लिम्बुवान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इतिहास[सम्पादन गर्नुहोस्]

लिम्बुवान किराँत सभ्यतामा किराँत भूमिको राजनीतिक क्रान्तिले जन्माएको नाम हो। आजको लिम्बुवान भूमिलाई पहिले फेदाप भनिन्थ्यो। सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशीकै एक समुह अरुण नदी तरी फेदाप पहाडका जंगल उजाड गरी बसे। यस वंशका राजालाई येहाङ भन्थे। यिनको दरबारमा च्याम्जोलो नामक एक ज्ञानी मन्त्री थिए। यिनै मन्त्रीको सहायताले येहाङले फेदाप वरिपरिका गाउँहरू वालुङ, तम्बर, मेवा, मैवा, छथर, पान्थर र चौबीसमाथि आफ्नो अधिकार जमाए। विस्तारै उनले अरुण पश्चिमका किरात वंशी गाउँले राजाहरूलाई आफ्नो पकडमा राखेर शासन चलाए। येहाङ वंशी फेदापका अन्तिम राजा साम्युकहाङ राजा भए। यी राजाले आफ्नो रैयतहरूलाई अत्याचार गर्दा तराईबाट फिरेका किरात वंशीकै एक समुहहरूले विद्रोह गरे। सिक्किमबाट आएका किरात वंशीहरूले पनि जोरतोडले तराईका किरात वंशीहरूलाई मद्दत दिए। फेदापका राजा साम्युकहाङ विद्रोहमा मारिए, र, फेदापमा येहाङ वंशी हाङ (राजा)हरूको अन्त भयो। र इशाको ३०० वर्ष पछि फेदापमा याक्थुङहाङ नामक राजा भए। उनले लिबाङमा राजधानी बनाई शासन गरे। यो राजा पछि त्यहाँ १२ याक्थुङहाङ वंशी राजाहरूको क्रम प्रारम्भ भयो।

यसरी नै इशाको सातौँ शताब्दीतिर आइपुग्दा आठ आपुङगी याक्थुङहाङ(राजा)हरूले फेदापलाई विभिन्न आठ प्रान्तमा विभाजन गरी राज्य गरे। किरात वंशी भित्रकै ताइश्यान समुहहरू जो नाम्मावबाट उत्तरपश्चिम दिशा लागि बर्साई आउँथे, तिनीहरूले आफ्नो किपट पातकोई पहाड र चिन्डविन नदीको बीचमा खामति भन्ने जग्गामा बनाए। त्यहाँ तिनीहरूले धेरै पुस्तासम्म राज्य गरी बसे। इशाको छैटौँ शताब्दीपछि यही खामति भन्ने जग्गाबाट दश ताइश्यान सरदारहरूले आफ्नो शाखा-सन्तान उर्ठाई पातकोई पहाडतर्फ लागि आसाम बर्साईं आए। तर, यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (वनारस)को मैदानमा आई बसे। हिन्दुस्तानमा आई बस्ने मंगोली, शक् कुशान, ग्रीक राजाहरू राजनीतिक कारण हिन्दू भई राजपूत वंशमा गाभिएका थिए। राजपूत राजाहरूले हिन्दू मतमा नआउने हुण जातिलाई देशबाट निकालेका थिए। यसो हुँदा तिनीहरूलाई काशी छोड्नु कर लाग्यो। यिनीहरू उत्तरपूर्वका पहाडी खण्डमा बसाईं आए। ती दश ताइश्यान सरदारका साथमा तीन वर्गका पुजारीहरू पनि थिए।

