लेखनाथ पौड्याल
| चित्र:लेखनाथ पौड्याल.jpg कवि शिरोमणि लेखनाथ पौड्याल |
|
| उपनाम: | कवि शिरोमणी |
|---|---|
| जन्म: | १९४१ साल पुस महिनाको पौष शुक्ल एकादशीका दिन। गण्डकी अञ्चल,पोखरा कास्की जिल्लाको अर्घौँ-अर्चलेमा |
| मृत्यु: | वि. सं. २०२२ शिवरात्री ,देवघाट, चितवन |
| कार्यक्षेत्र: | अध्यापन, लेखन |
| राष्ट्रियता: | नेपाली |
| भाषा: | नेपाली |
| काल: | साहित्य लेखन |
| विधा: | काव्य/नाटक, कविता , अन्यः |
| पहिलो कृति: | ऋतु विचार |
ठेगाना - निवास - १५र१०२ ठमेल, काठमाडौं, फोन ४१२२७४
मौलिक कृतिः - १)ऋतु विचार- १९७३ -२) वुद्धिविनोद - १९७३ -३) सत्यकलि संवाद - १९७६ -४) सत्यस्मृति - २००९ ५) मेरो राम - २०११ -६) त्याग र उदयको सन्देश - २००१ -७) गीताञ्जली - १९८६ ८) तरुण तपसी -२०१० - काव्य -९) लक्ष्मीपूजा - १९९४ १०) लालित्य - कविता संग्रह-भाग १-२०१० र भाग २-२०२५ -गीतासागर - श्रीमद्भगवत गीताको भावसार
सम्पादित, अनूदित र फुटकर कृतिः - १) अभिज्ञान शाकुन्तल-२०१५ अनुवाद २) विभिन्न पत्र-पत्रिकामा कविता, लेख, प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक- १) वि.सं. २०२६मा "त्रिभुवन प्रज्ञा पुरस्कार" २) वि.सं. २०२८मा श्री ५ त्रिभुवनबाट कवि शिरोमणि "उपाधि प्रदान ३) वि.सं. २०११ रथयात्रा गरिएको
आजभन्दा एकसय चौबीस वर्षअघि अर्थात् १९४१ साल पुस महिनाको पौस शुक्ल एकादशीका दिन लेखनाथ पौड्यालको जन्म भएको थियो। यिनको बुबाको नाम दुर्गादत्त पौड्याल र आमाको नाम बसुन्धरा पौड्याल हो। गण्डकी अञ्चल, कास्की जिल्लाको अर्घौँ-अर्चलेमा जन्म लिएका यिनी आफ्ना आमाबुबाको जेठो छोरो थिए।
त्यसबेलाको परम्पराअनुसार पाँच वर्षको उमेर पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो। उनले सुरुमा घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए।उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए। वास्तवमा त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा आफूलाई पुर्याएका थिए।
दस वर्षको उमेरसम्ममा उनले आफ्नो गाउँमा नै संस्कृतको प्रारम्भिक शिक्षा ग्रहण गरे। जब १५ वर्षको भए त्यसपछि आफ्नो अध्ययन अघि बढाउन उनी काठमाडौं आए काठमाडौंमा आएपछि केही समय तीनधारास्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृत पढे। यहाँ बस्दा नै उनमा कविता सिर्जनाप्रति विशेष चाख जागृत हुँदै गयो। यसप्रति नै उनले आफूलाई अग्रसर तुल्याउँदै लगे।त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए, तर उनी फेल भए। त्यसपछि उनले पढ्ने कामबाट मन झिके। यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनी पण्डितलाई पनि जित्ने भए। उनको ज्ञानका कारण बनारसबाट प्रकाशित 'सूक्तिसूधा' र 'कविताकल्पद्रुम'मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए। साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे। पौड्याल पठनपाठनमा नभएकाले बरालिन पनि थाले। त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुर पुगे। त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिंदै भारतको आसामतिर लागे। त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो। घटराज भट्टराईका अनुसार त्यसैताका "हलन्त बहिष्कार अभियानमा आचार्य र पौडयालको सहमति बन्यो। पछि राममणि राणाका दरबार घुस्रेपछि पौडयाल उनलाई पछयाउँदै काठमाडौँ आए। तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररी टेक्ने ठाउँ भेटेनन्। पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागीर पाए। राणाका सन्तान पढाउन थालेपछि पौड्यालको बिहानबेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो। त्यही समय उनले आफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए। उनको कविता पढेर नै भीमशमशेरले उनलाई हजुरिया बनाए। तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमा बल्लबल्ल लागेको घाम पनि अस्तायो।
