प्रेमेजुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(प्रेमेजुङ्गबाट अनुप्रेषित)
प्रेमेजुङको पश्चिमी भाग उत्तरी मोहडाबाट हेर्दा

प्रेमेजुङ इलाम जिल्लाको माइजोगमाई गाउँपालिका अन्तर्गतको एक गाउँ हो । यो गाउँले पालिकाको वडा नं. १ र ३ ओगटेको छ। २०३८ सम्म यो गाउँ गोर्खेधाप गाउँ पञ्चायतको २ नम्बर वडामा पर्दथ्यो। पछि यसलाई नयाबजार गाविसमा सारियो [१]निगालेबगाले, चामेटार, काब्राबोटे, गुप्ती, सेतीखोला गाउँ, ढाँडे, रिटाम, जस्ता सानासाना गाउँहरू मिलेर प्रेमेजुङ्ग बनेको छ। शंखाबुङ, गुम्बा गाउँ, गुरुङ गाउँ, भण्डारी गाउँ, लप्सीबोटे, मकर्जुङ, ढोडे, आहाले, आरूबोटे, पान्दाम, ढुंगे, माङचोक, आदि यस गाउँका का छिमेकी गाउँहरू हुन् ।

सोयाङ, प्याङ, जोगमाई, सिरिसे, नाम्सालिङ आदि तर्फ जाने गाडी प्रेमेजुङ हुँदै चल्ने गर्दछन्। जोगमाइ खोलाको दायाँपट्टि अवस्थित यस गाउँमा सुँगुरे खोला, सेतीखोला, होर्मे खोला, घट्टे खोला तथा छरछरे, ढाँडे, चिन्ते लगायतका खोल्साहरू रहेका छन्। बेंसीमा सुँगुरे बेंसी, चिउरे, जिम्बुबोटे, होर्मे तथा साँघुबेंसी यस गाउँका मुख्य धानखेत हुने ठाउँहरू हुन्।

अवस्थिति[सम्पादन गर्नुहोस्]

यो गाउँ ८८° १′ ३३″ पूर्व देखि ८८° ३′ ३०″ पूर्वी देशान्तर तथा २६° ५४′ ४९″ उत्तरदेखि २६° ५६′ ८″ उत्तरी अक्षांश सम्म फैलिएको छ। [२] गाउँको सबैभन्दा तल्लो भाग समुन्द्री सतहबाट ८५८ मीटर र सबैभन्दा उच्च भाग १६९१ मीटर उचाईमा रहेको छ। [२]

नामाकरण[सम्पादन गर्नुहोस्]

इलाम जिल्लामा पहिले लेप्चा जातीको बसोबास रहेको इतिहासले देखाएको छ। इलाम, सिक्किम, दार्जीलिङ भेकका अधिकांश ठाउँका नामहरू लेप्चा भाषामा राखिएका छन्। प्रेमेजुङ पनि यसबाट अलग रहेको छैन। प्रेमेजुङ् नाम दुई शव्द पर्‌याङ+जोङ मिलेर बनेको विश्वास गरिन्छ। जसको अर्थ पर्‌याङ'=निगालो र जोङ=घारी हुन्छ। पर्याप्त निगालो पाइने भएकाले यो ठाउँलाई निगालोघारी अर्थात् पर्‌याङजोङ भनिएको हो भन्ने विश्वास गरिन्छ। बोलचालको भाषामा अझैसम्म पनि प्रेमेजुङगलाई पर्मेजुङ भन्ने गरिन्छ। [३] भाषाको परिमार्जन सँगै लेख्य भाषामा यसलाई प्रेमेजुङ भन्न थालिएको छ।

हावापानी[सम्पादन गर्नुहोस्]

छरछरे झरना प्रेमेजुङको एक आकर्षण

यहाँको हावापानी एकदमै अनुकुल छ। जाडोमा धेरै जाडो तथा गर्मीमा धेरै गर्मी नहुने समशीतोष्ण हावापानी यहाँको विशेषता हो। तर उचाइ तथा अवस्थितिका कारण गाउँको पुछारमा अवस्थित सुँगुरे बेंसी र सिरानमा अवस्थित गुप्ती एवं गुराँसे बीच हावापानीमा केही अन्तर भने पाइन्छ। यस गाउँमा मुख्यतया जेठ देखि भदौसम्म वर्षा हुने गर्दछ। अत्याधिक वर्षा हुने असार र साउन महिनामा छरछरे, ढाँडे जस्ता केही गाउँहरू बाढी पहिरोको त्रासमा पर्दछन्। तर विगत २० वर्षयता बाढी पहिरोले गाउँमा खासै नोक्सान पुर्‍याएको पाइँदैन।

