भुँइचालो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ग्लोबल भूकम्पअधिकेन्द्र
ग्लोबल प्लेट टेक्टोनिक मूभमेंट

भुँइचालो भन्नाले पृथ्विको कम्पन हो, जो भू गर्भीय गडबडीमा आउने गर्छ| यो कम्पन लाई रेक्टर स्केलमा नापिन्छ| आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठूला भूकम्प र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भूकम्पलाई मझौला भूकम्प भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ। [१]

Fault types

भुँइचालो जाने प्रक्रिया[सम्पादन गर्ने]

जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई 'टेक्टोनिक प्लेट' भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएरमा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजीक आएर ठोक्किन्छन्। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ। यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भूकम्प जान्छ।

टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भूकम्प जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्। जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भूकम्प गइरहन्छन्। करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ। उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ। [१]

नेपालमा भूकम्प[सम्पादन गर्ने]

नेपालमा भूकम्प जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भूकम्पका तरंगहरूको चारैतिर प्रसारण हुन थाल्छ। भूकम्पले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ। काठमाडौँदेखि पूर्वको क्षेत्रमा गएका ठूला भूकम्पमा विसं १९९०को महाभूकम्प (८.२ रेक्टर), विसं २०४५को उदयपुर केन्द्रविन्दु रहेको भूकम्प (६.५ रेक्टर) हुन् भने त्यसपछिका भूकम्पमा असोज एक गते आइतबार गएको भूकम्प (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भूकम्पहरू दिनहुँ गइराखेका हुन्छन्। असोज एक गते गएको भूकम्प विसं २०४५मा गएको भूकम्पभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभूकम्पबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भूकम्पबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने असोज १को भूकम्पबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको छ।

नेपालमा ठूला भुकम्पहरू[सम्पादन गर्ने]

भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५ सालमा ठूला भूकम्प गएको इतिहास छ।

  • २ माघ १९९०मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भूकम्प आठ दशमलव चार रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभूकम्पलाई लिइन्छ। आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भूकम्पमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ। [२]
  • भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. उदयपुर जिल्लामा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए। [१]

पूर्वानुमान र क्षति न्युनिकरण[सम्पादन गर्ने]

भुँइचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाइवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुँचालो जानसक्ने संकेत हुन सक्छ। यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ। असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भूकम्पबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ |भूकम्पको भविष्यवाणी गर्न सकिँदैन। भूकम्पबाट बच्ने उपाय भनेको भूकम्प पूर्व गर्नुपर्ने तयारी नै हो। [३]

भूकम्पबाट हुने जनधनको क्षति[सम्पादन गर्ने]

कुनै स्थानविशेषमा भूकम्पबाट हुने जनधनको क्षति निम्न कुरामा भर पर्छः

  • भूकम्पको शक्ति (म्याग्नेच्युड):जति ठूलो भूकम्प त्यति नै बढी क्षति हुने सम्भावना रहन्छ।
  • भूकम्पको केन्द्रविन्दुबाट उक्त स्थानविशेषसम्मको दूरीः जति नजीक त्यति बढी क्षति हुने सम्भावना रहन्छ।
  • भूकम्पको केन्द्रविन्दुको नजीकमा ठूला सहरहरूः ठूला सहरहरूमा जनसंख्या धेरै हुने हुँदा क्षति पनि बढी हुने सम्भावना रहन्छ।
  • भू-गर्भ तथा भौगर्भिक बनावटः काठमाडौं तथा तराईजस्तो कालो माटोमाथि रहेका बस्तीमा भूकम्पका तरंगको 'एम्लिच्युड' बढेर क्षति हुनसक्छ भने बालुवामाथि रहेका बस्तीहरूमा जमीनको तरलीकरण भई अस्वाभाविक क्षति हुनसक्छ।
  • भौतिक संरचनाहरू :भूकम्प प्रतिरोधी संरचनाहरू नभएको अवस्थामा बढी क्षति हुनसक्छ।
  • भूकम्प गएको समय: रातिको समयमा सबै सुत्ने हुनाले भूकम्प गएमा बढी क्षति हुन्छ भने दिउसो गएमा अलि कम हुनसक्छ।
  • भूकम्प गएको ऋतु: वर्षातमा भूकम्प गएमा जमीनको तरलीकरण व्यापक हुनसक्छ। त्यसैगरी पहिरो पनि धेरै जान सक्छ।

श्रोत[सम्पादन गर्ने]