नक्षत्र
आकाशमा रहेका तारासमूहलाई नक्षत्र भनिन्छ। सामान्यतया नक्षत्र चन्द्रपथसँग सम्बन्धित हुन्छ, तर चन्द्रपथका अतिरिक्त आउने अन्य ताराहरूलाई पनि नक्षत्र नै भन्ने चलन छ। [१] ऋग्वेदको एउटा प्रसङ्गमा सूर्यलाई पनि नक्षत्र भनिएको छ। अन्य नक्षत्र हरूमा सप्तर्षि र अगस्त्यको पनि चर्चा भेटिन्छ। नक्षत्रहरूको परिचय र सूची अथर्ववेद, तैत्तिरीय संहिता, शतपथ ब्राह्मण तथा लगधको वेदाङ्ग ज्योतिषआदि ग्रन्थमा प्राप्त हुन्छ। नक्षत्रसङ्ख्याका सम्बन्धमा विद्वानहरूमाझ मतमतान्तर पाइन्छ, तर ज्योतिषशास्त्रमा २७ वटा मुख्य नक्षत्रहरू र अभिजित (Abhijit)(α, ε and ζ Lyrae - Vega - उत्तराषाढ़ा र श्रवणका मध्यभागमा अवस्थित) सहित २८ वटा नक्षत्र रहेको तथ्यलाई सबैले एकमतले स्वीकारेको पाइन्छ, ज्योतिषीय गणना पद्धतिमा भने केवल २७ वटा नक्षत्रको प्रयोग हुन्छ। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा नक्षत्रको गणना गरिन्छ। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र प्रत्येक पाउसँग एकएकवटा अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट सनातन धर्मान्तर्गत नवजात शिशुको नामकरण गरिन्छ। यस प्रक्रियाबमोजिम बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुर्दछ। यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सायनसूर्यको गणनापद्धतिका आधारमा निर्धारण हुने चलन छ। [२] यी नक्षत्रहरू हुन्- अश्विनी, भरिणी, कृतिका, रोहिणी, मृगशिरा,आर्द्रा, पुनर्वसु, पुष्य(तिष्य), अश्लेषा, मघा, पुर्वफाल्गुनी,उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा,अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, अभिजित, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपद, उत्तराभाद्रपद, रेवति । अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल र रेवतीलाई गण्डमूल नक्षत्र तथा भरिणी, रोहिणी, मृगशीरा, अश्लेषा, ज्येष्ठा र मूललाई नागमूल नक्षत्र पनि भनिन्छ। यिनीहरूमध्ये अश्विनी, भरिणी, रोहिणी, मृगशीरा, मघा र रेवतीलाई सामान्य मूलसंज्ञक र अश्लेषा, ज्येष्ठा र मूल नक्षत्रलाई विशिष्ट मूल संज्ञक नक्षत्रका रूपमा लिइन्छ। यी मूलसंज्ञक नक्षत्रलाई हानिकारक नक्षत्रका रूपमा मानिन्छ।
| # | नाम | देवता | पाश्चात्य नाम | मानचित्र | स्थिति |
|---|---|---|---|---|---|
| 1 | अश्विनी (Ashvinī) | केतु | β and γ Arietis | 00AR00-13AR20 | |
| 2 | भरणी (Bharanī) | शुक्र (Venus) | 35, 39, and 41 Arietis | 13AR20-26AR40 | |
| 3 | कृत्तिका (Krittikā) | रवि (Sun) | Pleiades | 26AR40-10TA00 | |
| 4 | रोहिणी (Rohinī) | चन्द्र (Moon) | Aldebaran | 10TA00-23TA20 | |
| 5 | मॄगशिरा (Mrigashīrsha) | मङ्गल (Mars) | λ, φ Orionis | 23TA40-06GE40 | |
| 6 | आद्रा (Ārdrā) | राहु | Betelgeuse | 06GE40-20GE00 | |
| 7 | पुनर्वसु (Punarvasu) | बृहस्पति(Jupiter) | Castor and Pollux | 20GE00-03CA20 | |
| 8 | पुष्य (Pushya) | शनि (Saturn) | γ, δ and θ Cancri | 03CA20-16CA40 | |
| 9 | अश्लेशा (Āshleshā) | बुध (Mercury) | δ, ε, η, ρ, and σ Hydrae | 16CA40-30CA500 | |
| 10 | मघा (Maghā) | केतु | Regulus | 00LE00-13LE20 | |
| 11 | पूर्वाफाल्गुनी (Pūrva Phalgunī) | शुक्र (Venus) | δ and θ Leonis | 13LE20-26LE40 | |
| 12 | उत्तराफाल्गुनी (Uttara Phalgunī) | रवि | Denebola | 26LE40-10VI00 | |
| 13 | हस्त (Hasta) | चन्द्र | α, β, γ, δ and ε Corvi | 10VI00-23VI20 | |
| 14 | चित्रा (Chitrā) | चित्रगुप्त | Spica | 23VI20-06LI40 | |
| 15 | स्वाती (Svātī) | राहु | Arcturus | 06LI40-20LI00 | |
