लौठसल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लौठसल्ला
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
भाग: Pinophyta
वर्ग: Pinopsida
गण: Pinales
कुल: Taxaceae
वंश: Taxus
प्रजाति: T. wallichiana
द्विपद नाम
Taxus wallichiana
Zucc.
पर्याय

Taxus baccata subsp. wallichiana

वैज्ञानिक नाम Taxus wallichiana Zucc.ले चिनिने लौठसल्ला Taxaceae परिवार भित्रको Taxus Genusको यो एक मात्र प्रजाति हो। यस वनस्पतिको नेपाली नाम लौठसल्ला भएपनि विभिन्न स्थान अनुसार लोठसल्ला, ढ्याङ्ग्रेसल्ला, बर्मेसल्ला, रातोकाठ वा सिलिङ्गी (मनाङ), थुनेर वा तालिसपत्र (जुम्ला/हुम्ला), किसिम वा झिमिरसीन (मुस्ताङ/पर्वत), पाटेसल्ला(काभ्रेपलान्चोक), सिङ्गे वा झाँक्रिसल्ला, ठिङ्ग्रेसल्ला आदि नामले पनि चिनिन्छ। लौठसल्लाको तिव्तीय नाम सान्गा सींग हो भने यसलाई नेपाल भाषामा ल-स्वाँ, संस्कृतमा मधुपर्नी वा तालिस र अङ्ग्रेजीमा Himalayan Yew भनेर चिनिन्छ।


वनस्पति परिचय[सम्पादन गर्ने]

लोठसल्ला लगभग ३० मीटर सम्म अग्लो हुने, फैलिएको हाँगा विँगा भएको सदावहार कोणधारी वनस्पति हो। यसको पात मसिनो, लाम्चो,चेप्टो र वीचमा एउटा नशा भएको, २ देखि ३.५ सेमी लामो र ३ मी . मी चौडा भएका हुन्छन्। यसका पातहरू हाँगामा घुमाउरो हुँदै निस्कीएका हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र चिल्लो हुन्छ भने तल्लो सतह केही हल्का हरियो हुन्छ। यसका भाले फूलहरू घीउ रंगका, गोला , साना , डाँठ भएका पात र डाँठको छेउबाट निस्किएका हुन्छन्। यसको फल अलग्गै हुन्छ। फल काँचोमा हरिया र पाके पछि राता हुन्छन्। बाहिरी भाग गुदी जस्तो हुन्छ जसले बीउलाई आधा भन्दा बढी भाग छोपेको हुन्छ। यो काश्मीरदेखि वर्मा सम्म फैलिएको पाइन्छ र नेपालमा यो पूर्व देखि पश्चिम सम्म १८००–३००० मीटर उचाई सम्मका जंगलहरूमा फैलिएको पाइन्छ। खासगरि गोब्रे सल्लो सँग मिसिएर हुर्केको भेटिन्छ।

विगत दुई दशक देखि यो विरुवाले नेपालमा निकै चर्चा पाएको छ। खासगरि छाती र पाठेघरको क्यान्सरमा यसको उपयोगिता प्रमाणित भएपछि नेपालबाट यसको व्यापार तिव्र गतिमा हुन थाल्यो , जसको फलस्वरूप यसको अत्याधिक संकलन हुन गई सरकारले यसको व्यापारमा प्रतिबन्ध समेत लगाउने अवस्था पुग्यो। हाल यसको संकलन गर्न वातावरणी प्रभाव अध्ययन गरेर मात्र ईजाजत दिने गरिन्छ। संकलन पश्चात् प्रशोधन नगरी विदेश निकासी गर्न समेत प्रतिबन्ध लगाइएको छ। यसबाट निस्कने अन्तिम उत्पादन टेक्सोल (taxol) नै क्यान्सर रोग निको पार्नमा सहयोग पुर्याउने रासायनिक तत्व हो।

खेती विधि[सम्पादन गर्ने]

