मदन भण्डारी

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

मदन भण्डारी - नेकपा (एमाले) का नेता मदनकुमार भण्डारीको जन्म २००९ साल अषाढ १४ गते पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा जन्मनुभएका भण्डारीको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरु भयो । वि.सं. २०१५ साल गाउँमै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) बाट औपचारिक शिक्षातर्फ प्रवेश गर्नुहुने भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकालमै चण्डी कण्ठाग्र गर्ने गर्नाले उहाँ जिल्लाभर चर्चित हुनुभयो, यद्यपि उहाँले अक्षरहरू चिनिसक्नु भएको थिएन । उहाँका बुबा गाउँका थराना गर्ने (गाउँलेहरूले दिएको सुब्बाको मान) पाएकाले माया पाउनुभयो, दुःख सहनुभएन । हिलो धूलोमा पढ्न पनि परेन । वि.सं. २०२३ मा गाउँमा उपलब्ध पढाई सक्नुभयो ।

२०२४ सालमा उहाँको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्‍यो । उहाँ भारतको मथुरामा अध्ययन गर्न जानुभायो । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुग्नुभएका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो । यसैबीच २०२८ सालमा पुष्पलालसँगको भेटपछि उहाँ राजनीतिमा लाग्नुभएको हो । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्‍यो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत हुनुहुन्थ्यो भने भण्डारी केन्द्रीय सदस्य रहनुभएको थियो । २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुभयो ।

२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो । त्यसको निर्माणमा सक्रिय रहनुभएका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको 'को-अर्डीनेशन केन्द्र' मा आवद्ध बन्नु भई 'मुक्तिमोर्चा समूह'लाई नै त्यसमा विलय गराइयो । २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उहाँ केन्द्रीय सदस्य हुनुभयो ।

यसैबीच उहाँको विवाह -२०३९ सालमा) विद्या पाण्डेसँग भयो । उहाँहरूबाट उषाकिरण र निशाकुसुम नामका दुइटी छोरीहरू जन्मिए । २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव हुनुभयो । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उहाँ नेकपा (एमाले) को महासचिव हुनुभयो ।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य हुनुभयो । बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा भएको दुर्घटनामा निधन भयो ।

अरु भाषामा