धर्मभक्त माथेमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्मभक्त माथेमाको प्रतिमा

धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो। बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो। त्यही कारणले धर्मभक्तले दार्जीलिङमा शिक्षा आर्जन गर्नुभयो। केही समय कलकत्तामा पनि पढनुभयो। शरीर दुब्लो भएकाले व्यायाम गर्न थाल्नुभयो । बङ्गालको शारीरिक व्यायामशालाबाट उहाँ बङ्गाल च्याम्पीयन भएर नाम कमाउनुभयो। बङ्गाल अङ्ग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उहाँलाई राजनीतिको ज्ञान मिल्यो। उहाँको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो। केही समयपछि उहाँका बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए। वि.सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आई.ए. उत्तीर्ण गर्नुभएको थियो।

राजनैतिक गतिविधि[सम्पादन गर्नुहोस्]

वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो। पछि चन्द पनि नेपाल प्रजापरिषद्को संस्थापक सदस्य हुनुभयो। उहाँले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित होइबक्स्यो। उहाँ स्व.राजा त्रिभुवनका व्यायाम शिक्षक हुनुभयो। उहाँले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गर्नुभएको थियो। प्रजापरिषद् र राजा त्रिभुवनका बीचमा उहाँबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए। धर्मभक्तलाई पक्राउ गरियो। वि.सं. १९९७ माघ १३ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Lal, C. K. (१६ फेब्रुअरी २००१), "The Rana resonance", Nepali Times, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]