| 16 | विशाखा (Vishākhā) | बृहस्पति | α, β, γ and ι Librae | 20LI00-03SC20 | |
| 17 | अनुराधा (Anurādhā) | शनि | β, δ and π Scorpionis | 03SC20-16SC40 | |
| 18 | ज्येष्ठा (Jyeshtha) | बुध | α, σ, and τ Scorpionis | 16SC40-30SC00 | |
| 19 | मूल (Mūla) | केतु | ε, ζ, η, θ, ι, κ, λ, μ and ν Scorpionis | 00SG00-13SG20 | |
| 20 | पूर्वाषाढा (Pūrva Ashādhā) | शुक्र | δ and ε Sagittarii | 13SG20-26SG40 | |
| 21 | उत्तराषाढा (Uttara Ashādhā) | रवि | ζ and σ Sagittarii | 26SG40-10CP00 | |
| 22 | श्रवण (Shravana) | चन्द्र | α, β and γ Aquilae | 10CP00-23CP20 | |
| 23 | श्रविष्ठा (Shravishthā) or धनिष्ठा | मङ्गल | α to δ Delphinus | 23CP20-06AQ40 | |
| 24 | शतभिषा (Shatabhishaj) | राहु | γ Aquarii | 06AQ40-20AQ00 | |
| 25 | पूर्वभाद्र्पद (Pūrva Bhādrapadā) | बृहस्पति | α and β Pegasi | 20AQ00-03PI20 | |
| 26 | उत्तरभाद्रपदा (Uttara Bhādrapadā) | शनि | γ Pegasi and α Andromedae | 03PI20-16PI40 | |
| 27 | रेवती (Revatī) | बुध | ζ Piscium | 16PI40-30PI00 |
अश्विनी नक्षत्र [सम्पादन गर्ने]
१. अश्विनी नक्षत्र आकाश मण्डलको प्रथम नक्षत्र हो। अश्विनी नक्षत्र ३ वटा ताराहरूको समूह हो, जुन आकाशमण्डलमा पौष महिनाको तेस्रो चौथो हप्तातिर सूर्यास्तपछि सिधा माथि देखिन्छ।
२. अश्विनी नक्षत्रको अर्थ अश्वपुरुष र देवता अश्विनीकुमार हुन्।
३. यस नक्षत्रमा जन्मिने व्यक्तिमा एक किसिमको स्वतन्त्र चिन्तन हुन्छ। ऊ बुद्धिमान् हुनुका साथै आर्थिक दृष्टिले पनि सम्पन्न हुन्छ।
४. अश्विनीमा जन्मिने व्यक्तिले अश्विनीकुमारको व्रत र पूजा गर्ने प्रचलन छ।
५. अश्विनी नक्षत्रको मुख्य ग्रह केतु हो एवं वैज्ञानिक दृष्टिकोणबाट अमलाको रुखलाई यस नक्षत्रको प्रतीकका रूपमा लिइन्छ र यस नक्षत्रमा जन्मिने मान्छेले अमलाको पूजा गर्ने गर्दछन्। त्यस्तै यस नक्षत्रमा जन्मनेले आफ्ना घराआँगनमा अमलाको वृक्ष रोपेमा सकारत्मक फल प्राप्त हुन्छ।
६. सामान्यतया जुनसुकै वर्षमा वैशाख १ गतेदेखि १४ गतेका बीचमा सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
भरणी नक्षत्र [सम्पादन गर्ने]
१.भरिणीको अर्थ धारक हुन्छ र यस नक्षत्रका देवता यमराज(काल) हुन्।
२. यो नक्षत्र आकाश मण्डलको दोस्रो नक्षत्र हो।
३. यस नक्षत्रमा जन्मने व्यक्तिले यमराजको व्रत र पूजा गर्नुपर्दछ।
४. यस नक्षत्रको मुख्य ग्रह शुक्रलाई मानिन्छ।
५. जुम्ल्याहा वृक्षलाई भरणी नक्षत्रको प्रतीकका रूपमा लिइन्छ र यस नक्षत्रमा जन्म हुने व्यक्तिले जुम्ल्याहा रुखलाई पूजा गर्ने चलन छ। यस नक्षत्रमा जन्म लिने व्यक्तिले आफ्नो घरवरिपरि जुम्ल्याहा वृक्षको रुख रोप्नुपर्दछ।
६. यो नक्षत्र नागमूल संज्ञक नक्षत्र हो, त्यसैले यस नक्षत्रमा जन्मने जातकले सर्प बध गर्नुहुँदैन र नागदेवताको पूजाआजा गर्नुपर्दछ।
७. सामान्यतया जुनसुकै वर्षमा वैशाख १५ गतेदेखि २८ गतेका बीचमा सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
कृतिका नक्षत्र [सम्पादन गर्ने]
१. कृत्तिका नक्षत्र आकाश मण्डलको तेस्रो तृतीय नक्षत्र हो।
२. कृत्तिका नक्षत्रको मुख्य ग्रह सूर्य हो।
३. यस नक्षत्रको देवता अग्नि भएकाले यसमा जन्म हुने जातकले अग्नि देवताको व्रत र पूजा गर्ने चलन छ।
४. डुम्रीको वृक्षलाई कृतिका नक्षत्रको प्रतीक मानिन्छ, त्यसैले यस नक्षत्रमा जन्म हुने मानवले डुम्रीको रुखको पूजा गर्ने गर्छन् र घरवरपर डुम्रीको वृक्ष रोप्छन्।
५. सामान्यतया जुनसुकै वर्षमा बैशाख २९ गतेदेखि जेठ १२ गतेका बीचमा सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
रोहिणी नक्षत्र [सम्पादन गर्ने]
१. रोहिणी शब्दको अर्थ रातो रङ्ग हो र यस नक्षत्रका स्वामी प्रजापति देवता (ब्रह्मा) हुन्।
