पुल्चोक क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्जिनियरिङ अध्ययन संस्थान
पुल्चोक क्याम्पस
स्थापना१९७२ (1972)
सम्बन्धनइन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय
कुलपतिनेपालका प्रधानमन्त्री
उप-कुलपतिप्रा. डा. तीर्थ राज खनिया
डिनप्रा. रामचन्द्र सापकोटा
शैक्षिक कर्मचारी
269
प्रशासनिक कर्मचारी
214
विद्यार्थीहरू2,000+
स्थान
२७°४०′५४.२″उ॰ ८५°१९′१०.०″पू॰ / २७.६८१७२२°N ८५.३१९४४४°E / 27.681722; 85.319444निर्देशाङ्कहरू: २७°४०′५४.२″उ॰ ८५°१९′१०.०″पू॰ / २७.६८१७२२°N ८५.३१९४४४°E / 27.681722; 85.319444
वेबसाइटआधिकारिक वेबसाइट
चित्र:Tu logo.jpeg

पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको आङ्गिक क्याम्पस हो। हाल यस क्याम्पसमा स्नातक (बी. ई.), स्नातकोत्तर (एम. एस्सी.) तथा पी. एच. डी. तह सम्मका विभिन्न कार्यक्रमहरू सञ्चालित छन्। यस क्याम्पस अन्तर्गतका विभिन्न विभागहरू मार्फत यी कार्यक्रमहरू सञ्चालन गरिन्छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

सुरु देखि २०२९ सम्म[सम्पादन गर्नुहोस्]

वि.सं. १९८७ साल फाल्गुन १९ गते उद्घाटन भएर काठमाडौंको वसन्तपुर (हाल नवआदर्श माध्यमिक विद्यालय रहेको ठाउँ) मा एउटा टेक्निकल स्कूल संचालनमा थियो ।सो स्कूलमा प्रारम्भमा टेक्सटायल सम्बन्धि प्रशिक्षण प्रदान गर्न शुरु गरियो। वि.सं. १९९९ चैत्र १२ गते देखि एस.एल.सी. उत्तीर्ण विद्यार्थीहरूलाई भर्ना गरी २ वर्षे सिभिल इन्जिनियरिङ सब–ओभरसियरको प्रशिक्षण दिने काम प्रारम्भ भयो। उक्त स्कूललाई वि.सं. २००२ सालमा त्रि–चन्द्र क्याम्पस हातामा सारिएको थियो। वि.सं. २००७ सालमा उक्त टेक्निकल स्कूललाई इन्जिनियरिङ स्कूलमा परिणत गरियो। सो स्कूलमा वि.सं. २०११ सालदेखि सिभिल इन्जिनियरिङ कार्यक्रममा २ वर्षे ओभरसियर कार्यक्रम सुरु भयो। सो कार्यक्रम अन्तर्गत एक वर्ष मात्र प्रशिक्षण लिएको खण्डमा सब–ओभरसियर हुने प्रावधान थियो। तर, दुईवर्षे ओभरसियर कार्यक्रमको प्रशिक्षण पहिलो वर्ष सकिए पछि दोस्रो वर्ष सुरु नहुदै बन्द भयो ।

यसरी बन्द भएको कार्यक्रम वि.सं. २०१५ सालदेखि नियमित भर्ना गरी पूनः संचालनमा ल्याइयो। यो कार्यक्रममा वि.सं. २०११ सालमा कार्यक्रम बन्द भई एक वर्षको प्रशिक्षण मात्र पूरा गरी बसेका विद्यार्थीहरूलाई समेत दोस्रो वर्ष देखिको पाठ्यांशमा भर्ना लिएर वि.सं. २०१६ सालमा सिभिल ओभरसियरको पहिलो समूहको उत्पादन भयो। त्यसको एक वर्षपछि यस स्कूललाई जावलाखेल, ललितपुर (हाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान रहेको ठाउँ) मा सारियो । वि.सं. २०२३ सालमा इन्जिनियरिङ स्कूलको नामाकरण नेपाल इन्जिनियरिङ इन्स्टिच्यूट भयो। यसै साल उक्त संस्था जावलाखेलबाट पुल्चोकस्थित आनन्द निकेतनको हातामा सारियो र २ वर्षको ओभरसियरको अध्ययन अवधिलाई ३ वर्ष गरियो। वि.सं. २०२८ साल देखि सिभिल इन्जिनियरिङ कार्यक्रमका अतिरिक्त विद्युतीय इन्जिनियरिङ कार्यक्रम सुरु गरियो भने ३ वर्षे कार्यक्रमको अवधिलाई पुनः २ वर्षे गरियो [२]

