पिपलकोट, दैलेख

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पिपलकोट
—  गाँउ विकास समिति  —
पिपलकोट is located in नेपाल
पिपलकोट
नेपालको नक्सामा पिपलकोट, दैलेख अवस्थित क्षेत्र
निर्देशांक: 29°05′N 81°32′E / 29.09, 81.54
देश  नेपाल
अञ्चल भेरी
जिल्ला दैलेख
सरकार
 - प्रकार गा. वि. स. अध्यक्ष
 - धन बहादुर बस्नेत
जनसङ्ख्या (२००१)
 - जम्मा ३९३१
समय क्षेत्र समय क्षेत्र (युटिसी+5:45)

पिपलकोट भेरी अञ्चलको दैलेख जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । विक्रम संवत २००७ अघाडी यो गाविसमा चारवटा मौजा थिए अथवा यो गाविसलाई चार भागमा विभाजन गरिएको थियो भने २०१८ सालको आधुनिक नेपालको ढाँचा बने पछी सिंहासैन गाविसमा गाभिएको थियो । पछि गएर २०३८ सालमा पिपलकोटका केही बुद्धीजिवी व्याक्तीहरूको अथाह प्रयासपछी यो गाविस सिंहासैन गा.वि.स.बाट अलग भएको थियो । कर्णाली नदीको काखमा अवस्थित यो गा.वि.स.को अक्षांश र देशांतर २९.५८ उत्तर देखी ८०.८७पूर्व सम्म रहेको छ । [१]समुद्र सतह देखी यो गा.वि.स १५९१ मिटर (५२१९ फुट) उचाइँमा रहेको छ ।

स्थापना

यो गा.वि.स.२०३८ सालमा सिँहासैन गा.वि.स.बाट अलग भएको हो। चिउरी डाँडामा रहेको पिपलको रुख र "कोट" भन्ने ठाउँको नामबाट लक्षिराम जैसी लगायतका केही बुद्वीजिवीहरूले यस गा.वि.स.को नाम पिपलकोट राखेका थिए। लक्षिराम जैसी यो गा.वि.स.का नागरीकहरूमा पहिला शिक्षक हुन्। उनी श्री दिप मा.बि.का तत्कालीन प्रधानाध्यापक थिए। यो गा.वि.स.स्थापना भएको सालबाट हाल सम्म जम्मा चार जना प्रधान पञ्च तथा गा.वि.स. अध्यक्षहरू बदलिएका छन्। यो गा.वि.स.का पहिला प्रधान पञ्च दत्त प्रसाद जैसी हुन्। यो गा.वि.स.लाई सिँहासैनबाट अलग गराउनमा दत्त प्रसाद जैसीको ठूलो योगदान रहेको थियो। सिँहासैन र पिपलकोट अलग नहुनु अघाडी पनि दत्त प्रसाद जैसी प्रधान पञ्च रहि सकेका थिए। हाल सम्म पिपलकोटमा पदाधीकारी भएका सबै व्याक्तीहरूको विवरण यस प्रकार रहेको छ:-

  • प्र.पं. दत्त प्रसाद जैसी (वि.सं २०३८-२०४३)
  • प्र.पं. खम्म बहादुर बस्नेत (वि.सं २०४३-२०४६)
  • गा.वि.स.अध्यक्ष महा जैसी (वि.सं. २०४९-२०५४)
  • गा.वि.स. अध्यक्ष धन ब. बस्नेत (वि.सं. २०५४-....)

यो गा.वि.स.बाट आज सम्म गाउँ स्तर भन्दा माथिल्लो निकायको लागी २ जनाले उम्मेदवारी दिएका छन्। जसमा २०४३ को स्थानिय चुनावमा दत्त प्रसाद जैसीले जिल्ला पंचायत सदस्यका लागी उम्मदवारी दर्ता गराएका थिए। यसैगरी २०७० को संविधान सभाको चुनावमा राम प्रसाद जैसीले अखण्ड नेपाल पार्टीका तर्फबाट दैलेख क्षेत्र नंवर २ लागी प्रत्यक्ष तर्फको उम्मेदवारी दिएका थिए।