२. यो नक्षत्र आकाश मण्डलको चौथो नक्षत्र हो।
३. यस नक्षत्रको मुख्य ग्रह चन्द्रमा हो।
४. रोहिणी नक्षत्रसमूहका ताराहरूको सङ्ख्या पाँच छ भनिन्छ।
५. बयलगाडी जस्तो आकृतिमा यो नक्षत्र फाल्गुन महिनाको प्रारम्भतिर आकाशको मध्यभागमा पश्चिम दिशामा नेपालमा राती ६ बजे देखि ९ बजेका बीचमा देखिन्छ। यसको आकृति कृत्तिका नक्षत्रको आकृतिभन्दा पूर्वदक्षिण भागमा देख्न सकिन्छ।
६. सामान्यतया जुनसुकै वर्षमा जेठ १३ गतेदेखि २६ गतेका बीचमा सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
७. यस नक्षत्रको सर्प योनि हुन्छ। यो नक्षत्र नागमूल संज्ञक नक्षत्र हो, त्यसैले यस नक्षत्रमा जन्मने जातकले सर्प बध गर्नुहुँदैन र नागदेवताको पूजाआजा गर्नुपर्दछ।
८. जामुनोको रुखलाई यस नक्षत्रको प्रतीकका रूपमा लिइन्छ र यस नक्षत्रमा जन्म लिने व्यक्तिले जामुनोको वृक्षलाई पूजा गर्नुका साथै आफ्नो घरवरपर जामुनोको वृक्ष रोप्छन्।
९. रोहिणी नक्षत्रमा जन्म लिने जातक सुन्दर, शुभ्र, दाम्पत्यधर्म र प्रेम सम्पादन गर्न पोख्त, तेजस्वी, संवेदनशील, सम्मोहक र प्रगतिशील हुन्छन्। त्यस्तै यस नक्षत्रमा जन्मलिने व्यक्तिले घिउ, दूध, रत्न आदि दान गर्नाले शुभफल प्राप्त गर्ने विश्वास गरिन्छ।
पौराणिक कथा
पुराणमा उल्लेख भएका कथाहरूअनुसार रोहिणी चन्द्रमाकी सत्ताईस वटी पत्नीहरूमध्ये सबैभन्दा सुन्दर, तेजस्वी र राम्राराम्रा वस्त्राभूषण धारण गर्ने पत्नी हुन्। पृथ्वीको परिक्रमा गर्ने क्रममा जबजब चन्द्रमा रोहिणी नक्षत्रका छेउमा पुग्दछन्, तबतब उनको रूप र आभामा चमत्कार देखिन्छ र त्यसबेलामा यो नक्षत्र चन्द्रमासँग एकाकार भई लुकेको झैं भान हुन्छ।
१०. यस नक्षत्रका देवता ब्रह्मा भएकाले यसमा जन्म हुने जातकले पितामह ब्रह्माको व्रत र पूजा गर्ने चलन छ।
मृगशिरा नक्षत्र [सम्पादन गर्ने]
१. यस नक्षत्रको अर्थ मृगको टाउको हो र यसका देवता सोम (चन्द्रमा) हुन्।
२. यो नक्षत्र आकाश मण्डलको पाँचौ नक्षत्र हो।
३. मृगशिरा नक्षत्रमा जन्मलिने व्यक्तिले बाछोसमेतको गाईलाई दान गर्नाले शुभ फल प्राप्त हुन्छन्।
४. यस नक्षत्रको मुख्य ग्रह मङ्गललाई मानिन्छ।
५. खयरको वृक्षलाई मृगशिरा नक्षत्रको प्रतीक मानिन्छ र मृगशिरा नक्षत्रमा जन्म लिने व्यक्तिले खयरको वृक्षको पूजा गर्दा सकारात्मक जीवन निर्वाह गर्न सक्दछ। त्यस्तै नक्षत्रमा जन्म लिने व्यक्तिले आफ्नो घरवरपर खयरको रुख रोप्नु शुभ सङ्केत हो।
६. यस नक्षत्रको सर्प योनि हुन्छ। यो नक्षत्र नागमूल संज्ञक नक्षत्र हो, त्यसैले यस नक्षत्रमा जन्मने जातकले सर्प बध गर्नुहुँदैन र नागदेवताको पूजाआजा गर्नुपर्दछ।
७. सामान्यतया जुनसुकै वर्षमा जेठ २७ गतेदेखि आषाढ ७ गतेका बीचमा सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
आर्द्रा नक्षत्र [सम्पादन गर्ने]
१. आर्द्रा शब्दको अर्थ पसिनाको थोपो हो र यस नक्षत्रका इष्टदेवता रुद्रदेव हुन्।
२. आर्द्रा नक्षत्र आकाश मण्डलमा रहेका सत्ताइस नक्षत्रहरूमध्ये छैठौं नक्षत्र हो, जुन मृगशिरा र पुनर्वसु नक्षत्रको बीचमा हुन्छ।
३. सामान्यतया जुनसुकै वर्षमा आषाढ ८ गतेदेखि आषाढ २२ गतेका बीचमा सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ। सूर्यले यस नक्षत्रमा भ्रमण गर्दा नेपालमा मनसुनले प्रवेश गर्ने गर्दछ। आर्द्रा नक्षत्रमा सूर्यले सङ्क्रमण गरेको दिन भूमिरज पर्व मान्ने चलन छ।
४. आर्द्रा नक्षत्रको मुख्य ग्रह राहु हो।
५. खिच्रो(खिचडी) पकाएर गरीबगुरुबालाई दान गर्नाले यस नक्षत्रमा जन्म लिने मानवको कल्याण हुने कुरा ज्योतिषीहरू बताउँदछन्।
६. पाकडको वृक्षलाई आर्द्रा नक्षत्रको प्रतीक मानिन्छ। आर्द्रा नक्षत्रमा जन्मिएका व्यक्तिले पाकडको वृक्षको पूजा गर्छन् र यसलाई आफ्नो घरवरपर रोप्ने गर्दछन्।
