शकुन्तला शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शकुन्तला शर्मा चर्चित कलाकार एबम नाटक-निर्देशक हुन्। भारतीय सैनिक आशमान गुरुङ तथा तीर्थकुमारी (माधवी) गुरुङकी माहिली छोरी शकुन्तला वि. सं. २००८ सालमा लाजिम्पाट, काठमाडौंमा जन्मिएकी हुन्। उनका एक दाजु र दुई दिदीबहिनी छन्। सानैदेखि नाचगानमा रुचि राख्ने गुरुङले एस.एल.सी. सम्म अध्ययन गरेकी छिन्। वि. सं. २०३३ सालमा कलाकार रङ्गकर्मी हरिहर शर्मासँग अन्तरजातीय मागी विवाह गरेकी शर्माका दुई छोरा छन्।

१० वर्षको उमेरमा पलाँसको फूल नाटकमा बालकलाकारको सशक्त भूमिका निर्वाह गरेकी शकुन्तलालाई एक वरिष्ठ नाटककारले परीक्षा हलबाटै 'तिमी त राष्ट्रको गहना हौ, भरे नाटकमा खेल्नुपर्छ' भनेर लगेका थिए। शर्माले अभिनय गरेका नाटकको संख्या धेरै छ। नाटकका क्षेत्रमा राम्रो काम गरेकै कारण उनले विभिन्न सम्मान पाईन। कोसँग जुधौं, मानिस र मुकुन्डो, पहाड चिच्याइरहेछ, फर्केर हेर्दा, कंकाल, च्यातिएको पर्दा, पर्खालभित्रजस्ता दर्जनौं नाटकमा अभिनय गरेकी शकुन्तलाले ७०को दशकमा चलचित्र हिजो, आज र भोलि तथा बदलिँदो आकाशमार्फत निकै चर्चा पाएकी थिइन्। वासुदेव, मायाप्रीति, चोखो माया आदि चलचित्रमा उनको अभिनय सशक्त र स्तरीय थियो। यसबीचमा उहाँले 'बदलिंदो आकाश', 'वासुदेव', 'चेलिबेटी', 'सिन्दुर', 'सन्तान थरिथरिका' जस्ता चलचित्रमा अभिनय गरेकी थिइन। [१]

उनले रेडियो नेपालबाट प्रसारण हुने धेरै रूपक (रेडियो नाटक)मा पनि काम गरिन। वि. सं. २०२२ सालतिर रेडियो नेपालबाट प्रसारण हुने नाटकहरूमा उनको लाई भ आवाज सशक्त मानिन्थ्यो। नाटकको बोलीका कारण उनी धेरै स्रोताकी प्रिय पात्र बनिन। शर्माले एकल, समूह र युगल गाएका धेरै गीत पनि रेकर्ड भएका छन्। वि.सं. २०२६ सालदेखि तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा जागीरे भएर प्रवेश गरेकी शकुन्तलाले ३८ वर्ष लामो सेवापछि अवकाश प्राप्त गरिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.ekantipur.com/nari/article/?id=589 वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-०९ मिति