बासिन्दा[सम्पादन गर्नुहोस्]

माइलाउ प्रेमेजुङ निवासी एक सक्रिय व्यक्ति

अधिकांश हिन्दू‍को बसोबास रहेको गाउँमा केही दर्जन बौद्धमार्गीहरूका समेत घरहरू छन्। तर गाउँमा मिस्रित जातजातिहरूको बसोबास रहेको छ। बाहुनमा पौडेल थरका बाहुनहरूको बाहुल्य रहेको छ। त्यसपछि ढुंगेल, भट्टराई, नेउपाने, दाहाल, खतिवडा, तिम्सिना, कोइराला, , आदि जातका बाहुनहरू आउँछन्। क्षेत्रीमा पौडेल, थापा, राय, खँड्का, पाण्डे, भण्डारी थरका मानिसहरू यहाँ बसोबास गर्दछन्। क्षत्री बाहुन पछि ठूलो संख्यामा गनिने जाति हो राई। यहाँ साङपाङ, चाम्लिङ, हाङ्‌खिम, यामदाङ, पुमाली, इसारा, ओक्छाली, बुखिम, सिवाङ, निवाङ, आठपहरिया आदि जातका राईहरूको बसोबास रहेको छ।

त्यसका अतिरिक्त भुजेल, थामी, पहरी, तामाङ, दियाली, सुनार, दर्जी, शिवा, अछामे, मगराँती, बिसुंखे, कामी आदि जातीका मानिस पनि प्रेमेजुङका बासिन्दा हुन्। प्रेमेजुङ बासी सबैका घरको अगाडि सानो आँगनफूलबारी तथा घरसँगै गाइगोठ रहेका हुन्छन्। जुनसुकै मौसममा पनि फूलबारीमा २-४ थुँगा फूल फूलेको पाइन्छ। यद्यपि यस गाउँमा व्यवसायिक फूलखेती भने हुन सकेको छैन। सबै थरका हिन्दू हरूले आफ्नो घरको आँगनमा तुलसाको मठ बनाएका पाइन्छ।

जनजीवन[सम्पादन गर्नुहोस्]

सादा भन्दा सादा जनजीवन यहाँको विशेषता हो। निम्न तथा निम्नमध्यम वर्गीय आम्दानी हुने भएकाले यहाँका बासिन्दाहरू उतिसारो बिलासितापूर्ण जीवन विताउँदैनन्। यहाँका जनताहरू एकदमै मेहनती तथा परिश्रमी छन्। खेतीमा लागेका मानिसहरू अधिकांश समय खेतीपातीमा नै बिताउने गर्दछन्। साथसाथै गाइ तथा अन्य वस्तु पालन गर्ने हुनाले दिनमा १८ घन्टा भन्दा बढी समय काम गर्दछन्। अन्य पेसामा लागेका मानिसहरू पनि धेरथोर कृषि तथा पशुपालन गर्दछन्। खेतीपातीको प्रविधि परम्परागत रहने गर्दछ। केही शिक्षित युवाहरू गाउँको विद्यालय तथा केही सरकारी गैरसरकारी कार्यालयमा काम गर्दछन्। केही युवाहरू जागीरको सिलसिलामा जिल्ला सदरमुकाम तथा राजधानी सम्म पुगेका छन्। विदेशमा गै केही युवाहरूले धन तथा ज्ञान आर्जन गरिरहेका छन्।

यहाँका घरहरू सामान्यतया ढुंगा, माटो, काठ, बाँसले बनेका छन्। कसै-कसैले ढुंगा र माटोको साथमा सिमेन्टको पनि प्रयोग गर्ने गरेका छन्। पुराना घरहरूभनें ढुंगा र माटोले बनेका छन्। घरमा कमेरो तथा रातोमाटोले पोत्ने यहाँको पुरानो चलन हो जसमा हाल परिवर्तन आई चून र तल रातो माटोले पोत्ने गर्दछन्।

शैक्षिक अवस्था[सम्पादन गर्नुहोस्]