जब यी दश ताइश्यान सरदारहरू आसाममा आए,त्यहाँको भूमि आफ्नै किरात वंशीहरूले ओगटेको पाए। यसकारण तिनीहरू लगातार पश्चिम तराई भूमिमा आए। त्यहाँबाट अझ पूर्व नेपालको पहाडी भूमिमा आए। तर,त्यो स्थान प्रमुख आठ याक्थुङहाङ (राजा)हरूको अधिकारमा थियो। उनीहरूले ती प्रमुख आठ याक्थुङहाङ सन्ततिको सार्वभौमिकतामा बसोबास गर्ने अनुमति माग गरे। आठ याक्थुङ राजाले पनि मागबमोजिम उनीहरूलाई आ-आफ्ना राज्यमा बस्न दिए। फेदापमा आफ्नै पाराले शासन गरिरहेका प्रमुख आठ याक्थुङहाङ (राजा)हरूले दश ताइश्यान सरदारहरू लाई आफ्नो सार्वभौमिकतामा बस्न दिएपछि फेदापको अर्को इतिहास सुरू भयो। ती दश ताइश्यान सरदारका संख्यामा तीब्र बृद्धि हुन थाल्यो। अन्तमा, यिनीहरू अर्कै एक नयाँ जाति भए, र यिनीहरूले आफूलाई लिम्बू बंश भन्न थाले। जे भएपनि, ती ताइश्यान सरदारहरूका सन्तान आठ याक्थुङहाङ राजाहरुमै गनिन्थे। तर, यो नौलो रैयतहरूका सन्तान औधी बढेको देखि ती आठ याक्थुङहाङ राजाहरूका मनमा राजनीतिक विद्रोहको शंका उत्पन्न हुन थाल्यो। यिनीहरूको जनसङ्ख्या बढेपछि अदलमा राख्न कठीन पर्छ भन्ने शंकाले ती आठ याक्थुङहाङ राजाहरूले सल्लाह गरी यी नौला रैयतहरूलाई हरेक तवरले दबाएर राख्ने उपाय गरे। पहिलो जमीनमा तिरो बर्ढाई दिए। दोस्रो, निष्ठुर ऐन लागू गरे। तेस्रो, तिनीहरूसित दासझैं व्यवहार गरे। यस्तो अन्याय सहन नसकी यी दश ताइश्यान सरदारहरूका रैयतहरूले पनि मतो गर्न थाले।

अब, तिनीहरूले पान्थरको आम्बेपोजो-मा कामकेत लाङ्मा र सुमहेत्लुङ्मा भन्ने फेदेन गढी स्थानमा सभाको आयोजना गरे। सो भेलामा गम्भीर छलफलपछि सामन्ती शासनको विरुद्धमा विद्रोह गर्ने निर्णय गरे। तिनीहरू संगठित भई तीनवटा आँपको विरुवा रोपी पूजा गर्दै पवित्र पानी सिञ्चन गरेपछि प्रत्येक योद्धाले कसम खाए, सपथ लिए कि म युद्धमा विजय हासिल गर्नेछु वा मर्नेछु, युद्ध भूमिबाट तबसम्म घरमा फिर्ने छैन जबसम्म यो देशबाट ती सामन्ती राजाहरूलाई धपाउने छैन। कतै युद्धभूमि छाडी भागेमा तुरुन्त मृत्यु होस् भन्दै प्रत्येक ब्यक्तिले त्यो पवित्र स्थलमा सपथ ग्रहण गरे। अन्त्यमा, आफ्नै निर्णय र वाचा अनुसार नै कतिलाई मारे त कतिलाई फेदाप राज्यबाट बाहिर भगाए। यसरी, ती ताइश्यान जनताले त्यो फेदाप राज्यलाई तिनीहरू आफ्नैजस्तो गरी जफत गरे। यसपछि, फेरि तिनीहरूले त्यही आम्बेपोजो-मा भन्ने ठाउँमै ठूलो सभा गरे। आठ याक्थुङहाङ राजाहरु मासिए। अब यो मुलुकको राजानेताको हुने? मुलुकको नाउँ के राख्ने भन्ने विषयमा व्यापक छलफल भयो। सभामा र्सवप्रथम, • त्यो देशलाई धनुवाणको सहायताले जितेको हुनाले पुरानो नाम याक्थुङ लाजे फेदापको नया नाम लिम्बुवान (लि- धनु, आबु-हान्ने, वान्- नाउँ लाउनु, अर्थात् लिम्बु भाषामा धनुवाणले जितिएको देश लिम्बुवान) राखे। • दोस्रो निर्णयानुसार, त्यो देश दश ताइश्यान सरदारले मिली जितेको हुनाले बराबर दश मागमा विभक्त गरी शासन गर्नु पर्छ भन्ने राय बसाए। • तेस्रो, लिम्वुवानका बासिन्दाहरूलाई त्यसउप्रान्त लिम्बु वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्याए। • चौँथो, देशको साँध सीमाना लगाउनु पर्छ भन्ने निश्चय गरे, र लिम्बुवानको सीमाना उत्तरमा तिब्बत, दक्षिणमा मधेश, पूर्वमा मेची खोला र पश्चिममा अरुण नदी निर्धारण गरे।

साथै, आ-आफ्ना राज्यमा शासन गर्न ४४ बुँदे राजनीतिक थिति संविधान, छ बुँदे धार्मिक नीति, १० बुँदे कृषि ऐन, र ४ बुँदे सामाजिक थितिसमेत तयार गरे। यी सबैलाई दश लिम्बुवानको थिति मानिन्छ। यसरी सुरू भएको लिम्बुवानको इतिहास अझै पनि जीवित रहेको छ ।

शाह र राणाका लिम्बुवानमा आक्रमणहरू[सम्पादन गर्नुहोस्]

