विदेशमा नेपाली भाषा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
विषयसूची |
भारत
नेपाली भाषा एक अन्तर्राष्ट्रिय भाषा हो। दक्षिण एसियाका दुई प्रमुख देश नेपाल र भारतमा राष्ट्रिय भाषाको रूपमा स्वीकृत एवं स-साना प्रदेशलगायत राज्यहरूमा माध्यम भाषाको स्तरमा सङ्गठित नेपाली भाषा एक जीवन्त भाषा हो। नेपाली भाषा खस, पर्वते, सिञ्जाली तथा गोरखा भाषा नामले पनि चिनिदै आएको छ। भाषाको प्रकृतिअनुसार कुनै पनि भाषाले विकास गर्दा जटिलतादेखि सरलता र स्थुलताबाट सूक्ष्मतातिर उन्मुख हुने प्रक्रिया ग्रहण गर्दछ। भाषाले सुष्ठता प्राप्त गर्दा आफ्नो सांस्कृतिक सञ्चारण र अभिव्यक्ति संस्कारलाई जरैबाट समातेर राख्दछ। यसैले नेपाली भाषालाई पनि एक विशाल वटवृक्ष भन्दा अत्युक्ति नहोला। सांस्कृतिक र संस्कारगत चरित्रको आधारमा नेपाली भाषाले विविधतालाई स्वीकार गरेको छ। नेपालदेखि फैलिएको यो भाषा पूर्वमा बर्मा, पश्चिममा पञ्जावसम्म, उत्तरमा हिमवत्खण्डदेखि दक्षिण एसियाको गाङ्गेय समभूमि तथा अन्य भाषा-परिवार क्षेत्रतिर पनि यसले विस्तार पाएको छ।
भाषाको विकास हुनुमा त्यसका मौलिक साहित्य लेखनले ठूलो भूमिका निर्वाह गर्दछ। भाषाको दैनिक व्यावहारिक उपयोग, लोकको अनुभवको अभिव्यक्ति, लिप्यङ्कन प्रयोग हुँदा नै भाषा विकसित हुँदै जान्छ। भारत भूमिबाट नेपाली भाषा-साहित्यको विस्तार गर्नमा सबैभन्दा पहिलो श्रेय बनारसलाई जान्छ। यहीँबाट नेपाली साहित्यको माध्यमिक काल झाङ्गिन सकेको हो। विकासको यस घुम्तीमा आज देखिएका सरलता र संवेद्यताको आग्रह पनि माध्यमिककालीन शृङ्गार धारका प्रभाव हुन्। भारतमा राष्ट्रिय भाषाको रूपमा अघि बढिरहेको नेपाली भाषा एक सम्पर्क भाषाको रूपमा भविष्यमा खडा हुनेछ भन्न सकिन्छ। सत्रौँ शताब्दी पूर्वदेखि नेपाल बाहिर फैलिएको नेपाली भाषा र साहित्य एसिया महाद्वीपको जिउँदो र शक्तिशाली सामाजिक सम्पत्ति भएको छ। यसको प्रयोग र विस्तार क्षेत्र पूर्वमा दार्जिलिङ, सिक्किम, भुटान र मेघालय, मिजोराम, मणिपुर र बर्मा, पश्चिममा भारतका राज्य पञ्जाव, गुजरात, जम्मुकश्मीर, हिमाचल, कुमाउ, गढवाल, देहरादून आदितिर व्यापक प्रभाव छ। यी सबै क्षेत्रमा भाषा-साहित्यको गतिविधि, लेखन-प्रकाशन, पठन-पाठन अनिवार्यरूपले चलिरहेको छ।[१]
| # | राज्यको नाम | राज्यहरूको जनसंख्या[२] | प्रति १०,००० जनसंख्यामा नेपालीहरूको संख्या [३] | नेपाली मातृभाषा भएका नेपालीहरूको जनसंख्या |
|---|---|---|---|---|
