ललितपुर घोषणापत्र, २०६८

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


ललितपुर घोषणापत्र, २०६८ नेपाली भाषाकर्मीहरूद्वारा जारी घोषणापत्र हो। नेपाली भाषाको प्रयोगमा रहेका भ्रम हरू हटाउने उद्देश्यले सबैलाई मान्य हुनेगरी मानक तयार गरेर त्यसैका आधारमा भाषा लेखन गर्ने उद्देश्यका साथ यो घोषणापत्र आएको हो।

घोषणापत्र जस्ताको तस्तै

ललितपुर घोषणापत्र, २०६८

(नेपाली भाषा प्रयोगकर्ताहरूको संकल्प, ललितपुर, २०६८ चैत ११)

भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, सर्वत्र प्रचलित शुद्ध-स्वाभाविक हिज्जेलाई जबरजस्ती परिवर्तन गर्न खोज्नु भाषामाथि अन्याय गर्नु हो। भइरहेको प्रचलन बिथोलेर सरलताका नाममा जटिलता र दुर्बोध्यता थप्ने यस्तो अनधिकार चेष्टाले भाषामा अव्यवस्था सृजना गर्दछ। परम्परागत लेखन प्रणालीमा एकमुष्ट हस्तक्षेप गरी बलपूर्वक लागू गर्न खोजिएका कतिपय अस्वाभाविक नियमले नेपाली भाषालाई संकुचित र कमजोर बनाउँदै लगेका छन्। प्रयोगकर्तालाई अन्योलग्रस्त बनाएको यो भुमरीबाट मुक्त हुन हामीले आफैं पहल गर्नुपर्ने भएको छ।

हिज्जेका समस्या विभिन्न प्रकृतिका छन्। मुख्य समस्या चाहिं लामो समयदेखि व्यापक चलनचल्तीमा रहेका शुद्ध शब्दहरूलाई तिनको हिज्जे बिगारेर विकृत बनाइनु नै हो। यस्ता शब्दहरूबाट श-ष हटाएर तिनको ठाउँमा पातलो स मात्र राख्ने, शुरू र बीचमा रहेको दीर्घ इकार-उकारलाई ह्रस्व बनाउने प्रचेष्टा कुनै पनि दृष्टिले उपयुक्त होइन। शब्दको रूपात्मक तथा ध्वन्यात्मक पक्ष र त्यसले पार्ने प्रभावप्रति देखिएको यो असंवेदनशीलताले भाषाको ओज र सौन्दर्यमा समेत नकारात्मक प्रभाव पार्दछ। संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै राखेर अन्य भाषाबाट त्यसैगरी आएका शब्दमाथि मात्र गरिएको यो लहडबाजीले नेपाली भाषालाई अनुदार एवम् छुवाछुतवादी छवि दिएको छ जो झन् आपत्तिजनक छ। यो समग्र प्रक्रियाप्रति हामी पूर्णतः असहमति व्यक्त गर्दछौं। साथै, विवादहीन तवरले प्रचलनमा रहँदै आएका अन्य शब्दहरूको समेत श-ष-स र ह्रस्व-दीर्घमा जबरजस्ती हेरफेर गरेर भाषामा अनावश्यक विवाद, अन्योल एवं अराजकता सिर्जना नगर्न सबैलाई आग्रह गर्दछौं।

यस पृष्ठभूमिमा, हिज्जे लगायतका विभिन्न समस्याबाट उन्मुक्ति दिलाएर नेपाली भाषालाई सहज-स्वाभाविक गतिमा अघि बढाउनुपर्ने बृहत्तर दायित्वको बोध गर्दै, प्रारम्भिक कदमका रूपमा, हामी नेपाली भाषाका निम्नलिखित प्रयोगकर्ताहरू यो संकल्प गर्दछौं :

  1. जुनसुकै भाषाबाट आएका भए पनि, लोकव्यवहारमा पचिसकेका ‘तत्सम’ शब्दको इकार-उकार, श-ष-स आदि नबिगारी जस्ताको तस्तै लेख्ने। जस्तै -
  1. परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्द यथावत् लेख्ने। जस्तै -
  1. नेपाली भइसकेका तत्सम शब्दमा प्रत्यय लगाउँदा मूल शब्दको ह्रस्व-दीर्घ, श-ष-स आदि जबर्जस्ती नबिगारी लेख्ने। जस्तै :
  • जोशिलो, विश्वासिलो, विदेशिनु, तुषारो, पोषिलो, वर्षेनि, पुष्ट्याइँ, दुष्ट्याइँ, प्रष्ट्याउनु, वर्षिनु, स्वीकार्नु, पूर्वी, पूर्वेली, एकवर्षे, दुईवर्षे आदि।

-२०६८ चैत ११गते शनिवार यलमाया केन्द्रमा सम्पन्न नेपाली भाषा प्रयोगकर्ताहरूको भेलाबाट पारित

(उपस्थिति करीब १३०, हस्ताक्षर- ६६)[१]

सन्दर्भ सामग्री

  1. हाम्रो नेपाली (ब्लग)