७. यस नक्षत्रका देवता शिवजी भएकाले यसमा जन्म हुने जातकले शिवजीको व्रत र पूजा गर्ने चलन छ।
पुनर्वसु नक्षत्र [सम्पादन गर्ने]
१. पुनर्वसु शब्दको अर्थ 'फेरि पनि शुभ हुनु' हो भने यस नक्षत्रका देवता अदिति देव हुन्।
२. आकशमण्डलको सातौं नक्षत्र पुनर्वसु हो।
३. यस नक्षत्रको मुख्य ग्रह बृहस्पति हो।
४. वैज्ञानिक दृष्टिकोणले बाँसको रुखलाई पुनर्वसु नक्षत्रको प्रतीक मानिन्छ। यस नक्षत्रमा जन्म लिने व्यक्तिले बाँसको झाङको पूजा गर्ने प्रचलन छ र तिनले आफ्नो घरबारीमा बाँसको झाङ लगाउने गर्दछन्।
५. सामान्यतया जुनसुकै वर्षमा आषाढ २३ गतेदेखि श्रावण ५ गतेका बीचमा सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
६. यस नक्षत्रका देवता अदिति भएकाले यसमा जन्म हुने जातकले अदितिको व्रत र पूजा गर्ने चलन छ।
पुष्य (तिष्य) नक्षत्र [सम्पादन गर्ने]
१. नक्षत्रमण्डलको आठौं तारासमूहलाई पुष्य वा तिष्य नक्षत्र भन्दछन्।
२. पुष्यको अर्थ 'पोषण' हो र यस नक्षत्रका अधिदेवता बृहस्पति हुन्। यसलाई 'ज्योतिष्य र अमरेज्य' पनि भन्दछन्। अमरेज्य शब्दको अर्थ हो- देवताहरूद्वारा सम्पूज्य। त्यसैले पुष्य वा तिष्य नक्षत्र नक्षत्रहरूमध्ये सर्वश्रेष्ठ मानिन्छ।
३. यस नक्षत्रको स्वामी ग्रह शनि हो, तर यस नक्षत्रको गुण वृहस्पति ग्रहसँग मिल्दछ।
४. पीपलको रुखलाई पुष्य नक्षत्रको प्रतीकका रूपमा लिइन्छ र यस नक्षत्रमा जन्मिएका मान्छेले पीपलको बोटको पूजा गर्ने गर्दछन्। त्यस्तै यस नक्षत्रका जातकले आफ्नो घरवरपर खाली ठाउँमा पीपलको रुख रोप्नु पर्दछ।
५. सामान्यतया जुनसुकै वर्षमा श्रावण ६ गतेदेखि श्रावण १९ गतेका बीचमा सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
६. यस नक्षत्रका देवता बृहस्पति भएकाले यसमा जन्म हुने जातकले बृहस्पतिको व्रत र पूजा गर्ने चलन छ।
अश्लेषा नक्षत्र [सम्पादन गर्ने]
१. आकाशमण्डल देदीप्यमान नक्षत्रहरूमध्ये अश्लेषा नक्षत्र नवौँ नक्षत्र हो।
२. अश्लेषा शब्दको अर्थ आलिङ्गन हुन्छ र यस नक्षत्रका अधिदेवता नाग देवता हुन्, त्यसैले यो नक्षत्र नागमूल संज्ञक नक्षत्र हो, त्यसैले यस नक्षत्रमा जन्मने जातकले सर्प बध गर्नुहुँदैन र नागदेवताको पूजाआजा गर्नुपर्दछ।
३. सामान्यतया जुनसुकै वर्षमा श्रावण २० गतेदेखि श्रावण मसान्तसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ। यस अवधिमा यस नक्षत्रलाई प्रातःकालमा सूर्योदय अघि नाङ्गा आँखाले पनि देख्न सक्दछौं।
४. अश्लेषा नक्षत्रको मुख्य ग्रह बुधलाई मानिन्छ।
५. नागकेशरीको वृक्षलाई यस नक्षत्रको प्रतीक मानिन्छ। अश्लेषा नक्षत्रमा जन्म लिने जातकले नागकेशरी लताको पूजाआजा गर्छन्। त्यस्तै यस नक्षत्रका जातकहरूले नागकेशरीको लहरोलाई आफ्नो घर वरिपरि रोप्दा शुभ्यफाप्य हुने विश्वास गरिन्छ।
६. यस नक्षत्रका देवता नागदेवता भएकाले यसमा जन्म हुने जातकले नागदेवताको व्रत र पूजा गर्ने चलन छ।
मघा नक्षत्र [सम्पादन गर्ने]
१. मघा नक्षत्रको आकाशमण्डलमा दसौं स्थान छ भनिन्छ।
२. मघा शब्दको अभिधार्थ 'महान्' हुन्छ र यस नक्षत्रका अधिदेवता पितृदेव हुन्।
३. यस नक्षत्रको मुख्य ग्रह केतु हो। भगवान् विष्णुको सुदर्शन चक्रद्वारा दुई टुक्रा बनाइएको दैत्य शरीरमध्ये टाउकोबाहेकको भागको नाम केतु हो र यो एउटा छायाग्रह हो।
४. मघा तिथिमा पितृकर्म श्राद्धादि गरिन्छ, तर ज्येष्ठपुत्रसँगै बसेका कर्ताले मघा श्राद्ध गर्न निषेध गरिएको छ।
५. वटवृक्ष(बरको रुख)लाई मघा नक्षत्रको प्रतीकका रूपमा लिने गरिन्छ। यस नक्षत्रमा जन्मने जातकले बरको रुख रोपी चौतारो बनाउँदा ग्रहबाट हुने पीडाबाट मुक्ति प्राप्त गर्न सक्ने धार्मिक मान्यता छ।