| 1 | आन्ध्र प्रदेश | 76,210,007 | 1 | 7621 |
| 2 | अरुणाचल प्रदेश | 1,097,968 | 919 | 100903 |
| 3 | आसाम | 26,655,528 | 215 | 573094 |
| 4 | बिहार | 82,998,509 | 2 | 16600 |
| 5 | चण्ढिगड | 900914 | 60 | 5405 |
| 6 | छत्तीसगढ | 20,833,803 | 2 | 4167 |
| 7 | गोवा | 1,347,668 | 16 | 2156 |
| 8 | गुजरात | 50,671,017 | 3 | 15201 |
| 9 | हरियाणा | 21082989 | 10 | 21083 |
| 10 | हिमाचल प्रदेश | 6077248 | 116 | 70496 |
| 11 | जम्मु अनि कश्मीर | 10069917 | 8 | 8056 |
| 12 | झारखण्ड | 26,945,829 | 6 | 16167 |
| 13 | कर्नाटक | 52,850,562 | 2 | 10570 |
| 14 | केरल | 31,841,374 | 1 | 3184 |
| 15 | मध्य प्रदेश | 60,348,023 | 2 | 12070 |
| 16 | महाराष्ट्र | 96,878,627 | 7 | 67815 |
| 17 | मणिपुर | 2,293,896 | 220 | 50466 |
| 18 | मेघालय | 2,318,822 | 226 | 52405 |
| 19 | मिजोरम | 888,573 | 102 | 9063 |
| 20 | नागाल्याण्ड | 1,990,036 | 189 | 37612 |
| 21 | उडिसा | 36,804,660 | 3 | 11041 |
| 22 | पंजाब | 24289296 | 8 | 19431 |
| 23 | राजस्थान | 56473122 | 2 | 11295 |
| 24 | सिक्किम | 540,851 | 6,298 | 340628 |
| 25 | तमिलनाडु | 3,199,203 | 1 | 320 |
| 26 | त्रिपुरा | 3,199,203 | 11 | 3519 |
| 27 | उत्तर प्रदेश | 166,197,921 | 16 | 265917 |
| 28 | उत्तराखण्ड | 8479562 | 107 | 90731 |
| 29 | पश्चिम बंगाल | 80,176,197 | 128 | 1026255 |
| 30 | अंडमान र निकोबार द्वीप | 356,152 | 22 | 784 |
| 31 | चण्डीगढ | दमन र दियू 158,204 | 90 | 1424 |
| 32 | दादर र नगर हवेली | 220490 | 47 | 1036 |
| 33 | पोण्डिचेरी | 974,345 | 4 | 390 |
| 34 | लक्षद्वीप | 60,650 | 1 | 6 |
| 35 | दिल्ली | 13782976 | 32 | 44106 |
रुस
रसियामा नेपाली भाषा र साहित्यको चर्चा थाल्दा १३५ वर्षअघि सन् १८७५मा नेपालको यात्रा गर्ने रसियन प्राच्यविद् इभान मिनायेभको नाम लिनुपर्ने हुन्छ। बौद्धधर्मको अध्ययनार्थ नेपाल आएका विद्वानले नेवारी भाषा सिकेर शब्दकोशसमेत तयार पारेका थिए। सन् १९१७को ऐतिहासिक अक्टोबर समाजवादी क्रान्ति सम्पन्न हुनुभन्दा आधा शताब्दीअघि भूगोलविद् दिमित्री कोस्तिन्स्कीद्वारा नेपालबारे परिचयात्मक पुस्तक लेख्नु, नेपाली साहित्यका हस्तीहरू बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठबाट सोभियतसङ्घको भ्रमण हुनु एवं महाकवि लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेको अप|mो