दर्शनलाल यादव

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

जनआन्दोलन २ को १९ दिनमा शहादत प्राप्त गर्ने पहिलो व्यक्ति दर्शनलाल यादव हुन् । नेकपा एमालेका सप्तरीका इलाका कमिटि सदस्य यादवको २०६२ चैत २३ मा मृत्यु भएको हो । राजविराजमा मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी दमन भएपछि भागदौडमा एमाले कार्यकर्ता ५० वर्षीय यादव लडेका थिए । उनलाई हृदयघात भएपछि साँझ करिब ६:३० बजे केही व्यक्तिले सगरमाथा अञ्चल अस्पताल, राजविराजमा भर्ना गराएका थिए । उपचारकै क्रममा यादवको चैत २३ राति करिब ९:१५ मा मृत्यु भएको हो । लड्दा छातीमा चोट लागी हृदयघात भएकाले मृत्यु भएको हो । लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने यादव मधेशी समुदायका पहिलो व्यक्ति हुन् ।

सरकारी जागिरे भए पनि ०४६ सालको जनआन्दोलनको सर्मथन गरेको आरोपमा तत्कालीन शासकले यादवलाई जागिरबाट अवकाश दिएको थियो । जागिरे जीवनमा पनि राजनीतिक आस्था भएका कारण उनले आन्दोलन सुरु भएको दिनैदेखि खुलेर सर्मथन गरेका थिए । कम्युनिस्ट विचार भएका दर्शनको जनआन्दोलनमा सर्मथन गरेवापत जागिर गएपछि राजनीतिमा होमिएका थिए । आन्दोलनपछि प्रजातान्त्रिक सरकारले जागिर जोडिदिने बताए पनि उनले जागिरको वास्ता नगरी राजनीतिमै लाग्ने प्रतिबद्धता जनाएका थिए । मुलुकमा प्रजातन्त्र प्राप्तिपछि राजनीति गरेरै जनताको सेवा गर्न सकिने उच्च विचार राख्दै उनी ०४७ सालमा एमालेमा प्रवेश गरेका थिए ।

दुई श्रीमतीका पाँचवटा छोरासहित जीवन गुजारा गर्दै आएका दशनको आर्थिक अवस्था ज्यादै नै कमजोरी थियो । आठ जनाको परिवारको वर्षभरि गुजारा गर्ने डेढ बिघा खेत सिवाय केही थिएन । आर्थिक अवस्था कमजोर भएकाले गुजाराका लागि जागिरे भएका यादवले आन्दोलनको समर्थनमा त्यो पनि गुमाएपछि उनी भोक-भोकै राजनीतिमा लागेका थिए । डेढ बिघा जग्गाले परिवार धान्न धौ-धौ परेका यादवको अवस्था राजनीतिमा लागेदेखि नै झनै दयनीय बन्दै गएको थियो ।

सक्रिय राजनीतिमा लागेका यादव पछिल्लो समयमा जननिर्वाचित भएर मलेकपुर गाविसका उपाध्यक्ष बनेका थिए । उनी पार्टीका हरेका कार्यक्रमा समावेश हुँदै लोकतान्त्रिक आन्दोलनमा लागिरहेका थिए । एमालेले आयोजना गरेको आन्दोलन होस् वा सात दलले आह्वान गरेको विरोधसभा जहाँ पनि यादवको उपस्थिति हुन्थ्यो । छोरा अशोक माओवादीमा लागेर सुरक्षा कारबाहीमा मारिए पछि पटक-पटक सुरक्षाकर्मीले दुःख दिँदा पनि कत्ति पनि बिचलित नभई उनी लोकतान्त्रिक आन्दोलनमा लागिरहेका थिए ।