गाउँमा एउटा सरकारी प्रस्तावित माध्यमिक विद्यालय शिवमाई प्र. मावि रहेको छ जसमा हाल १ देखि १० कक्षासम्मको पढाइ हुन थालेको छ। १ वर्ष अघिसम्म निम्न माध्यमिक विद्यालयको रूपमा रहेको यस विद्यालयमा भौतिक पूर्वाधारको कमीका कारण उच्च कोटीको शिक्षण भने सञ्चालन हुन सकेको छैन। हाल स्थानीय बासिन्दाहरूको चन्दाका भरमा यो विद्यालय चलेको छ। दुई बाल विकास केन्द्र समेत सञ्चालनमा रहेका छन्। निजी क्षेत्रको लगानीमा २ वटा प्राथमिक बोर्डिङ स्कूल हालसालै स्थापना भएका छन्।

त्यसका अतिरिक्त विशेष शिक्षा कार्यक्रम अन्तरगत सञ्चालित अनौपचारिक शिक्षाका कक्षाहरू द्वारा हाल गाउँको साक्षरता निकै बढेको छ। विद्यालय जाने उमेरका ९७ प्रतिशत विद्यार्थीहरू विद्यालय गएका छन्। माध्यमिक तथा उच्चशिक्षाका लागि गाउँ छोड्नु वा टाढाका विद्यालयहरूमा अध्ययन गर्नु यहाँको पुरानै नियति हो। नजीकमा नाम्सालिङ उच्च मा.वि. २ घण्टा, अमर कल्याण उच्च मा.वि. १.५ घण्टा, गोर्खे मा.वि. १.५ घण्टा, फिक्कल उच्च मा.वि. २ घण्टा, करफोक उच्च मा.वि. २.२५ घण्टाको पैदल दूरीमा रहेका छन्।

बीस वर्ष अघिसम्म भारतका विभिन्न विद्यालयको भर पर्नुपर्ने यस गाउँमा हालको अवस्था प्रति गाउँलेहरूले सन्तोष मानेका छन्। त्यस अघि भारतको दार्जिलिङ, खर्साङ, कालिम्पोङ, सिक्किम, बनारस, बृन्दावन, हरिद्वार लगायतका ठाउँमा गई शिक्षा हासिल गर्ने गर्दथे। गाउँमा हिन्दू धर्मावलम्बी हरूको अत्याधिक बाहुल्य रहेको हुनाले संस्कृत शिक्षा प्रति आकर्षण धेरै नै रहेको थियो। तर अहिले विश्वव्यापीकरणको प्रभाव प्रेमेजुङमा पनि परेको देख्न सकिन्छ। अङ्ग्रेजी विषयप्रतिको बढ्दो आकर्षण यसैको प्रमाणको रूपमा लिन सकिन्छ।

मतदान गर्न लामबद्ध भएका स्थानीयबासीहरूः राजनीति र सामाजिक काममा नारी पुरूष दुवैको समान सहभागिता रहने गरेको छ।

राजनीतिमा भनें यहाँका मानिस खासै माथि पुगेका छैनन्। यद्यपि राजनीतिक तथा सामाजिक गतिविधिमा महिला पुरुष समान रूपले सहभागी हुने गरेका छन्।

आर्थिक गतिविधि[सम्पादन गर्नुहोस्]

खेतीपशुपालन यहाँका बासिन्दाको मुख्य पेसा हो। व्यापार, नोकरीराजनीति तर्फ पनि विस्तारै यहाँका मानिसहरू आकर्षित हुँदै गैरहेका छन्। सुरू सुरूमा गाउँमा कुनै आर्थिक गतिविधि नदेखेका गाउँलेहरू पर्म तथा ज्यालामा काम गर्ने गर्दथे। तर ज्यालाको रकम पैसामा नभै बाली अथवा वस्तुको रूपमा भुक्तान गरिन्थ्यो। पछि वि.सं. १९९६ ताका गाउँको ग्राफाइट खानी खुलेपछि त्यसै खानीमा काम गर्ने ज्यामीहरूले सम्भवतः पहिलोपटक ज्याला स्वरूप पैसा प्राप्त गरेका थिए। इलाम सदरमुकाममा वि.सं. १०१२ चैत्र १२ गते पहिलो पटक मोटर जाँदा गोर्खे बजारबाट प्रेमेजुङ हुँदै माइबेनीको बाटो इलामसम्म गाडी पुगेको थियो[४] तर प्रेमेजुङमा भनेका बेला गाडी पुग्ने बाटो चाँही त्यसको पचास वर्षपछि मात्र पुग्यो त्यो पनि जनताले आफ्नै पाखुराले खनेर। यातायातको सुविधा नभएतापनि मानिसले आफैं डोकोमा बोकेर अथवा घोडामा बोकाएर कृषिजन्य उत्पादनहरूलाई भारतीय सीमावर्ती बजार मानेभञ्ज्याङ तथा नेपाली बजार गोर्खे बजारसम्म पुर्यानएर बिक्री वितरण गर्ने गरेका थिए। यहाँको मुख्य कृषि उत्पादनमा अदुवा, अलैंची, अम्लिसोको कुचो, मटरकोसा, अन्य तरकारी तथा फलफूलहरू आदिले भारतीय बजारमा निकै राम्रो ख्याती पाएका छन्।

