ल्होसार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
तमु ह्लोसार

ल्होसार नेपालमा मनाइने एक प्रमुख चाड हो। ल्होछार वा ल्होसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ्ग, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन्। यो चाड नेपालका विभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोलवंशी समुदायले धुमधामका साथ मनाउछन्। यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन्। ल्होसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ।

अर्थ[सम्पादन गर्ने]

'ल्होछार' दुइ शब्द मिलेर बनेको छ। जसको अर्थ 'ल्हो' अर्थात वर्षवा साल भन्ने हुन्छ भने 'छार' वा 'सार'को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ। र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ। ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्। बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ। जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष। बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्षगनिन्छ। यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ।

हाम्रो समाजमा जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको लोसार (नयाँ बर्ष)को स्वागत्को लागि ठूलो जमर्को गर्नुपर्छ ।

सिक्किमको एक गुम्बा अगाडी ल्होसार मनाउँदै

ञिशुगु अर्थात कृष्णपक्षीय चतुर्दशीको दिन अथवा जान लागको पुरानो बर्षको विदाई कार्यक्रममा गु थुग्पा खान्छन् । नौ किसिमका विभिन्न चीज (गेडागुडी)हरू हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खाइन्त । त्यस पछि आउन लागेको लोसारको लागि विशेष गरी घरहरू सजाइन्छ । भरको भित्ता पाखामा स्वस्ति चिन्हहरू कोर्दछन् । चाङका चाङ रोटी (खमस्य) पकाएर थुपार्छन् । विभिन्न किसिमका फलफूल र गेडागुडीहरू पनि सजाइन्छन् । लोसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन ।

विभिन्न चिज विज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन् । घरको आँगन र डाँडा पाखामा रंगीचंगी ध्वजाहरू फरफराउँछन् । साङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन् । आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य)को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सो सो ल्ह ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो दिनबाट फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा टशि देलेक आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभूषामा उभिएर मिठोमिठो खानेकुराहरू आदान–प्रदान गरी लोसार मनाउने गर्छन् । यसरी शेर्पा समाजमा व्यक्तिगत र सामाजिक रूपमा ठूलो हर्षोल्लासकासाथ १०-१५ दिनसम्म लोसार मान्ने परम्परा छ ।

शेर्पाले जस्तै तामाङ, गुरुङ र भोटेहरूले पनि हर्ष बडाई गरी यो लोसार चाड मान्दछन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट नयाँ बर्ष लागेको हुन्छ । नयाँ बर्षको मतलव चन्द्र, सूर्य र अन्य ग्रह नक्षत्रहर दक्षिण तिर जाने क्रम सिद्धिएर उत्तर तिर फर्केको हुन्छ ।

यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भनिएको छ । त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा लोसार मान्ने गरेको हो । वास्तविक बस्तुस्थिति यस्ता हुन् तापनि शेर्पा समाजले छयोठुल दुछेन (फागुणमा बुद्धले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेका छन्[१]

पृष्ठभूमि[सम्पादन गर्ने]

नेपालमा ल्होसार मनाउने प्रचलन चिनिया“ सभ्यताबाट तिब्बत हुँदै भित्रिएको अनुमान गरिन्छ।

प्रकार[सम्पादन गर्ने]

हाम्रो देशमा मुख्यतः तीन प्रकारको ल्होसार मनाइने गरेको पाइन्छ:

तमू ल्होसार[सम्पादन गर्ने]

मूल लेख तमु (तोला) ल्होसार
तमु (तोला) ल्होसार मुलतः गुरुङ्ग जातिले मनाउने गर्छन्। यो पुस महिनाको १५ वा १६ गते पर्छ। ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'वर्ष आयो' भन्दै नयाँ वर्षो स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि ने ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।

सोनाम ल्होसार[सम्पादन गर्ने]

मूल लेख सोनाम ल्होसार 'सोनाम ल्होसार भनेर ह्योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन्। यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ। सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतपिचासको पराजय होस् भनेर कामना गरिन्छ। मान्यजनबाट आशीर्वाद लिंदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।

ग्याल्बो ल्होसार[सम्पादन गर्ने]

मूल लेख ग्याल्बो ल्होसार

ग्याल्बो ल्होसार शेर्पा समुदायले मनाउने गर्दछन्। प्रायःजसो यो पर्व फागुन महिनामा पर्छ। यस पर्वमा नौ थोक अन्नको खोले बनाएर एक अर्कालाई बोलाइ खुवाउने गरिन्छ। ल्होसारको दिन नयाँ लुगा लगाउने, पानी धारामा गएर नागको पूजा गर्ने। त्यो पानी ल्याएर घरको देवतालाई चढाउने गरिन्छ। खाँदै, एक अर्काको घरमा गएर नाचगान गर्दै रमाइलो तरिकाले ल्होसार मनाउने गरिन्छ।

ह्याल्मो ल्होसार मनाउने गरेको पनि कहिकतै पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]