६. सामान्यतया जुनसुकै वर्षमा भाद्र सङ्क्रान्तिदेखि भाद्र १४ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
७. यस नक्षत्रका पितृदेवता अधिदेवता भएकाले यसमा जन्म हुने जातकले स्वस्तिशान्ति र जीवनमा सफलताको कामना गर्दै पितृकर्म र तीर्थश्राद्ध गर्ने चलन छ।
पूर्वफाल्गुनी नक्षत्र [सम्पादन गर्ने]
१. पूर्वफाल्गुनी नक्षत्र आकाशमण्डलको नक्षत्रसमूहमा ११औं क्रममा आउँछ।
२. पूर्वफल्गुनी शब्दको अर्थ पहिलो रातो नक्षत्र भन्ने हुन्छ र यसका देवता भग (धन तथा ऐश्वर्यका देवता) हुन्।
३. यस नक्षत्रको मुख्य ग्रह शुक्र हो। यो सिंह राशीअन्तर्गतको नक्षत्र भएकाले यसका राशीस्वामी सूर्य हुन आउँछन्। सूर्य र शुक्रको मित्रता नभएकाले यस नक्षत्रका जातकको जीवनपद्धति सङ्घर्षशील हुन्छ।
४. पलासको रुखलाई पूर्वफाल्गुनी नक्षत्रको प्रतीक मानिन्छ र पूर्वफाल्गुनी नक्षत्रमा जन्म लिने मान्छेले पलासको बोटको पूजा गर्ने मान्यता छ। त्यस्तै यस नक्षत्रका जातकले पलासको बोटको संरक्षण गर्ने व रोपेर स्याहारसम्भार गर्ने हो भने ग्रहदोष नाश हुने मान्यता पनि छ।
५. सामान्यतया जुनसुकै वर्षमा भाद्र १५ देखि भाद्र २७ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
उत्तरा फाल्गुनी नक्षत्र [सम्पादन गर्ने]
१. उत्तरा फाल्गुनी नक्षत्रमण्डलको बाह्रौं नक्षत्र हो। यस नक्षत्रमा रहेको शब्दको अर्थ हो - पछिल्लो रातो नक्षत्र।
२. यस नक्षत्रका अधिदेवता अर्यमा हुन् र मुख्य ग्रह सूर्य हुन्।
३. रुद्राक्षको रुखलाई यस नक्षत्रको प्रतीक मानिन्छ र उत्तरा फाल्गुनी नक्षत्रमा जन्मने मान्छेले रुद्राक्ष वृक्षलाई पूजा गर्नुपर्छ, त्यस्तै यस नक्षत्रमा जन्म भएका व्यक्तिले आफ्नो घरको खाली भागमा रुद्राक्षको बिरुवा रोपेर स्याहार सम्भार गर्दछन्।
४. सामान्यतया जुनसुकै वर्षमा भाद्र २८ गतेदेखि आश्विन १० गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
हस्ता नक्षत्र [सम्पादन गर्ने]
१. हस्ता नक्षत्र आकाशमण्डलको तेह्रौं नक्षत्रसमूह हो, यसको आकार हत्केलो जस्तो हुन्छ।
२. यस नक्षत्रको मुख्य ग्रह चन्द्रमा हो र हस्ता शब्दले हात अर्थको द्योतन गर्छ।
३. यस नक्षत्रका अधिदेवता सावित्री हुन्।
४. हस्ता नक्षत्रमा जन्मने व्यक्तिले हात्ती र रथको दान गर्ने शास्त्रीय नियम छ, हिजोआज यस नक्षत्रमा जन्मने व्यक्तिहरू साइकल, गोरुगाडा, टाँगा, मोटरसाइकल वा आफ्नो क्षमताबमोजिमको वाहन (सवारीसाधन) दान गर्दछन्।
५. हस्ता नक्षत्रका जातकले सूर्यदेवको आराधना गरेमा ठूलाठूला सिद्धि प्राप्त गर्ने विश्वास गरिन्छ।
६. रिट्ठोको बोटलाई हस्ता नक्षत्रको प्रतीक मानिन्छ, यस नक्षत्रमा जन्मने व्यक्तिले रिट्ठोको रुखको पूजा गर्दछन् र आफ्नो घरवरिपरि रिट्ठो रोपेर त्यसको संरक्षण गर्दछन्।
७. सामान्यतया जुनसुकै वर्षमा आश्विन ११ गतेदेखि आश्विन २३ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
चित्रा नक्षत्र [सम्पादन गर्ने]
१. आकाशीय मण्डलमा देखिने चौधौं नक्षत्र चित्रा हो। यसको शब्दार्थ हुन्छ - देदीप्यमान।
२. चित्रा नक्षत्रका अधिदेवता त्वष्टा हुन्। त्वष्टा शब्दले इन्द्रलाई बुझाउँछ, त्यसैले यस नक्षत्रका जातकले इन्द्रदेवताको पूजाआजा गर्ने चलन छ। चित्रगुप्तलाई पनि यस नक्षत्रको देवता मानिन्छ।
३. बेलको रुखलाई चित्रा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने मान्छेले बेलवृक्षको पूजा गर्ने गर्छन्, त्यस्तै यस नक्षत्रका जातकले आफ्नो घर वा घरवरिपरिको खाली भागमा बेलको रुख रोपी त्यसको पूजाअजा गर्ने र त्यसको स्याहारसम्भार गर्दछन्।
४. सामान्यतया जुनसुकै वर्षमा आश्विन २४ गतेदेखि कार्तिक ७ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
स्वाति नक्षत्र [सम्पादन गर्ने]
१. स्वाति नक्षत्र आकाश मण्डलको पन्ध्रौं नक्षत्र हो। यस नक्षत्रको स्वामी राहु अर्थात् अन्धकार हो।
