बिहा (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोषी चश्मा कथासङ्ग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
२००६ साल
पृष्ठ१०४ पृष्ठ
आइएसबिएन978-99933-2-750-9

बिहा साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा साझा प्रकाशनले विसं २०३२ सालमा प्रकाशित दोषी चश्मा कथासङ्ग्रह‎मा सङ्ग्रहित गरिएको छ । करिब पाँच पृष्ठमा समेटिएको कथा बिहा, एउटा प्रथम पुरूष दृष्टिबिन्दु प्रयोग गरेर लेखिएको कथा हो । यस कथामा मपात्र बाहेक सुब्बा कटकबहादुर र हरिमतीलाई मुख्यपात्रको रूपमा उतारिएको छ । पछिल्ला दुई पात्रहरूकै वरिपरि कथा केन्द्रित भएको भएपनि यी दुबै पात्रहरूको भुमिका भने गौण रहेको छ । कटकबहादुर र हरिमती अनमेल विवाह पछि मपात्रको मनमा उत्पन्न भावनाहरूलाई नै कथाकारले यस कथामा उतारेका छन् । प्रथम श्रीमतीको मृत्यु भएपछि सुब्बा कटकबहादुरले दुई छोराको स्याहार गर्न र घर व्यवहार चलाउन भन्दै मात्र चौध वर्षकी हरिमतीलाई विवाह गरेको सुनेपछि मपात्रलाई आफू पहिला जन्ती गएको एक अनमेल विवाहको सम्झना हुन्छ । व्यग्र भएर दुलाहाको रूपहेर्न बसेका उनी र गाउँका स्वास्नीमानिसहरूलाई खिन्न पार्दै त्यतिबेला एउटा छिप्पीएको दुलाहा निस्कीएको थियो । दुनियाँको मन खिन्न बनाएर दुलाहा भएको उ गजक्क पर्दै हात्तीमा चढेर दुलही लिन हिडेको थियो । जन्ती जान हिडेको बेलामा मपात्रले ती दुलाहाले दुई टुहुरा छोराहरूको स्याहार गर्न र घर व्यवहार चलाउन विवाह गर्न वाध्य भएको थाह पाउँछन् । त्यसपछि उनको मनमा दुलहीको बारेमा तर्कना आउँछ । दुलाहाको त घर चलाउनु थियो, ती सानासाना केटाकेटीहरूलाई हेरिदिने मानिस ल्याउनु थियो र विवाह गरे । तर यिनको घर चलाउने र यिनका छोराछोरीलाई हेरिदिन आउने दुलही कस्ती होलिन ? उनले २५/३० वर्षकी, घर व्यवहारको काममा निपुण, बढेका दुई छोरालाई हेर्न सक्ने, दुलाहाको सारा व्यवहार थाम्न सक्ने दुलहीको कल्पना गरेका थिए । तर जब २/३ जना स्वास्नी मानिहरूले समातेर लुगाले छोपिएकी सानी बालिकालाई दुलही भन्दै मण्डपमा ल्याए उनलाई विरक्त लाग्यो । कसरी एउटी १४ वर्षकी बालिकाले दुलाहाको घर थाम्लिन् र उनका छोराहरूको हेरविचार गर्न सक्लिन् ? ती बालिका दुलाहाको घरमा कसरी बस्लिन ? उनको र दुलाहाको सम्बन्ध कस्तो रहला ? जस्ता अनेकौँ प्रश्नले मपात्रको मन भारी हुन्छ । त्यसपछि उनलाई कुनै विवाहमा जन्ती जाने साहस आउँदैन । सुब्बा कटकबहादुरले मात्र चौध वर्षकी हरिमतीलाई विवाह गरेको सुनेपछि मपात्रलाई त्यो पुरानो घटना स्मरण भएको थियो । त्यसछि उनी हरिमतीको बारेमा सोच्न थाल्छन् । हरिमतीले कस्तो दुलाहाको कल्पना गरेकी थिई होला ? जवान कि कटकबहादुर जस्तै छिप्पिएको ? कि आफू जस्तै सानो केटो ? यस्तै विभिन्न कल्पना गर्दा गर्दै मपात्र विवाहको रातको कल्पना गर्न पुग्छन् । विवाहको पहिलो रात कटकबहादुर र हरिमती कस्ता कुरा गर्दा होलान् ? उनी कल्पना गर्छन्- कटकबहादुरले माया गर्दै ……मेरी रानी भन्दा हरिमतीको बाल हृदयमा संगीहरूसँग राजारानी खेलेको याद आयो होला र यत्रो ठूलो मान्छेले बच्चाले जस्तै खेलवाड गरेकोमा रिस उठ्यो होला । कटकबहादुरले म्वाईं खान खोज्दा हरिमतीलाई आश्चर्य लाग्यो होला, उसले हरिमतीलाई किन म्वाईं खायो दुलही भनेर कि सानी भनेर ? उनी फेरि कल्पिन्छन्- सायद त्यस्तो केही भएनहोला । कटकबहादुरले हरिमतीसँग ……नानी, तिम्रो नाम के हो ? भनि सोधे होलान् । त्यस पछि पढाइको बारेमा सोधे होलान् अनि अबदेखि आफूसँग पढ्नु भन्दै ……निन्द्रा लाग्यो होला सुत्न जाऊ भने होलान् । हरिमतीलाई सुताई उनी आफ्नो हरहिसाब मिलाउन लागेहोलान् । बिहान भएपछि हरिमतीलाई उठेर नुहाउन लगाउँछन्, एकछिन पढ्न भन्छन् र नमिलेको ठाउँमा आफैं सिकाउँछन् । त्यसपछि खाना खाएर हरिमती विद्यालय जान्छे । मपात्रले अन्त्यमा केही प्रश्न उठाएका छन् । त्यसो भए कटकबहादुरले किन विवाह गरे ? छोरी नभएर छोरीको रहर पुर्याउन ? र उनी व्यङ्ग्य गर्छन् त्यसो भए दुलही ल्याएकै दिन बढेकी कन्याको विवाह गरिदिनुपर्ने पीर तिनलाई थपियोहोला ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]