उनी बनारसबाट नेपाल आएपछि नेपाली भाषामा कविता सिर्जना गर्ने क्रम तीव्र रूपमा अघि बढ्न थाल्यो। यसैबीच १९६१ सालमा उनकी धर्मपत्नीको निधन भयो। उनीमाथि अर्को पीडा थपिन पुग्यो। वि.सं. १९६१ देखि १९७२ सम्म विभिन्न किसिमका विरह, वेदना, छटपटी, अभाव, वैराग्य आदिले उनलाई नराम्ररी गाँजेको थियो। यस अवस्थामा अत्यन्त विरक्त भएर उनी छप्कीवास र मुग्लानसम्म पनि पुगे। यसैबीच १९७२ सालमा उनको भेट स्वर्गद्वारी महाप्रभुसँग हुन गयो। लेखनाथ जोगी बन्ने मनशायले त्यहाँ पुगेका थिए। स्वर्गद्वारी महाप्रभुले उनलाई हरेक तरहले सम्झाए। उनको मार्गदर्शनबाट उनले जोगी बन्ने मनशाय चटक्कै छाडिदिए। आफूलाई कर्मशील तुल्याउनुपर्ने आवश्यकता बुझे। उनको जीवनपद्धतिमा ठूलो परिवर्तन देखा पर्न थाल्यो। यसैबीच उनले सत्यदेवीसँग विवाह पनि गरे।
कवि शिरोमणि लेखनाथ पौड्यालको कवितायात्राको प्रारम्भ वि.सं. १९६१ सालमा प्रकाशित 'कविता कल्पद्रुम'मा सङ्गृहीत उनका दुई कविताबाट भएको पाइन्छ। १९६९मा प्रकाशित 'लालित्य' भित्र सङ्गृहीत कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान गर्यो। यसपछि १९७०मा प्रकाशित उनको 'शोक प्रवाह' शीर्षकको शोक काव्य, १९७३मा प्रकाशित 'ऋतु विचार' खण्डकाव्य र १९७३मा नै प्रकाशित 'बुद्धि विनोद' शीर्षकको अर्को खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो। नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन बढ्दै जान थाल्यो। उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक मानिन थाले।
यसैबीच १९७६ साल जेठ २६ गते उनका बुबा दुर्गादत्त पौड्यालको निधन हुनपुग्यो। यसले उनको सम्हालिँदै गएको मनलाई फेरि अर्को झड्का दियो। उनले आफूलाई आफैँले बुझाए। यसै साल अर्थात् वि.सं. १९७६ सालमा नै उनको 'सत्य-कलि संवाद' शीर्षकको अर्को कृति प्रकाशित हुनपुग्यो। यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो। साहित्य सिर्जनामा नै उनी निमग्न हुनथाले। उनले अनेकौँ फुटकर कविताहरू रचना गरे। पुस्तकहरू लेखे। यसमध्ये 'पिजराको सुगा', 'कालमहिमा', 'सत्य-सन्देश', 'जीवन-चङ्गा', 'गौँथलीको चिरिबिरि' आदि कविता अविस्मरणीय बनेका छन्। त्यस्तै उनको प्रकाशित कृतिमध्ये 'गीताञ्जली' -१९८६), लक्ष्मीपूजा -नाटक-१९९४), 'त्याग र उदयको युगल प्रकाशन' -स्तुतिकाव्य-२००२,) 'अमर ज्योतिको सत्य स्मृति', -शोक काव्य-२००८), तरुण तपसी -नव्य काव्य -२०१०), 'मेरो राम' -खण्डकाव्य-२०११), अभिज्ञान शाकुन्तल-नाटक-२०१५), 'भतर्हरि निर्वेद' -नाटक-२०२०) र 'गङ्गा गौरी' महाकाव्य आदि अमर र अमूल्य कृति मानिन्छन्।राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो। राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपथ्र्यो। त्यसैले पौड्यालले जति लेखे धेरै लेखे। यसै प्रसङ्गमा उनी आफै भन्थे "मेरो समयमा त म एक्लो जस्तै थिएँ। त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो। तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !"