भूगोल

कर्णाली नदीको काखमा अवस्थित यो गाविसको अक्षांश र देशांतर २९.५८ उत्तर देखी८०.८७ पूर्वमा रहेको छ भने यो गा वि स [१] समुद्र सतहबाट १५९१ मिटर (५२१९ फुट) उचाइँमा रहेको छ । यो गा.वि.को भौगोलिक स्थिति भन्नु पर्दा यो एक विकट पहाडी र नदी तटिए गा.वि.स. हो। यो गा.वि.स.को सिमाना दक्षिणमा बाहाकोट, पश्चिममा सिँहासैनराकम कर्णाली , उत्तरमा कर्णाली नदीतथा अछाम जिल्ला, पूर्वमा कालिकोट जिल्लाको भर्ता गा.वि.स. सँग जोडिएको छ। यो गा.वि.स.को माथी पट्टी किलाहान्ना, गोइचाखर्क, भलाने, मुग्राहाँ, भित्रीखोला, आदी लेखहरू पर्दछन् यहाँका लेखहरूमा सतुवा, हातजरी, पाँचऔँले जस्ता वनौषधीहरूका साथै रतुवा, घोरल, भालु, बाघ, थारल, बँदेल जस्ता जंगली जनावर र कालिज, प्याँउरा आदि जंगली चराहरू पाइन्छन्। यस गा.वि.स.को तल पट्टी कर्णाली नदी पर्दछ। यसको पूर्वमा बग्ने राँगोरहे खोला, बिचमा पर्ने खुनगाड खोला र पश्चिममा पर्ने ढोर खोला यहाँका मुख्य पानीका श्रोतहरू हुन्। यहाँ ठूला साना धेरै भिर पाखाहरू छन्।ति मध्य चुईके भिर, कोटे भिर, बान्ने भिर, भेरे पगार मुख्य हुन्। यहाँका भिरहरूमा जंगली मौरी (जसलाई भिरमौरी अथवा "भेरा" भनिन्छ) र सिलाजित प्रसस्त मात्रामा पाइन्छ।

जनसंख्या

पिपलकोट गा.वि.स.मा जैसी, ठकुरी, मगर, बस्नेत, बिष्ट, थापा, कामी, दमाई, भण्डारा, पुरी आदी जातीहरूको बसोवास रहेको छ। यो गाविसको जनसंख्या ३,९३१ रहेको छ। [२] यहाँ ६१९ वटा घरधुरीहरू छन्।

गाउँ

पिपलकोट गा.वि.स.मा साना ठूला गाँउहरूत धेरै छन्। यो गा.वि.स.गाउँ नै गाउँहरू मिलेर बनेको छ।ति मध्य यो गा.वि.स.का मुख्य गाउँहरू यस प्रकार रहेका छन् :-

संस्कृती

पिपलकोटमा हुड्के नाचको एक झलक

पिपलकोट गा.वि.स.मा विभिन्न जात जातीहरूको बसोवास छ। यसैगरी यहाँका वासिन्दाहरूका आफ्नो-आफ्नो परम्परा र रिति रिवाज अनुसारका चाडपर्व, भेषभुषा, खानपान, रहनसहन छन्। यहाका वासिन्दाहरूमा कसैले मगर खाम बोल्छन् भने धेरैजसोले नेपाली भाषाको प्रयोग गर्दछन्। यहाँका मानिसहरूले मनाउने मुख्य चाड पर्वहरू यस प्रकार रहेका छन्।

माथी उल्लेखित चाडपर्वहरू बाहेक यहाँका वासिन्दाहरूले आफ्नो आफ्नो परम्परा अनुसारका चाडपर्वहरू मनाउने गर्दछन्। यहाँका उत्सवहरूमा देउडा नाच, मारुनी नाच, दोहरी गीत, हुड्क्यौली, न्याउले, नगरानाच, रत्यौली आदि सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिन्छन्। यहाँ विवाहा, ब्रतबन्ध, न्वारन आदी उत्सवहरूमा पनि माथी उल्लेखीत सांस्कृतीक कार्यक्रमहरूको आयोजना गर्ने प्रचलन रहेको छ। भेषभुषा रहन सहन खान पान पहिलेका दिनहरूमा फरक फरक भए फनि हाल आएर एक रुपता पाईएको छ। पहिलेका दिनहरूमा आफ्नो जात अनुशारको वृती गर्ने यहाँका वासिन्दाहरूको अब कृषि, व्यापार र नोकरी मुख्य पेसा भएको छ। सधैं जसो मेलापात घट्ट, ढिकी, जाँतो, खेत खेताला गरेर दिन विताउने यहाँका मान्छेहरू अब आधुनिक युग तिर ढल्केको अनुभव गर्न सकिन्छ। २०६८ को जनगणना अनुसार यहाँको शाक्षरता ५५% रहेको छ।