एकैठाउँ सुँगुर, कुखुरा, बाख्रा, गाई एउटै गोठमा

ढुङ्ग्यानयुक्त भिरालो जमीन भएकाले यहाँको खेतीपाती परम्परागत भन्दा अलग किसिमको हुने गरेको छ। यहाँका मानिसहरू परम्परागत खेती भन्दा नयाँ किसिमको खेती गर्न रुचाउँछन्। उनीहरू मुख्यतया नगदेबाली लगाउँदछन्। परम्परागत खेतीको रूपमा धान, मकै, कोदो, फापर, गहूँ, आलु र केही सागसब्जी, उत्पादन हुने भएतापनि नगदेबाली तर्फको आकर्षणका कारण अहिले मटरकोसा, अदुवा र मुख्यतया चियाखेती तर्फ मानिसहरू आकर्षित हुँदै गएका छन्। चियाखेती सँगसँगै कफी पनि उत्पादन हुन सुरू भएको छ। यद्यपि उत्पादित कफीको दानाले बजार नपाएपछि यहाँका जनता हुर्केका कफीका बोट पनि उखेल्ने स्थितिमा पुगेका छन्। परम्परागत रूपमा गाइपालन गर्ने किसानहरूले वि.सं. २०४१मा दुग्ध विकास संस्थानले सङ्कलन केन्द्र खोलेपछि भने व्यापारिक रूपमैं दुध उत्पादनमा लागेका हुन्। यो सङ्कलन केन्द्रको स्थापनाले प्रेमेजुङको आर्थिक गतिविधिमा युगान्तकारी भूमिका खेलेको थियो। त्यसबेलादेखि नै कृषि विकास ब्याङ्कले गाइपालनमा ऋणको व्यवस्था गर्ने, कृषकहरूले पनि भारतको पोख्रेबुङ लगायतका ठाउँबाट जर्सी, होलेस्टेन आदि जातका दुधालु गाई ल्याएर पाल्ने क्रमको विकास भयो। गाइपालन सँगसँगै त्यसलाई आवश्यक पर्ने घाँस उत्पादनमा पनि मानिसहरूको ध्यान आकर्षित हुन थालेको पाइन्छ। यसका लागि बारीमा धूस, अम्लिसो जस्ता घाँसहरू लगाउने प्रचलन पनि तीब्र रूपमा बढेको देखिन्छ। अम्लिसोबाट घाँस मात्र नभै कुचो समेत उत्पादन हुने भएकाले यसबाट कृषकहरूले दोहोरो फाइदा लिन पाएका छन्। गोर्खे बजारको चहल पहल हुँदा प्रेमेजुङको मुख्य बजार गोर्खे बजार नै थियो। मानेभञ्ज्याङ् मार्फत दार्जिलिङ सँग सीधा सम्पर्क गराउने गोर्खे बजार एक ताका इलाम मात्र नभै धनकुटा, भोजपुर, तेह्रथुम, पाँचथर आदि क्षेत्रकै प्रमुख नाकाको रूपमा रहेको थियो। झापाबाट फिक्कल हुँदै इलाम जाने मेची राजमार्गको सञ्चालन पश्चात् फिक्कलबजार प्रमुख व्यापारिक केन्द्रको रूपमा उदायो जसले गर्दा गोर्खे बजार सुक्न थाल्यो। हाल फिक्कल बजार प्रेमेजुङ्कोा नजीकैको बजारको रूपमा रहेको छ। अन्य बजारमा नयाँबजार तथा भारतका मानेभञ्ज्याङ, सुखियापोखरी, दार्जिलिङ सम्मका बजारमा यहाँका मानिसहरू हाट भर्न जाने र आफ्ना उत्पादन हरू बिक्री गर्न पुग्छन्। गाउँमा बुधबार हाट लाग्ने गर्दछ त्यसका अतिरिक्त तरकारी तथा दुग्ध एवं कृषिजन्य उत्पादनहरू खरीद गर्न घरघरमा नेपाली तथा भारतीय व्यापारीहरू पुग्ने गर्छन्।