२. स्वातिको अर्थ हुन्छ - बथानमध्येको सबैभन्दा ठूलो र नाइके बाख्रो। यस नक्षत्रका अधिदेवता वायु हुन्।
३. स्वाति नक्षत्रका दिन झरेको पानीको थोपो शिपिमा पर्यो भने मोती बन्दछ भन्ने भनाइ छ, तर यो भनाइको तात्पर्य यस नक्षत्रमा जन्मने जातकको उचाइ मोती झैं चम्किलो हुन्छ भन्ने प्रतीकात्मक अर्थ हो।
४. अर्जुनको रुख लाई स्वाति नक्षत्रको प्रतीक मानिन्छ र स्वाति नक्षत्रमा जन्म लिने व्यक्तिले अर्जुन वृक्षको पूजा गर्दा राम्रो हुन्छ भन्ने मान्यता छ।
५. यस नक्षत्रमा जन्म जन्मने मानिसले आफ्नो घर वरिपरि कतै खाली ठाउँमा अर्जुनको रुख रोपेर स्याहारसुसार गर्दछन्।
६. सामान्यतया जुनसुकै वर्षमा कार्तिक ८ गतेदेखि कार्तिक २० गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
विशाखा नक्षत्र [सम्पादन गर्ने]
१. विशाखा नक्षत्र आकाश मंडलको सोह्रौं नक्षत्र हो। यसको तीनवटा चरण तुला राशीअन्तर्गत हुन्छ भने अन्तिम चरण बृश्चिक राशीमा पर्दछ।
२. विशाखाको अर्थ हुन्छ - विभाजित शाखा।
३. यस नक्षत्रका अधिदेवता इन्द्र र अग्नि हुन् भने यस नक्षत्रको स्वामी ग्रह गुरु बृहस्पति हुन्।
४. सामान्यतया प्रत्येक वर्षको कार्तिक २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सूर्यले यस नक्षत्रको परिभ्रमण गरेको दृश्य आकाशमण्डलमा देख्न सकिन्छ।
अनुराधा नक्षत्र [सम्पादन गर्ने]
१. आकाशमण्डलमा तुला राशीनजीकै दक्षिणपूर्व दिशामा एउटा ठूलो राशीचक्र देखिन्छ, त्यसलाई 'वृश्चिक राशि’ भनिन्छ, जसको आकृति बिच्छु जस्तै छ। यसको मुख भागमा पाँचवटा चम्किला ताराहरू छन्, जसमा दक्षिणतिर रहेको चौथो चम्किलो तारा नै 'अनुराधा’ नक्षत्र हो। यस नक्षत्रको स्वामी ग्रह शनि हो। यो आकाश गङ्गाको सत्रौं नक्षत्र हो र यसको विस्तार २१३ अंश २० कलादेखि २२६ अंश ४० कलासम्म निर्धारित छ।
२. यस तारालाई अरबी साहित्यमा ‘अलइकलील’ (अर्थात् मुकुट), ग्रीक भाषामा ‘स्कार पियोनिस’ तथा चाइनीज स्यूभाषामा ‘फंग’ भन्दछन्। अनुराधा शब्दको अर्थ हुन्छ - सफलता र यसका अधिदेवता मित्र (सूर्य) हुन्। त्यसैले यस नक्षत्रमा जन्म लिने जातकले मित्रको व्रत र पूजा गर्ने विधान छ।
३. मौलसिरीको रुख लाई अनुराधा नक्षत्रको प्रतीक मानिन्छ र अनुराधा नक्षत्रमा जन्म लिने व्यक्तिले मौलसिरीको पूजा आजा गर्ने र घर वरिपरि खाली ठाउँमा मौलसिरी रुख लगाई स्याहारसुसार गर्ने गर्दछन्।
४. यस नक्षत्रको आकार कहिले कमलको फूल झैं हुन्छ भने कहिले छाता जस्तो हुन्छ।
५. यस नक्षत्रको पुण्यकालमा उत्तरीय(ओड्ने वा पछ्यौरा) सहितको वस्त्र दान गर्ने परम्परा छ।
६. सामान्यतया वर्षको एक पटक अर्थात् मङ्सिर ४ गतेदेखि १६ गतेसम्म सूर्यले यस नक्षत्रको परिभ्रमण गर्दछन्।
ज्येष्ठा नक्षत्र [सम्पादन गर्ने]
१. ज्येष्ठा नक्षत्रलाई गण्डमूल नक्षत्र पनि भनिन्छ।
२. यस नक्षत्रका जातकले इन्द्रको व्रत र पूजा गर्दा लाभ प्राप्ति हुन्छ।
३. ज्येष्ठा नक्षत्रको देवता बुधलाई मानिन्छ।
४. चिउरीको रुख लाई ज्येष्ठा नक्षत्रको प्रतीक मानिन्छ र ज्येष्ठा नक्षत्रमा जन्म लिने व्यक्तिले चिउरीको बोटको पूजाआजा गर्नुका साथै आफ्नो घरको खाली ठाउँमा चिउरीको बिरुवा रोपेर स्याहारसम्भार गर्ने विधान छ।
५. सामान्यतया वर्षको एक पटक अर्थात् मङ्सिर १७ गतेदेखि मसान्तसम्म सूर्यले यस नक्षत्रको परिभ्रमण गर्दछन्।
मूल नक्षत्र [सम्पादन गर्ने]
१. मूल नक्षत्र आकाशमण्डलको उन्नाईसौं नक्षत्रका रूपमा चिनिन्छ। यस नक्षत्रको चारवटै चरण धनु राशीभित्र पर्दछन्।
२. मूल शब्दको अर्थ हुन्छ - जरा। निऋति यस नक्षत्रका अधिदेवता हुन् र स्वामी ग्रह केतु हो।
३. मूल नक्षत्रका जातकले राक्षसहरू, नीच वा क्षुद्र देवताको व्रत र पूजा गर्दा फलिफाप हुन्छ।