एसियाली लेखक सम्मेलन -सन् १९५८)मा सहभागिता, देवकोटाको सम्भाषण आदिबाट नेपाली साहित्यको जानकारी रुसमा पुगेको हो। नेपाली कविताको अङ्ग्रेजी अनुवादका आधारमा तत्कालै 'नेपालका कविहरू' शीर्षकमा रसियाली भाषामा कवितासङ्ग्रह प्रकाशित भएको थियो। यसमा नेपालका प्रसिद्ध कविहरूका कविता समाविष्ट थिए। रुसमा देवकोटाको ठूलो सम्मान छ। सोभियत अन्तरिक्षयान चन्द्रमामा पुगेकै दिन देवकोटाको निधन भएको संयोगलाई देवकोटाको 'उद्देश्य के लिनु, उडी छुनू चन्द्र एक'सँग जोडेर देवकोटाको आत्मा त्यही यानमा चन्द्रमामा पुगेको कल्पना गरिन्छ।
ल्युदमिला आगानिनाको नाम नेपाली साहित्यको अध्ययन, अनुसन्धान र अनुवादका क्षेत्रमा उच्च छ। आधुनिक नेपाली काव्यमा मानिस, समाज र धर्म विषयमा विद्यावारिधि गरेकी ल्युदमिला महाकवि देवकोटाको जीवनीकार पनि हुन्। उनीद्वारा लिखित 'नेपाली साहित्यको सङ्क्षिप्त विवेचना' कृति नेपाली साहित्यबारे रसियाली भाषामा प्रकाशित प्रथम पुस्तक हो। नेपाली भाषामा रसियाली लेखकको एउटै कृतिको विभिन्न अनुवादकबाट अनुवाद भई प्रकाशित कृति माक्सिम गोर्कीको उपन्यास 'मा' हो। विगत ४१ वर्षदेखि रसियाली भाषाका विभिन्न कृतिहरूको नेपालीमा अनुवाद हुँदै आएको छ। रुसमा अध्ययन गर्न गएकाहरूले नेपाली भाषालाई व्यापकरूपमा प्रचार-प्रसार गरेका छन्। रसियामै कर्मभूमि बनाएका कृष्णप्रकाश श्रेष्ठले ठूलो योगदान दिएका छन्।[४]
उत्तर अमेरिकाली नेपाली डायोस्पोरामा नेपाली भाषा-साहित्य
विदेशिने नेपालीको जतिजति वृद्धि हुन्छ, हाम्रो डायोस्पोरा त्यति नै ठूलो हुन्छ। आफ्नो मूलथलो छोडेपछि अर्को छुट्टै संस्कार बदलिन्छ। जीवनको सबै क्षेत्रमा ठिमाहा संस्कारको जन्म हुन्छ। सन् १९७० देखि नेपालीहरू अमेरिका आउने क्रम आरम्भ भए पनि बसोवास गर्नेहरूको सङ्ख्या बढ्न चाहिँ समय लाग्यो। सन् १९९० भन्दा अगाडि नेपाली साहित्य र भाषाको विकास भन्नु अमेरिका-नेपाल एसोसिएसन नै हो। यसबीच केही नेपाली भाषाका पत्रपत्रिकाहरू प्रकाशित भए पनि सन् १९९१मा वासिङ्टन डीसीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएपछि नै नेपाली भाषासाहित्यका क्षेत्रमा काम हुन थालेको हो। सन् १९९४ देखि अन्तर्राष्ट्रिय कविता महोत्सव गर्न थालिएकोले यसलाई निकै उपलब्धिपूर्ण मानिन्छ। यसपछि प्रशस्तै अनलाइन पत्रपत्रिकाहरूको स्थापना भइसकेको छ। संस्थागतरूपमा अहिले अनेसासको विस्तार निरन्तर भइरहेको छ। यसले नेपाली भाषासाहित्यलाई विश्वमै फैलाउने काम गरिरहेको छ। अमेरिकामा नेपालीहरूको सङ्ख्या लाखौँ पुगेको छ। आवासीय भिसा चिट्ठाका कारण सङ्ख्या बढ्दो छ। आफ्नै पहलमा आउनेहरू पनि उत्तिकै छन्। व्यक्ति सँगसँगै आउने भाषासाहित्यले विदेशमा बस्नेहरूमा एकत्व कायम राख्दोरहेछ।