यस क्याम्पस अन्तर्गत वि.सं. २०२८ देखि वि.सं. २०३२ साल सम्म इलेक्ट्रिकल, ब्रिकलेइङ, कार्पेन्ट्री र प्लम्बिङ विषयमा क्रमशः ९ महिना, १२ महिना र १५ महिना अवधिका कालिगढ तालिमहरू पनि सञ्चालन गरिएका थिए ।

इन्जिनियरिङ अध्ययन संस्थानको गठन[सम्पादन गर्नुहोस्]

नयाँ शिक्षा योजना सुरु भएपछि नेपाल इन्जिनियरिङ इन्स्टिच्यूट तथा थापाथलीमा बि.स. २०१९ सालमा स्थापित टेक्निकल ट्रेनिङ इन्स्टिच्यूटलाई एकिकृत गरी वि.सं. २०२९ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको गठन भयो । यस अध्ययन संस्थान अन्तरगत नेपाल इन्जिनियरिङ इन्स्टिच्यूट को स्थापना भएको पुल्चोक स्थित आनन्द निकेतनको हातामा पुल्चोक क्याम्पस पुल्चोक रहेको छ ।

यस क्याम्पसमा वि.सं. २०३० सालदेखि आर्किटेक्चर, वि.सं. २०३२ सालमा रेडियो इलेक्ट्रोनिक्स र वि.सं. २०३३ सालमा रेफ्रिजेरेशन एन्ड एयरकन्डिशनिङ इन्जिनियरिङ कार्यक्रमको प्रमाण–पत्र तहको अध्ययन अध्यापन कार्य सुरु गरिएको हो । सिभिल इन्जिनियरिङ स्नातक तहको कार्यक्रम त्रि.वि. ई.अ.सं. को आफ्नै प्रयास तथा व्यवस्थापनमा २०४१ (१९८४) देखि नियमितरूपमा सुरु भई हाल आर्किटेक्चर, मेकानिकल, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कार्यक्रमहरूमा स्नातक तह (बी.ई.÷बी.आर्क.) समेत सञ्चालन भइसकेका छन्। यस क्याम्पसमा सिभिल कार्यक्रमको अतिरिक्त वि.सं.२०५१ सालदेखि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स, वि.सं. २०५२ सालदेखि मेकानिकल र आर्किटेक्चर, वि.सं. २०५५ सालदेखि कम्प्यूटर इन्जिनियरिङ र वि.सं. २०७५ सालदेखि एरोस्पेस इन्जिनियरिङ कार्यक्रममा स्नातक तहको पठन–पाठन शुरु भएका छन्[२]

सहयोग[सम्पादन गर्नुहोस्]

यस शिक्षण संस्थाको भौतिक र प्राविधिक विकासमा विभिन्न चरणमा विभिन्न  मित्र राष्ट्रहरू भारत, संयुक्त अधिराज्य, नर्वे, लगायत विभिन्न  अन्तर्राष्ट्रिय  सङ्घ  संस्थाहरू  जस्तैः  विश्व  बैङ्कअन्तर्राष्ट्रिय  श्रम  सङ्गठन (ILO),  तथा  संयुक्त  राष्ट्र  सङ्घीय  विकास  कार्यक्रम आदिको सहयोग प्राप्त भएको छ । विश्व बैङ्कको ऋण–सहयोग, स्विस महासङ्घ र क्यानाडाली सरकारको अनुदान सहयोगमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू शुरु गर्न सहयोग पुगेको हो ।