धार्मीक तथा पर्यटकीय स्थलहरू

पिपलकोटको गोर्खी स्थित नैनेल देउताको मन्दिर

पिपलकोट गा.वि.स.को चिउरीमा रहेको वीर खम्बा र मुग्राहाँ(ढुङ्गे धारो)लाई यो गा.वि.स.कै पुरातात्वीक सम्पदाहरूको रुपमा लिइन्छन्। स्थानियवासीहरूमा भएको चेतनाको कमिले गर्दा यी संपदाहरू जिर्ण अवस्थामा रहेका छन्। यसैगरी मुग्राहाँको पातलमा रहेको ढुङ्गेधारो पनि यो ठाउँको पुरातात्वीक सम्पदा नै हो तर सम्पदाको सुरक्षा हुन नसकेको कारण हाल यो मुग्राहाँमा प्रयोग भएका ढुङ्गाहरू कसैले चोरेर लगी सकेको थाह हुन आएको छ। यती हुँदा हुँदै स्थानिय स्तरबाट कुनै पनि पहल नगरिएको कारण यी पुरात्विक सम्पदाहरूको सम्बन्धीत निकायमा कुनै पनि जानकारी भएको छैन। धार्मिक सम्पदाहरूमा यहाँको चलन अनुशार पूजा गरिने देवी देउताहरूका स्थान(मन्दिर) पर्दछन्। देवस्थानलाई स्थानिय भाषामा थान भन्ने गरिन्छ जसमा अजमारे माईस्थान, ढ्याकीढुङ्गा माईस्थान, डुप्केगरा माईस्थान, पैयाँसैनी नैनेलस्थान, गोर्खी नैनेलस्थानका साथै अन्य देवस्थानहरू पर्दछन्। यि देवस्थानहरूमा पुजा गरिने दिन छेमेकी जिल्ला कालिकोट, अछाम, सुर्खेत, बर्दिया, कैलाली आदी विभिन्न ठाउँका भक्तजनहरू भेला हुने गर्दछन्।

