लक्ष्मीप्रसाद देवकोटा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लक्ष्मीप्रसाद देवकोटा
Laxmi prasad devkota 2.gif
लक्ष्मीप्रसाद देवकोटा
जन्म: वि.सं. १९६६
काठमाडौं
मृत्यु: वि.सं. २०१६
काठमाडौं
कार्यक्षेत्र: अध्यापन, लेखन, राजनीति
राष्ट्रियता: नेपाली
भाषा: नेपाली
विधा: गद्य तथा पद्य
विषय: कविता, नाटक, यात्रा संस्मरण, निबंध आदि
साहित्यीक आन्दोलन: स्वछन्तावाद , प्रयोगवाद

लक्ष्मीप्रसाद देवकोटा जन्म वि. सं. १९६६ (सन् १९०९), मृत्यु वि. सं. २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

देवकोटा पण्डित तिलमाधव र अमर राज्य लक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी धोबीधारा, काठमाडौंँमा तिहारको लक्ष्मी पूजाका दिन जन्मेका थिए। उनले सानै उमेर देखि कवितामा आफ्नो प्रतिभा देखाउन थाले।

पछि उनले नेपाली साहित्यमा रुमानी (स्वच्छन्दतावाद)को सुरुवात गरि नयाँ पुस्ताका लेखकहरूलाई निक्कै प्रभाव पारे। उनले आफुलार्इ आधुनिक स्वच्छन्दतावादी कविका रूपमा प्रतिस्थापित गर्दै नेपाली साहित्यमा आफ्नो उच्च स्थान सुरक्षित गरेका छन् र आफ्ना अनुयायीलार्इ मार्ग प्रसस्त गरेका छन्।

उनले सहनशीलता, सहयोगी भावना र दयाको उपदेश दिन्थे। कामबाट घर फर्किँदै गर्दा, एक दिन, उनका सामुन्ने एक माग्ने पैसा माग्दै आयो। जाडोले कठ्याङ्ग्रिएको देखेर देवकोटाले आफैँले लगाएको कोट फुकालेर त्यस माग्नेलाई दिए।

देवकोटा सन १९६६मा जन्मिँदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटिको प्रयत्‍नपछि देवकोटाको परिवारले उनलाई काठमाडौंँ उपत्यकाको एकमात्र विद्यालय दरवार स्कूलमा भर्ना गरिदिए। देवकोटाले आफ्नो पहिलो कविता यही स्कूलमा लेखे, र भनिन्छ, उनले आफ्ना कविता साथीहरू र गुरुहरूलाई सुनाउने गर्दथे। धेरै पटक साथीहरूले उनले त्यस्ता उत्कृष्ट कविताहरू लेख्दा छक्क पर्दथे, तर उनका शिक्षकहरू त्यस कलिलो प्रतिभाबाट निक्कै प्रभाबित थिए।

सन् १९२५मा देवकोटा त्रि-चन्द्र कलेजमा बिज्ञान बिषयमा भर्ना भए। बिज्ञानमा प्रमाणपत्र तहको अध्यन पुरा गरेपछि उनले मानविकी सङ्कायमा सरे। सन् १९२९मा उनले आफ्नो स्नातक तहको अध्यन पुरा गरे पछि सन् १९३१मा छात्रबृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पठ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी बिषयमा स्थान नपाएपछि उनले कानून पढे।

पारिवारिक जीवनी[सम्पादन गर्ने]

१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । विसं १९८५मा उनको पहिलो सन्तान छोरी सावित्री र १९८९मा जेठो छोरा प्रकाश जन्मिए । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म विसं १९९३मा भएको थियो । कानूनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नु पर्‍यो। दुई वर्ष भित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती बियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो । पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्क लाई समेत चोट पुर्‍यायो । उनले केही समय मानसिक संस्थामा पनि बिताए ।

दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (बि सं२०१५)मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि उनको मृत्यु भयो।

सान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए- "मृत्यु मेरो अगाडि छ । म आकासमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफुलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफु र आफ्ना बच्चाहरूलाई मार्नेथिएँ ।" जीबनभर, उनले भगवान् मानेनन् ।आर्यघाटमा उनले भने 'मैले आफ्नो जिन्दगी हरीनाम नजपेर ,नास्तिक भएर बिताएछु ,अब जान आँटीहाले !' अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कविता मार्फत यसरी व्यक्त गरे |

संसार रूपी सुख स्वर्गभित्र, रमें, रमाएँ लिई भित्र चित्र । सारा भयो त्यो मरूभूमि तुल्य, रातै परेझै अब बुझ्छु बल्ल ॥१॥

रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥

महामरूमा कणझैं म तातो, जलेर मर्दो बिनु आश लाटो । सुकी रहेको तरूझैं छु खाली, चिताग्नि तापी जल डाम्न फाली ॥३॥

संस्कार आफ्नो सब नै गुमाएँ, म शून्यमा शून्य सरी बिलाएँ । जन्मे म यो स्वर्ग विषे पलाएँ, आखिर मै खाक त्यसै बिलाएँ ॥४॥

[१]

कार्यजीवन[सम्पादन गर्ने]

देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसायोग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एक पटक नेपालको शिक्षा मन्त्री सम्म भएका थिए। यिनैक पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितिय प्रतिभा थियो। -- उनले शाकुन्तल महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे। उनले नेपाली साहित्यलाई नया उचाइमा पुर्‍याए. "मुनामदन,"प्रचलित लोक भाकामा लेखिएको कृति,ले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गर्‍यो। "पागल" उनको अर्को महान कृति हो। जुन कवितामा उनले आफुलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन् | [२]

जन्म[सम्पादन गर्ने]

महाकवि लक्ष्मी प्रसाद देवकोटा: विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाडौंको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा नाम राखिएको हो, यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ। उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो। तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो।

मृत्यु[सम्पादन गर्ने]

देवकोटाको मृत्यु वि. सं. २०१६ साल भदौ २९ गतेका दिन क्यान्सर रोगबाट भएको थियो। बि.ए. र बि.एल. उत्तीर्ण गरी अङ्ग्रेजी साहित्यमा एम ए सम्म अध्ययन गरेका महाकवि देवकोटाको आर्थिक स्थिति नराम्रो भएकाले ट्युशन पढाइ जीविका चलाउनु पर्दथ्यो। साहित्य, कला, भाषा, धर्म र दर्शनका मर्मज्ञ लक्ष्मी प्रसाद देवकोटा एक विशिष्ट साहित्यकार हुनुका साथै एक ठूला विद्वान पनि थिए। विद्वता र बहुमुखी प्रतिभाका धनी देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धारा ( रोमाण्टिक शैलीको )को सुत्रपात गरेको मानिन्छ। एकै दिनमा र एकै बसाइमा एउटा काव्य लेख्न सक्ने देवकोटाले १० दिनमा 'सुलोचना' महाकाव्य र र ३ महिनामा फूर्सदको समय मिलाई 'शाकुन्तल' महाकाव्यको रचना गरेका थिए। लक्ष्मी प्रसाद देवकोटाले काठमाण्डु स्थित त्री-चन्द्र कलेजमा प्राध्यापन गरेक थिए भने केही समय नेपाल सरकारको शिक्षा राज्यमन्त्री ( वि. सं. २०१४-१५) समेत भएर काम गरेका थिए। अनेकौँ कृति र विशिष्ट कोटिका साहित्य सिर्जना गरेका देवकोटाको , अपेक्षाकृत कम परिष्कृत झ्याउरे खण्डकाव्य 'मुनामदन' सबैभन्दा बढी चर्चित र प्रसिद्ध छ। सफल साहित्यकार मात्र नभएर, देवकोटा मानवीय करूणा, सहयोग, सद्‌भाव र ममताका खानी थिए भन्ने कुरा उनका बारेका चर्चा र किंवदन्तीहरू बताउँछन्। देवकोटा असाध्य बढी चुरोट पिउने गर्थे र उनको यही लत क्यान्सर र उनको मृत्युको कारण बन्न गएको कुरा अक्सर बताउने गरिन्छ।

देवकोटाका केही मुख्य कृतिहरू[सम्पादन गर्ने]

१. कविता संग्रह: पहाडी पुकार ( वि.सं. २००५),पुतली(वाल कविता), वि.सं. २००९) , भिखारी ( वि.सं. २०१०),सुनको विहान ( वि.सं.२०१०), छहरा (वि. सं २०१२), जन्मोत्सव र मुटुको थोपा ( वि.सं.२०१५), मृत्युशैयाबाट ( वि.सं.२०१६), चिल्ला पातहरू ( मृत्युपश्चात प्रकासित, वि.सं. २०२१) , गाईने गीतहरू (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४),मनोरञ्जन (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४), भावना गाङ्गेय (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४) , आकाश बोल्छ (मृत्युपश्चात प्रकासित, वि.सं. २०२५), छाँगासँग कुरा (मृत्युपश्चात प्रकासित, वि.सं. २०२६), लक्ष्मी कविता संग्रह ( मृत्युपश्चात प्रकासित, वि.सं. २०३३), लक्ष्मी गीत संग्रह ( मृत्युपश्चात प्रकासित, वि.सं. २०४०) हुन्।