४. सालको रुखलाई मूल नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले सालको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा सालको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
५. सामान्यतया जुनसुकै वर्षमा पौष १ गतेदेखि पौष १२ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
पूर्वाषाढा नक्षत्र [सम्पादन गर्ने]
१. पूर्वाषाढा नक्षत्र आकाशमण्डलको बीसौं नक्षत्रका रूपमा चिनिन्छ। यो नक्षत्रमा जन्मने जातकको धनु राशी हुन्छ।
२. पूर्वाषाढा शब्दको अर्थ हुन्छ - विजयभन्दा पहिले र यस नक्षत्रका अधिदेवता आपः (जलका देवता) हुन्।
३. यस नक्षत्रको स्वामी ग्रह शुक्र हो भने यस नक्षत्रका जातकको राशीस्वामी पनि शुक्र ग्रह नै हो।
४. पूर्वाषाढा नक्षत्र परेको शुभमुहूर्तमा दही र सातुले भरिएको भाँडो दान गर्ने प्रचलन छ।
५. पूर्वाषाढामा जन्मिएका जातकले पानी(जल)का देवता निऋतिको व्रतपूजन गर्दा राम्रो मानिन्छ।
६. अशोकको रुखलाई पूर्वाषाढा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले अशोकको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा अशोकको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
७. सामान्यतया जुनसुकै वर्षमा पौष १३ गतेदेखि पौष २५ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
उत्तराषाढा नक्षत्र [सम्पादन गर्ने]
१. उत्तराषाढा नक्षत्र आकाशमण्डलको एक्काईसौं नक्षत्रका रूपमा चिनिन्छ। यस नक्षत्रको स्वामी ग्रह सूर्य हो।
२. यस नक्षत्रमा प्रयुक्त शब्द उत्तराषाढाको अर्थ हुन्छ - विजयभन्दा पछि र यस नक्षत्रका अधिदेवता हुन् - विश्वदेव।
३. यस नक्षत्रको स्वामी ग्रह सूर्य हो।
४. कटहरको रुखलाई उत्तराषाढा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले कटहरको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा कटहरको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
५. सामान्यतया जुनसुकै वर्षमा पौष २६ गतेदेखि माघ ११ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
अभिजित नक्षत्र [सम्पादन गर्ने]
अभिजित नक्षत्र आकाशमण्डलको अट्ठाईसौं नक्षत्रका रूपमा चिनिन्छ। यसको छुट्टै अस्तित्व छैन। यस नक्षत्रलाई उत्तराषाढा र श्रवण नक्षत्रको मध्यभाग मानिन्छ। सामान्यतया उत्तराषाढा नक्षत्रको अन्तिम १५ घडी र श्रवण नक्षत्रको आरम्भको ४ घडी गरी जम्मा १९ घडीको अवधिलाई अभिजित नक्षत्रको समय मानिन्छ। यस शुभ समयमा जन्मने जातकको जेजस्ता अनिष्ट योगहरू भएता पनि ती अनिष्टको असर उसको जीवन भोगाइमा पर्दैन भन्ने विश्वास गरिन्छ।
श्रवण नक्षत्र [सम्पादन गर्ने]
१. श्रवण नक्षत्र आकाशमण्डलको बाईसौं नक्षत्रका रूपमा चिनिन्छ।
२. श्रवण शब्दको अर्थ हुन्छ - सुन्ने इन्द्रिय अर्थात् कान र यस नक्षत्रका अधिदेवता व्यवस्थापक हुन्।
३. यस नक्षत्रमा हुने कार्यहरूलाई सामान्यतया शुभ मानिन्छ। यस नक्षत्रमा राज्याभिषेक, गृहनिर्माण, प्रकाशन, ध्वजारोहण, नामाकरण आदि शुभ कार्य सम्पादन् गर्ने पौराणिक परम्परा छ। त्यस्तै व्यापार थाल्न र घरजग्गा खरीदका लागि पनि यस नक्षत्रलाई अत्यन्त शुभ मानिन्छ।
४. यस नक्षत्रमा उत्पन्न जातकले भगवान् विष्णुको व्रत र पूजाआजा गर्दा शुभफलमा अझ बृद्धि हुने विश्वास गरिन्छ।
५. यस नक्षत्रको मुख्य ग्रह चन्द्रमालाई मानिन्छ।
६. आँकको बिरुवालाई श्रवण नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले आँकको बोटको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा आंकको बोट रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
७. सामान्यतया जुनसुकै वर्षमा माघ ११ गतेदेखि माघ २३ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
धनिष्ठा नक्षत्र [सम्पादन गर्ने]