प्राकृतिक सौन्दर्यता

पिपलकोटबाट देखिने हिमालयको दृश्य

भौगोलिक हिसाबले विकट देखिए पनि पिपलकोट गा.वि.स. प्राकृतिक छटाले भरिपुर्ण छ। वन सम्पदाको धनी रहेको यो गा.वि.मा बर्षै भरी जता ततै हरियाली नै हरियाली देखिन्छ। यहाँबाट उत्तर तिर देखिने हिमालयका चुचुराहरूमा घाम उदाउदा र अस्ताउदाको दृश्य अति नै मनमोहक लाग्दछ। असोज कार्तिकमंसिरमा खेतहरूमा लहलह झुलेका धानका बालाहरूलाई हेर्दा कसैलाई ढोग गर्दै छन् जस्तो लाग्दछ। बोटभरी लटरम्म फलेका सुन्तला, ज्यामिर, कागती आदी फलहरूले जता ततै सौन्दर्यता छाहको हुन्छ। प्रत्यक घरहरूमा मकैका सुलीहरू देखिन्छन्। घर वरपर सयपत्री, गोदावरी, मखमली, गुलाब, सूर्यमुखी आदी फूलहरूको सुवास छरिएको हुन्छ। मेल, भकिमिलो, भलायो, वन लसुन आदी जंगली फलफूलहरूले प्रकृती सजिएकी हुन्छीन। पुस माघफाल्गुणमा चिसो बढ्छ गा.वि.स.को अग्लो भु-भागहरूमा हिम पात भएमा सेतै फुलेका केशहरू जिग्रिङ्ग फिजारे बुढीया बसे झैं लाग्ने यो गा.वि.स.को किलाहान्ना, भलाने, गोईचाखर्कको दृष्य अझैं मनमोहक लाग्दछ। चैत बैसाख र जेठ महिनामा उतिस, अयाँर, साल आदीमा नयाँ पालुवाहरू आएर बसंत ऋतुको स्वागत गर्दछन्। काग, कोइली, ढुकुर, कालिज, न्याउली आदी चराहरूको स्वरले वन पाखा गुंजायमान हुन्छ। यसै गरी गुराँस, काफल, चुत्रो, ऐँसेलु, घँगारु, हिमाली गुलाव, गुएँली आदी जंगली फलफूलहरूले प्रकृती शोभायमान देखिन्छ भने बारीमा स्याउ, नास्पाती, आरु, आँप आदी लटरम्म फलेको फलहरू वनपाखामा गुंजिने बाँसुरीको धुन गाई, भैंसी, बाख्रा आदी घर पालुवा जनावरको मुखबाट निस्किने आवाज र घाँडोको आवाजको साथमा गोठालाहरूको सुसेली, झ्याउरे, ठाडीभाका र न्याउले तथा खेतबारीमा गहुँ, जौका बालाहरू देख्दा यहाँको सौन्दर्यताको बखान गर्न सकिन्न। असार श्रावणभाद्र महिनामा कृषकहरू खेतबारीमा पानिमा भिज्दै असारे गीतको साथमा स्याँकु ओढेर रोपाईं, गोडाई गर्नमा तल्लिन देखिन्छन भने प्रकृतीले यहाँको दृष्य निकै रमणिय बनाएको हुन्छ। घना वन जंगलको वीचमा अल्लो, सिस्नो, लिउँरो निंगालो आदीका झाडीहरूको वीचबाट कलकल गर्दै निस्केर ठुलो झरनाको रुप लग्दै बग्ने खोलाहरूको सौन्दर्यता निकै मनमोहक देखिन्छ। साँझपख वनपाखामा गुंजीने झ्याउँकिरीको आवाज र धानको खेतमा भ्यागुताको ट्वार ट्वारले हर कसैको मन लोभ्याउँछ।

हालका गतिवीधीहरू

पिपलकोटमा गरिएको गहुँ खेती

पिपलकोट गा. वि. स. पिछडियको गा.वि.स. भएकोले पहिलेका दिनहरूमा यहाँका वासिन्दाहरूले धेरै दुःख खेप्नुपरे पनि हालमा आएर यहाँ केही सुविधा मुलक कार्यहरू हुँदै आएका छन्। पिपलकोट हुँदै जाने कर्णाली राजमार्गका कारण यातायातको सुविधा राम्रै भई रहेको छ भने स्थानिय खिड्किज्युला, मालाचौर र रातिमाटा बजारबाट दैनिक उपभोग्यका सामानहरू सजिलै उपलब्ध गर्न सकिन्छ। पहिलेका दिनहरूमा घिउ बेचेर नुन लिनलाई कम्तिमा २० दिन लगाएर बाँकेको नेपालगंज, बर्दियाको राजापुर, कैलालीको कटासें, सुर्खेतको विरेन्द्र नगर सम्म पुग्नु पर्थ्यो। अछाम र कालिकोटमा बनेका नमस्ते, स्काई, स्मार्टसेल, र एनसेलका मोबाइल टावरहरू र रेडियो स्टेशनले गर्दा यहाँ संचारको राम्रो प्रवंधको साथै इन्टरनेटको पँहुच पनि राम्रो छ। पहिलेका दिनहरूमा इलाका हुलाक कार्यलय राकम कर्णाली जान एक दिन पुरा हिंडेर जानु पर्थ्यो। पहिले रेडियो नेपाल मात्र सुनिने यो गा.वि.स.को समाचारहरू बाहिर प्रसारण गर्न यात कालिकोटको मान्म यात दैलेख सदरमुकाम जानु पर्थ्यो मान्म जान एक दिन पैदल जानु पर्थ्यो भने दैलेख जान तिन दिन। पिछडियको गा.वि.स. भएकोले सफरस नेपाल, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख, केयर नेपाल, हेल्पटास आदी संस्थाहरूको सहयोग जारी छ। विकासको गतिविधीहरू तिब्रतर रुपमा बढेका छन् २०७० बैशाख महिनाबाट यो गा.वि.स.लाई खुला दिशामुक्त गा.वि.स. घोषणा गरिएको छ। गा.वि.स. स्थित स्वास्थ्य चौकिमा स्वास्थे सम्बन्धीका सबै सुविधाहरू उपलब्ध छन्। पहिलेका दिनहरूमा अस्पतालको लागी एक दिन हिंडेर लकान्द्र अथवा मान्मा जानु बाहेक अर्को विकल्प थिएन। पिपलकोट गा.वि.स.को तोलिचाखाको विद्यालयले माध्यमिक विद्यालयको अनुमति पाएकोले र राकम कर्णालीमा एस्.एल्.सी को परिक्षा केन्द्र संचालन भएकोले यहाँका बालबालीकाहरूलाई माध्यमिक तहको शिक्षा लिन सजिलो भएको छ। पहिलेका दिनहरूमा माध्यमिक तहको शिक्षा हासिल गर्न कम्तिमा एक दिनको पैदल दुरी पार गरेर तिलेपाटा, चामुण्डा, दुल्लु, कालिकोट, अछाम पुग्नु पर्थ्यो। एस्.एल्.सीको परिक्षा दिनको लागी दैलेख अथवा दुल्लु जानु पर्थ्यो। यसका साथै सिंहासैन, तिलेपाटा र राकम कर्णालीमा संचालन भैरहेका १०+२ का साथै तिलेपाटा स्थित क्यापसले यो गा.वि.स.का छात्र छात्राहरूला उच्च शिक्षाको पनि राम्रो सुविधा भएको देखिन्छ। पहिलेका दिनहरूमा उच्च शिक्षाको लागी सुर्खेत नेपालगंज जानु बाहेक अर्को विकल्प थिएन।

