धर्मराज थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्मराज थापा
युवा उमेरमा धर्मराज थापा
युवा उमेरमा धर्मराज थापा
जन्म१९८१ साउन १ गते
कास्की, बाटुलेचौर
मृत्यु२०७१ असोज २८
साहित्यिक नामजनकवि केशरी
पेशासाहित्य, गायन
भाषानेपाली
उल्लेखनीय कार्यहरूमङ्गली कुसुम
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार, जगदम्बाश्री पुरस्कार
बच्चाहरूज्ञानु राणा
धर्महिन्दू
वेबसाइट
dharmarajthapa.com

धर्मराज थापा (वि.सं. १९८१ – २०७१) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए ।[१] उनलाई 'जनकवि केशरी'का उपनामले चिनिन्छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट 'जनकवि केशरी' उपाधि पाएका हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

धर्मराजको जन्म वि.सं. १९८१ साउन १ गते कास्की जिल्लाको बाटुलेचौरमा भएको हो। उनका पिता हर्कबहादुर र माता मनमाया थापा हुन्। उनको बाल्यकालको जन्म भुवनबहादुर हो। मध्यम परीक्षामा प्रथम गरेका थापाले लोकसाहित्यमा जीवन बिताएका छन्। उनको मृत्यु वि.सं. २०७१ असोज २८ गते काठमाडौ स्वम्भुस्थित आफ्नै निवासमा भएको हो ।[२] उनको हरियो डाँडामाथि हलो जोत्ने साथी प्रख्यात छ। प्रख्यात गायिका ज्ञानु राणा उनकै छोरी हुन्।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनको कृतिहरू लाई मौलिक, लेखन र गायन गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ। मौलिक लेखनमा गीतकार र कविका रूपमा विशेष गरी चिनिन्छन् भने सङ्कलन र सम्पादनको क्षेत्रमा चाहिँ उनको क्षेत्रको लोकभाका, लोकध्वनि र लोकसाहित्य हो। प्रारम्भिक चरणदेखि हालसम्म उनका कृतिगत रचनाहरू:
१. रत्न जुनेली
२. बनचरो
३. पहाडी सङ्गीत
४. कालीको लहर
५. विलौना
६. कोसेली
७. तिलोत्तमाको भेल
८. बत्तीमुनी अँधेरो
९. रानी पोखरी
१०. पृथ्वीको दिव्य अर्ती
११. निर्वाचन लहर
१२. मेरो नेपाल भ्रमण
१३. श्री ५ महेन्द्रको सवाई
१४. भेटघाट (अभिनन्दनको सँगालो)
१५. गोल सिमल
१६. गण्डकीका सुसेली
१७. दिव्य चौतारी
१८. मङ्गली कुसुम
१९. हाम्रो लोकगीत
२०. नेपाली लोक साहित्यको विवेचना (सहलेखन)
२१. हिमालको आँसु (शोक काव्य)
२२. मिर्मिरेको रन्को
२३. सगरमाथाको सेरोफेरो
२४. लोक साहित्यको घेरामा लमजुङ
२५. मुक्तिनाथ दर्शन
२६. चितौन दर्पण
२७. तनहुँ फूलबारी
२८. नीलकण्ठयात्रा (गोसाइँकुण्ड)
२९. मेरो नेपाल भ्रमण

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन् भने श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेवापत वि.सं. २०५७ सालमा जगदम्बाश्री पुरस्कार प्राप्त गरेका हुन्। त्यसबाहेक वि.सं. २०२५को इन्द्रराज्य लक्ष्मी पुरस्कार, वि.सं. २०१३ र वि.सं. २०३१मा शुभ राज्याभिषेक पदक, वि.सं. २०४१मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक आदि सम्मान पाएका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. दीक्षित, कमल (आषाढ ३०, २०७०), "कवि नै हुन् धर्मराज थापा", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९ 
  2. "जनकवि केशरी धर्मराज थापा रहेनन्", सेतोपाटी, अन्तिम पहुँच २०१४-१०-१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]