मातृकाप्रसाद कोइराला
प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा निरंकुश राणाशाही शासनविरुद्ध भएको २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि.सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उहाँ समाजसेवी स्व. कृष्णप्रसाद कोइरालाका जेठा छोरा हुनुहुन्थ्यो। कृष्णप्रसाद कोइरालाले दुई विवाह गर्नुभएको थियो। जेठी श्रीमती मोहनकुमारी कोइरालाबाट भने मातृकाप्रसाद कोइराला एक छोरामात्र जन्मनुभयो। कान्छी श्रीमती दिव्या कोइरालाबाट भने चारछोराहरू - पूर्वप्रधान मन्त्रीद्वय विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला एवं अन्य दुई छोराहरू - केशवप्रसाद कोइराला (उहाँ दिवंगत हुनुभएको र उहाँकी श्रीमती नोना कोइरालाको २०६३मा निधन भयो।) र तारिणीप्रसाद कोइराला (उहाँ दिवंगत हुनुभयो र उहाँका छोरी ज्वाईँ नेपाल ट्रेड युनियन काँग्रेस(स्वतन्त्र)मा अध्यक्ष हुनुहुन्छ।) जन्मिएका थिए।
उहाँको राजनैतिक जीवन भारतको स्वतन्त्रता संग्रामबाट सुरू भएको हो। भारतीय नेताहरू डा. राजेन्द्रप्रसाद, डा. मनोहर लोहिया र लालबहादुर शास्त्रीसँगसँगै सहभागी रहनुभएका कोइरालालाई गिरफ्तार गरी वि.सं. १९८७ सालमा भारतको बिहारस्थिति मोतीहारी जेलमा राखिएको थियो। गान्धीवादी दर्शनबाट प्रभावित कोइरालाले उच्च शिक्षामा भारतबाट स्नातकसम्म अध्ययन गर्नुभएको थियो भने भारतबाटै विद्यालंकारसमेत ग्रहण गर्नुभएको थियो। त्यसपछि सन् १९३० तिर मातृकाप्रसाद कोइराला नेपाल आउनुभयो। सुरूमा उहाँले सरकारी जागीर खानुभयो। २००४ सालमा भएको विराटनगर जूट मिलको श्रमिक आन्दोलनमा नेतृत्व तहको भूमिका निर्वाह गर्नुभयो। यो नै उहाँले नेपालमा गर्नुभएको राजनीतिमा सक्रिय भूमिकाको पहिलो कदम थियो। २००३ सालमा उहाँ नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक अध्यक्ष बन्नुभयो। २००६ सालमा नेपाली कांग्रेसको संस्थापक सदस्य र पहिलो निर्वाचित सभापति हुनुभयो।
उहाँ २००७ सालको क्रान्तिपछि गठित पहिलो नागरिक सरकारको प्रधानमन्त्री (२००८ सालमा) हुनुभयो। २००८ सालमा नै स्व.विश्वेश्वर प्रसाद कोइरालासँग भएको मतभेदका कारण नेपाली कांग्रेसबाट अलग्गिनुभयो र प्रधानमन्त्री पद त्यागी राष्ट्रिय प्रजापरिषद्को गठन गर्नुभयो। उहाँ २०११ साल पुनः प्रधानमन्त्री बन्नुभयो। त्यसबेला प्रधामन्त्रीको हैसियतले कोइरालाले भारत सरकारसँग कोशी सम्झौता (२०१२ सालमा) गर्नुभयो। सन् १९५४मा उहाँको आफ्नो पार्टी प्रजापरिषद्लाई नेपाली कांग्रेसमा विलय गराउनुभयो। २०१५ सालको आम निर्वाचनपछि कोइराला संसद्को माथिल्लो सदन महासभाको सदस्य हुनुभयो।
२०१७ सालको राजनैतिक घटनाक्रममा उहाँले एक महिनासम्म जेल जीवन बिताउनुपर्यो। २०१८ सालमा अमेरिकाका लागि शाही नेपाली राजदूत हुनुका साथै संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा नियुक्त हुनुभयो। उहाँ २०३० सालमा राष्ट्रिय विकास परिषद्मा मनोनित हुनुभयो। २०३१ सालमा विश्व शान्ति सम्मेलनको नेतृत्व गर्नुभएको थियो। २०३४ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित हुनुभए पनि २०३५ सालमा राजीनामा दिनुभयो। २०३६ सालमा मोरङ जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा पुनः निर्वाचित हुनुभयो। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापश्चात् २०४९ सालमा कोइरालाले प्रजातान्त्रिक पार्टीको अधिवेशन आह्वान गर्नुभयो। उक्त अधिवेशनपछि प्रजातान्त्रिक पार्टी राष्ट्रिय जनता परिषद् बन्यो। उहाँ मरणोपरान्त सो पार्टीको अध्यक्ष रहनुभयो।
मानार्थ ब्रीगेडियन जनरल (महारथी)को उपाधि प्राप्त कोइराला २००८ सालमा 'गोर्खाली' र 'जन्मभूमि' पत्रिकाको सम्पादक हुनुहुन्थ्यो। उहाँका 'मेरो असम यात्रा', 'कोशीको कथा', 'मातृकाका कथा', 'पीपाको हबल्दार' जस्ता कृतिहरूलगायत विभिन्न पत्रिपत्रिकामा लेखरचनाहरू प्रकाशित छन्। उहाँ केही वर्षदेखि आफ्नो जीवनी लेखिरहनुभएको थियो। उहाँको निधन २०५४ साल भदौ २६ गते काठमाडौँमा भयो।
|
|||||