पुष्पलाल श्रेष्ठ
नेपाली विकिपीडियाबाट
पुष्पलाल श्रेष्ठ - नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । पुष्पलालका एक दाजू गंगालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् ।
पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो । वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गंगालालले पुष्पलाललाई "माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्" भन्नुभएको थियो र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बन्यो ।
वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघमा रहेका सदस्यले आ-आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका -सिपमूलकसमेत) तालिम दिन्थ्यो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने 'जनता' पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो । २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे ।
मार्क्सवाद-लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो । त्यसबखत पुष्पलाल पश्चिम बंगालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजिक हुनुहुन्थ्यो । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार-प्रसार गर्न 'कम्युनिष्ट पार्टीको घोषणापत्र' नेपालीमा अनुवाद गर्नुभयो । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो । उहाँको विवाह साहना प्रधान (नेकपा (ऐमाले)की वर्तमान नेतृ) सँग भएको थियो । २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम (लिम्बुवान) बजारमा पुग्नुभयो । २०१६ सालमा उहाँ सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण गर्नुभयो ।
२०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो । नेका र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा-गराउँदै निधन भयो ।