राजा धनपाल थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरीको छेउमा रहेको राजा धनपाल थान

राजा धनपाल थान मोरङ जिल्लाको कदमाहा गाविस वडा नं ६ मा अवस्थित छ। सदरमुकाम विराटनगर देखि करिब १५ किमि पूर्वमा रहेको यो क्षेत्र पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। करिब ३ बिगाहा क्षेत्रफलमा फैलिएको यो क्षेत्र राजमार्गबाट करिब २ किमि दक्षिणमा अवस्थित छ। धनपालथानमा राजा धनपालका नाममा पूजा गरिने हुनाले यसलाई धनपालथान भनिएको हो। इतिहासमा राजा धनपाल कुन समयका कस्ता राजा थिए भन्ने कुरा स्पष्ट छैन। तर पनि त्यस स्थानलाई राजाको दरबार रहेको मान्यता यस क्षेत्रका मानिसहरूको छ। बङ्गाली भाषामा राजा बस्ने ठाउँलाई राजाबाडी भन्ने चलन छ। यसैको अपभ्रंस भई यस स्थानको नाम राजबाडा भएको हुन सक्ने देखिन्छ। राजा धनपालथान क्षेत्रमा पुरानो ढिस्को र पिपलको बोटको जरामा जेलिएका इँटाहरू पाइएकाछन्। यिनीहरूले विगतमा यस भेगमा कुनै दरवार वा भवन रहेको स्पष्ट पारेका छन्। धनपालथानका पोखरी, एउटा भवनको ढिस्को र भग्नावशेषयुक्त पिपलको बृक्ष यहाँका महत्त्वपूर्ण पुरातात्विक अवशेषहरू हुन्। धनपालथान यस भेगमा चलेका लोकोक्तिका आधारमा यहाँ एउटा पुरानो पोखरीको अवशेष रहेको र पछि त्यसलाई मानिसहरूले सफाइमात्र गरेको मानिन्छ। यसैगरी त्यहाँको एउटा पुरानो भग्नावशेष कुनै मन्दिर या भवनको अवशेष हुन सक्तछ। यहाँको एउटा पिपलको बोटमा भने एकपछि अर्को नयाँ बृक्ष पलाउने क्रम चलेर लामो समयदेखि अस्तित्वमा रहको अनुमान गर्न सकिन्छ। त्यसको करिव ८ फिट माथिसम्म रहेको जराहरू भित्रका पुराना इंटा र अन्य भग्नावशेषले त्यस स्थानमा विगतमा कुनै मन्दिर रहेको र कालक्रमले गर्दा उक्त मन्दिर जीर्ण भई नासिएको बुझ्न सकिन्छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "राजा धनपाल थान", birattourism.org.np [dead link]