सन् १९८६ ताक क्यानडाबाट किरण ढुङ्गानाले 'दियालो' पत्रिका निकालेका थिए। १९९६मा वसन्त श्रेष्ठको संयोजकत्वमा स्थापित बोस्टन साहित्यिक समितिले नेपाली विभूति, स्रष्टाहरूको जन्मजयन्तीलगायतका कार्यक्रमहरू गर्न थाल्यो। त्यतिबेलै अर्को पत्रिका 'इनटच' पनि प्रकाशनमा आयो। अनेसासद्वारा सन् १९९४ बाट प्रकाशन प्रारम्भ भएको 'अन्तर्दृष्टि' त्रैमासिक नियमित छ। गोविन्दसिंह रावतले सन् २००४मा 'रचना नेपाल' र सौगात त्रैमासिक क्यानाडाबाट प्रकाशनमा ल्याइरहेका छन्। दोस्रो पिँढीकालाई नेपाली भाषा सिकाउन अमेरिकामा विद्यालयहरू धेरै ठाउँमा सञ्चालनमा छन्। नोर्थ क्यारोलाइनामा क्याम्पस नै सञ्चालनमा छ। रेडियो, टेलिभिजनहरू सञ्चालित छन्। यी सबैका माध्यमबाट भाषिक उत्थानमा अनुवादलगायतका कामहरू बढ्दै जाने निश्चित छ।[५]
बेलायतमा नेपाली भाषा र साहित्य
बेलायतमा नेपाली भाषा-साहित्यको सन्दर्भ उठाउँदा सन् १९६० तिर पुग्नुपर्ने हुन्छ। यतिबेलैबाट तत्कालीन युवराज वीरेन्द्र, मदनमणि दीक्षित, पशुपतिशमशेरलगायतका अक्सफोर्ड र इटन कलेजमा पढ्ने विद्यार्थीहरूले 'यति नेपाली एसोसिएसन' नामक संस्था स्थापना गरेर 'यति' पत्रिकाको प्रकाशन प्रारम्भ गरेका थिए। सन् १९८६मा यसै संस्थाको पहलमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नका लागि 'कोसेली नेपाली सांस्कृतिक परिवार' स्थापना गरिएर 'कोसेली' लोक संस्कृतिप्रधान पत्रिका प्रकाशन गर्न थालिएको थियो। सन् १९९५ बाट नेपाली साहित्य विकास परिषद्को स्थापना र लालीगुराँस पत्रिकाको प्रकाशनले थप योगदान पुर्याएको छ। यस संस्थाले सम्मान र पुरस्कारहरूको पनि व्यवस्था गरेको छ। यसरी सन् १९६० देखि २००० सम्ममा बेलायतमा बाह्र हजारको हाराहारीमा नेपालीहरूको सङ्ख्या पुगेको देखिन्छ। नेपाली भाषाका प्राध्यापक डा. माइकल हटले नेपाली भाषामा पुर्याएको योगदान अतुलनीय रहेको छ।
सन् १९९७मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेपछि करिब ४ हजार गोर्खा पल्टन र उनीहरूका परिवारलाई समेत बेलायतमा स्थायी बसोवासको हक दिइनुले नेपालीहरूको जनघनत्वमा वृद्धि भएको देखिन्छ। पत्रपत्रिकाको प्रकाशन दर्जनभन्दा बढी छ भने यतिकै सङ्ख्यामा साइबर पत्रिकाहरू छन्। यसका लागि प्रवासी नेपाली साहित्य समाज, नेपाली प्रतिभा प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत शाखालगायतका संस्थाहरू सक्रियरूपमा लागिपरेका छन्। टेलिभिजनहरूको योगदान पनि उल्लेखनीय रहेको छ।[६]
