रानी पोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रानी पोखरीको बिचमा रहेको मन्दिर

रानी पोखरी (नेपालभाषामा न्हू पुखू वा लानि पुखू) काठमाडौँ नगरको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो। ऐतिहासिक राष्ट्रिय सम्पदा रानीपोखरी काठमाडौँमा छ। यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणालेबनाएको त्रि चन्द्र कलेज छ्न् भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो विद्यालय दरबार हाईस्कूल रहेको छ। त्यस्तै उत्तरमा बिश्वज्योती सिनेमाघर छ भने दक्षिणमा रत्न पार्क छ। रानी पोखरीको बिचमा बालगोपाल महादेवको मन्दिर छ, यो मन्दिर वर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ। रानीपोखरीलाई वरीपरी फलामको बारले बारिएको छ। रानीपोखरीको बार भित्र ठूलो हाती र त्यस माथि राजा प्रतापमल्ल, रानी र छोराको मुर्ती स्थापित गरिएको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५मा उक्त पोखरी निर्माण गरेका थिए। पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए। एकसय असी मिटर लम्बाइ र १४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ। वि.सं. १९९०को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन्। वि.सं. २०७२ साल बैशाख १२ गतेको ७.८ रेक्टरको बिनाशकारी भुकम्पमा मन्दिरको गजुर सहित मन्दिर क्षति भएको थियो । भुकम्प गएको एक वर्ष पारि २०७३ बैशाख १२ गते राष्ट्रपति बिध्यादेबि भण्डारीले पुन:निर्माण कार्षको सिलन्यास गर्नु भएको थियो । अहिले पुन:निर्माण कार्य सकिएर २०७७ साल कार्तिकमा यसको उद्घाटन कार्य सम्पन्न भएको छ ।

परम्परा[सम्पादन गर्नुहोस्]

रानीपोखरीमा भाइटीकाको दिन भाइटीका लगाईदै

रानीपोखरीको बीचमा रहेको यमलेश्वर (बालगोपालेश्वर)मन्दिर परम्परागत मान्यताअनुसार वर्षको एकदिन भाइटीकामा खुल्ने गर्दछ।

किम्बदन्ति[सम्पादन गर्नुहोस्]

रानीपोखरीमा हात्तीमाथी राजाको मुर्ती बनाएर राख्नुमा एउटा किम्बदन्ति रहेको पाइन्छ। यो पोखरी बनेपछि राजा प्रताप मल्ल सधैं नुहाउन आउने गर्दथे, यसरी पोखरीमा नुहाउन आउने क्रममा राजाको एक किचकन्यासँग भेट भएर मायाप्रेम बसेछ। यसैक्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवती समेत भइछ। यता राजा पनि दुब्लाउँदै गएको देखेर भाइभारदारहरू चिन्तित् भएर के कारणले यसरी राजा दुब्लाउँदै गएको भनेर खोजी भएछर र राजा र किचकन्याको प्रेम प्रसँग पत्ता लागेछ। त्यस्तै किचकन्या गर्भवती भएको कुरा पनि थाहा भएछ। यो कुरा पत्ता लागेपछि अचम्म हुनलाग्यो यसो हुनुहुँदैन भनेर भाइभारदार तथा गुरूपुरोहितहरू मिलेर किचकन्यालाई बसमा पारेछन। गर्भवती किचकन्याको भ्रूण सहित पोकोपरेर रानीपोखरीको छेउमा विशाल हात्ती त्यसमा राजा, रानी र युवराज सहित चढेको मुर्ती बनाएर त्यस हात्तीको अघिल्लो खुट्टाले किचकन्या र भ्रूण सहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरि दु:ख दिदैन भनेर त्यसरी उक्त मु‍र्ती स्थापना गरिएको भन्ने किम्बदन्ति रहेको छ।

आकासेपानी सङ्कलन प्रणाली[सम्पादन गर्नुहोस्]

हिउँदमा हुने पानीको अभाव पूर्तिका लागि रानीपोखरीमा आकासेपानी सङ्कलन प्रणाली जडान गरिएको छ। सन् २००६मा यूथ रेडक्रस र्सकल, त्रिचन्द्र कलेज र गैसस मञ्चको पहल र यूएन हाविटाटको सहयोगमा रेन सेन्टरको स्थापना गरी त्रिचन्द्र कलेजको विज्ञान भवनमा आकासेपानी सङ्कलन कार्य सुरु गरिएको थियो। साथै सन् २०१०मा पनि डब्लुडब्लुएफको सहयोगमा त्रिचन्द्र क्याम्पसका थप दुई भवनमा आकासेपानी सङ्कलन प्रणाली जडान गरिएको छ। हाल त्रिचन्द्र कलेजका भवनहरूबाट वार्षिक करीब २५ लाख लिटर आकासेपानी सङ्कलन हुँदै आएको छ। जमीनमुनीको पानीको सतहमा आएको कमीका कारण सुक्दै गएको रानी पोखरी पुनःभरण तथा पोखरी संरक्षणका लागि उक्त संकलित आकासेपानी प्रयोग गरिएको छ। साथै आकासेपानी शुद्धिकरण गरी कलेजमा पिउनका लागि पनि प्रयोग गरिंदै आएको छ।

पुनः निर्माण[सम्पादन गर्नुहोस्]

सन् २०१५को महाभूकम्प पश्चात् रानी पोखरी पुनः निर्माण सम्बन्धी विवाद र अभियान चलेको थियो । काठमाडौँ महानगरपालिकाले आधुनिक शैली अनुसार पुनःनिर्माण गर्ने योजना बनाएपछि समुदायबाट विरोध भएको हो । फलतः सन् २०२०मा रानी पोखरी परम्परागत शैलीमा पुनःनिर्माण भयो । पोखरी बीचको बालगोपालेश्वर मन्दिर यस पुनःनिर्माणले मल्लकालीन ग्रन्थकुट शैलीमै बनाए । [१] [२]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "रानीपोखरी जोगाउने जाँगरिलाहरू", सेतोपाटी, २०१८, मूलबाट ९ नोभेम्बर २०२-मा सङ्ग्रहित। 
  2. "रानीपोखरी जोगाउने लडाकूहरू", सेतोपाटी, २०२०, मूलबाट ९ नोभेम्बर २०२-मा सङ्ग्रहित।