यस प्रजातिको प्रसारण बीउ र हांगाको कटिङ्ग दुवैवाट गर्न सकिन्छ। लौठ सल्लाको बीउद्वारा विरुवा उमार्ने कार्य अत्यन्तै कठिन तथा करिव २ वर्ष जति समय लाग्ने, उचाईमा भर पर्ने गरी ९६-२०८ हप्ता लाग्दछ। चरा बाँदर तथा अन्य जंगली जनावरहरूले एक त यसको बीउ परिपक्व हुनु भन्दा अगाडि नै खाई नोक्सान गर्ने गर्दछन् भने अर्का तर्फ बीउको अंकुरण क्षमता ८ प्रतिशत भन्दा कम नै हुने गरेको पाइन्छ। बीउबाट उम्रिएका विरुवा अत्यन्तै ढिलो वढ्ने हुँदा हालको मांगलाई पूर्ति गर्न सक्ने स्थिति देखिदैन। यस परिस्थितिमा लौठ सल्लाको संख्या बृद्धि गर्ने कार्य वीउको सट्टा वानस्पतिक प्रसारण (Vegetative Propagation)बाट मात्र संभव देखिन्छ।

बीउ संकलन

लौठ सल्लाको भाले र पोथी वोट छुट्टा छुट्टै हुने र यसको फलको वरिपरि रहने रातो रङ्गको एक मात्र खाद्य वस्तु (Aril) चराहरू द्वारा खाइने हुँदा यसको विउवाट विरुवा उत्पादन गर्न निकै कठिन हुन्छ। राम्रो स्वस्थ्य जवान रुखवाट राम्ररी पाकेको फल संकलन गरी पानी भएको एउटा भाँडोमा राख्ने र फलको चिल्लोपना भएको गुदी (Pulp) नहटुन्जेल मज्जाले मुछ्ने,माड्ने र फेरी पानी सहितको अर्को भाँडोमा फललाई राख्ने तथा चिल्लोपना नहटुन्जेल यसै क्रमले सफा गर्दै जाने एवं सफा भई सकेको फललाई सफा भाँडोमा राखी छहारीमा सुकाउने र कपडामा पोको पारी चिसो ठाउँमा भण्डार गरेर राख्ने। शीत भण्डारमा टिनमा प्याक गरी धेरै वर्षका लागि यसको विउ सञ्चय गरी राख्न सकिन्छ। बीउलाई छर्नु अघि जाडो महिना भरी वालुवा माथि चिसो ठाउँमा फिजाएर (Stratification) राख्नु पर्दछ।

विरुवा तयार गर्ने तरिका

हुन त यसको बिउबाट पनि वेर्नाहरू तयार गर्न सकिन्छ ता पनि बिउ उम्रन निकै समय र श्रम लाग्ने भएकालै यसको विरुवाहरू कटिङ्गबाटै उत्पादन गर्ने गरिन्छ। यसको एक वर्ष वा सोभन्दा पुराना हाँगाहरूबाट कटिङ्ग राख्ने गरिन्छ। धेरै मोटा हाँगा भएमा पनि त्यति राम्रो जरा आउदैन , त्यसकारण १ देखि ३ वर्ष पूराना हाँगाहरूबाट कटिङ्ग राख्नु उपयुक्त हुन्छ। हिँउदे याममा विरुवा पलाउनू भन्दा अघि वा वर्षा याममा कटिङ्ग राख्न सकिन्छ। खासगरि माटोमा भन्दा वालुवामा राम्ररी जरा दिइएको पाइएको छ। करीब १५ से. मी . लामा हाँगाहरूलाई फेद र टुप्पोतिर छड्के पारेर काटी पानीमा डुवाई राख्ने र वालुवा बढी भएको व्याडमा ४५०को कोण गरी छड्के पारेर गाडिन्छ। सकभर छायाँ दिनु पर्छ। हिँउदे यामको कटिङ्गबाट अलि ढिलो जरा आउँछ भने वर्षे यामको कटिङ्गबाट ३÷४ हप्ता भित्रमा जरा निस्कन शुरु गर्दछ। जरा आइसकेका कलमीहरूलाई पोलीव्यागमा सारेर छायाँमा राख्ने गरिन्छ। यसरी उत्पादित वेर्नाहरू १ वर्षसम्म नर्सरी मै राखिन्छन् र अर्को वर्षा याममा जमीनमा सार्ने गरिन्छ।

फिल्डमा सार्नै

यसरी उत्पादित वेर्नाहरूलाई फिल्डमा सार्नको लागि फिल्डको तयारी गर्नुपर्दछ। यसलाई चिया वगानको जस्तो झाडीको रूपमा विकास गरेर खेती गर्न सकिने कुरा ज्ञात भएको छ। पहिला जमीनलाई खनजोत गरी राम्रोसँग मल राखेर जमीनको तयारी गर्नु पर्दछ। विरुवा लगाउँदा विरुवादेखि विरुवाको फरक एक /एक् मीटरको र लहर देखि लहरको फरक १.५ मीटर गरेर लगाउँदा विरुवा राम्ररी फस्टाउँछ।