हङकङ
सन् १८१४मा नालापानी युद्धमा वीर गोर्खालीको युद्ध कौशलबाट प्रभावित भएका अङ्ग्रेजले १८१७ देखि गोर्खालीहरूलाई इष्ट इन्डिया कम्पनीमा लिन थालेका हुन्। १९४७मा भारत स्वतन्त्र हुनुअघि बेलायत, भारत र नेपालबीच त्रिपक्षीय सम्झौता हुनुभन्दा अघि अर्थात् १९४२ बाटै गोर्खालीहरू हङ्कङ क्याम्पमा बस्न थालेको देखिन्छ। १९५९ बाट बेलायतले आफ्नो उपनिवेश हङकङलाई गोर्खाली सेनाको सुरक्षामा सुम्पिएपछि नेपाली भाषाको स्थायित्व बढेको हो। १९४९ बाट सिङ्गापुरमा प्रकाशन प्रारम्भ भएको पत्रिका पर्वते हङकङबाट पनि प्रकाशित हुन थाल्यो। त्यतिबेलैदेखि गोरखा रेडियोको पनि प्रारम्भ भयो।
हङकङबाट सन् २०००मा किसन राईको सम्पादनमा प्रकाशन प्रारम्भ भएको 'एभरेष्ट' दैनिकको योगदान उल्लेखनीय छ। १९९८मा पशन तमूले प्रारम्भ गरेको 'संवाद'को योगदान, सनराइज, साप्ताहिक सन्देश नेपाली रेडियोलगायतका सञ्चार सामग्रीहरूले नेपाली भाषासाहित्यको विकासमा योगदान पुर्याएका छन्। हङकङमा सामाजिक संघसंस्थाहरू पनि प्रशस्तै छन्। हाल नेपाली साहित्य प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टर, सिर्जनशील साहित्य समाज, जनजाति साहित्य समाज, हङकङ नेपाली कलामन्दिरलगायतका धेरै संघसंस्थाहरू छन्। हङकङमा नेपालीद्वारा सञ्चालित चार विद्यालय पनि छन्। नेपाली चलचित्र, गीत-सङ्गीत, म्युजिक भिडियो निर्माणका काम पनि प्रशस्तै भएका छन्।[७]
बेल्जियम
सन् १९८२को जुलाईमा बेल्जियम नागरिकसँग विवाह गरेर आएकी पोखरा निवासी सुकमाया नेपालीलाई बेल्जियममा बसोवास गर्नेगरी आएकी प्रथम नेपाली मानिन्छ। १९९० बाट नेपालीहरूको बेल्जियम प्रवेश क्रमशः बढ्दै २००० तिर माओवादी द्वन्द्वलाई कारण मान्दै भित्रिनेहरूले गर्दा हाल करिब ४ हजार नेपालीहरू बेल्जियममा बसोवास गर्दछन्। आफ्नो देशमा जुनसुकै मातृभाषा बोल्ने भए पनि यहाँ भने नेपालीलाई नै प्रयोगमा ल्याएर भावनात्मक एकतामा गाँसिएको देखिन्छ।
बेल्जियममा अहिलेसम्म ४२ वटा संघसंस्था स्थापना भइसकेका छन्। सन् १९९८मा स्थापना गरिएको नेपाली सांस्कृतिक समाज पहिलो हो। हाल आएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टर भाषा-साहित्यका क्षेत्रमा सक्रिय बनेको छ। यसले साहित्यकारहरूको जयन्ती, साहित्यिक गोष्ठीहरू आदि गर्दै आएको छ। नेपाली सांस्कृतिक समाजले सन् २००१मा प्रकाशित गरेको फोटोकपि पत्रिका बेल्जियममा पहिलो नेपाली पत्रिका मानिन्छ। सन् २००३मा इन्द्रधनुष क्लबले 'इन्द्रेणी', साङ्ग्रीला समाजले २००६मा बेल्जियम दर्पण, अनेसासको बेल्जियम च्याप्टरको प्रकाशन 'शब्दाञ्जली'ले पुर्याएको योगदान उल्लेख्य छ।