२.खण्डकाव्य : मुनामदन ( प्रकासन वर्ष, वि.सं. १९९१) , राजकुमार प्रभाकर ( वि.सं. १९९७), कुञ्जिनी ( वि.सं. २००२), वसन्ती गीतीकाव्य( वि.सं. २००९), मैना ( वि.सं. २००९), सुन्दरी जर्पिना ( वि.सं. २००९), रावण जटायु युद्ध ( २०११) , म्हेन्दु ( २०१५), लुनी ( २०२३), सीताहरण ( २०२४), मायाविनि सर्सी ( २०२४), नवरस कोश काव्य ( २०२५), मैना ( पुन: सम्पादन २०३९)।

लक्ष्मीप्रसाद देवकोटाका कविताकृतिहरू
प्रकाशन मिति शीर्षक विधा
२००५ पहाडी पुकार कविता
२००९ पुतली कविता
२०१० भिखारी कविता
२०१० सुनको विहान कविता
२०१२ छहरा कविता
२०१५ जन्मोत्सव र मुटुको थोपा  ??
२०१६ मृत्युशैयाबाट कविता
२०२१ चिल्ला पातहरू  ??
२०२४ गाईने गीतहरू गीत
२०२४ मनोरञ्जन कविता
२०२४ भावना गाङ्गेय  ??
२०२४ आकाश बोल्छ  ??
२०२६ छाँगासँग कुरा  ??
२०३३ लक्ष्मी कविता संग्रह कविता
२०४० लक्ष्मी गीत संग्रह गीत

देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता संग्रहहरूमा 'भिखारी' कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा 'मुनामदन' खण्डकाव्यलाई र महाकाव्यहरूमा 'शाकुन्तल' महाकाव्यलाई प्रतिनिधिकृतिका रूपमा लिन सकिन्छ। उनको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा 'लक्ष्मी कविता संग्रह'लाई, काव्य-खण्डकाव्यहरूमा 'मायाविनी सर्सी' खण्डकाव्यलाई र महाकाव्यमा 'प्रमिथस' महाकाव्यलाई प्रतिनिधिकृति मान्न सकिन्छ। यसैगरी देवकोटाका बालकविताहरूका प्रतिनिधिकृतिका रूपमा उनका 'सुनको बिहान' र 'पुतली' बालकविता संग्रहलाई अघिसार्न सकिन्छ भने उनका हाँस्यव्यंग्य कविताहरूको प्रतिनिधित्व उनको 'मनोरञ्जन हाँस्यव्यंग्य कविता संग्रहले अनि गीति कविता वा गीतहरूको प्रतिनिधित्वचाहिँ उनको 'लक्ष्मी गीति संग्रह'ले गर्छ भन्न सकिन्छ। यस सन्दर्भमा देवकोटाका विशुद्ध प्रगतिवादी क्रान्तिकारी कविताहरूको प्रतिनिधित्व गर्ने 'पहाडी पुकार'लाई र उनको रोमान्टिक प्रगतिवादी क्रान्तिकारी गीति नाट्य 'कृषिबाला'लाई पनि हामी बिर्सन सक्दैनौं।

पागल कविता[सम्पादन गर्ने]

जरूर साथी म पागल !
यस्तै छ मेरो हाल।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई स्वाद लिन्छु।
आकाशभन्दा पातला कुरालाई छुन्छु।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, म वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल।
जरुर साथी।
मेरो एक नशा ढिलो छ।
यस्तै छ मेरो हाल ![३]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. श्रेष्ठ, स्वयम्भूलाल, भानु, महाकवि देवकोटा विशेषाङ्क (२०२५ फागुन),महाकवि देवकोटा : संक्षिप्त जीवनी र केही क्षण, भद्रपुर : भानु प्रकाशन
  2. नेपाली साहित्य श्रृङ्खला, भाग २, प्रा. डा. बासुदेव त्रिपाठी
  3. नेपाली कविता सङ्ग्रह

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. लक्ष्मीप्रसाद देवकोटाका रचनाहरू (मझेरी डट कममा)
  2. लक्ष्मीप्रसाद देवकोटाको स्वरमा केही कविताहरू, बी बी सीको कार्यक्रमबाट
  3. SpinyBabbler.orgमा देवकोटाको जीवनी
  4. लक्ष्मीप्रसाद देवकोटा: नेपालका सर्वोत्कृष्ट कवि
  5. मुना-मदन