काँटछाँट

विरुवाहरू एक वर्षका भएपछि यिनीहरूलाई काँटछाँट गर्नुपर्दछ। यसो गर्दा विरुवामा धेरै हाँगा निस्कन्छन्। यसरी प्रत्येक वर्ष छाँट्दै जाँदा करीब ४ वर्ष पछि विरुवाहरूबाट पातहरू /डाँठहरूको उत्पादन लिन सकिन्छ। प्रत्येक वर्ष गाइवस्तुको मल थप्दै जाँदा विरुवाहरू राम्ररी हुर्कन्छन्।

बाली संकलन[सम्पादन गर्ने]

हालसम्म व्यवसायिक खेतीको प्रचलन नभइसकेकोले वार्षिक उत्पादनको आँकडा उपलब्ध छैन। चिया वगानको रूपमा विकास गरी वर्षको दुई पटक हाँगाहरू काँट छाँट गरी बाली भित्र्याउन सकिन्छ।

उपयोगिता[सम्पादन गर्ने]

यसको वोटमा हुने अति कडा विषको कारण यसको काठलाई धमिरा तथा सुक्ष्म जिवाणुले विगार्न नसक्ने भएको हुँदा खहरे माथी साँघु हाल्न तथा ढिङ्ग्रो बनाउन पनि यसको काठको प्रयोग गरिन्छ। बेलायतमा लौठ सल्लाको थामलाई फलाम भन्दा बलियो मनिन्छ। Taxus overlasts an iron pole भन्ने भनाई नै छ। पश्चिमी मुलुकहरूमा यस प्रजातीलाई बगैंचा, पार्क तथा चिहान क्षेत्र (Cemetry)मा छाँयाँदार वृक्षको रूपमा लगाइन्छ। नेपालको हिमाली क्षेत्रमा यस प्रजातीका विभिन्न अंगहरूवाट विभिन्न रोगको उपचार पनि परम्परागत रूपमा गरिदैं आएको छ। रातो मछिन्द्रनाथको रथ वनाउन परम्परागत रूपमा लौठसल्लाको पात र हाँगाको प्रयोग गरिदै आएको छ। यसको काठ ज्यादै नै लचिलो हुने हुँदा यसबाट धनुष बनाउने गरिन्थ्यो। यस विरुवाको महत्व तव अत्याधिक मात्रामा बढ्यो जव यसमा विभिन्न प्रकारका अर्वुद रोग (Cancer) निको पार्ने दुर्लभ रसायन रहेको पुष्टि भयो। सन् १९६४मा संयुक्त राज्य अमेरिकामा ४० हजार विरुवाहरूमा गरिएको परिक्षणवाट त्यहाँ पाइनेTaxus brevifolia प्रजातीको वोटको वोक्रावाट प्राप्त एक क्षारिय पदार्थमा Tumor निको पार्ने गुण रहेको कुरा अनुसन्धानकर्ता द्वय M.C.Wanl र Monroe Wallले पत्ता लगाएका थिए। त्यस जटिल रसायनको नाम Taxol राखियो। आज सम्म भएका परिक्षणहरूवाट यो रसायन पाठेघर स्तन छाला फोक्सो र आन्द्राको अर्वुद रोगका प्रारम्भिक अवस्था (Tumor Stage) निको पार्न सफल देखिएको छ। Taxolको अत्याधिक माँगको पुर्ति लौठसल्लाको बोक्रावाट मात्र सम्भव नहुने हुँदा त्यसको पातवाट पनि Taxol निकाल्न अनुसन्धान गर्न थालियो। यसै शिलशिलामा भारतको आयुर्वेदिक औषधि कम्पनी डावरले पनि हिमाली भेगमा पाइने लौठ सल्लाको पातवाट Taxol निकाल्न सफल भयो र उत्पादन समेत गर्न थाल्यो। नेपालमा पनि डावर नेपाल प्रा लिले लौठ सल्लाको पातवाट मध्यस्थ रसायन (Taxin Resin) प्रशोधन गर्न थालेको छ। Taxolबाट अर्बुद रोगको उपचार सन् १९९२ वाट थालिए पनि नेपालमा भने सन् १९९५ वाट मात्र यसको प्रयोग हुन थालेको छ। लौठ सल्लाको महत्व वारे विश्वका केही विकसित देशहरूले विगतका केही दशक देखि अनुसन्धान गर्दै