बेल्जियममा मात्र नभएर विदेशमा बस्ने नेपालीमाझ पनि कृष्ण बजगाईंको अनलाइन पत्रिका समकालीन साहित्य डटकम निकै लोकपि्रय रहेको छ। त्यस्तै नेपालीहरूद्वारा सञ्चालित अन्य अनलाइनहरू पनि प्रशस्तै छन्। यहाँ नेपाली भाषा सिकाउने विद्यालय पनि सन् २००५ देखि सञ्चालित छ।[८]
संयुक्त अरब इमिरेट्समा नेपाली भाषा-साहित्य
यहाँ नेपालीहरूको प्रवेश कहिलेबाट भएको हो भन्ने स्पष्ट जानकारी नभए तापनि हाल एक लाख पच्चीस हजारभन्दा बढी नेपाली विभिन्न रोगजार, व्यवसायमा रहेका छन्। सन् १९९०मा इराक युद्ध प्रारम्भ भएपछि यहाँ रहेका नेपालीहरू पनि स्वदेश फर्किन थाले। त्यही त्रसित वातावरणमा युएईमा रहेका अगुवा नेपालीहरूले क्याप्टेन प्रचण्डजङ्ग शाहको नेतृत्वमा नेपाली समाज भन्ने संस्थाको स्थापना गरेका थिए। यो नै नेपालीको पहिलो संस्था हो। सुरक्षा, भाषा, संस्कृति, साहित्य आदिका क्षेत्रमा संस्था सक्रिय भयो र 'हिम अरब' नामक मुखपत्र पनि प्रकाशित गर्यो।
नेपाली पत्रपत्रिका प्रायः सबै यहाँ आइपुग्छन् र व्यावसायिकरूपमा बिक्री वितरण गरिन्छ। युएईबाट प्रकाशित हुने सहयात्रा द्वैमासिकको योगदान पनि उल्लेखनीय रहेको छ। परदेश, आकृति, हाम्रो ध्वनि, नव सिर्जना, मकालु सन्देश, प्रवासी देउराली पाक्षिकलगायतका धेरै मासिक, द्वैमासिक, त्रैमासिक आदि पत्रपत्रिकाहरू प्रकाशित हुँदै आएका छन्। यत्तिकै सङ्ख्यामा अनलाइन पत्रिकाहरू पनि सञ्चालित छन्।[९]
म्यानमार
म्यानमारमा नेपालीहरूको बसोवासको इतिहास सय वर्षभन्दा लामो छ। दुई लाखभन्दा बढी नेपाली भाषी म्यानमालीहरू नेपालीपन र मन जोगाइराख्नलाई आफ्नो भाषा र संस्कृतिसहित सङ्घर्षरत छन्। म्यानमारजस्तो अनकन्टार देशमा बसेर पनि यहाँ बस्ने नेपालीभाषीले नेपाललाई पितृदेश मान्दछन्। नयाँ पुस्ता सँगसँगै नेपाली धर्म - संस्कृति लोप हुने पो हो कि भन्ने चिन्ताले सङ्घ-संस्था नै बनाएर काम गरिएको छ। जाति, धर्मभन्दा पनि भाषाले बाँधेको छ। कूटनैतिक सम्बन्ध स्थापनाको स्वर्ण महोत्सव पनि मनाइसकिएको छ। यहाँ नेपाली साहित्य परिषद् -डिप्लोमा)ले नेपाली भाषाको उत्थानमा उल्लेख्य काम गरिरहेको छ। नियन्त्रित शासन व्यवस्थाका कारण असजिलो र असहज वातावरण भए पनि नेपाली भाषा र साहित्यमा कलम चलाउनेहरू धेरै छन्। अनुवादका क्षेत्रमा पनि नेपालीहरूले हात हालेका छन्। प्रशस्तै प्रकाशनहरू र पुरस्कार गुठीहरूले यस क्षेत्रमा लागेकालाई प्रोत्साहन गरिरहेका छन्।[१०]