वि.सं. १८२९ को साउन महिनामा गोरखाका राजा पृथ्वीनारायण शाहले किरात राज्यहरूको विरुद्ध आक्रमण गर्ने योजना बनाए। वि.सं.१८२९ मा वल्लो किरात र माझ किरात (खम्बुवान)लाई फत्ते गरे । वि.सं. १८३० मा गोर्खाली सेनाले लिम्बुवान माथि हमला गर्‍यो। यस युद्धमा मेवाखोलाका शिया, आक्पा र मुकुम्बाहरूको ज्यान गयो। वि.सं. १८३१ बैसाक २५ गते गोर्खाली सेनापति रघु राना र लिम्बु सेनापति काङसोरेबीच मल्ल युद्ध भयो। वीरताका साथ लडिरहेको काङसोरेको षडयन्त्रपूर्वक हत्या भयो। वि. सं.१८३१ साउन २२ गते गोर्खाली र लिम्बुवानी बीचमा ऐतिहासिक नन-पानी सन्धि भयो। वि.सं.१८३३ मा मोरङका राजा (राय) र बिजयपुरका देवान (सुब्बा) बुद्धिकर्ण राय खेवाङको हत्या भयो बुद्धिकर्ण लिम्बुवानको अन्तिम लिम्बु राजा (राय) हुन । वि.सं.१८३७ मा नेपाल र अङ्ग्रेजबीचको सुगौली सन्धि भयो। यसपछि लिम्बु तथा लेप्चा बसी आएको भू-भाग तीन भागमा विभाजित भई सिक्किम, लिम्बुवान र दार्जिलिङभयो। वि.सं.१८४३ सालमा, रणबहादुर शाहको पालादेखि लिम्बुवान राज्यमा तिरो लगाइयो। चन्द्रसम्शेरको पालामा लिम्बुहरूको मुन्धुम र धर्मग्रन्थहरू चैनपुरमा लगेर जलाईयो। वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरूको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा (राय) उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरूलाई आफ्नो कर्मचारी सरह बनाए।

वि.सं. १९५२ को माघ महिनामा ताप्लेजुङ हाङपाङका बाजहाङ आङबुहाङलाई राणा शासनको विरोध गरेकोमा फुङलिङ बजार नजिकपात्लेको रुखमा झुण्ड्याएर मारियो। वि.सं. २०१७ साल पुस १ गतेको फौजी कारवाहीले लिम्बुवानको ऐतिहासिक सीमालाई तहसनहस गरी कोशीमेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभाधनकुटामा विभाजन गरियो। यिनै क्षेत्रहरूलाई योभन्दा पहिले लिम्बुवान भनिन्थ्यो। वि.सं. २०२१ सालमा लिम्बुहरूको पूर्ण अधिकार भएको किपट व्यवस्थामाथि भूमिसुधार ऐन लागू गरियो। पछि सरकारले नापी गरी मालपोत लागू गरेपछि किपटको अस्तित्व सकियो।

विगतमा लिम्बूवानको अस्तित्व[सम्पादन गर्नुहोस्]

लिम्बु मातृभाषीहरू नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन्। तत्कालिन राजा महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पूर्णरूपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उल्लंघन गरिएको छ। र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरूप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो। सोही अवधिमा किरात धर्म तथा साहित्य उत्थान सङ्घ २०३६ सालमा स्थापना भई झिनोरूपमा भाषा, धर्म, साहित्यको कार्य सुरूवात भयो। राज्यले एकाधरूपमा राज्य संयन्त्रमा लिम्बु जातिको प्रतिनिधित्व गराए पनि लिम्बु जातिको पक्षमा कार्य गर्ने वातावरण उपलब्ध गराइएको छैन। २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात् संविधानमा व्याख्या गरिएको बहुजाति, बहुभाषी, बुहसांस्कृतिक नेपालमा सबै जातजातिको भाषा, धर्म, संस्कृतिको विकास कायमै राखी राष्ट्रिय एकतालाई अझ बलियो बनाउने अवसर प्रदान भयो।

लिम्बूवानमा लिम्बू जातिको योगदान[सम्पादन गर्नुहोस्]

बेगल मौलिक पहिचान र चिनारी भएको लिम्बु मुलबासी किरात समुदाय भित्र पर्ने जाति हो। मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालको पल्लो किरात वा अरुण नदी कोशी पूर्वको भू-भागमा बसोबास गर्दछन्। नेपालमा ५ लाख नौ हजार तीन सय ८९ जनसङ्ख्या भएको यो जाति भारतबेलायत, हङकङ, ब्रुनाई, सिंगापुर लगायत विभिन्न ठाउँहरूमा छरिएर रहेका छन्। आफ्नै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक स्वरूप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्। अरुण नदी कोशी पूर्व रहेका किरातीहरूमध्ये लिम्बु जातिहरूमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचना रहन गएको हो। उनीहरूमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनीतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो। जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशाली रूपमा रहेको थियो। विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरूलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ। तमर खोला, माइ खोला, मेवा खोला, याङरूप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथर जस्ता थुमहरूले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरूमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान सङ्घीय प्रणाली अनुरूप सञ्चालन भएको पाइन्छ।

लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनीतिक अवस्था कमजोर हुन पुग्यो। भनिन्छ, भोटबाट आउने लामाहरूले किराती पुरुषहरूलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरूले आफ्ना पुरुषहरूलाई लुकाएर बचाएका हुन्। लामाहरूको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ। त्यस्तै, सिक्किमका लाप्चाहरूले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ। तथापि, समय समयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरू भएका थिए। त्यसताका वस्तु विनिमय प्रणाली थियो। लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरू हुन्थे।

लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो। मुन्धुम मुख्य स्रोत वा अलिखित कानुन सरह थियो। यसलाई येत्हाङहरूले समय समयमा परिभाषित गरेको अनुमान छ। येत्हाङहरूको थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरू हुन्। सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरूको निर्णयमा आधारित हुन्थ्यो। यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो।

इशाको एघारौँ शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरू बन्न थाले। चौधौँ शताब्दीमा मल्लहरूले काठमाडौँ कब्जा गरे। यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दु दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राह्मण, क्षेत्री, वैश्यशुद्र गरी चार जातमा विभाजन गरे। चौधौँ शताब्दीमा भारतमा ईश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरू नेपालको पश्चिम कर्णाली इलाकाहरूमा खसहरूसँग शरण लिई लुक्न थाले। त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाडौँ उपत्यकाको शासक भए पश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरूको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे। कतिपय थुमहरूले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्‍यो। यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो।

लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए। रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए। अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरू बिनाहतियार उपस्थित भए। तर, तत्कालै गोरखा सेनाहरूले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो। र, पुनः भीषण युद्ध भयो। यसरी, विभिन्न कारणवश वि.सं. १७७४मा लिम्बुवान नेपालमा गाभियो। त्यसताका हिन्दुकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणाली अन्तर्गत सम्झौता भएको थियो। जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो। उनीहरूले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो। न्यूनरूपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो। तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरू चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरूवात भयो। विभिन्न प्रलोभनहरू देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो। जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरूले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरूवात भयो।

यसरी धेरै लिम्बुहरू सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए। लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो। त्यहीबेला पाचथरका ५२ सुब्बाहरू योङहाङ सुब्बाको नेतृत्वमा काठमाडौँ आई राजा रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे। रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शङ्ख, नरसिंगा मौलो थापी दशैको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए। यो पहिलो पटकको सांस्कृतिक अतिक्रमण थियो। दशैको कर पनि असुल्न थालियो। मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो। वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमान जनकरूपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइए पश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरीन थालियो। धनकुटाका आठपहरियाहरूले दशै नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ आठपहरिया र दीक्षमा आठपहरिया मारिए।

२००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङरामप्रसाद राई जस्ता जनसेनानीहरूले क्रान्तिको अगुवाई गरेका थिए। तर, उनीहरूलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो। राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको प्रश्न गम्भीर अपराध सरह थियो। तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरू भएका छन्। इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्य प्रतिको योगदान, लिम्बुवान सुधार सङ्घ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचार प्रसार र सम्बर्दन सम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ।

लिम्बूवानको सीमा सम्बन्धी अवधारणा[सम्पादन गर्नुहोस्]

१) लिम्वुवानको पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण नदी हुदै सप्तकोशी, उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरू :-
१) ताप्लेजुङ
२) पाँचथर
३) इलाम
४) झापा
५) संखुवासभा
६) तेह्रथुम
७) धनकुटा
८) सुनसरी
९) मोरङ
यी क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य हो।

लिम्बुवान् जातीय गीत[सम्पादन गर्नुहोस्]

डी.वी. पालुङवा

समृद्व र अनेकताले सजिएको लिम्बुवान्

सार्वभौम र अखण्डताले फैलिएको लिम्बुवान्

जात जाती भाषा लिपी धर्म जोगाई राखेर

फक्ताङलङमा शिरमा राखि धर्तिलाई चुमेर

उचालौं हरेक पुस्ताले यो सिङगो लिम्बुवान्

खोसेर खोसिन्न लुटेर लुटिन्न यो ऐश्वर्य

यो धर्ति रही रहन्छ रहे सम्म चन्द्र सूर्य

संप्रभूत्ता स्वायत्त राज्य जय जय लिम्बुवान्

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]