वातावरण र वनस्पति[सम्पादन गर्नुहोस्]

प्रेमेजुङको वातावरण सुरम्य किसिमको छ। कुनै कलकारखाना नभएका कारण यहाँ वायु प्रदुषण छैन। जसको प्रमाण यहाँका रूखहरूमा पाइने एक किसिमको प्राकृतिक छापलाई लिन सकिन्छ।

रूखहरूमा विभिन्न प्रजातिका अर्किड अर्थात सुनाखरी फूल लागेको देख्न सकिन्छ। त्यसैगरी घरको फूलबारीमा पनि सयपत्री, मखमली, गोदावरी, जाई, डेलिया, ग्लेडुलस, गुलाब, कृष्णकल्ली, बकमबेली, खोर्साने फूल, क्यामेलिया, बाबरी फूल, नीरकमल, इन्द्रकमल, आदि जातका फूलहरू तथा पारिजात, बोंइस, बोटलब्रस आदि जातका रूखहरू रोप्ने प्रचलन रहेको पाइन्छ। कसैकसैले नीलकाँडा, हात्तीबार, सिँउडी आदिको बार लगाएको पनि पाइन्छ।

प्रेमेजुङ्ग जंगलैजंगलले ढाकेको गाउँ हो। यहाँ प्रायजसो मानिसका आफ्नै निजी बन रहेका छन्। यहाँ उत्तिस, मलातो, चिलाउने, सउर, असारे, सिँदुरे, रिठ्ठो, मलागिरी, गुराँस, मौवा, कटुस, सिरीष, फलेदो, सिमल, बकाइनो, बर, पीपल, टुनी, साज, लाम्पाते, झिंगनु, बिलाउनी, धुपी, सल्ला जस्ता रूखहरू र कुटमिरो, चुलेत्रो, फलेदो, निबारो, गोगन, टाँकी, पैयुँ, खरी, सिलटिमुर, बाँस, खन्यू, कोइरालो,दूधिलो, बडहर अम्लिसो, खरूकी, सालिमो आदि घाँसहरू भकिमिलो, अम्बक, सुन्तला, नास्पाती, स्याऊ, लप्सी, भोगटे, निबुवा, आँप, अनार, दारिम, आरू, आलुबखडा, ज्यामिर, बिमिरो, भुँइकटहर, रूखकटहर, मेहल, काँडे अम्बक, केरा, षडरस आदि फलफूलहरू पाइन्छन्। अन्य झाडी वा वनस्पतिमा कालीझार, तिते, वनमारा, काँस, सालिमो, कबाई, भोर्लो, उन्यू, कालीझार, धुस्रु पाइन्छन्। लहराहरूमा पाङ्ग्रा, बल्ड्याङ्ग्रा, बिरी, नागबेली, आकाशबेली, कनासे, आदि विख्यात छन्।

घाँस दाउरा तथा काठपातका लागि यहाँका मानिसहरू बाहिर जानु परेको छैन। निजीवनका अतिरिक्त खरवनी, लगायतका केही रानीवन अर्थात् पर्ती वनहरू पनि रहेका छन्। साँघुबेँसी आसपास एउटा सामुदायिक वन पनि बनाइएको छ।

यस ठाउँमा प्रसस्त जडीबुटी वनस्पति पाइन्छ यद्यपि त्यसको पहिचान र प्रशोधन गर्ने प्रविधिको अभावमा त्यत्तिकै खेर गैरहेको छ।