जापान
सन् १९०२मा देवशमशेरको शासनकालमा नेपाली विद्यार्थीहरू जापान जाने तयारी भएकोमा उनी सत्ताच्यूत भएपछि चन्द्रशमशेरको पालामा कार्यान्वयन भएको थियो। त्यसपछि जयपृथ्वीबहादुर सिंह, हरेन्द्र बडुवालले जापानका बारेमा नेपालीहरूलाई र नेपालका बारेमा जापानीहरूलाई चिनाउने काम गरेका थिए। त्यसपछि जापानी साहित्य हाइकु भित्र्याएर साहित्यिक आदान-प्रदान हुनथाल्यो। तुलसी दिवस, अभि सुवेदी, मञ्जुल, रामकुमार पाँडे, क्षेत्रप्रताप अधिकारी आदिले भाषा-साहित्यको आदान-प्रदानमा ठूलो योगदान पुर्याएका छन्। हाल आएर जापानमा बस्ने डा.कुमार बस्नेतले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्व गरिरहेका छन्। जापानमा रहेका नेपालीहरूको ज्यादै व्यस्त जीवन भएर पनि समय निकालेर भाषा-साहित्यका क्षेत्रमा कामहरू गरिएका छन्। विशेषगरी अनलाइन पत्रिकाहरूका माध्यमबाट नेपालीहरूले उल्लेख्य काम गरेको देखिन्छ। यसमा पनि नेपाल-जापान डटकम ज्यादै सक्रिय छ।[११]
जर्मनी
सन् १८९६मा जर्मन नागरिक लुम्बिनी घुम्न आएपछि नागरिकस्तरमा सम्बन्ध विस्तार भएको हो। सन् १९७५को हाराहारीमा करन विश्वविद्यालय खुलेपछि डा.बुर्थले नेपाली भाषाको अध्यापन प्रारम्भ गरेका हुन्। ३० वर्षयता जर्मनीमा नेपालीभाषीहरूको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको छ भने नेपाली संस्कृति, भाषा र साहित्यका क्षेत्रमा उनीहरूले लोभलाग्दो तरिकाले विकास गरिरहेका छन्।[१२] [१३]
सन्दर्भ सामग्री
- ↑ डा. घनश्याम नेपाल, डा. सञ्जय राई र अरुणा राई
- ↑ http://www.censusindia.gov.in/Tables_Published/A-Series/A-Series_links/t_00_003.aspx
- ↑ http://censusindia.gov.in/Census_Data_2001/Census_Data_Online/Language/Statement3.htm भारतको जन गणना
- ↑ कृष्णप्रकाश श्रेष्ठ, जङ्गव चौहान
- ↑ होमनाथ सुवेदी, भारती गौतम, एन हन्किन्स
- ↑ प्रा.डा. माइकल हट, डा.भ्यालेरी इन्चले र सुरेशजङ्ग शाह
- ↑ पशन तमू
- ↑ कृष्ण बजगाईं
- ↑ जाकिर हुसेन
- ↑ विष्णु पन्थी, डा.दुबसु क्षेत्री
- ↑ श्रीमती मिसिजु फुकुदा, डा. दुबसु क्षेत्री र कृसु क्षेत्री
- ↑ डा. मानफ|mेद थ्रोई
- ↑ तुल्सीहरि कोइराला, समकालिन नेपाली साहित्य, अनलाइन पत्रिका