आएता पनि सन् १९९०को दशकवाट मात्र वैज्ञानिकहरूले यस वनस्पतिको वोक्रा तथा पातहरूवाट तयार पारिएको Taxol नामक Resin पदार्थ अर्बुद रोग नियन्त्रणको लागि अति नै उपयोगी हुने कुरा पत्ता लगाएका थिए। उनीहरूको भनाई अनुसार २-३ वटा वयस्क रुखहरूवाट १ ग्राम अर्बुद रोगको उपचारको लागि औषधि उत्पादन हुन सक्ने र एउटा बिरामीको लागि ४-५ वटा सम्म त्यस्ता रुखहरूको आवश्यकता पर्ने वताएका छन्। यसको पात क्षारीय(Alkaloid) गुण भएको हुन्छ जसलाई Taxol भनिन्छ र यो अर्बुद रोगको उपचारको लागि प्रयोग गरिन्छ। एउटा अर्बुद रोगको विरामीलाई २ ग्राम शुद्ध Taxol आवश्यक पर्ने कुरा वैज्ञानिकहरूले ब्आताउँछन्। १ ग्राम शुद्ध Taxolलाई अन्तराष्ट्रिय बजारमा ४ अमेरिकी डलर जति मुल्य पर्दछ र हाल सम्म विश्वमा लौठ सल्ला नै Taxolको प्रमुख श्रोत हो। विश्वमा वर्षेनी अर्बुद रोगका विरामीहरू लाखौंको संख्यामा बृद्धि तथा तिनको मृत्यु हुने गरेवाट यस वनस्पतिको वैज्ञानिक व्यवस्थापन गरी औषाधि उत्पादन गर्न सकेमा एकातर्फ विरामीहरूको प्राण रक्षा गर्न सक्ने देखिन्छ भने अर्का तर्फ देशमा जैविक विविधताको संरक्षण हुनुको साथै देशले त्यस प्रकारका औषधि उत्पादन गरी ठूलो मात्रामा आय आर्जन गर्न सक्ने देखिन्छ। लौठ सल्ला प्रायः दुर्गम स्थानमा नै पाइने र त्यस्ता दुर्गम क्षेत्रहरूमा रोजगारीका अवसरहरू पनि कम हुने हुँदा यस प्रजातिका रुख विरुवाहरूको In-Situ तथा Ex-Situ Conservationको साथै समुचित व्यवस्थापन गर्न सकेमा गरिवी न्यूनीकरण कार्यक्रमलाई पनि सघाउ पुग्ने देखिन्छ। लौठ सल्लाको पातको विश्व बजारमा वर्षेनी माग बढ्दै गएको हुनाले उत्पादन भन्दा सङ्कलनमा बृद्धि हुन गई नेपालमा प्राकृतिक रूपमा विद्यमान रहेका रुखहरू दिनानुदिन लोप हुँदै गएका छन्। यो क्रम जारी नै रहेमा प्राकृतिक रूपमा रहेका लौठ सल्लाको Gene pool नै समाप्त नहोला भन्न सकिदैन। Ex-Situ Conservationको माध्यम द्वारा ती रुखहरूको संख्यामा बृद्धि गरी यस अवस्थामा सुधार ल्याउन तथा जैविक विविधता कायम राख्न सकिने एक मात्र उपाय हो। यसको काठ कडा एक नाशको रेशा भएको Fine हुन्छ, मध्यम खालको तौल अर्थात करीव ७०० किलोग्राम प्रति घन मिटर वजन हुन्छ। यसको काठ खाँवो/थाम (Carrying Poles)तथा फर्निचरको लागि प्रयोग गर्न सकिन्छ। युरोप तिर पाइने लौठ सल्लाको पात विषालु हुन्छ तर नेपालको पश्चिमी हिमाली क्षेत्रमा यसको डाँलेघाँस गाई, गोरुलाई खुवाउन प्रयोग गरिन्छ तथा यसको हरियो मसिनो हाँगा (Twigs) विशेष धार्मिक चाड पर्वमा घर सिंगार्न प्रयोग गरिन्छ। लौठ सल्लाको बोक्रा प्राकृतिक रंग बनाउन पनि प्रयोग गरिन्छ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  • साह, रेन्जर अनिरुद्धकुमार, लौठसल्ला व्यवस्थापन, २०६७ असोज