नवदुर्गा नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भक्तपुर जिल्लाको प्रसिद्ध लिच्छविकालीन नवदुर्गा ङालाकेगु नाच माघे संक्रान्तिको भोलिपल्टदेखि आषाढ कृष्ण अष्टमीसम्म लगातार छ महिना प्रदर्शन गरिन्छ ।

नवदुर्गाको द्योछैं (घर)

इतिहास[सम्पादन गर्नुहोस्]

राजा आनन्ददेवले भक्तपुर सहरलाई राजधानी सहरका रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, दैवी विपत्ति आदि अनिष्टकारी तत्वबाट रक्षार्थ एवं सुख, शान्ति एवं समृद्धि प्रदान गर्ने शक्तिसहित तान्त्रिक देवदेवीहरूका साथ नवदुर्गा गणको ङालाकेगु नाच सञ्चालनमा ल्याएको किम्वदन्ती छ । यो नाच प्रारम्भकालदेखि गाथा वनमाला जातिले प्रदर्शन गर्दै आएको छ । माघे संक्रान्तिको राति तन्त्रविधिद्वारा अष्टमातृकाका देवदेवीलाई आहवान गरी श्वेत भैरवले सूर्यमढीको वाकुपति नारायणको मन्दिरमा रहेको मूर्तिलाई विधिवत पूजाअर्चना गरेपछि भोलिपल्टदेखि सार्वजनिक प्रदर्शनमा ल्याउने परम्परा छ । तान्त्रिक विधिबाट प्रदर्शनी हुने नवदुर्गा नाच १६ औँ शताब्दीमा प्रादुर्भाव भएको हो । तत्कालीन राजा भुवन मल्लको राज्यकालमा नेपाल संवत् ६३३ तिर देशमा अनिकाल परेको हुँदा सहकाल ल्याउन उनले नाचको प्रारम्भ गरेको वंशावलीमा उल्लेख छ । महिषासुरसँगको संग्राममा दैत्य संहार गर्न नवदुर्गाले नौ प्रकारका भिन्नभिन्न रूप धारण गरेको कथा प्राचीनकालदेखि नै प्रसिद्ध छ । नवदुर्गा देवगण परिवारमा सिफोद्यो, भैरव, महाकाली, वाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्बः, दुम्बः, खिँबाजा, तः बाजा, कामँबाजा, महापात्र, नकीँ सम्मिलित हुन्छन् । यस नवदुर्गा ङालाकेगु नाच भने दुम्बः र सिती भैलद्यौ (श्वेत भैरव)ले मात्र प्रदर्शन गर्ने प्रचलन छ ।

नृत्य परम्परा[सम्पादन गर्नुहोस्]

यो नाच प्रदर्शनीका क्रममा नवदुर्गा देवगणका नकींले बिहानपख विधिपूर्वक नित्यपूजा गरी गणेशले नृत्य आरम्भ गर्ने, त्यसपछि क्रमशः ब्रहृमायणी, महेश्वरी, कुमारी, विष्णुवीरलगायतका देवगणहरूले नाच प्रदर्शन गर्ने प्रचलन छ । त्यसपछि ङालाकेगु नाच प्रदर्शनका लागि सिम्बः, हुम्बः देखा पर्छन् । पहिलो चरणमा हुम्बःले मात्र ङालाकेगु गर्ने गर्दछ र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङालाकेगु नाच प्रदर्शन हुन्छ । नाच प्रदर्शनका क्रममा देवगणले मान्छेरूपी माछा समात्न खोज्छन् । त्यसबेला बालक, युवा, पाको उमेर समूहका व्यक्तिहरू मुखमा थपथपाएर "आवावा...आवावा.." गर्दै देवणलाई जिस्क्याउने गर्छन् र देवगणले ती जिस्क्याउने व्यक्तिहरूलाई पक्रन खोज्छन् ।

नृत्य स्थान[सम्पादन गर्नुहोस्]

भक्तपुरवासीहरूका लागि मनमोहक र प्रसिद्ध नवदुर्गा ङालाकेगु नाच पहिलोपटक सार्वजनिक प्रदर्शनी नगरको सुर्जम्हारी टोलबाट प्रारम्भ हुन्छ र त्यसपछि क्रमशः नगरको २१ स्थानमा प्रदर्शन गरिन्छ । नवदुर्गा नाच भक्तपुरमा मात्र सीमित नभई ग्वल, थिमी, नगदेय्, बोदेय्, तुप्चा, मुलाकेचा, ग्रेखा, कविला, चपरिंगु, गोकर्ण, साँक्व, चाँगु, साँगा, नाला, धुलिखेल, बनेपा, पनौती आदि विभिन्न १९ स्थानमा प्रदर्शन गरिन्छ । समय बित्दै जाँदा विभिन्न समस्याहरूले गर्दा केही वर्षदेखि टोखा, तुप्चा, बुढानिलकण्ठ, दोलखा, गोकर्णलगायतका स्थानमा नाच बन्द भइसकेको गणका नकीँ मुक्तिमाया र गणेश देवगण भई नाच्ने गरिन्छ । नवदुर्गा नाच प्रदर्शन गर्नुभन्दा आठदिन अघि नै निम्तोका रूपमा "दिँ छु वानेगु" भनेर आगमनको दिन निर्धारण गर्न जाने प्रचलन छ ।

वाराही देवगण भई नाच्ने दयाराम र गणेश भई नाच्ने मोहनवीर वनमाला नवदुर्गा नाच सञ्चालन गर्न अहिले अलि अप्ठ्यारो हुन थालेको छ । देवगणहरूलाई मुटुको समस्या भएको र राम्रो आयस्ता नभएकाले नयाँ पुस्ताका वनमालाहरूलाई देवगणमा आकर्षित गर्न गाह्रो पर्दै गएको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]