गाउँका केही धामीझाँक्री र उपचारकहरूले गुर्जो, चिराइतो, तितेपाती, गुदरगानो, मजिटो, फच्याङ, लाँकुरी, अमला, टिमुर, पत्तिमिलो, चुत्रो, फ्याक्रे, खनक्पा, लगायतका वनस्पतिहरू औषधिको रूपमा प्रयोग गर्ने गरेका छन्। त्यसैगरी लसुने नामको एक वनस्पति यहाँ प्रसस्त उत्पादन हुन्छ जुन भारतीय साबुन उद्योगहरूले राम्रै मोल दिएर किन्ने गरेका छन्। उल्लेख्य मात्रामा गाइपालन हुने भएकाले डालेघाँसका रूपमा प्रयोग हुने वनस्पति प्रति पनि मानिसहरूको आकर्षण निकै बढी छ।

त्यसैगरी मर्दा देखि पर्दासम्म प्रयोग गरिने बाँस यहाँको निकै उपयोगी वनस्पति हो। मानिसहरूले घर बनाउन, बार बार्न, छाना छाउन बाँसको प्रयोग हुन्छ। त्यसका अतिरिक्त डोको, डालो, थुन्से, मान्द्रा, भकारी लगायतका घरायसी भाँडाकुँडा बनाउन पनि बाँसको चोया प्रयोग गर्दछन्। बाँस नहुने हो भनें मानिसको दैनिक काम काज नै नचल्ने अवस्था रहने स्थानीयबासिन्दा बताउँछन्। यहाँ मालबाँस, भालुबाँस, चोयाबाँस, लिचीबाँस, चावाबाँस, लिचीबाँस आदि प्रजातिका बाँसहरू पाइन्छन्। यद्यपि मालबाँस नै यहाँको प्रमुख बाँस हो।

यहाँ कल्कले, काग, काठ फोरुवा, कालिज, कोइली, कोकले, गिद्ध, गौंथली, चमेरो, चिबे, चील, च्याखुरा, जुरेली, ढुकुर, फिस्टो, बकुल्लो, बट्टाइ, बाज, भँगेरा, रूपी (सारौं), लाटोकोसेरो, लामपुछ्रे चरा, सुगा, हलेसो, आदि प्रजातिका चराहरू पाइन्छन्।

घरपालुवा जनावर[सम्पादन गर्नुहोस्]

यहाँ कुकुर, कुखुरा, खरायो, गाई, परेवा, बाख्रा, भेडा, भैंसी, विरालो, सुँगुर, हाँस, जस्ता घरपालुवा पशुपंक्षी पाल्ने चलन रहेको छ।

वन्यजन्तु[सम्पादन गर्नुहोस्]

वन्यजन्तुमा अजिंगर, खोलाओत, गँगटो, गोहोरो, चितुवा, छुचुन्द्रो, छेपारो, दुम्सी, न्याउरीमुसो, पाहा, बन बिरालो, भानेमुङ्ग्रो, भ्यागुतो, मलसाँप्रो, मुसा, मृग, लोखर्के, सर्प, सालक, स्याल आदि पाइन्छ।

कीरा फट्याङ्ग्रा[सम्पादन गर्नुहोस्]

कान्छी नानी

कीरा फट्याङ्ग्रामा अरिङ्गाल, अरिमोठे, कमलकोटी, कमिलो, कान्छी नानी, कीर्नो, खुम्ले कीरा, खुम्ले कीरा, गँड्यौला, गोब्रेकीरा, चिप्लेकीरा, छिचिमिरा, जुनकिरी, जुम्रा, झींगा, झ्याउँकिरी, डाँस, पानी पिटुवा, पुन्यू सर्प, फट्याङ्ग्रा, बछ्यूँ, बिच्छी, भँवरा, भुसुनो, माकुरा, मौरी, लामखुट्टे, शंखेकीरा, साङला आदि पाइन्छ।

धार्मिक तथा सांस्कृतिक स्थल[सम्पादन गर्नुहोस्]

प्रकृतिपूजा प्रेमेजुङ बासिन्दाहरूको विशेषता हो।

यहाँ एउटा शिव मन्दिर (माइथान), एउटा सिद्धदेवीमन्दिर, होर्मेखोला एउटा बौद्धगुम्बा तथा सयौं देवीथान र अरू देवताका थानहरू रहेका छन्। सुँगुरे बेंसीकी देवी, सौरेभीरकी देवी, काब्राबोटेकी देवी सेतीखोलास्थित सेतीदेवी गाउँका महत्त्वपूर्ण देवीथानका रूपमा परिचित छन्। त्यसका अतिरिक्त यहाँका मानिसहरू जोगमाई नदीलाई पनि देवीको रूपमा पूजा अर्चना गर्ने गर्दछन्। लामो समयसम्म पानी नपरेमा जोगमाई नदीको विशेष आराधना गरिन्छ।