१. धनिष्ठा नक्षत्र आकाशमण्डलको तेईसौं नक्षत्रका रूपमा चिनिन्छ। मङ्गल ग्रह यस नक्षत्रको स्वामी हो।
२. धनिष्ठा शब्दको अर्थ हो - धन र यस नक्षत्रका अधिदेवता अष्टवसु हुन्।
३. यस नक्षत्रमा जन्मने जातकले अष्टवसु व्रत र पूजा गर्ने गर्दछन्।
४. शमीको रुखलाई धनिष्ठा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले शमीको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा शमीको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
५. सामान्यतया जुनसुकै वर्षमा माघ २४ गतेदेखि फाल्गुन ७ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
शतभिषा नक्षत्र [सम्पादन गर्ने]
१. शतभिषा नक्षत्र आकाशमण्डलको चौबीसौं नक्षत्रका रूपमा चिनिन्छ।
२. यस नक्षत्रको स्वामी ग्रह राहु हो भने यस नक्षत्रका जातकको राशी स्वामी शनि हुन्छ।
३. शतभिषा नक्षत्रमा जन्मनेले वरुण देवताको व्रत र पूजाआजा गर्ने चलन छ।
४. कदमको रुखलाई शतभिषा नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले कदमको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा कदमको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
५. सामान्यतया जुनसुकै वर्षमा फाल्गुन ८ गतेदेखि फाल्गुन २१ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
पूर्व भाद्रपद नक्षत्र [सम्पादन गर्ने]
१. पूर्व भाद्रपद नक्षत्र आकाशमण्डलको पच्चिसौं नक्षत्रका रूपमा चिनिन्छ।
२. यसको अर्थ हुन्छ - प्रारम्भमा टेकेको सुन्दर पाइला, यस नक्षत्रका अधिदेवता अजितपाद हुन् र यस नक्षत्रमा जन्म लिने जातकले अजितपाद देवताको पूजाअर्चना गर्दछन्।
३. यस नक्षत्रको आफ्ना ग्रह देवताका गुरु बृहस्पति हुन्।
४. आँपको रुखलाई पूर्वभाद्रपद नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले आँपको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा आँपको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
५. सामान्यतया जुनसुकै वर्षमा फाल्गुन २२ गतेदेखि चैत्र ३ गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
उत्तरभाद्रपद नक्षत्र [सम्पादन गर्ने]
१. उत्तरभाद्रपद नक्षत्र आकाशमण्डलको छब्बीसौं नक्षत्रका रूपमा चिनिन्छ।
२. यस नक्षत्रको शब्दार्थ अर्थ हुन्छ - पछि टेकेको सुन्दर पाइला, यस नक्षत्रका अधिदेवता अहिर्बुध्न्य हुन् र यस नक्षत्रमा जन्म लिने जातकले अहिर्बुध्न्य देवताको पूजाअर्चना गर्दछन्।
३. यस नक्षत्रको आफ्नो ग्रह शनिश्चर हो। उत्तरभाद्रपद नक्षत्रमा जन्मिएका जातकले मासुमाछा जस्ता खानेकुरा निचजातिका मान्छेलाई दान गर्दा शुभफलको प्राप्ति हुन्छ।
४. निमको रुखलाई उत्तरभाद्रपद नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले निमको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा निमको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
५. सामान्यतया जुनसुकै वर्षमा चैत्र ४ गतेदेखि चैत्र १७ गते गतेसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।
रेवती नक्षत्र [सम्पादन गर्ने]
१. रेवती नक्षत्र आकाशमण्डलको सत्ताईसौं नक्षत्रका रूपमा चिनिन्छ।
२. यस नक्षत्रको शब्दार्थ अर्थ हुन्छ -धनवान्, यस नक्षत्रका अधिदेवता पुषा हुन् र यस नक्षत्रमा जन्म लिने जातकले पुषा देवताको पूजाअर्चना गर्दछन्।
३. यस नक्षत्रको आफ्नो ग्रह बुध हो।
४. भलायोको रुखलाई रेवती नक्षत्रको प्रतीक मानिन्छ र यस नक्षत्रमा जन्मने व्यक्तिले भलायोको वृक्षको पूजा गर्नुपर्छ अथवा जन्मिएका जातकले आफ्नो घर वरपर कतै खाली ठाउँमा भलायोको रुख रोपेर स्याहार सम्भार गरेमा राम्रो फलिफाप हुन्छ।
५. सामान्यतया जुनसुकै वर्षमा चैत्र १८ गतेदेखि चैत्र मसान्तसम्म सूर्यले यस नक्षत्रको भ्रमण गरेको देख्न सकिन्छ।