बर्रो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बर्रो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Magnoliophyta
वर्ग: Magnoliopsida
गण: Myrtales
कुल: Combretaceae
वंश: Terminalia
प्रजाति: T. bellirica
द्विपद नाम
Terminalia bellirica
(Gaertn.) Roxb.

बैज्ञानिक नाम : Terminalia bellirica ( Gaertn.) Roxb.

नेपाली नाम : बर्रो

संस्कृत नाम : तेलाफल

अङ्ग्रेजी नाम : Belleric myrobolon

वनस्पति परिवार : Combretaccae

परिचय[सम्पादन गर्ने]

यो २०–३० मि. सम्म अग्लो हुने ठूलो पतझर रुख हो। यसका पातहरू ठूला, १०–२५ से.मी. लामा, ७–१५ से.मी. सम्म चौडा र अण्डाकार हुन्छन्। पातहरू खासगरि हाँगाका टुप्पामा झुप्पा परेर रहेका हुन्छन्। यसका फूलहरू हाँगाका टुप्पामा पातहरूको बीच बीचमा लामा लामा डाँठको वरीपरी फेद देखि टुप्पासम्म मिलेर रहेका हुन्छन्। फूलहरू साना, हल्का पहेँला रंगका र नमीठो गन्ध आउने हुन्छन्। फूलहरू बैशाख / जेष्ठ सम्म फुल्दछन्। फलहरू करीब २.५ से. मी. लामा अण्डाकारका र खैरा मसिना रौँहरूले ढाकिएका हुन्छन्।

वासस्थान (फैलावट)[सम्पादन गर्ने]

वर्रोका रुखहरू ११०० मि. सम्मको उचाईमा तराई तथा भित्री मधेसका जंगलहरूमा पाइन्छन्। धेरै सुख्खा ठाउँमा भन्दा चिस्यान भएको ठाउँतिर यो राम्ररी हुर्कन्छ।

उपयोग[सम्पादन गर्ने]

आयुर्वेदिक औषधीय पद्धतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो। फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ। फलको गुदीदार भाग दाँत बलियो बनाउन एवं गीजाबाट रगत आउने रोगमा प्रयोग गरिन्छ। त्यसैगरि फल दम, खोकीमा पनि प्रयोग गरिन्छ भने भिजाएको बासी पानीले धोएर आँखा सफा गर्ने पनि गरिन्छ। यसको रुखको बोक्रा टेनिन (Tannin) का लागि उपयोगमा ल्याइन्छ। टेनिन छाला उद्योगमा छाला प्रशोधन गर्नुका साथै धेरै सम्म खप्ने बनाउनका साथै रंगमा चमक ल्याउने काममा समेत प्रयोग गरिन्छ। वीउबाट निकालिएको तेल छालाको रोगमा पनि प्रयोग गरिन्छ।

खेती विधि[सम्पादन गर्ने]

यो विरुवा जंगलमा प्रशस्त पाइने भएकोले खेती गर्ने त्यति चलन छैन। तैपनि विरुवाहरू तयार गर्न निम्न किसिमका विधिहरू अपनाइन्छ।

  • वीउ संकलन तथा वेर्ना तयारी :

यसका फलहरू मंसिर देखि पाक्दछन् त्यसकारण मंसिर देखि फागुन महिना सम्ममा संकलन गर्न सकिन्छ। खासगरि यसका फलहरू बाँदरले खाने भएकाले पाक्ने वित्तिकै संकलन गर्नु उचित हुन्छ। संकलन गरेका फलका गुदीदार भाग हटाएर केही दिन राम्ररी सुकाएर भण्डार गर्नु पर्दछ। यसको वीउको उमार शक्ति १ वर्षसम्म रहन्छ ता पनि एक वर्षसम्म राखेमा उमार प्रतिशत एकदम कम हुन्छ।

  • नर्सरी : संकलन गरेर सुरक्षित किसिमले भण्डार गरिएका वीउहरू फागुन / चैत्रतिर उमार्नको लागि नर्सरीमा राखिन्छ। वीउहरू सोझै पोली व्यागमा रोप्नु उपयुक्त मानिन्छ। माटो र वालुवा मिसाएर भरिएका पोली व्यागमा वीउहरू रोपिन्छन्। पानीको व्यवस्था राम्ररी गर्नु पर्दछ र यसरी रोपिएका विउहरू ३६–७० % उम्रने क्षमता राख्दछन्। वीउ रोप्नु भन्दा अघि वीउलाई २४ घण्टा पानीमा भिजाउनु पर्दछ।
  • कलमी : हाँगाको कलमीद्धारा पनि यसका वेर्नाहरू तयार गरिन्छ। माघ / फागुनतिर औँला जत्रा एक वर्ष पुराना हाँगाहरू करिब ६ इन्च जति लामा काटेर माटो र वालुवा मिसाएर तयार गरिएको नर्सरी व्याडमा गाडेर वेर्ना तयार गर्न सकिन्छ। यसरी तयार गरिएका विरुवाहरू वीउबाट तयार गरिएका विरुवा भन्दा छिट्टै फल दिन योग्य हुन्छन्। छिट्टै फलाउनुका लागि ग्राफ्टिङ्ग गरेर पनि वेर्ना उत्पादन गर्ने गरिन्छ। ल्केफ्ट ग्राफ्टिङ्ग तरिकाबाट करिब ३० % सफलतापूर्वक विरुवा उत्पादन भएको प्रयोगले देखाएको छ।
  • फिल्डमा लगाउनेः फागुन / चैत्रमा उमारिएका वेर्नाहरू आषाढ / श्रावण तिर फिल्डमा लगाउन योग्य हुन्छन्। ५ मिटरको दुरीमा राम्ररी खाडल खनी राम्रोसँग विरुवाहरू लगाइन्छ। यो अलि ढीलो गरी बढ्ने प्रजाति हो। यसलाई त्यति मल जलको आवश्यकता नभए पनि छिटो हुर्काउनका लागि गोडमेल, मलजल र पानी राख्दै गर्नु राम्रो हुन्छ।
  • वाली संकलनः करीब ७ वर्ष पछि विरुवा फल दिन योग्य हुन्छ तापनि १० वर्ष पुराना रुखहरूबाट फल संकलन गर्दा राम्रो उत्पादन लिन सकिन्छ। १० वर्ष भन्दा बढीका रुखहरूबाट वार्षिक ५० के.जी. सम्म फल संकलन गर्न सकिन्छ।