त्यसैगरी सन्सारी माईको पूजा पनि यहाँको मुख्य पूजा हो। त्यसका अतिरिक्त बुढासुब्बाको नौला देउताको रूपमा पूजा गरिन्छ। यसमा मांसाहारीले बोका, माछा आदिले पूजा गर्ने गर्दछन्। साकाहारीले भनें सामान्य फूल फलेदो र कोदो आदिले नौला देउताको पूजा गर्दछन्। नौला देउता रिसाए भनें गाउँघर र परिवारमा अनिष्ट पर्दछ भन्ने मान्यता रहेको छ। त्यसैगरी पाञ्चायन देवता, कुलदेवता, गोठ देवता, ग्राम देवता, पितृदेवता आदि देवी देवतालाई पूजा गर्ने गर्दछन्। बाहुनहरूले खासगरी देवी, शिव, विष्णु, सूर्यगणेश लाई पाञ्चायन देवताको रूपमा पूज्ने गरेको पाइन्छ। तर हालसालै प्रसार भएको प्रणामी धर्म सम्प्रदायका मानिसहरूले भगवान कृष्णमंगलदासजी महाराज लगायतका आफ्नै धार्मिक गुरुहरूको पूजा आराधना गर्ने गरेका छन्।

गाउँका राई लगायत केही समुदायमा मानवधर्म लगायतका विभिन्न सांस्कृतिक आस्था रहेको पाइन्छ।

प्रेमेजुङ जाने बाटो[सम्पादन गर्नुहोस्]

प्रेमेजुङ गाउँ फिक्कल बजारबाट १३ किलोमीटर पश्चिम उत्तरमा अवस्थित छ। यो ठाउँ पुग्नका लागि मोटरबाट फिक्कल बजारबाट बरबोटे, ढोडे, मयू खोला, मकर्जुङ, साँघुबेंसी, डाँडाखेत हुँदै जान सकिन्छ।

प्रेमेजुङ जाने पैदल मार्ग

नयाँबजार जाने जीप दैनिक रूपमा फिक्कलबाट उपलब्ध हुन्छन्। सीधै प्रेमेजुङ पुग्ने गाडी चैं मौकाले पाउन सकिन्छ। यदि पैदलै जाने हो भनें फिक्कल बजारबाट आहाले, आरूबोटे, जोगमाई खोला हुँदै झोलुङ्गे पूल तरेपछि प्रेमेजुङ पुग्न सकिन्छ। पैदलमा करीव साढे २ घण्टा लाग्दछ भनें मोटरमा सवा १ घण्टामा पुग्न सकिन्छ। एडभेन्चरका लागि पहिले ओरालो र पछि उकालो पैदलयात्रा निकै रमाइलो हुने गर्दछ।

आसपासका गाविसहरूबाट प्रेमेजुङ जान पैदल यात्रा एकमात्र उपाय हो। यद्यपि मौका परेमा फिक्कल, नाम्सालिङ र नयाँबजारबाट मोटर चढेर पनि यहाँ पुग्न सकिन्छ। जिल्ला सदरमुकाम इलाम बजारबाट ४ घण्टा नाम्सालिङको शुक्रबारे बजार बाट, सोयाङ बाट, गाविस सदरमुकाम नयाँबजारबाट, फिक्कल बजारबाट र पञ्चकन्याबाट २ घण्टाको पैदल यात्रामा प्रेमेजुङ पुग्न सकिन्छ। त्यसैगरी प्याङबाट ३ घण्टा गोर्खेबाट १ घण्टा जोगमाईबाट यहाँ आइपुग्न डेढ घण्टाको समय लाग्छ।

तस्बिरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सौगातः माघ-चैत्र २०३७, प्रकाशक: इलाम जिल्लापञ्चायत
  2. २.० २.१ Google Earth
  3. Lepcha of Nepal: Jeofrey, Shanti, Yuddha
  4. इलाम दर्पण- रण बहादुर कार्की २०५९
  • विभिन्न पत्रपत्रिका तथा स्थानीय बासिन्दाहरू द्वारा प्राप्त जानकारीहरू।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]