२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रूपियाँ आजीवन भत्ता प्रदान गरेका थिए।लेखनाथ पौड्यालले 'कविशिरोमणि'को पद पाएपछि उनले र्सवप्रथम आफ्ना गुरु दधिराम मरासिनीलाई एउटा चिठी लेखे मेरा पूज्य गुरु ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु।वि सं २०११ सालमा नेपाली शिक्षा परिषद्को आयोजनामा, पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा, उनलाई रथमा राखेर उनको शोभायात्रासहित नागरिक, अभिनन्दन गरिएको थियो।यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए। त्यस दिन पौडयालका हातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रूपियाँको थैली पनि राखिएको थियो। त्यस घटनाको खुशियालीमा पौड्याल रोएका थिए। पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तम कुँवरले लेखेका छन् "२०११ पुस २० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दै ठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए। शिरोमणिका आँखामा आँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए। नेपालको निम्ति मात्र होइन सारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो।"
पौडयालका मनपर्ने लेखक कालिदास थिए। उनका मनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए। साथै नेपाली भाषासाहित्यमा पौड्यालका मन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए। लेखनाथलाई सबैभन्दा पहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए। वास्तवमा पौड्याल आधुनिक नेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए।कवि शिरोमणि लेखनाथले त्यसबेलाको गोरखा भाषा प्रकाशिनी समिति र नेपाल साहित्य परिषद् (आहिलेको प्रज्ञा प्रतिष्ठान)को सदस्यको रूपमा पनि आफ्नो सेवा अर्पण गरेका थिए।महाकवि देवकोटाका जोडले पौडयाल नेपाल एकेडेमीको पनि सदस्य भए। एकेडेमीमा पौडयाललाई नपढेको भनेर पढ्दै नपढेका राजा महेन्द्रले ल्याउन खोजेका थिएनन भन्ने भनाई छ; तर देवकोटाले राजालाई सन्देश पठाए "ती ऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन। त्यसपछि पौडयाल पनि सदस्यमा मनोनीत भए| त्यस्तो संबन्ध रहेकोले , देवकोटाको अन्तिम स्थितिमा उनले "बरु कालले मलाइ लगेर तिमि लाई छोडेको भए नेपाली साहित्य लाई धेरै सेवा पुग्ने थियो" भनेका थिए|
२०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे। २०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे। तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे। अनि उनले भने "अब म मर्छु। म मर्न मेरै देशमा र्फकन्छु। त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्याइयो।अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते ८२ वर्षको उमेरमा चितवनको भरतपुरस्थित देवघाटमा कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए। भनिन्छ यो समाचार सुन्नेवित्तिकै नाट्यसम्राट् बालकृष्ण सम रोए। उनलाई मरणोपरान्त वि सं २०२६मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मान गरेको छ। उनको स्मृतिमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ।
उनले आफू बाँचुञ्जेल साहित्यका माध्यमबाट सभ्य, समुन्नत र सुसंस्कृत नेपाली समाजको स्थापना र विकासका लागि आवश्यक चेतना प्रवाहित गर्ने अत्यन्त महत्वपूर्ण कार्य गरेका छन्। यसकै कारण उनका कविता र कृतिहरू कालजयी बनेका छन्। आफूभित्र कहिल्यै पनि हीन भावना पैदा हुन नदिई प्रत्येकले आत्मसंयम राख्दै आफूलाई सहनशील, जिम्मेवार र प्रतिभावान् नागरिकका रूपमा उभ्याउन सक्नुपर्ने सन्देश हामीलाई उनको जीवनीले दिएको छ। हामी सबैले उनको जीवनीबाट आफूभित्र यही प्रेरणाको सञ्चार गराउनु आवश्यक पनि छ।
कालमहिमा
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो।१।
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो।२।
आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो।३।
जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो,
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो।४।
दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा
जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो
ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ
सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रङ्ग !
सत्यसन्देश
कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो।
कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।
दोषी माता पिताका बचन गुरुजनादेश नि:शेष दोषी
सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी।
पत्नीको प्रेम दोषी अमृतमय मीठा बेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी बिधिवश छ भने आफ्नो दृष्टि दोषी।।
थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो
भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो।
फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो
तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।।
भर्दाभर्दै हजारौँ बिषय-सुख-घडा देह लम्तन्न पर्दा
झर्दा सम्पूर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा्
सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिरदामा साथ जाने कुन-कुन चीज हुन्? सम्झ ती काम गर्दा।।
जस्तो मानी धनीका नगिच हर घडी तृपत जोडेर हात
छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रता साथ बात।
दु:खीका साथ उस्तै बिनयसित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरि ब्रत, जप, तपले स्वर्गको मोल तोल।।
मत्ता हात्ती हलुङ्गो, बितत जलधिका ह्वेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो
यो व्रह्माणडै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो।