नागपञ्चमी
|
|
|
|---|---|
नागपञ्चमीमा नागको प्रतिमा पूजा गरिंदै |
|
| अन्य नाम: | नागपूजा |
| समुदाय: | हिन्दू |
| प्रकार: | धार्मिक |
| तिथी: | श्रावण महिनामा शुक्ल पक्षको पञ्चमी |
| विधी: | नागको पूजा, नागको तस्बीर ढोकामा टाँस्ने |
नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ।
विषयसूची |
नाग पञ्चमीको विशेषता[सम्पादन गर्ने]
आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।
नाग पञ्चमीमा व्रतको विधि[सम्पादन गर्ने]
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ। साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।
मुख्य द्वारमा नाग देवताको आकृ्तिको पूजा[सम्पादन गर्ने]
नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृ्ति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-
- ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
- इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
- कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
- इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
- नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
- सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
- नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
- मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
- प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
- सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
- ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
- समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
- रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
- नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।
नागमन्त्र पाठ गर्न असम्भव भए 'ॐ कुरुकुल्ये हुँ फट स्वाहा' मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।
नागगायत्रीको मन्त्र (ॐ नव कुलाय विधाहे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै आजको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ। आज यी सम्पूर्ण कृत्य गर्न सक्दा 'कालसर्प योग' दोषको शान्ति पनि हुन्छ।
कालसर्प योगको कारण र त्यसको निवारण[सम्पादन गर्ने]
ज्योतिषमा योगको महत्व हुन्छ। ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन त्यसमा ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् भनिन्छ। ती नराम्रा मध्येको २ स्थानमा रहेको योग हो कालसर्प योग जसका कारण मानवले अरु असल योगहरूबाट पाउनु पर्ने राम्रा फफलहरू पनि ३० प्रतिशतमात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषहरूको छ।
के हो कालसर्प योग ?[सम्पादन गर्ने]
मानिसको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्द्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्द्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो। अर्को शब्दमा जब चिनामा भएका सबै ग्रहहरू राहु र केतुको बिचमा हुन्छन् तब यस्तो योगको निर्माण हुन्छ। यसको निवारण गर्न निम्न उपाय अपनाउन सकिने ज्योतिषहरूको तर्क छ:
- १- त्रिपिण्डी श्राद्ध : पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजीकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ।
- २- मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने।
- ३- नागपूजा : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ।
कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन। अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन्।तर सबै कालसर्प योग खराब हुँदैनन्, २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ। [१]
स्रोत[सम्पादन गर्ने]
- ↑ ज्योतिषसाथी कृष्णप्रसाद कोइराला http://www.facebook.com/Jyotisasathi