९५६ सेप्टेम्बर २०मा नेपाल-चीन मैत्री सम्बन्धमा हस्ताक्षर भयो। त्यही वर्ष पेकिङमा चीन भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्रीका रूपमा टंकप्रसाद आचार्यको स्वागत भयो। चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपाल भ्रमण गरे।

कूटनीतिज्ञ यदुनाथ खनालले राजा त्रिभुवनको शासनकालमा जोसुकै प्रधानमन्त्री भए पनि नेपालको वैदेशिक सम्बन्ध तीन कारणबाट भारतसितको सम्बन्धमा सीमित भएको विश्लेषण गरेका थिए। पहिलो, दिल्लीमा भइरहने नेपाली र भारतीय नेताहरूको भेटघाट; दोस्रो, नेपालले त्यसताका भारतबाट मात्र लिएको आर्थिक-प्राविधिक सहयोग; र तेस्रो, नेपाली सेनाको पुनर्गठन तथा तालिममा भारतीय सेनाको भूमिका। त्यसमाथि, नेपाल-भारत परम्परागत सांस्कृतिक र भौगोलिक सम्बन्धहरूको प्रभाव आफ्नो ठाउँमा छँदै थियो।

आचार्यकै कार्यकालमा निजामती कर्मचारी आयोग गठन भयो, जसले नेपालमा पहिलो पटक वृत्ति-विकासमा आधारित कर्मचारीतन्त्रको सुरूआत गर्‍यो। त्रिभुवन विश्वविद्यालय स्थापनाको तयारी पनि वि.सं. २०१३ सालमै भयो। विभिन्न विचार र स्वार्थको चेपुवामा परेका बेला प्रधानमन्त्री आचार्यले दृढताका साथ ती सुरूआती काम गरेका थिए।

निधन[सम्पादन गर्ने]

उनको निधन वि.सं. २०४९ साल वैशाख ११ गते भयो।

टंकप्रसादका छोरा कुसुमाकरको वि.सं. २०५६ साल बैशाख १ गते निधन भयो। जलस्रोत मन्त्रालयअन्तर्गत विद्युत् विकास केन्द्रमा वि.सं. २०३७ साल भदौ १२ देखि कार्यरत इन्जिनियर कुसुमाकरको जन्म वि.सं. २०१२ साल माघ १२ गते भएको थियो। कुसुमाकर रुसमा पढेका इञ्जिनियर थिए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]