डिप्लोमा  तहका  कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

पुल्चोक  क्याम्पसमा  स्नातक (बी.ई÷बी.आर्क.)  र  सोभन्दा  माथिल्ला  तहका कार्यक्रमहरू  मात्र  सञ्चालन  गर्ने  उद्देश्यले त्यहां संचालित पुल्चोक क्याम्पस पुल्चोकमा  रहेका  डिप्लोमा  तहका  कार्यक्रमहरू  चरणबद्धरूपमा  इन्जिनियरिङ अध्ययन संस्थानका  अन्य आंगिक क्याम्पसहरूमा स्थानान्तरण गर्दै लैजाने क्रममा वि.सं. २०५२ सालदेखि रेफ्रिजेरेशन एन्ड एयर कन्डिशनिङ कार्यक्रम पूर्वाञ्चल क्याम्पस  धरानमा,  वि.सं.  २०५३  सालदेखि  इलेक्ट्रिकल  र  इलेक्ट्रोनिक्स  कार्यक्रम  पश्चिमाञ्चल  क्याम्पस  पोखरामा,  वि.सं.  २०५४ सालदेखि  आर्किटेक्चर  कार्यक्रम  थापाथली क्याम्पस,  काठमाडौंमा  र  वि.सं.  २०५५  सालदेखि  सिभिल  कार्यक्रमलाई  पनि  थापाथली क्याम्पस, काठमाडौंमा स्थानान्तरण गरिएको थियो। 

विभागहरू[सम्पादन गर्नुहोस्]

सिभिल इन्जिनियरिङ विभाग[सम्पादन गर्नुहोस्]

यस विभागले सञ्चालन गर्ने कार्यक्रमहरू यस प्रकार छन:

  • सिभिल इन्जिनियरिङमा स्नातक
  • स्ट्रक्चरल इन्जिनियरिङमामा स्नातकोत्तर
  • वाटर रिसोर्सेज इन्जिनियरिङमा स्नातकोत्तर
  • इन्भाइरोमेन्टल इन्जिनियरिङमा स्नातकोत्तर
  • ट्रान्सपोर्टेशन इन्जिनियरिङमा स्नातकोत्तर

मेकानिकल इन्जिनियरिङ विभाग[सम्पादन गर्नुहोस्]

यस विभागले सञ्चालन गर्ने कार्यक्रमहरू यस प्रकार छन:

  • मेकानिकल इन्जिनियरिङमा स्नातक
  • रिन्यूएबल इन्जिनियरिङमा स्नातकोत्तर

इलेक्ट्रिकल इन्जिनियरिङ विभाग[सम्पादन गर्नुहोस्]

यस विभागले सञ्चालन गर्ने कार्यक्रमहरू यस प्रकार छन:

  • इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक
  • पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर

इलेक्ट्रोनिक्स तथा कम्प्यूटर इन्जिनियरिङ विभाग[सम्पादन गर्नुहोस्]

यस विभागले सञ्चालन गर्ने कार्यक्रमहरू यस प्रकार छन:

  • इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशन इन्जिनियरिङमा स्नातक
  • कम्प्यूटर इन्जिनियरिङमा स्नातक
  • इन्फरमेसन तथा कम्यूनिकेशन इन्जिनियरिङमा स्नातकोत्तर
  • कम्प्यूटर सिस्टम तथा नलेज इन्जिनियरिङमा स्नातकोत्तर

आर्किटेक्चर विभाग[सम्पादन गर्नुहोस्]

यस विभागले सञ्चालन गर्ने कार्यक्रमहरू यस प्रकार छन:

  • आर्किटेक्चरमा स्नातक
  • अर्बन प्लानिङमा स्नातकोत्तर

विज्ञान तथा मानविकी विभाग[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. http://pc.ioe.edu.np वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-१० मिति
  2. २.० २.१ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान स्नातक ( बी.ई./बी.आर्क.) तहको प्रवेश–परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धी जानकारी तथा निर्देशिका आषाढ २०७५



बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

औपचारिक वेवसाइट वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-१० मिति