नरबहादुर कर्माचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरबहादुर कर्माचार्य
नरबहादुर कर्माचार्य
जन्म१९८१ कात्तिक १४
ललितपुर जिल्लाको झपाटोलमा
मृत्यु२०७० साउन ९
काठमाडौंको मोडल अस्पताल
जातीयतानेवार
नागरिकतानेपाली
पेशाराजनीतिज्ञ
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
एकीकृत नेकपा माओवादी
मातापिताचन्द्रबहादुर कर्माचार्य
श्रीकुमारी कर्माचार्य

नरबहादुर कर्माचार्य (बिसं १९८१-२०७०) नेपाली कम्युनिस्ट नेता हुन्।

वाल्यकाल[सम्पादन गर्नुहोस्]

नरबहादुरको जन्म विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा श्रीकुमारी कर्माचार्यको कोखबाट भएको थियो। [१][२] उनी ललितपुर जिल्लाको झपाटोलमा जन्मिएका हुन्। [२]

राजनीतिक जिवन[सम्पादन गर्नुहोस्]

नरबहादुर कर्माचार्य बिसं २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा विरोधी आन्दोलनमजदुर आन्दोलनमा सक्रिय थिए। त्यही क्रममा उनी जेल पर्नुका साथै निर्वासनमा समेत जानुपरेको थियो। उनले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरूलाई मिलाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए। राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही नहुने रहेछ भन्ने निष्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा लागेका कर्माचार्य चिनियाँ जनक्रान्तिभारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित थिए। २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने तीन हस्तीमध्ये नरबहादुर कर्माचार्य पनि एक थिए। पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशीनिरञ्जन गोविन्द वैद्य र कर्माचार्य मिलेर भारतको कलकत्तामा अवस्थित बडाबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। कम्युनिष्ट पार्टीको गठन पश्चात उनी मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष थिए। उहाँ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरूमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा तत्कालिन ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी वि.सं. २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यसपछि पार्टी फुट र विभाजनको शृङ्खला सुरु भएपछि उनी लगायत केही साथीहरू स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनथाले। उनले विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरे। यही क्रममा चौथो महाधिवेशनमा एकताबद्ध भएर केन्द्रीय सदस्य पनि भए। नेकपा एकता केन्द्र निर्माण हुँदा उनी एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत भए। जीवनको अन्तिम समयमा एकीकृत नेकपा माओवादीको संरक्षक भएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय भैरहे। उनी जीवनभर अविवाहित रहे। [१]

निधन[सम्पादन गर्नुहोस्]

नरबहादुर कर्माचार्यको निधन ८९ वर्षको उमेरमा बिसं २०७० साल साउन ९ गते बुधबार काठमाडौंको मोडल अस्पतालमा भएको हो। [१] उनको निधन जण्डिसनिमोनियाका कारण भएको हो। निधन पछि पार्थिव शरीरलाई बिहान ९ बजेसम्म एकीकृत नेकपा माओवादीको पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडा र ९ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो। कर्माचार्यको साउन ९ गते बुधबार राष्ट्रिय सम्मानकासाथ पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरियो। [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नरबहादुर कर्माचार्य : संक्षिप्त चिनारी", www.nepaljapan.com, नेपाल जापान डट कम, अन्तिम पहुँच २४ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१३ मिति
  2. २.० २.१ २.२ "कम्युनिष्ट पार्टीका संस्थापक कर्माचार्यको निधन", www.ekantipur.com, इकान्तिपुर, अन्तिम पहुँच २४ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१३ मिति