कसरी पुग्ने

यहाँ पुग्नको लागी निम्न मार्गहरू रहेका छन्।

  1. कर्णाली राजमार्गमा पर्ने पिपलकोटको ४, ५ र ६ नंवर सम्म बस अथवा मोटर द्वारा पुग्न सकिन्छ।
  2. हाल निर्माणाधिनमा रहेका रामघाट- कालिकोट मोटर मार्ग र पिपलकोट ग्रामिण रोड पुरा भएमा गाविसका सबै वडाहरूमा यातायातको साधनहरूको पहुँच हुने सम्भावना छ।
  3. हवाई मार्गको लागी यहाँका नजिकका विमानस्थलहरूमा हाल निर्माणाधीन अछामको कमल बजार विमानस्थल र कालिकोटको कोटवाडा विमानस्थल पर्दछन्।

अनुकुल समय

देवस्थानमा जाने भक्तजनहरू बाहेक अन्य पर्यटकहरूको लागी शरद ऋतु, वसन्त ऋतुगृष्म ऋतुको समय अनुकुल हुन सक्छ। पैदल घुम्नु पर्ने भएकोले अन्य समयमा यहाँ बर्षा याममा जुका लाग्छन् भने हिउँदमा चिसो हुन्छ। हिम क्रिडा गर्नको लागी यो गा.वि.स.मा पौष देखी फागुन सम्म पानी परेको दिन अनुकुल हुन सक्छ र कर्णाली नदीमा जल क्रिडा गर्नेहरूको लागी असोज देखी जेठ सम्मको समय अनुकुल हुन सक्छ। बर्षा याममा कर्णालीमा पानीको गति तेज हुन्छ। जसले गर्दा पानीमा डुंगा चलाउन सकिन्न। देवस्थानहरूमा दर्शन पूजा आदी गर्न जाने भक्तजनहरूले जुन दिन पूजा छ त्यही दिन जान राम्रो हुन्छ किन भने अन्य दिनमा मन्दिरहरूका ढोका बन्द हुन्छन्।

सन्दर्भ सामाग्रीहरू

  1. १.० १.१ http://www.fallingrain.com/world/NP/0/Pipalkot.html | title = Pipalkot | work = Falling Rain Genomics, Inc}}
  2. Village profile 2010

बाहिरी लिंकहरू

यी पनि हेर्नुहोस्