वास्तुशास्त्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

परिचय

वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ― देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ।यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ| वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ।

वास्तुशास्त्रको आधार

प्रवेशद्वार[सम्पादन गर्ने]

प्रमुख प्रवेशद्वार अत्यन्त सुशोभित हुनुपर्छ। यसले प्रतिष्ठा बढाउँछ। प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ। प्रवेशद्वारमा तोरण बाँध्नुपर्छ। यसो गर्दा देवी-देवता खुसी भै घरमा शान्ति छाउँछ। पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख गेट भए समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ। ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ। घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन। नैऋत्यवायव्य कोणमा द्वार बनाउनुपर्छ। ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन।

पूर्व दिशा[सम्पादन गर्ने]

यो दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान-सम्मान तथा सुख-शान्ति प्राप्त हुन्छ। यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ। बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि यो दिशामा बनाउनुपर्छ। बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणाम आउँछ। पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गर्नुपर्छ। सूर्यलाई अर्घ दिनुपर्छ। सूर्यको उपासना गरी पूर्व ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्छ।

दक्षिण-पूर्व दिशा[सम्पादन गर्ने]

यसलाई आग्नेय भनिन्छ। यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ। किचन, ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ। यसका साथै यो दिशामा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ। यसमा वास्तु दोष भए मङ्गलका लागि ढोकामा मङ्गलकारी यन्त्र राख्नुपर्छ। गणेशको पूजा गर्नुपर्छ। ढोकाको बाहिरी एवं भित्री भागमा हरियो रंगको गणेश स्थापना गर्नुपर्छ।

दक्षिण दिशा[सम्पादन गर्ने]

यो दिशामा खुलापन हुनुपर्छ। यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनुहुँदैन। यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ। यो दिशा धन राख्न उपयुक्त मानिन्छ। दक्षिण दिशामा वास्तुदोष छ भने घर वा ढोकामा मङ्गलकारी तोरण झुन्डाउनुपर्छ। यहाँ सुड भएको गणेश पनि झुन्डाउन सकिन्छ। यहाँको वास्तु दोष मेट्न हनुमान तथा भैरवको उपासना लाभदायक हुन्छ।

दक्षिण-पश्चिम दिशा[सम्पादन गर्ने]

यो दिशालाई नैऋत्य भनिन्छ। परिवारको मुलीको कोठा यही दिशामा हुनुपर्छ तर भुलेर पनि काम गर्नेहरू बस्ने कोठा यो दिशामा बनाउनुहुँदैन। मेसिन तथा क्यास काउन्टर पनि यही दिशामा बनाउनुपर्छ। यो दिशालाई खुल्ला छाड्नुहुँदैन। यहाँ झ्याल बनाउनुहुँदैन। वास्तु दोष भए घरमा राहु यन्त्र स्थापना गरी पूजा गर्नुपर्छ। प्रवेशद्वारमा सुन्तला रंगको गणेश स्थापना गर्नुपर्छ। य

पश्चिम दिशा[सम्पादन गर्ने]

यो दिशामा भवन वा भूमि तुलनात्मक रूपमा अग्लो भए घरका सबै सदस्यले सफलता र यश प्राप्त गर्छन्। भोजन कक्ष, शौचालय आदि यो दिशामा बनाउनुपर्छ। पश्चिममा वास्तु दोष भए घरमा वरुणयन्त्र स्थापना गर्नुपर्छ। शनिबार व्रत बस्नुपर्छ।

उत्तर-पश्चिम दिशा[सम्पादन गर्ने]

यसलाई वायव्यकोण पनि भनिन्छ। वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ। काम गर्नेहरूको कोठा पनि यही दिशामा हुनुपर्छ। वायव्यमा वास्तु दोष भए ढोकाको भित्री तथा बाहिरी भागमा सेतो गणेश वा श्रीयन्त्र स्थापना गर्नुपर्छ। घरमा चन्द्रयन्त्र राख्नुपर्छ।

पूजास्थल[सम्पादन गर्ने]

घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनुपर्छ। पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन। आश्विन महिनामा दुर्गा माताको मन्दिर स्थापना गर्नु शुभ मानिन्छ। यसबाट पुण्य प्राप्त हुन्छ। घरमा एक बित्ताभन्दा ठूलो पत्थरको मूर्ति स्थापना गर्नाले गृहस्वामीलाई सन्तान प्राप्त हुँदैन। पूजा कोठा शयन कक्षमा बनाउनुहुँदैन। पूजाकोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन। घरमा शिवलिङ्ग, तीन गणेश, दुई शंख, दुई सूर्यका प्रतिमा, तीन देवीका प्रतिमा, दुई गोमती चक्र र दुई शालिग्रामले गृहस्वामीमा अशान्ति ल्याउँछन्। पूजाकोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ। भगवान्को तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नुहुँदैन। यसले काममा अवरोध उत्पन्न गर्छ।

भान्सा[सम्पादन गर्ने]

भान्सामा तीनवटा पिर्का राख्नुहुँदैन। यसले घरमा झगडाको वातावरण निम्त्याउँछ। भान्सामा कहिल्यै रुनुहुँदैन। यसो गर्दा बिरामी पर्न सकिन्छ। खाना पकाउने ग्यास पूर्व दिशामा हुनुपर्छ। यदि भान्सा आग्नेय वा वायव्य कोणलाई छोडेर अन्य कोणमा भए वर्नरको स्थिति आग्नेय कोणमा हुनुपर्छ। भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुनुहुँदैन। यसो गर्दा माता अन्नपूर्णको कृपा सधैं रहन्छ। भान्सा घरको दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर-पश्चिममा पनि निर्माण गर्न सकिन्छ।

भोजन कक्ष[सम्पादन गर्ने]

खानपिन कक्षको रंग हलुका हरियो तथा नीलो बनाउनुपर्छ। पूर्व फर्केर खाना खाँदा मानिसको उमेर बढ्छ। दक्षिण फर्केर खाना खाँदा प्रेतत्त्व प्राप्ति हुन्छ। पश्चिम मुख गरी खानाले मनुष्य रोगी बन्छ। उत्तर फर्केर खाँदा आय तथा धन प्राप्ति हुन्छ।

सयन कक्ष[सम्पादन गर्ने]

सयन कक्ष पूजा गर्ने स्थानमा हुनुहुँदैन। शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ। यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ। धन-सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरू, अग्नि र देवताको स्थानमाथि सुत्नुहुँदैन। अन्न भण्डार, गौशाला, गुरूस्थान, भान्सा र मन्दिर सुत्ने कोठामाथि बनाउनुहुँदैन। शयनकक्ष नैऋत्यदेखि आग्नेय तथा नैऋत्यदेखि वायव्यतर्फ नै बनाउनुपर्छ। घरका अग्रजहरूको कोठा पश्चिम-दक्षिणतर्फ बनाउनुपर्छ। आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ। यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ। सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ। पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ। दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ। पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ। उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ।

शौचालय[सम्पादन गर्ने]

इशान कोण शौचालयका लागि अशुभ मानिन्छ। यसले जीवनमा कुनै न कुनै बाधा उत्पन्न गराउँछ। श्ौाचालयमा मार्बल लगाउनुहुँदैन। शौचालयको भित्ता र टायल्सको रंग आफ्नो चाहनाअनुरूप राख्न सकिन्छ।

घरमुली भए[सम्पादन गर्ने]

घरको नैऋत्य कोण शयनकक्षका लागि शुभ मानिन्छ। यो कोणमा घरको ठूलो स्टोर हुनुपर्छ। सुत्दा सिरानी दक्षिण वा पूर्वतिर हुनुपर्छ। घर एकतल्ले भन्दा बढी भए गृहस्वामीको कोठा सबैभन्दा माथि निर्माण गर्नुपर्छ।

बाल बालिका कक्ष[सम्पादन गर्ने]

बालबालिकाहरूको शयनकक्ष पूर्व वा इशान कोणमा हुनुलाई शुभ मानिन्छ अध्ययन भवन, सभा र पठनपाठनका लागि यो क्षेत्र शुभ मानिन्छ।

पाहुना कोठा[सम्पादन गर्ने]

पाहुनाका लागि बनाइने स्थान उत्तर-पश्चिम वा त्यसको आसपास हुनुपर्छ।

ब्यक्तिगत कक्ष[सम्पादन गर्ने]

संगीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण-पूर्वमा बनाउनुपर्छ। मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजीक बनाउनुपर्छ।

हेर्नुहोस्[सम्पादन गर्ने]